बेलायती अभिनेता टम हल्यान्डर र अर्का अभिनेता टम हल्यान्ड सुन्दा उस्तै सुनिन्छन् । कतिसम्म भने एक पटक स्पाइडरम्यान फिल्ममा खेलेबापत पारिश्रमिक त स्पाइडरम्यान बनेका टम हल्यान्डले पाए नै, फिल्म अचाक्ली चलेपछि त्यसको बोनस पनि उनको नाममा कट्यो । तर त्यो पैसा टम हल्यान्डले भने पाएनन् । सिधै गयो, अर्का अभिनेता टम हल्यान्डरकहाँ ।

प्रायः यस्तो भइरहन्छ । नाम फरक भए पनि कहिलेकाहीँ मानिसहरू झुक्किन्छन् । यस पटक यस्तै भयो । टम हल्यान्डरले बक्स अफिसमा पाएको सफलताबाट करिब करोडको पारिश्रमिक उनको खातामा पठाएको भन्दै इमेल पाए ।

हुन त उनले केही राम्रा हलिउड फिल्ममा काम नपाएका होइनन् तर बक्स अफिसमा धमाल नै मच्चाउने गरी उनको ख्याति बढेको चाहिँ थिएन । उनले खेलेका गडफोर्ड पार्क र इन द लुप भन्ने दुई वटा फिल्म राम्रै चलेका थिए । तर अर्का टम हल्यान्डले चाहिँ छ वटा मार्भल कमिक्सका फिल्ममा अभिनय गरिसकेका छन् । तीमध्ये केहीले त १ अर्ब डलरभन्दा बढीको व्यापार गरेका छन् ।

हालै एउटा अमेरिकी च्याट सो लेट नाइट विद सेथ मेयर्समा ५६ वर्षे हल्यान्डरले आफ्नो खातामा अचानक करोड डलर आएको सूचना पाएपछि झन्नै बौलाएको खुलासा गरेका हुन् । खासमा त्यो पैसा भने २७ वर्ष टम हल्यान्डको थियो ।

केही वर्षअघि आएको त्यो पैसा उनले बिबिसीको एउटा सोका लागि पाएको ३० हजार पाउन्डको तुलनामा धेरै भएको बताएका छन् । उनले ३० हजार पाउन्ड पाउनु नै ठूलो कुरा रहेका बेला करोडको संख्यामा पैसा आएको सूचना पाउँदा त दिमागै खराब भएको बताएका हुन् ।

उनले पाएको इमेल सूचनामा लेखिएको थियो, ‘तपाईंको पहिलो बक्स अफिस बोनसबापत यो रकम पठाइएको छ । एभेन्जर शृंखलामा तपाईंको योगदानका लागि यो रकम पठाइएको हो ।’

सो रकम आफ्नो जीवनभरको बक्सअफिसमा पनि नउठ्ने हल्यान्डरले बताएका छन् ।