Chovar Blues Mobile Size

कविता त यसै सुन्दर छ । कविले कवितालाई कुन हदसम्म रहेर सिङ्गार्न सक्छ भन्ने मुख्य कुरा रहे पनि कविता त यसै सुन्दर छ । इतिहासको पन्ना पल्टाइरहँदा कविताले गराएको क्रान्ति होस् वा कविताले गराएको मेलमिलाप नै कविता सुन्दर छ भन्नुको प्रमाण हो ।

आत्महत्या गर्न हिँडेको मान्छे कविताको कुनै पङ्क्तिमा अल्झेर घर फर्केको उदाहरण यही समाजले पटक पटक भोगेको छ । यही कुरालाई हेरेर हामी भन्न सक्छौँ कि कविता कति शक्तिशाली हुन्छ ।

तर कुरुपतालाई नै सुन्दर शैलीमा कवि भूपिनले यति शक्तिशाली कविता लेखेका छन् कि त्यसको सुवास चारैतिर फैलिएको छ ।

आज हामी उनै कविको चर्चित कविताको कथा र कविता प्रस्तुत गर्दैछौँ ।
प्रस्तुत छ कवि भूपिनको कविताः

कुरुप कविता

एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता ।

एक्लै कति
सौन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता ।

आज त्यसलाई
कुरुप पार्न मन लागिरहेकोछ ।

सबैभन्दा कुरुप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिँदो रहेछ कविता

सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता ।

आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ ।

आऊ प्रिय कविहरु
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौं
कलाको अनन्त बन्धनबाट मुक्त पारौं
र हेरौं
कविताको बत्ति निभेपछि
अझ कति अँध्यारो देखिँदोरहेछ दुनियाँ
अझ कति खाली हुँदोरहेछ रिक्तता

के अन्तर छ
मन्दिर र वेश्यालयको नग्नतामा ?
के अन्तर छ
संसद् भवन र आर्यघाटको दुर्गन्धमा ?
के अन्तर छ
न्यायालय र मासु पसलको क्रुरतामा ?
यिनीहरुकै पर्खालबाहिर
सबैभन्दा इमान्दार भएर उभिँदोरहेछ कविता ।

आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ ।

आऊ प्रिय कविहरु
आजै कविताको मृत्यु घोषणा गरौँ
र हेरौं
झन् कति जीवन्त देखिँदोरहेछ
कविताको लासमाथि जन्मिएको कविता ।

हेरौं
कविताको मृत्युमा खुसीले
कुन हदसम्म बौलाउँदोरहेछ बन्दुक
कति टाढासम्म सुनिँदोरहेछ सत्ताको अट्टहास
र कति उदास देखिँदोरहेछ कलाको अनुहार ?

सुन्दर कविताहरु लेख्नलाई त
सुन्दर समय बाँकी नै छ
किन आज लेख्न मन लागिरहेको छ
समयको अन्तिम लहरसम्म नलेखिएको
सबैभन्दा कुरुप कविता ।
जसरी बन्दुकले लेख्छ
हिंसाको कुरुप कविता सहिदको छातीमा ।

एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता ?
(हजार वर्षको निद्रा)

लेखिएको लामो समयपछि सामाजिक सञ्जालमा कविताको अप्रत्यासित चर्चा चुलिएको छ । कवि तथा अनुवादक सुमन पोख्रेलले यस कवितालाई हिन्दी भाषामा अनुवाद गरेपछि भारतका चर्चित कलाकार राजेन्द्र गुप्ताले यस कवितालाई वाचन गरेर सामाजिक सञ्जालमा राखेका थिए । राजेन्द्र गुप्ताले वाचन गरेको भिडियो सामाजिक सञ्जालमा राखेपछि उक्त कविताले भारतीय पाठकको पनि ध्यान खिचेको छ ।

रातले मध्यान्तरको समय हो भनेपछि उनले कसैलाई फोन गर्ने हिम्मत भने गरेनन् । तर हुटहुटी भने मनमा आलै रहेको थियो ।

 

कवि भन्छन् – “ कुन प्रज्ञासम्पन्न बिजुली चम्काईमा कुरुप कविता लेखेँ, अहिले दुरुस्त सम्झना छैन । २०६२ वा ६३ सालतिर लेखेको हुनुपर्छ यो कविता, जतिबेला हामी युद्ध र संकटकालको अँध्यारो रात छिचोलेर मिर्मिरे बिहानमा प्रवेश गर्ने तर्खर गर्दै थियौँ । युद्धका घाउहरू आलै थिए । युद्धको समय मैले आफ्नो वरिपरि कविता बाहेक कुनै कुरा पनि सुन्दर देख्दिनथेँ, किनकि कवितामा बाहेक अन्यत्र राज्य र बिद्रोही दुवैको तर्फबाट मेरो ज्यूँदै हत्या भैरहेको थियो । माओवादीको नाममा मेरो क्लासमेट मारिँदा होस् वा यथास्थितीवादीको नाममा कोही नेपाली, म आफू पनि मरिरहेको बोध गर्थेँ । त्यो समय आम नेपालीले झैँ मैले पनि हिंसा कति घिनलाग्दो र घृणायोग्य हुन्छ ? चरम अनुभव गरेको थिएँ । यही विसंगत मनोदशामा मैले कविताको पक्षमा कुरुप कविता लेखेँ ।”
कविता लेखेपछि कसैलाई सुनाइहाल्नुपर्ने कविको दर्जामा आफूलाई नराख्ने कवि हुन् भूपिन । तर यस कविता लेखेपछि चाहिँ कसैलाई सुनाऊँ झैँ उनलाई लागेको थियो । तर रातले मध्यान्तरको समय हो भनेपछि उनले कसैलाई फोन गर्ने हिम्मत भने गरेनन् । तर हुटहुटी भने मनमा आलै रहेको थियो ।

कवि भूपिन खड्का

चितवनकी सरिता तिवारी र भूपिन फोनबाट कहिलेकाहीँ कविता सुन्ने र सुनाउने गर्दथे । कविता लेखेको भोलिपल्ट कवि भूपिनले सरितालाई क्याम्पसबाट फोन गरेर कविता सुनाएका थिए । कवि सरिता तिवारीको टिप्पणी सुनेर आफूले कवितालाई न्याय गरेको रहेछु भन्ने लागेको बताउँछन् कवि भूपिन ।

माथि प्रस्तुत कविता उनको ‘हजार वर्षको निन्द्रा’ मा सङ्ग्रहित छ । उनको यस कविता अन्य चार जना नेपाली कवि सहित हिन्दी अनलाइन पत्रिका समालोचनमा छापियो । त्यसबेला कवि चन्द्र गुरुङले यस कवितालाई अनुवाद गरेका थिए । सोही वर्ष दिल्लीमा भएको सार्क कवि सम्मलेनमा पनि उनले यही कविता वाचन गरे । तर उनले त्यहाँ वाचन गर्दा कवि मनु मञ्जिलले यस कवितालाई अनुवाद गरेका थिए अंग्रेजीमा । उनले त्यहाँ कविता प्रस्तुत गर्दा त्यहीबेला नै उनको कविता मन पराइएको बताइएको थियो । यो खबरले कविलाई अझ हौसला मिलेको थियो । किनकि कवि भूपिनले अन्तर्राष्ट्रिय मञ्चमा वाचन गरेको पनि पहिलो कविता यही नै थियो ।

कवि भूपिनले आफ्नो एकल कविता वाचनमा पहिलो सुनाउन रुचाउने कविता पनि यही रहेको छ । उनी भन्छन् –“ ‘मेटा पोयट्री’ को शीर्षक मलाई आकर्षक लाग्छ । कविता पनि कुरुप ? यसको सिर्जना गर्ने प्याडक्सले पाठक श्रोतालाई बढी जिज्ञासु बनाउँछ । पाठक जिज्ञासासहित कवितामा प्रवेश गर्न सकेन भने कविता असफल हुने सम्भावना ज्यादा हुन्छ । ”

श्रीलंका र दिल्ली युनिभर्सिटीका कविहरूले आफ्नो देश कविता वाचनका लागि बोलाउने वचन दिएका थिए ।

यता कवि सुमन पोखरेलले कुरुप कवितालाई पुनः हिन्दीमा अनुवाद गरेर हिन्दी भाषाको काव्यकोश मानिने कविता कोशमा राखिदिएका थिए । कवि भूपनलाई लाग्छ –“त्यो ट्रान्सलेशन थिएन, ट्रान्सक्रियसनको तहमा उक्लिएको सिर्जनात्मक काम थियो । ”
कलाकार राजेन्द्र गुप्ताले वाचन गरेर सामाजिक सञ्जालमा यस कविता राखिदिएपछि यस कविताले चौत्रफी चर्चा पाउन सुरु गर्यो । यसरी चर्चा हुनुमा कवि सुमन पोख्रेलको सुन्दर अनुवाद पनि हुन सक्छ ।

कलाकार राजेन्द्र गुप्ताले उनको कुरुप कविता एक पटकमात्र होइन दुई पटक वाचन गरेका थिए । भूपिन भिडियो हेरेपछि भावुक बनेको आफैँ बताउँछन् ।

कवि भूपिन त्यो सार्क कवि सम्मेलनको दिन सम्झँदै भन्छन् कि –“ दिल्लीको सार्क कवि सम्मेलनमा मेरो यो कविता सुनेपछि मलाई पाकिस्तान, श्रीलंका र दिल्ली युनिभर्सिटीका कविहरूले आफ्नो देश कविता वाचनका लागि बोलाउने वचन दिएका थिए । तर उनीहरूले बोलाएनन्, मैले फलो पनि गरिन । तर अहिले लाग्छ, मेरो कविताले उनीहरूलाई छोएर नै त्यो उधारो आश्वासन दिएका रहेछन् कि ?”

भारतीय कलाकारले कवितालाई गरेको प्रेम देखेर कवि भूपिन नतमस्तक छन् । यता नेपालमा चलचित्रमा कविता प्रयोग नभएको पाइन्छ । यो विषयमा कवि भूपिनलाई लाग्छ –“ पछिल्लो समय कविता वाचनमा थिएटर कन्सेप्टको प्रभाव सकारात्मक नै छ । आफ्नै आवाजमा जावेद अख्तरले वजुद फिल्मको कविता ’कैसे बताऊं मै तुझे..’ सुनाएको भए त्यसको प्रसिद्धि कति हुन्थ्यो थाहा छैन । तर नाना पाटेकरले त्यसलाई अमर बनाइदिए ।

कवितालाई प्रेम नगर्ने कलाकार सफल कलाकार हुन सक्दैन ।

 

पिता हरिवंस राय बच्चनका कविता अमिताभले बढो प्रेमपूर्वक सुनाउँछन् कार्यक्रमहरूमा । किताबमा उनलाई नपढेका मानिसले अमिताभको आवाजमा हरिवंस सुनेर कवितालाई प्रेम गर्छन् । विश्व सिनेमाका कैयन् हस्तीहरू मन पर्ने कविका कविता सुनाउँदा आफूलाई गर्वको अनुभव गर्छन् । ”

उनी थप्छन् –“ नेपालमा पनि अब यसरी थियटर र सिनेकाका कलाकारहरूले सुन्दर कविताहरू वाचन गर्ने प्रचलन चल्यो भने कविताको बिस्तारका लागि धेरै राम्रो हुनेछ । नेपाली कविताको विस्तारका लागि केही प्रकाश सायमीहरूको जरुरी छ । नेपाली थिएटर र सिनेमाका कलाकारहरूमा पनि कविताप्रति प्रेमभाव हुनुपर्छ । कवितालाई प्रेम नगर्ने कलाकार सफल कलाकार हुन सक्दैन ।”