कम्प्युटरमा लेख्नु राम्रो कि कापीमा ? अहिले यस विषयमा वैज्ञानिकहरू छलफलमा मग्न हुन थालेका छन् । यसको कारण हो, पछिल्लो समय भएको एउटा अध्ययनमा हातले लेखिने गतिविधिले मानिसको मस्तिष्कको गतिविधि बढ्ने र यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

त्यसो त पश्चिमा मुलुकहरूमा स्कुलका विभिन्न गतिविधिमा ल्यापटप र ट्याब्लेट सामान्य बनिसकेका छन् । यस्तोमा कलम र कापीलाई पनि सँगसँगै विद्यालयले महत्त्व दिनुपर्ने भन्दै जोड दिन थालिएको हो ।

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीको अध्ययनमा भनिएको छ, ‘हातले लेख्दा अक्षरहरू घुमाउनुपर्ने हुन्छ, कतिपयलाई अक्षर सुन्दर बनाउने सोख पनि हुन्छ । यस्तोमा मस्तिष्कमा पार्ने सकारात्मक प्रभाव कम्प्युटर टाइपले पार्ने प्रभावभन्दा निकै राम्रो हुन्छ ।’

अक्षर लेख्ने गतिविधिका कारण मस्तिष्कको संयोजन, एकअर्कामा जोडिन गरिने अभ्यास निकै फलदायी हुने देखिएको हो । यस्तो गतिविधिका कारण मस्तिष्कका विभिन्न क्षेत्रहरूबीच अन्तरक्रिया र जोड बढ्ने देखिएको हो ।

शोधकर्ता अड्री भान डेर मीर भन्छिन्, ‘कम्प्युटरमा फरर टाइप गर्दा भन्दा हातले लेख्दा मस्तिष्कका विविध पाटोबीच संवाद र सहकार्य हुने देखिएकाले हातले लेख्नु धेरै राम्रो हो भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

सन् १९९० मा लेखक निल गेइम्यानले आफ्नो पछिल्लो उपन्यास ‘स्टारडस्ट’ लेख्दै गर्दा सोचे कि सन् १९२० को दशकको कथा मैले भनिरहेको छु भने त्यो बेला यो पात्रले केमा लेख्थ्यो ? पक्कै पनि टाइपराइटरमा लेख्दैनथ्यो । उसो भए पक्कै पनि कलम र कापीमा लेख्थ्यो । मेरो पात्रले कलम र कापीमा लेख्नुपर्छ भने मैले पनि पूरा उपन्यास कलम र कापीमा नै लेख्नुपर्छ भन्ने उनले सोचेर सो उपन्यास लेखेका थिए । जब उनले हातैले उपन्यास लेख्न थाले, उनलाई बडो मजा आयो । उनको मस्तिष्कको उत्पादकत्व पहिलेको भन्दै धेरै बढेको महसुस भयो ।

गेइम्यानले त्यसपछिका उपन्यासहरू हातैले लेखे । तीमध्ये अमेरिकन गड्स निकै प्रख्यात बन्यो ।

नेपालकै लेखक कुमार नगरकोटी पनि कलमले नै लेख्छन् । यसबारेमा उनको जोगियाना संस्मरणमा निकै रोचक ढंगले उल्लेख गरेका छन् ।

यस्तै साहित्यकार सुसन सोताङले सन् १९९५ मा द पेरिस रिभ्युमा लेखेकी छन्, ‘कलमले लेख्दाको फाइदा आफ्नो गति कम हुन्छ । त्यो कम गतिका कारण हाम्रो मस्तिष्कले सोच्ने समय बढी पाउँछ ।’

सुसन सोताङ र निल गेइम्यान दुवैले आफ्नो कृतिलाई पहिले कापीमा लेख्ने र दोस्रो वा अन्तिम ड्राफ्टका बेलामा मात्र टाइपिङ गर्ने बताएका छन् ।

नर्वेका शोधकर्ताहरूका अनुसार लेख्दा सिर्जनशीलता बढ्ने मात्र नभई सिकाईको कुँजी पनि रहेको बताएका छन् । उनीहरूको अध्ययनको निष्कर्ष छ, ‘कापीमा लेख्दा स्मृति निर्माण हुन्छ । मस्तिष्कले त्यसका लागि कोड बनाउँछ । यस्ता कोड सिकाइका लागि फाइदाकारक हुन्छन् ।’

यस अध्ययनका लागि ३६ विश्वविद्यालयका विद्यार्थीहरूको मस्तिष्क गतिविधि नापिएको थियो । त्यसका लागि विद्यार्थीलाई एलेक्ट्रोइन्सेफालोग्राम दिइएको थियो । यसपछि विद्यार्थीहरूलाई डिजिटल डटपेन दिइएको थियो । त्यसबाट उनीहरूले स्क्रिनमा केही लेख्नु पर्थ्यो । र, अर्को समूहलाई भने औँलाले नै किबोर्डमा ती अक्षर लेख्न लगाइएको थियो ।

डिजिटल डटपेनबाट लेख्ने क्रममा हातको गतिविधिले मस्तिष्कमा हलचल बढाउने र यस्तो प्याटर्न बढाइरहेको थियो, जसले सिकाइलाई हौस्याउँछ ।

ट्याबमा लेख्न र पढ्न सिकेका बालबालिकाहरूले अक्षर अक्षरबीचको फरक पत्ता लगाउन नसकिनुको मूल कारण पनि यही हो भन्ने वैज्ञानिकहरूको तर्क छ ।

अध्ययनले भनेको छः बालबालिकाहरूलाई सानै उमेरदेखि हातैले लेख्ने गतिविधिमा जोड दिनुपर्छ । यसले न्युरोजन्य कनेक्टिभिटी बढाउँछ र सिकाइको उच्चतम अवस्था सिर्जना गर्छ ।

कलेजमा पनि विद्यार्थीहरूले नोट बनाउने, कापीमा लेख्ने र पछि घरमा लामो अनुच्छेदहरू बनाउने कुरामा जोड दिनुपर्ने भान डेर मीर बताउँछिन् । यसो गर्दा नै विद्यार्थीहरूले बढी सिक्ने, लामो समयसम्म स्मृतिमा राख्न सक्ने देखिएको छ । कीबोर्डलाई भने लामा अनुच्छेद लेख्न अथवा निबन्धका लागि प्रयोग गर्न सुझाव मीरको छ ।

वासिङ्टन विश्वविद्यालयले सन् २००९ मा गरेको अध्ययनमा प्राथमिक विद्यालयमा कलम प्रयोग गर्नेले बढी लेख्ने मात्र नभई चाँडो लेख्ने र वाक्यहरू पूरापूर लेख्ने गरेको पाइएको थियो ।