त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराई सरले एक हप्ता अगाडि फोनमा भन्नुभयो, ”टंक सर हामी २७ गते जुहाङ हसरा जाने हो मानसिकता बनाउनुहोला ।”
मैले ‘हुन्छ अनुकूल भए जाउँला नि सर’ भन्ने जवाफ दिएको थिएँ । २७ गते बिहान ८ बजे क्याम्पस व्यवस्थापन समितिको बैठक पनि डाकिएको थियो । करिब ११ बजे बैठक सकेर खाना खाईवरी हिँड्ने तयारी गरियो । तानसेनबाट रानीमहल झरेर करिडोरको बाटो हामी चार जना (टंक भट्टराई सर, पुष्कर आचार्य सर, शंकर भट्टराई सर र म स्वयं) जोहाङ खैरेनीका लागि प्रस्थान गर्यौं ।
छेर्लुङमा जेरीको मिठो स्वाद लिएर छेर्लुङ, अर्तुंगा र अर्गलीको फाँट तथा कुँडापानी हुँदै रिडी बजार पुगियो । रिडीमा अवस्थित तीनमुखे पुलको अवलोकन पनि गर्यौं । साहित्यकार नारायण अधिकारी सर पनि सपरिवार रिडी घुम्न जानुभएको रहेछ । सँगै स्याङ्जाको भूमिमा पुगेर फर्किने क्रममा उहाँसँग तस्बिर लिएर हामी अगाडि बढ्यौँ । पुष्कर आचार्य सरको आग्रहलाई सहमति जनाई हामीहरू रुद्रवेणीमा अवस्थित राम मन्दिरमा दर्शन गरी केही समय कालीगण्डकी र बढिघाटको सङ्गमको रमणीय तथा पावन परिवेशलाई साक्षात्कार गरियो । शान्त अनि स्वर्गीय अनुभूति हुने स्थानमा केही समय बस्दा पनि विशेष खालको अनुभूति भयो । रुद्रवेनीको महत्त्वका कुरा गर्दै तस आश्रममा रहेका वृद्धा आमाहरूका बारेमा सोधपुछ गर्यौं ।
आश्रममा ४० जना आमाहरू रहेको कुरा अस्लेवा घर बताउने पुजेरी भाइले बताए । ह्विलचियरमा बसेकी एउटी आमालाई देखाउँदै उनले भने, ”उहाँ यहाँ आएको ५५ वर्ष भयो ।” उहाँहरूको खानपानको व्यवस्थाको सम्बन्धमा जिज्ञासा राख्दा ”आश्रमकै व्यवस्थापनमा भइरहेको छ, केही मनकारीहरूले आफ्नो जन्मदिन, पितृको श्राद्ध, एनिभर्सरी आदि अवसरमा खाना खुवाउनका लागि अन्न वा पैसा दिनुहुन्छ त्यसले पनि गर्जो टरेको छ” उनले भने ।
आमाहरूका सन्तान भेट्न आउँछन् कि आउँदैनन् भन्ने प्रश्नमा केही आउने गरेको तर धेरैजसो देखिँदैनन् भन्ने प्रतिक्रिया उनले दिए । हिजोका दिनमा ती आमाहरूले कति दुःख गरे होलान्, सन्तानका सुखमा कति खुसी भए होलान् तर जीवन भोगाइका क्रममा यो गति भोग्न विवश बनेका छन् भन्ने विषयमा केही बेर घोत्ल्यौं हामी । पुजेरी भाइकै आग्रहमा चिया पिएर उनलाई धन्यवाद प्रकट गरी हामी खैरेनीतर्फ लाग्यौँ ।
अपराह्न ४ बजेतिर हामीहरू खैरेनी पुग्यौँ । हामीलाई प्रतीक्षा गरिरहनुभएका विष्णु ज्ञवाली सरलाई भेटी सत्यवती गाउँपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुप्रसाद भण्डारीको घरमा गयौँ । उहाँ नाताले टंक भट्टराई सरका सम्धी र शंकर भट्टराई सरका सानोबुबा पर्नुहुन्छ । उहाँको घरनजिकै गाउँ पालिकाको कार्यालय रहेछ । यात्रामा सहभागी हामी चार जनामध्ये टंक भट्टराई सर र शंकर भट्टराई सर खैरेनीमै बस्ने मुडमा हुनुहुन्थ्यो । तर पुष्कर सर र म भने भार्से जाने कुरालाई जोड दिएका थियौँ । विष्णु भण्डारी सरले भार्से यहीँ पनि छ भन्ने सङ्केत गरी बस्नलाई आग्रह गर्नुभयो । उहाँको सङ्केतले यो बुझाउँथ्यो कि भार्सेमा पाइने आतिथ्य यहाँ पनि पाइनेछ । विष्णु भण्डारी सरको आग्रहलाई नकार्न नसकी हामीले त्यहीँ बस्ने निधो गर्यौँ ।
गाउँपालिका कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गरी केही समय त्यहाँ वरपरको परिवेशलाई नियाल्दै घुमफिरसमेत गरियो । हसरामा अवस्थित सत्यवती क्याम्पसको अवलोकन गरियो । विष्णुप्रसाद भण्डारी अध्यक्ष रहेको अस्पताल कक्षहरूको पनि अवलोकन गरियो । विष्णुप्रसाद भण्डारीले आफ्नो परिवार, शिक्षणसेवा, सामाजिक सेवा लगाएका विषयमा धेरै कुराको जानकारी गराउनुभयो । उहाँको न्यानो आतिथ्य सम्झनायोग्य रहेको छ । मेरो अनुभवको विश्वविद्यालय भन्ने उहाँको कथन अनि बहिर्मुखी स्वभाव र हार्दिकता हृदयमा अङ्कित रहेको छ । भोलिपल्ट बिहान भार्से जाने कुरा गरी त्यस दिन अबेर राति सुत्यौँ ।
२८ गते बिहान केही ढिलो उठेर नित्यकर्म सक्दा विष्णु भण्डारी सरले चिया तयार गर्नुभएको रहेछ । चियापान गरेसँगै उहाँसँग बिदा भई विष्णु ज्ञवाली सरको घर हसरातर्फ लाग्यौँ । हामी पुग्दा म्याडमले चिया तथा खाजा तयार गर्नुभएको रहेछ । हतारमा त्यो ग्रहणसँगै केही तस्बिर खिचेर ज्ञवाली सरसहित हामी पाँच जना भार्सेका लागि उकालियौँ । जोहाङतर्फको मूल बाटो बन्द भएकोले हसराबाट माथि चढी नेटा हुँदै जोहाङको मोहर गाउँ, माझगाउँको रमणीय परिवेशलाई नियाल्दै हामी जुनियाँ पुग्यौँ । जुनियाँ माविको प्राङ्गणमा केही बेर रोकी तस्बिर खिचेपछि केही माथि रहेको दुर्गा मन्दिरको अवलोकन गरी भार्सेतर्फ हानियौँ ।
भार्से प्रवेश गर्ने गेटनेरबाट केही उत्तर पूर्व लागेर डाँडामा पुग्यौँ, जहाँबाट जोहाङको गाउँ वरपर अनि रेसुङ्गासम्मका रमणीय प्रकृतिको रसपान गर्यौँ । यसपछि हामीहरू हाम्रो यात्राको मुख्य गन्तव्य भार्सेमा प्रवेश गर्यौँ । भार्सेको अवस्थितिलाई हेर्दा सानो उपत्यकाजस्तो रहेछ । वरिपरिका थुम्काहरू अनि झुन्डझुन्डका रूपमा रहेका हरिया जङ्गलले भार्सेको शोभा बढाएका रहेछन् । त्यहाँका केही ऐतिहासिक र सांस्कृतिक महत्त्वका सम्पदाले भार्सेलीहरूको परिचय दिँदा रहेछन् । गोर्खा ग्यालरी भूतपूर्व सैनिकहरूको सङ्ग्रहालयका रूपमा संरक्षण गरिएको रहेछ । प्रथम र द्वितीय विश्वयुद्धमा बहादुरी देखाएका लडाकुहरूको नाम र तस्बिर अङ्कित गरी इतिहासलाई जोगाएर राख्ने काम गरिएको रहेछ ।
भार्सेमा कालिका मन्दिर, ठुला पोखरा, जन सहयोग मावि, साना पोखरा, रानीवन होमस्टे, अर्कुल दरबार, बौद्धस्तूपा लगायतका दर्शनीय स्थलहरू रहेछन् । बहादुर योद्धाहरूको गाउँ भनेर पनि भार्सेलाई चिन्ने गरिन्छ । रानीवन होमस्टे आमा समूहले अतिथिहरूलाई स्वागत र व्यवस्थापन गर्दो रहेछ । अहिलेसम्म भाडामा चलेको होमस्टेको आफ्नै संरचना निर्माण गरिएको र यही ५ गते उद्घाटनको कार्यक्रम रहेछ । उक्त कार्यक्रममा हामीलाई पनि निम्तो दिए उनीहरूले । गंगा दर्लामी उक्त संस्थाकी अध्यक्ष रहिछन् । उनले सांस्कृतिक रूपमा हामीले भार्सेको पहिचानलाई जोगाइराख्ने सोचमा छौं भन्ने विचार व्यक्त गरिन् । समितिकी सदस्य उमेरले पनि पाकी देखिने तेजकुमारी रानाले गाउँबाट मानिसहरू तीव्र रूपमा बसाइँ सराइ गरेर जाने क्रम नरोकिएकाले गाउँ नै रित्तिन लागेकोमा चिन्ता व्यक्त गरिन् ।
२००८ सालमा खुलेको जनसहयोग माविका जीर्ण भवन तथा कुल १४० विद्यार्थी सङ्ख्याले गर्विलो इतिहासलाई गिज्याइरहेको अनुभूति भयो । स्याङ्जाको विर्घाका लोकहरि पाण्डे प्रअको भूमिकामा रहेछन् । प्रअ लगायतका केही शिक्षक साथीहरू क्वाटरमै बस्दा रहेछन् । उनीहरूसँग विद्यालयको वर्तमान अवस्थाका बारेमा छोटो विमर्श पनि गरियो । विष्णुप्रसाद ज्ञवाली सर आफूले प्रवेशिकासम्म अध्ययन गरेको विद्यालयमा धेरै समयपछि आएकोमा केही भावुक र प्रफुल्लित मुद्रामा हुनुहुन्थ्यो । उहाँले विद्यालयलाई ढोग्दै कृतज्ञता प्रकट गर्नुभयो । त्यहाँको अवस्था र इतिहासका बारेमा विष्णु सरले धेरै जानकारी गराउनुभयो । आमासमूहले तयार पारेको खाना खाएपछि माला र टीकासहित उनीहरू हामीहरूलाई बिदाइ गर्ने तयारी लागे ।
हामीहरूले दोहोरीको प्रसङ्ग निकाल्दा साँझमा पाहुनालाई मनोरञ्जन दिलाउन दोहोरी गीत गाउने गरेको कुरा उनीहरूले व्यक्त गरे । हाम्रोतर्फबाट एक दुई चरण गीत सुनेपछि तेजकुमारी राना दिदीले मादल ल्याउन अह्राइन् । आमा समूहका चार पाँच जना र हाम्रोतर्फका बिचमा केही समय दोहोरी चल्यो । गीतमा भार्से कस्तो लाग्यो ? फेरि पनि आउनुहोला, स्वागत गर्न पाइयोस् भन्ने भाव व्यक्त भएको थियो । हाम्रातर्फबाट पनि गीतकै माध्यमबाट मायालु आतिथ्य र स्वागतलाई धन्यवाद दिई फेरि आउने प्रतिबद्धता व्यक्त गरियो । भार्सेली आमा समूहको न्यानो सद्भाव बोकेर केही समयको यात्रापछि निकै उचाइमा रहेको भार्से देउराली पुगियो ।
पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्न लागिएको बौद्धस्तूपा र अन्य संरचनाहरूले उक्त ठाउँको आकर्षण थपेको देखियो । त्यसैको पूर्वपट्टि लुम्बिनी प्रदेशकै अग्लो मानिएको थाप्ले लेक अवस्थित छ । सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण सत्यवती र लुम्पेक पनि नजिकै रहेका छन् । उत्तरतर्फ हेर्दा हिमालहरू नजिकै देखिनुका साथै पर्वत र वाग्लुङका रमणीय बस्तीहरू देखिए । दक्षिणतर्फ फर्किंदा टाढासम्म फैलिएका गुल्मी, पाल्पा र अर्घाखाँचीका बस्तीहरू तथा अग्ला पहाडी डाँडाहरूको अवलोकन गर्न पाइँदो रहेछ । विष्णु ज्ञवाली सरले फोक्सिङ, खड्गको ट, भुर्तुङ, व्याधि लगायतका गाउँहरूलाई चिनाउनुभयो ।
यसपछि भार्सेको उत्तर खण्डको सेपिलो बाटो हुँदै टाढैबाट रमणीय देखिने ग्वाघा गाउँमा पुगियो । त्यहाँ भन्ज्याङको पोखरीका बीचमा बुद्धको मूर्ति राख्नका लागि मिस्त्रीहरूले काम गर्दै थिए । केही झलक क्यामरामा कैद गरी क्वाङ्दी हुँदै शान्तिपुरतर्फ ओरालो झर्यौं हामीहरू । बाटो सोध्ने क्रममा हरेवा गाउँमा भेट भएका गोपाल पौडेलले पारिपट्टिको पाहारिलो पाखामा निलो टिन लगाएको घर देखाएर जीवराज आश्रितको जन्मघर त्यही हो भनी सङ्केत गरे ।
जीवराज आश्रित नेकपा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख थिए । दास ढुङ्गा हत्याकाण्डमा मदन भण्डारीसँगै उनको पनि हत्या भएको हो । राष्ट्रवादी नेताको दुःखद अवसानको रहस्य अझै पनि बाहिर नआउनु हाम्रो दुर्भाग्य हो भन्ने कुरा मनमा अनुभूति भयो । जीवराजका नाममा स्थापना गरिएको सङ्ग्रहालय र मूर्तिको प्रसङ्ग पनि उनेले जोडे । ओरालो झर्ने क्रममा चन्द्रकोट ६ हरेवाको वडा कार्यालयलाई नियाल्दै अगाडि बढियो । केही तल पारिपट्टि बाटाको बगलमा रहेको जीवराज आश्रितको मूर्ति अगाडि उभिएर तस्बिर पनि लियौं ।
त्यसपछि शान्तिपुरको फाँट हुँदै शान्तिपुर बजारमा प्रवेश गरियो । बाटाको बगलमा निर्माणाधीन भव्य भवन अस्पताल हुनसक्छ, त्यसलाई नियाल्दै विकास गाउँतिर शहर हुँदै विदेशतिर भन्दै शान्तिपुरका मुख्य बजार क्षेत्रमा प्रवेश गर्यौं । पहाडी उचाइमा फाँट र हुग्दी खोलाको वारिपारि बजार फैलिएको रहेछ । शान्तिपुर बजारको सुन्दर दृश्यलाई नियाल्दै पारिपट्टि उचाइमा रहेको प्रहरी भवन तथा हुग्दी खोलाको पश्चिमोत्तर किनारमा रहेको २०१४ सालमा स्थापित उदय माविको भौतिक संरचनालाई अवलोकन गरी केही तस्बिर लिएर हतारमा अगाडि बढ्ने काम भयो । बजार सकिनासाथ चोरकाटे झर्ने बाटाको बगलमा चन्द्र कोट क्याम्पसको आकर्षक भवन रहेछ । हामीलाई तानसेन फर्किन हतार भएकोले क्याम्पस परिसरमा भने प्रवेश गरेनाैँ । तर एउटा तस्बिरसम्म लिन नपाएकोमा केही पछुतो पनि लाग्यो ।
शान्तिपुरबाट चोरकाटेसम्मको दूरी १४ कि.मि. पक्की मोटरबाटो रहेछ । पक्की सडकमा मोटरसाइकल चलाउन पुष्कर सरलाई केही सहज भएको अनुभूति भइरहेको थियो । रुपाकोटको सिरानबाट मजुवा बजार, तुराङ, दम्काको फाँट तथा रामनाथ न्यौपाने सरको घर भएको ठाउँ देउरालीको सेरोफेरो तथा पारिपट्टि पाखामा निर्माण हुँदै गरेको बाटोसमेत हेर्दै चोरकाटेतिर ओरालो लागियो । चोरकाटेमा चिया पिएर ढिलो नगरीकन अगाडि बढ्ने काम भयो । खैरेनी बजारमा वडाध्यक्ष विष्णु भण्डारी सरसँग पुनः बिदा भएसँगै केही अगाडि आएर विष्णु ज्ञवाली सरसँग पनि बिदा मागी हामीहरू चार जना तानसेनतिर लाग्यौँ । फर्किँदा सन्ध्याकालीन समयमा हृषीकेश भगवान्को दर्शन पनि गरियो । साँझ सात बजेतिर तानसेन आइपुगियो ।
वास्तवमा हाम्रो यो यात्रा सामान्य भेटघाट र शिष्टताका लागि थियो । हिँड्दै जाँदा यात्रा फलदायी बन्न पुग्यो । न्यानो आतिथ्यका लागि वडाध्यक्ष तथा सामाजिक व्यक्तित्व विष्णु भण्डारीप्रति हामी कृतज्ञ रहेका छौँ । भार्से जाने कुरालाई जोडबल गर्ने पुष्कर सरका कारणले त्यो भूगोल, प्रकृति अनि ग्वाघा र शान्तिपुरका प्रकृति र अवस्थितिलाई नियाल्ने सुखद अवसर मिल्यो । विष्णु ज्ञवाली सर जसले हामीलाई यात्रामा साथ दिएर त्यस क्षेत्रका गाउँ ठाउँलाई चिनाउनुका साथै ती ठाउँहरूको ऐतिहासिक तथा सांस्कृतिक विशेषतालाई पनि परिचित गराउनुभयो ।
त्यति मात्रै होइन घरमा स्वागत गर्नुका साथै भार्सेमा खाना खाएको पैसा तिर्ने मौकासमेत हामीलाई दिनुभएन, उहाँकै कारणले हामीलाई ती क्षेत्रमा अवलोकन गर्न सहज भएको हो । उहाँलाई पनि विशेष धन्यवाद दिई हामीहरू पाल्पातिर लाग्यौँ । रानीवन होमस्टे आमासमूह परिवारको आत्मीयता अनि हाम्रो यात्रालाई अविस्मरणीय बनाउने साङ्गीतिक माहोलप्रति पनि धन्यवाद भन्नै पर्छ । उनीहरूले भार्सेको संस्कृति बचाउन र पर्यटकहरूलाई आकर्षण गर्नलाई खेलेको भूमिका प्रशंसनीय रहेको छ ।
हाम्रो देश प्रकृतिको अक्षय भण्डार हो । हाम्रा प्रत्येक डाँडाकाँडा, खाेच, पाखा अनि देउरालीमा अनन्त सौन्दर्य खुलेको छ । तर हामीले यस्ता अमूल्य सम्पदाको संरक्षण र प्रचार गर्न सकेका छैनाैँ । यस्तै महत्त्व बोकेको पर्यटकीय क्षेत्र भार्से र सेरोफेरो रहेछ । भार्सेली आमा समूहको अर्ग्यानिक खाना अनि मौलिक संस्कृतिलाई प्रचारप्रसारमा ल्याउन सकेमा यहाँको विकासमा टेवा पुग्ने देखिन्छ ।
यसै गरी भार्से जाने मार्गलाई स्तरीकरण गर्न सकेमा भार्से पनि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । थाप्ले र सत्यवतीलाई समेत जोडेर यस क्षेत्रमा पर्यटनको गुरुयोजना बनाउन सकिन्छ । उच्च पहाडी जीवनशैली, हिमाली शृङ्खलाहरू दृश्यावलोकन तथा प्रकृतिका काखमा रमाउनेहरूका लागि भार्से देउराली आकर्षक ठाउँ रहेछ ।
गिरिप्रसाद बुढाथोकी, श्रीप्रसाद बुढाथोकी, पदमबहादुर पुन, झकबहादुर पुन र कृष्ण छन्त्याल जस्ता नेता र सांसदहरू भार्सेमै जन्मेका हुन् । गोर्खा ग्यालरीको अवलोकन गर्दा बहादुरी देखाएका लडाकुहरूप्रति स्वतः श्रद्धा जागेर आउँछ । हिजो प्रतिकूल जीवनमा पनि स्वाभिमान बाँचेको भार्से आज मलिन छ, निराश छ, खिन्न छ । गुल्मीको शिक्षामा सुकिलो छवि बनाएको जनसहयोग मावि अहिले जीर्णशीर्ण अवस्थामा रहेको देख्दा देशकै वास्तविक परिस्थितिको बोध हुन्छ ।
हामी घुम्नु र देख्नुपर्छ हाम्रै वरिपरि अनमोल सम्पदाहरू छन्, हाम्रा आफन्तजनहरू स्वागतका घडाहरू सजाएर बसेका छन् । घुम्दै गर्दा जीवनका सजीव मर्महरू खुल्न सक्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।