केबुलकारको बट्टा डोरीमा झुल्दैझुल्दै हावामा घस्रिंदै छ । बट्टाभित्र म छु ऊ छ र अरू कोही छैन । यतिखेर केबुलकारमा बम पड्काउने हल्ला बढी फिँजिएको हुँदा मानिसको घुइँचो एकदमै घटेको छ । पूरै वातावरणमा त्रासको तीखो तेजाब र आतङ्कको कडा बारुद टन्कने किसिमले गानिएको छ ।

एउटै बट्टाको यात्री भए पनि ऊ को हो भन्ने मलाई थाहा छैन र म को हुँ भन्ने उसलाई थाहा छैन । ऊ पल्लो सिटमा बसेकी छ र म वल्लो सिटमा बसेको छु, एकदमै आमुन्नेसामुन्ने । आफ्नो ठाउँमा, कुचुक्क परेर ऊ आफूभित्र गुँडुल्किएकी छ, घमलङ्ग बिरानोपन ओढेर । म पनि आफूभित्रै गुँडुल्किएको छ, घमलङ्गै बिरानोपन ओढेर । बट्टाभित्र मेरो बिरानोपन र उसको बिरानोपनको नरमाइलो हुस्से धुम्मिएको धुम्मियै छ ।

ऊ राम्री छ, धाम परेको ऐनाको टुक्राझैँ धप्पै बलेकी छ । ऊ तन्नेरी छ बैंसको दैलो मचक्क टेकेर उभिएकी छ । उसले नाइटोभन्दा मास्तिर – कसिएको गुलाफी भेस्ट र नाइटोभन्दा  तलतिर कसिएकै जिनप्यान्ट लगाएकी छ । भेस्ट र प्यान्टको बीचमा उसको गोरो छालाको उदाङ्ग भूमध्यरेखा छ, जुन रेखाको केन्द्रमा टल्कने सिताराले बुट्टा भरिएको उसको नाइटो प्रकाश र रङ्गको अनौठो उपग्रह झिलमिल गर्दो छ ।

अघि म बट्टाभित्र छिर्दा उसले एकपटक मतिर पुलुक्क हेरेकी थिई पानीमा सलबलाएका माछाजस्ता अस्थिर आँखा घुमाएर । त्यसपछि उसले मतिर नहेरे पनि उसलाई धेरै पटक हेरिसकेको छु र बारम्बार उसको चिल्लो अनुहारबाट तल चिप्लिएका आफ्ना आँखा उसका उन्नत छातीमा अड्याएको छु ।

उसका कसिला, भरिला, बाटुला र उम्लेर भुकलुक्क बाहिर आउलान् जस्ता छाती त्यसैत्यसै मेरा आँखामा गाडिएर बसेका छन् । मैले जबजब उसतिर आँखा फालेको छु तबतब ऊ कि मास्तिर आकाश कि तलतिर भुइँ हेरिरहेकी हुन्छे । अहिले बट्टामास्तिर फिँजिएको सारा आकाशमा बादलको कालो अजिङ्गर मडारिंदै छ र बट्टातल पसारिएको समुच्चा धरतीमा खडेरीको विशाल बँदेल लडिबुडी खेल्दै छ ।

उता शून्यमा केबुलकार झन्झन् गति बढाएर कुदेको छ भने यता बट्टाभित्र धुम्मिएको बिरानोपनले रिसाएको बिरालोझैं मलाई दर्फराउन थालेको छ । म त्यस झन्झन् लुछ्दो  र नङ्ग्याउँदो बिरानोपनलाई पन्छाउन के गरौं र कसो गरौं भनेर सोच्दै मात्र हुन्छु, एक्कासि केबुलकारको बट्टा घ्याच्चघ्याच्च झड्का खान र बेसरी हल्लिन थाल्छ । के भएको हो भन्ने आतेसमा डुबेका आँखाले ऊ अकस्मात् मतिर हेर्छ र बिरानोपनको खोल ध्यार्रै च्यातेर मुख उघार्छे – लौ न, के भाको ?

– तिमी पहिलो पटक केबुलकार चढेको ?

– हो ।

– आत्तिनु पर्दैन, यस्तै हो । केही  भएको छैन ।

– ओहो, कस्तो डरलाग्दो गरी  हल्लेको !

– धेरै डर लागेको भए मेरो हात समाऊ, डर भाग्छ ।

– आम्मै, मेरो त मुटु पनि कस्तरी ढुक्क गरेको !

– त्यसको पनि उपाय छ । ल, मेरा काँधमा यसो मुन्टो अड्याऊ, तत्काल तिम्रो मुटुको ढुकढुक मथ्थर हुन्छ ।

– बाफ्रे, यो केबुल झर्छ क्यारे, अब मरिन्छ क्यारे !

– मेरा अँगालामा आऊ, यो तल झरे पनि म तिमीलाई मर्न दिन्न ।

– खबरदार, मलाई एक्लै देखेर जथाभावी कुरा नगर, म त्यस्ती-उस्ती होइन ।

– म पनि त्यस्तो उस्तो होइन । त्यसो भए अहिले एक्कासि किन तिम्रा आँखाबाट वासनाका भोका जनावर चिहाउँदै छन् त ?

– अहिले म अलिकति भावुक र अलिकति रसिक भएको छ, तर कामुक चाहिं भएको छैन । एकपटक मेरा आँखा राम्ररी नियालेर हेर, तिनमा तिमी वासनाको भोका जनावर होइन दयामायाका शान्त जनावर देख्नेछ्यौ ।

– चुप लाग ।

– म चुप लागेर बस्न र मनका कुरा पोका पारी लुकाउन जान्दिन ।

– त्यसो भए फतफत गर त !

– फतफत होइन, तिमीलाई देखेर मेरा मनमा जागेका सच्चा चाहनाहरूभन्न चाहन्छु, भनौ !

– भन ।

– ल सुन, तिमी सुन्दर छ्यौ, म तिमीलाई माया गर्न चाहन्छु ! तिम्रा सुडौल वक्षले मलाई लोभ्याएका छन् म तिनलाई छोएर अनुभव गर्न चाहन्छु । अब कुरो किन लुकाउनु, म तिमीलाई भोग्न पनि चाहन्छु तर बलात्कार भने गर्न चाहन्न ।

– उस् !

– उस् र इस् होइन, साँच्चै । त्यसो भए के तिमी बलात्कार गर्दिन भनेर बाचा गर्छौ त ?

– बाचा गर्छु, म तिम्रो बलात्कार गर्दिन भनेर बाचा गर्छु ।

– त्यसो भए तिमी र म साथीसाथी ।

– हो साथीसाथी ।

बाचा माग्दामाग्दै उसले आफ्ना दुवै हात मेरा सामु थापेकी हुन्छे भने बाचा गर्दागर्दै मैले आफ्ना दुवै हात उसका हातमा राखेको हुन्छु । एकछिनपछि उसले आफ्ना हात सरक्क तान्छे र सारै सन्चो मानेर सास फेर्छे । त्यतिन्जेलमा बट्टा हल्लिन छाडेर स्थिर गतिले उकालो चढ्न थालेको हुन्छ । ऊ तल भुइँमाथि उम्रेको जङ्गलमा दौडिंदै गरेका रूखहरूसँगै लागेर कताकता बरालिन र हराउन लागेकी छ । ऊ त्यतै बरालिएर नहराओस् र फेरि परिवेशलाई बिरानोपनले नगाँजोस् भनेर म हत्त र पत्त कुरो कोट्याउँछु- हामी साथीसाथी भयौँ भने  चिनजान गरौं न ।

– हुन्छ, चिनजान गरौं । भन साथी, तिम्रो नाम के ?

– म बेदप्रकाश हुँ । साथी, तिमीले मलाई बेदू भने हुन्छ । अनि …अनि तिम्रो नाम के नि ?

– म सिम्रिक ।

– सिम्रिक, तिमी केबुलकार चढ्न हिंडेकी अथवा दर्शन गर्न ?

– दर्शन गर्न, अनि केबुलकार चढ्न पनि । तिम्रा नि, बेदू ?

– त्यस्तैत्यस्तै हो, दर्शन जुरे दर्शन गर्न  र चढ्न जुरे चढ्न ।

– तिम्रो भनाइ सोझो हो भने ठीक छ, तर घुमाउरो हो भने त खतरनाक छ ।

– अँ हो, मेरो भनाइ सोझो बुझ्नेलाई सोझो हो र घुमाउरो बुझ्नेलाई घुमाउरो हो । सिम्रिक, तिमीले सोझो बुझ्यौ कि घुमाउरो ?

– बेदू, मन्दिर पुग्न अब कति बाटो बाँकी छ ?

– ओहो, कुरा छलेकी ! सिम्रिक, भर्खर त देवीदर्शनको यो यात्रा सुरु मात्र भएको छ ।

– केबुलकारको सवारी क्या रमाइलो होला भनेको त सारै पट्यारलाग्दो हुँदो रैछ ! साथी, मलाई त ओर्लूंओर्लूं भइसक्यो ।

– रमाइलो मानेर गरेको यात्रा रमाइलो हुन्छ र झर्को मानेर गरेको यात्रा पट्यारलाग्दो हुन्छ । हेर सिम्रिक, यो केबुलकार पहिला यस पहाडको टुप्पामा पुग्छ, अनि त्यहाँबाट तल झर्छ अनि अर्को पहाड उक्लिन्छ अनि अर्को डाँडो काट्छ, अनि तल ओर्लिन्छ अनि… !

– अनि के ?

– अनि सब खतम, यो रमाइलो यात्रा समाप्त ।

– एहे, मन्दिर त टाढा पो रैछ !

केबुलकार पहिलो पहाडको उकालो चढेर थकाइ मारेजस्तै गरी एकदमै बिस्तारै हिंड्न लागेको छ । हिंडेको हो कि होइनजस्तो भएपछि सारै झिजिंदै ऊ आफ्ना टाउकाको क्याप फुकाल्छे । क्यापभित्र लुकेर बसेको कालो, चिल्लो र मोटो नाग फुक्का भएर उसका गर्धनमा झर्छ र केस्राकेस्रा भएर कुममा ढलमल गर्दै सलबलाउन थाल्छ । खुल्ला केशले घेरिएको उसको मुहार अहिले स्त्रीत्वको झन् मत्याउने लागू पदार्थ बन्न पुगेको छ । म बल्ल देख्छु उसका निधारतिर लत्रिएका काला कपालका माझमाझमा केही लट्टा हलुका सुनौला रङ्गमा रङ्गिएका छन् । म उसका तिनै काला र सुनौला केशको इन्द्रजालमा अल्झिंदै र बल्झिंदै गरेका बेला मेरा कानमा उसका चर्काचर्का शब्द पर्छन्- बेदू, ए बेदू, कता हरायौं भन्या ? ल, यो लेऊ ।

– के हो यो ?

– चुइङ्गम हो, ल समाप्त ।

– यो त मलाई पनि मन पर्छ, तर यसमा तिमीले लट्ठ पार्ने औषधि त मिसाएकी छैनौ ?

– के रे ?

– नरिसाऊ न, मैले त यसो ठट्टा पो गरेको !

हलुका हप्की मिसाएर आँखा तर्दै उसले मतिर पिठ्यूँ फर्काउँछे र केबुलकारको झ्यालबाट बाहिर चिहाएर ध्वाँसे शून्यको विराट फलक नियाल्न थाल्छे । म चाहिं उसको गोरो, चिल्लो र कतै कुनै दागी नभएको नाङ्गो पिठ्यूँ हेरेको हेर्यै हुन्छु । उसको पिठ्यूँलाई भेस्टको एउटा पातलो तुनाबाहेक अरू केहीले छोपेको छैन । उसको सुनजल्पे उदाङ्ग पिठ्यूँ देखेर मेरो मनको पोखरीमा उत्तेजनाका भुराहरू चलमलाउन थाल्छन् । र मलाई आफ्ना ओठ उसका पिठ्यूँमा टाँसिदिएर ती चञ्चले भुराहरूलाई त्यहीं ओकलिदिऊँ जस्तो लाग्छ । म त्यसै गर्थें होला, तर केबुलकार पहिलो पहाडको उकालोबाट लगातार तलतल ओर्लन लागेको हुँदा मेरो कान चिरिक्क गर्छ र दुख्नदुख्न खोज्छ । म उसले दिएको चुइङ्गम मुखमा हाल्छु र चपाउन थाल्छु । त्यसो गर्दा मेरो कानको दुखाइ मथ्थर हुने गर्छ । ऊ पनि देब्रे कान थिचेर मतिर फर्किन्छे र रुन्चे स्वरमा भन्छे- कान दुख्यो !

– मुख चलाऊ दुखाइ बन्द हुन्छ ।

– के गरी मुख चलाउने ?

– चुइङ्गम चपाएर, सुपारी टोकेर, सुकमेल खाएर अथवा कुरा गरेर ।

– के कुरा गर्ने ? मलाई त कुरा गर्न पनि आउँदैन ।
– तिमी मसँग मबारे जे पनि सोध्न सक्छ्यौ ।
– भन त बेदू तिमी के काम गर्छौं ?

– म सानोसानो उद्योग चलाउँछु ।

– कस्तो उद्योग ?

– ब्रा उद्योग ।

– के रे ?

– ब्रा उद्योग ।

– साँच्चै कि मलाई ढाँटको ?

– ढाँटेको होइन साँच्चै । ल भन  के किरिया खाऊँ ? तिम्रो कालो कपालको किरिया खाऊँ कि, तिम्रो सुनौलो कपालको किरिया खाऊँ कि, तिम्रो… ?

– भोभो, मसँग केटी फकाउने खालका कुरा नगरे हुन्छ ।

– त्यसो भए म आफूबारे एउटा अचम्मको कुरो भनौं त !

– हुन्छ, भन ।

– म कनै पनि आइमाईको बूढीऔंलो छामेर उसलाई लाग्ने ब्राको साइज भन्न सक्छु ।

– तिमी हेर्दा त सोझासोझा देखिन्छौ, तर मान्छे त सारै जाली रै छौ ।

– मैले जाली कुरो होइन, ठीक कुरो गरेको हुँ । पत्याउन्नौ भने तिम्रो बूढीऔंलो यता देऊ ।

– दिन्न ।

– नदेऊ, तिम्रो इच्छा हो, तर तिमी मेरो एउटा अद्भुत शक्ति जाँच्ने ठूलो मौका गुमाउँदै छ्यौ ।

– गुमोस् ।

– तर सिम्रिक, म तिमीलाई यो मौका गुमाउन दिन्न ।

म जुरुक्क उठेर उसका छेउमा जान्छु। उसको छेउमा पुगेर मलाई घना चन्दनवनको सबैभन्दा सुगन्धित रूखमा पुगेजस्तो लाग्छ । उसले विरोध गरे पनि अलिकति निहुरेर म उसको नारी समाउँछु । उसका नारीमा सञ्चित बैंसको मनतातो प्रवाह मेरा हातमा सनन्न सर्छ र मतिर बग्न थाल्छ ।

उसले बेसरी मुठी कसेर दुवै बूढीऔंला लुकाएकी हुँदा सानोसानो सङ्घर्ष गरेर म उसको मुठी खोल्न र बूढीऔंला छाम्न सफल हुन्छु । उसका बूढीऔंला छामेपछि म घोर विस्मयमा डुब्छु । मैले छाम्दै गरेका उसका बढीऔंला मेरा हातबाट फुत्तफुत्त छुटेपछि ऊ पनि कस्तीकस्ती एकतमासकी हुन्छे । थोरै आतङ्ग र धेरै आश्चर्यका स्वरमा उसले सोध्छे – के भो ?

– गजप भो !

– के गजप भो ?

– अहँ, मैले तिम्रो साइज ठम्याउन  सकिन !

– आजसम्म मलाई यस्तो अलमल कहिल्यै भएको थिएन । सिम्रिक, मैले बलजफ्ती तिम्रो बूढीऔंला छामें, मलाई माफ गर ।

– मैले माफ गरें ।

भन्दाभन्दै उसका आँखा रसाइदिन्छन् । एक्कासि उसका आँखाका दहमा बाढी आउँछ र छताछुल्ल बगेको धारले दुवै गाला भिजाउन थाल्छ । उसले टाउको निहुराउँछे । घोसे मुन्टो लगाएर लामालामा सास फाल्छे । अरू औंला मुठीभित्र कसेर उसले दुवै बुढीऔंला ठाडाठाडा पार्छे र तिनैलाई एकोहोरो हेरेर अतीतको कुनै समयटुक्रामा हराउँछे । उसमा आएको यो परिवर्तन देखेर मलाई उकुसमुकुस हुन खोज्छ । अकस्मात् चिउँडो समाएर म उसको अनुहार मास्तिर उचाल्छु र गालाको आँसु पुछिदिंदै भरङ्ग परेको स्वरमा सोध्छु के भो – साथी ?

– केही भएको छैन ।

– आँखाबाट आँसुको भेल किन त ?

– नारीका आँखामा आँसु भनेको केही हुँदा पनि छचल्किन्छ र केही नहुँदा पनि छचल्किन्छ ।

– सिम्रिक, अहिलेचाहिँ के भएर छचल्किएको ?

– आँखामा कसिङ्गर पसेर ।

– हेरहेर ढाँटेकी !

– ढाँटेको भने ढाँटेकै हो ! बेद,  अब मेरो चिउँडोबाट हात पन्छाउँछौ कि ?

– किन पन्छाउने ?

– किनभने केही पल अघिसम्म तिम्रा औंलाबाट मेरो चिउँडो र सर्वाङ्गमा सहानुभूतिको सुगन्धित तरङ्ग आउँदै थियो, तर अहिले एक्कासि वासनाको दुर्गन्धित तरङ्ग आउन थालेको छ ।

– यो अस्वाभाविक होइन, स्वाभाविक हो । सिम्रिक, जब मधुवनमा कुनै लोभी भमरा छिर्छ तब त्यहाँ योगको होइन भोगको लहर चल्छ ।

– कविता नछाँट बेद, मेरो चिउँडो छाड ।

उसले अप्ठ्यारो मान्न लागेको देखेर म उसको चिउँडोबाट औंला झिक्छु । म अझै पनि ठिङ्ग उभिराखेको हुँदा उसका छेउमा थचक्क बस्छु र झ्यालबाट बाहिर आँखा फालेर क्षितिजसम्मको मुक्त परिवेश हेर्छु । ऊचाहिं बाहिर होइन बट्टाभित्रकै बन्द परिवेश क्वारक्वार्ती हेर्छे । त्यसै बखत विपरीत दिशाबाट आएको केबुलकार ख्याट्याकख्याट्याक गर्दै तीव्र वेगले गुज्रिन्छ । म झसङ्ग भएर भित्रको परिवेशमा फर्किन्छ ऊ चाहिँ भित्रकै परिवेशमा गुटमुटिएकी हुन्छे । भित्रको वातावरणमा फेरि बिरानोपन थुप्रिन थालेकाले म त्यसलाई बढार्न मुख खोल्छु – सिम्रिक, तिमी के काम गछ्यौ ?

– तिमीलाई ढाँट्दिन बेदू म कसैकी रखौटी हुँ ।

– के रे ?

– जे तिमीले सुन्यौ त्यही, म रखौटी हुँ ।

– को हो त्यो ?

– त्यो एउटा बूढो हो । बेदू, त्यो बूढो सहरको एउटा ठूलो डिपार्टमेन्टल पसलको मालिक हो । पोहर उसकी स्वास्नी क्यान्सर भएर मरी, यसपालि उसको एक्लो सन्तान लागू पदार्थको दुर्व्यसनी भएर मर्यो । अब मबाहेक उसको अरू कोही छैन ।

– तिमी आफ्नो जीवनबाट सन्तुष्ट  छ्यौ ?

– छु क्यारे र छैन क्यारे !

– के मतलब ?

– उसको उमेर ढल्किसकेको छ, तसर्थ उसबाट मेरो देह अतृप्त रहन्छ, तर उसले आफ्नो सम्पूर्ण कमाइ मलाई दिन्छ, तसर्थ मेरा अन्य चाहना सन्तुष्ट भइरहन्छन् । बेदू, ऊ मेरो आर्थिक आडभरोस् हो र म उसको शारीरिक ओछ्यान हुँ !

– कस्तो शारीरिक ओछ्यान ?

– बूढो मलाई असाध्यै माया गर्छ । राति पसल बन्द गरेपछि ऊ आँखा चिम्लेर सोझै घर आउँछ । उसको क्षीण पुरुषत्वले मेरो उद्दाम नारीत्वलाई कहिल्यै संतृप्त पार्न सकेको छैन भन्ने उसलाई थाहा छ, तसर्थ ऊ आफ्नो भालेपन जगाउन घन्टौं रक्सी खान्छ । मात लाग्दै जाँदा अन्त्यमा आफूलाई बलिष्ठ घोडा भएँ भन्ने ठानी बेसरी हिलिंदै ऊ ओछ्यानमाथि मलाई ओछ्यानझैँ ओच्छ्याउँछ, मेरो उत्तेजनाको ज्वालामुखीलाई खोसेर भड्काई आफू स्वाँस्वाँ गर्दै निस्लोट भएर ठाउँको ठाउँ ढल्छ । त्यसपछि मेरो काम उसको जिउँदो लास आफूमाथिबाट पन्छाउनु र उसले भड्काएको उत्तेजनामा रातभरि पाकेर उम्लनु र छड्किनु मात्र हो ।

बोल्दाबोल्दै हुरुक्क भएर सुँक्क सुँक्क गर्दै ऊ मलाई छाँद हाल्न आइपुग्छे। उसले त्यसो गर्दा उसका चौडा वक्षमा हलक्क बढेका कोमलकठोर मांसपिण्डहरू मेरा छातीमा आएर पूरै जोतिन्छन् । म ती पिण्डहरूको न्यानो हलचल र भक्कानो छुटेर सुँक्क सुँक्क गरेको तीव्र पिरलो एकै पटक बेहोरेर विचित्रसँग हल्लिन लागेको छु । यतिखेर केबुलकारको चाल पनि गरुङ्गो हुन पुगेको छ, सके त्यो दोस्रो पहाड उक्लन थालेको छ । एक्कासि ऊ मबाट पन्छिन्छे, रुमालले गाला पुछ्दछे, बोतलको पानी घुटुक्क खान्छे र हाँसेजस्तो गरेर मतिर हेर्दै भन्छे – साथी, मेरा लागि यति धेरै सुर्ताउनु पर्दैन !

– सिम्रिक, तिम्रो मूल घर कहाँ हो ?

– ब्युटिहोमका नाममा चलेको एउटा वेश्यालय ।

– के रे ?

– झड्का लाग्यो बेदू, तर सत्य त्यही हो । सस्ता र महँगा थरीथरीका रन्डी उत्पादन गर्ने त्यस वेश्यालयमा म पालिएँ पोसिएँ, सिकाइएँ, सघाइएँ र अन्त्यमा देहव्यापारका लागि बेचिएँ !

– तिमी कुन ठाउँमा बेचियो ?

– ठाउँ त थाहा छैन, तर त्यहाँ लैजाँदा पुलिसले गाडीमा छापा मार्यो ।

– त्यसपछि ?

– म र अरू केही चेलीबेटीहरूको उद्धार गरियो र सबैलाई सहरमा ल्याएर बेवारिसे फालियो ।

– अनि ?

– अनि के, काम खोज्ने सिलसिलामा डिपार्टमेन्टल पसल पुगेँ र बूढाको रखौटी बनें ।

– सिम्रिक, तिमी यहाँ किन एक्लै, बूढो खोइ त ?

– ऊ अस्पतालमा छ ।

– किन ?

ऊ कोमामा परेको तीनचार महिना भइसक्यो । मर्नु र बाँच्नुको दोसाँधमा काठको मुढा डङ्ग्रङ्ग पछारिएको छ । साथी, अहिले म उसैका लागि मन्दिर जाँदैछ छु त ह्वाँह्वाँ…।

एक्कासि ऊ मेरा काखमा घोप्टेर बलिन्द्र आँसु झार्दै रुन लाग्छे । म सहानुभूतिमा उसको टाउको मुसार्न थाल्छु । उसका आँखाबाट बगेको तात्तातो आँसु मेरो प्यान्ट भिजाउँदै तिघ्रातिर पुग्छ र चर्को सिरिङसिरिङ उमार्दै त्यहाँबाट भित्रभित्र पस्छ । मलाई त्यो सिरिङसिरिङ असह्य हुन थालेपछि म कुम समाएर उसलाई उठाउँछु र आफूभित्र उत्पन्न वासनाको कीरा पन्छाउन कुरा गर्न थाल्छु- सिम्रिक, आफूलाई अलिक समाल !

– कसरी समालूँ बेदू, कसरी ? शारीरिक कमीकमजोरी भए पनि ऊ मेरो बलियो ओत हो र अहिले ऊ नै कोमामा हुँदा मेरो अस्तित्व पनि कोमामा पुगेको छ ।

– भन त, बूढो कसरी कोमामा  पुग्यो ?

– कुरो अलि कस्तोकस्तो छ !

– कस्तोकस्तो ?

– भन्न पनि गारो र सुन्न पनि  गारो ।

–  त्यसो भए सिम्रिक, म तिमीलाई भन भनेर कर गर्दिन !

– भन्छु बेदू, सुन ! कुरो चारपाँच महिनाअघिको हो । एकदिन बूढो पसल बन्द गरेर घर आइपुगेको लगत्तै पाँच जवान लाठेलाठे ठिटाहरू पनि ढिम्किए ।

– को थिए ती ?

– त्यो त थाहा छैन, तर ठिटाहरू अलि बेग्लै पाराका थिए ।

– कस्तो बेग्लै पाराका ?

– अलि उग्रउग्र हुन् कि जस्ता ।

– अनि ?

– अनि तिनले एकछिन बूढासँग खासखुस कुरा गरे । के कुरा गरे, मलाई थाहा भएन । त्यसपछि तिनीहरू औंला ठड्याउँदै, भित्तामा मुड्की बजार्दै र ढोकामा लात हान्दै बाहिर निस्किए । तिनीहरू गएपछि मैले बूढासँग सोध्दा उसले चन्दा माग्न आएका थिए भनेर बतायो ।

– कति चन्दा ?

– एक लाख ।

– के कामका लागि त्यत्रो चन्दा मागेका ?

– पसलको सुरक्षाका लागि । सातौं दिन आउँदा चन्दा नपाए पसल बमले उडाइदिने रे !

– त्यसपछि के भयो त ?

– सातौं दिन बूढो पसलबाट फर्किने बित्तिकै तिनै पाँच लाठेहरू डाङडाङ र डुङडुङ गर्दै आइपुगे । संजोगले म पनि त्यही थिएँ । बूढाले त्यत्रो रकम दिन नसक्ने भनेपछि तिनीहरू उससँग गलबद्दी गर्न थाले ।

– कस्तो गलबद्दी ?

– चन्दाको रकम घटबढ गर्ने गलबद्दी । बूढाले बीस हजारभन्दा बढी दिनै नसक्ने अडान लिएपछि तीमध्ये नाइकेजस्तो देखिने ठिटाले केहीबेर नाइँनास्ति गर्दागर्दै रकम सकाऱ्यो । अरू ठिटाहरूलाई रकम गन्ने जिम्मा दिएर ऊ इतरिंदै र मस्किंदै मेरा छेउमा आइपुग्यो । उसले मेरो गाला मुसार्दै सोध्यो- ए ! च्वाँक केटी, तँ बूढाकी छोरी कि बैनी ?

– सिम्रिक, तिमीले के जवाफ दियौ ?

– बेदू, म सधैंकी तिर्खाएकी काकाकुल, एउटा मस्त तन्नेरीको मायालु स्पर्शले अङ्ग अङ्गमा जागा गराएको मादक रोमाञ्चमै भुलिरहें, बक नफुटेर भित्री उत्तेजनामै कामिरहें । त्यस्तैमा नाइके ठिटाले एक्कासि मलाई आफ्ना छातीमा टाँस्दै भन्यो-सुन् च्वाँक्, बाँकी रकम असुल्न हामी तेरो सामूहिक बलात्कार गर्छौं । मसँग त्यति भनेर ऊ अरू ठिटाहरूतर्फ फर्केर चिच्यायो- केटा हो, त्यस बूढालाई भुइँमा पल्टाएर यता आओ, एकछिन मोज गर्ने ।

– अनि ?

– ती ठिटाहरूले त्यहाँ फूलदान, पेपरवेट, पानीको जग र अरू जेजे पाए त्यसैले बूढाका टाउकामा निर्घातसँग हानेर उसलाई अधमरो तुल्याई भुइँमा घोप्ट्याए । त्यसपछि । तिनीहरू बलात्कार गर्ने जोसमा उफ्रिंदै र नाच्दै मेरा छेउमा आए ।

– त्यसपछि ?

– अब मेरो बलात्कार हुन्छ भन्ने कुराले म कत्ति पनि तर्सिन, बरु रमाएँ । म खडेरीले धाँजाधाँजा परेकी धरती बल्ल घनघोर वर्षाले छताछुल्ल हुने भएँ भनेर आफूभित्रै हराएँ । त्यसै बेला पाँचै जवानले मिलेर मलाई जुरुक्क उचाले र मेरै ओछ्यानमा लगेर लडाए । पाँचपाँच लाठेहरूको युवा सास, स्पर्श र घर्षणले मलाई लट्ठ पार्दै लगेको थियो । त्यस्तैमा नाइके ठिटो करायो- ए ! गगन, तँ यस च्वाँकका रसिलारसिला ओठ चुस् । ए सन्जे, तँ यसका स्याउजस्ता रातारात गाला मुसार । ए दिगन्त, तँ यसको फरिया पल्टाएर काम थाल् । ए ! प्रबल, तँ यसको चोलो फुकाल् । खबरदार, छाती छोलास् नि, त्यो मेरो भाग हो ।

– अनि ?

– अनि सबै ममाथि खनिंदै र ओहिरिंदै आफ्नाआफ्ना काममा लागे । मचाहिं कहिल्यै चाख्न नपाएको फलको स्वादमा डुब्दै गएँ, उत्रिँदै गएँ, डुब्दै गएँ, उत्रिँदै गएँ । वर्षों भोकभोकै रहेर एकैचोटि अघाउन पाउँदा गजबको मात लागेर म बिचेत हुन पुगें ।

– त्यसपछि के भयो ?

– के भयो ? अं, तूफानपछि तूफान आयो र तूफानपछि तूफान मलाई ओल्टाइपल्टाइ गरेर गयो । तूफान थामिएको कतिबेर पछि हो कुन्नि मेरो होस फिर्यो । होस् फिर्दा त्यहाँ कोही थिएन, चारैतिर चकमन्न थियो । मैले बिस्तारै उठ्न खोजें, तर मेरो सम्पूर्ण शरीर भयङ्कर पिलोझैँ टन्केर दुखेकाले म उठ्नै सकिन । मेरा अङ्ग अङ्गमा र खास गरी छातीमा तीव्र पीडा चर्केकाले म फेरि मुर्छा परें ।

– अनि ?

– झिसमिसे हुन लाग्दा मेरो होस फेरि फर्क्यो । सम्पूर्ण शरीर र छातीमा चर्को दुखाइको अस्मेल भेल बगेकै थियो । कुनै प्रकारले उठेर मैले चारैतिर आँखा घुमाएँ। चोटैचोट लागेर रगताम्मै भएको बूढो मरणासन्न हालतमा भुइँमा लडिराखेको थियो । हस्याङफस्याङ गर्दै एम्बुलेन्स डाकेर अस्पताल पुऱ्याउँदा ऊ कोमामा पुगिसकेको थियो । छातीको असह्य पीडा सहन नसकेर म पनि त्यही डाक्टरको टेबलमा डङ्ग्रङ्ग पछारिएँ । गुडाउने स्ट्रेचरमा राखेर अप्रेसन कोठातिर लैजाँदालैजाँदै म फेरि विचेत भएँ ।

– त्यसपछि ?

– त्यसपछि म तिम्रोसामु यस केबुलकारमा छु र कोमामा परेर जीवन सङ्घर्ष गर्दै गरेको बूढाका लागि भाकल गर्न मन्दिर जाँदै छ ।

त्यसै बेला मेरो कान फेरि चिरिक्क दुख्छ । यसको अर्थ केबुलकार दोस्रो पहाड उक्लेर तल झर्न लागेको छ । अब छिटै केबलकारको बिसौनी आइपुग्छ र यो यात्रा सकिन्छ । उसलाई सारै खिन्न भएर बसेको देख्ता मेरो मन बेसरी कुँडिन्छ । म आफूलाई दरो पार्छु र गम्भीर स्वरमा भन्छु – साथी, हामी बिसौनीका छेउछाउ पुग्न लागेका छौं, म तिमीलाई आफ्नो उद्योगमा बनेको यो ब्रा सम्झाउने-बिर्साउने कोसेलीका रूपमा दिन्छु, स्वीकार गर !

– साथी, म यो कोसेली लिन्न, मलाई माफ गर ।

– किन नलिने, सिम्रिक ?

– बेदू, जुन कुरो म लगाउन्न त्यो कुरो कोसेली लिएर मैले के गर्नु ?

– तिमी  ब्रा किन लगाउन्नौ ?

– त्यसै !

– सिम्रिक, कोसेली नलिने भए नलेऊ, तर लगाउन्न भनेर नढाँट ।

– मैले ढाँटिकी होइन, यता हेर बेदू !

मैले झोक्किंदै फनक्क आँखा घुमाएर उसतिर हेर्दा उसले आफ्नो भेस्ट माथिसम्म उचालेकी हुन्छे । उसले त्यसरी छाती उदाङ्ग पारेर देखाएकै बेला त्यहाँ राखिएका स्तनजस्ता दुई डल्ला प्याड फुत्तफुत्त तल झर्छन् । उफ्, उसका दुवै स्तन च्वाट्टै काटिएका छन् र त्यहाँ हेर्दै विरक्त लाग्ने कालाकाला पाप्रा जमेका छन् । म विस्मित भएर सोध्छु यो कसरी भयो सिम्रिक ?

– बेदू, त्यो नाइके ठिटाले आफ्नो भाग भनेर स्वाट्टै काटेर लग्यो !

आम्मै, कस्तो राक्षस रैछ त्यो ! त्यतिञ्जेलमा केबलकारको बट्टा बिसौनीमा पुगिसकेको हुँदा घ्यार्रघ्यार्र गर्दै त्यसको ढोका खुल्छ । म हत्त र पत्त उसको भेस्ट तल तान्छु र पाप्रैपाप्राले उत्पन्न गरेको भय तथा करुणामिश्रित एउटा त्रासदीको पटाक्षेप गर्छु । आफूले उपहार दिन चाहेको ब्रा म उसका काँधमा राखिदिन्छु, तर ऊ त्यसको वास्तै नगरी तल झरेका प्याड कुल्चेर ढोकातिर लाग्छे । जिल्ल पर्दै म पनि उसको पछिपछि लाग्छु र ढोकाबाट तल भुइँमा झर्छु ।