सन् २०२४ मा एउटा उपन्यास लेखेर तयार भइसक्यो ? अब छाप्ने तयारीमा हुनुहुन्छ ? उसो भए, हार्लन कोबेनले लेखेको यो आलेख किन नपढ्ने ? कोबेन स्वयं बेस्टसेलर लेखक हुन् । उनले लेखेका थ्रिलर उपन्यासहरू स्वाद लिइकन अमेरिकी र बेलायती पाठकहरू पढ्छन् । उनको सल्लाह के छ त ?

अहिलेसम्म उनले ३५ पुस्तक लेखिसकेका छन् । तिनको ४६ भाषामा अनुवाद पनि भइसकेको छ । ती सबैको बिक्री संख्या जोड्ने हो भने आठ करोड प्रति पुग्न जान्छ ।

उनको पहिलो उपन्यास झण्डै ३० वर्षअघि छापिएको ‘प्ले डेड’ थियो । उनका ३५ पुस्तकमध्ये नौ वटा पुस्तकलाई नेटफ्लिक्सले शृंखला बनाउन भ्याइसकेको छ । पछिल्लो ‘फुल मि वन्स’ शृंखलाको निकै चर्चा छ ।

सन् २०२४ मा एउटा गज्जबको थ्रिलर उपन्यास लेख्नु पर्ला भन्ने सोचिरहनु भएको छ भने न्यु जर्सीका स्थायी बासिन्दा यी ६२ वर्षीय लेखकका सुझाव तपाईंका लागि कामलाग्दो हुनसक्छ । हामीले उनको यो सुझाव बेलायतबाट प्रकाशित हुने द टाइम्स पत्रिकाबाट साभार गरेका हौँ ।

हार्लन कोबेन

थ्रिलरको शुरूवात कसरी गर्ने ?
के लेख्न खोज्नु भएको हो, त्यसमा गृहकार्य गर्नुहोस् । म १५ वर्षको छँदा मेरा बाले मलाई पढ्न भनेर ‘म्याराथन म्यान’ उपन्यास दिनु भएको थियो । विलियम गोल्डम्यानले लेख्नुभएको यो उपन्यास वास्तवमै म्याराथन दौडजस्तै मैले लगातार पढेको पढ्यै गरेको थिएँ । त्यो बेला कसैले मलाई मेरो कञ्चटमा बन्दुक ताकेर पढ्न छोड भन्थ्यो भने पनि मैले छाड्ने थिइनँ र भन्ने थिएँ, ‘हान्, तर म पढ्न छाड्दिनँ ।’

यही उपन्यासले मलाई थ्रिलर लेख्न हुटहुटी जगायो र मैले लेखेँ । जब मैले पहिलो उपन्यास ‘प्ले डेड’ लेखेँ, यो खासै गतिलो थिएन । मैले म पनि लेख्न सक्छु भनेर ढोंग गरेर लेखेको उपन्यास थियो त्यो । जब छापिएर आयो, मलाई बिल्कुलै मन परेन । मलाई के लाग्यो भने, म आफूलाई पढ्न मन लाग्ने उपन्यास जस्तो हुन्छ, त्यस्तै लेख्नुपर्छ । अरूले यस्तो पढ्न मन गरेका होलान् भन्ने सोचका साथ लेख्नु हुन्न । मैले त गोल्डम्यानको ‘म्याराथन म्यान’जस्तो पो पढ्न रूचाउँछु । उसो भए मैले त्यस्तो लेख्नु पर्छ भनेरै मैले लेख्न थालेँ ।

तपाईंले लेखेको उपन्यास भनेजस्तो भएन भने पाइखानामा बगाइदिनुस् । पहिलो कृति छापिनै पर्छ भन्ने छैन । छापेर पछुताउनु भन्दा नछाप्नु बेस, हैन र ? मैले लेखेका शुरूवाती तीन वटा उपन्यास त कहिल्यै छापिएनन् ।

जब तपाईं लेख्न बस्नुहुन्छ, जबसम्म तपाईंले छानेको विषयवस्तुमा पक्का नभई कहीँकतै ननिस्कनुस् । आफूलाई बन्द गर्नुस् । भेटघाट छाड्नुस् । जब तपाईंले मुहान फेला पार्नुहुन्छ, विषयवस्तुमा पक्का हुनुहुन्छ, जब यो चाहिँ म आफैँले पढ्न लायक विषयवस्तु भएको चिज हो भन्ने लाग्छ, त्यसपछि मात्र लेख्न बस्नुस् । र, जब कामको मेलो लाग्छ, अनि मात्र बाहिर निस्कनुस् ।

बाहिर निस्कनु भयो, घुमफिर गरेर आउनुभयो र लेख्न बस्नु हुँदा तीव्र गतिमा लेखन बढ्यो र पहिलो अध्याय सिध्याउनु भयो भने एक पटक पढ्नुस् । जब पढ्दा तपाईंलाई कहीँकतै यस्तो वाहियात चिज कसैले पढ्दैन भन्ने ठान्नुस् र त्यसलाई च्यातचुत पार्नुस् । वा, कम्प्युटरबाट सिधै डिलिट हान्नुस् । त्यसलाई माया मारिदिनुस् ।

यसपछि तपाईंमा अल्छीले डेरा जमाउँछ । तपाईंलाई केही गर्न मन लाग्दैन । तपाईंलाई थाहा छ, अल्छीले सहयोग गर्छ । प्रख्यात उपन्यास जेम्स बोन्डको जासुसी शृंखला लेख्ने इयान फ्लेमिङ र मिस मार्पलजस्तो चर्चित थ्रिलर उपन्यास लेख्ने अगाथा क्रिस्टी अल्छीले अघाएपछि एउटा होटल बुक गर्थे र दिनरात लेख्थे ।

आइडिया कहाँबाट लिने ?
आइडिया वा कुनै सानो झिल्को उपन्यास होइन । त्यो झिल्को त बिउ हो । तर उपन्यासको प्रेरणा, आइडियाजस्ता कुरा तपाईंको निजी जीवनबाट आउँछन् । तपाईंले के पढ्नुहुन्छ, समाचार के सुन्नु, हेर्नुहुन्छ, त्यहाँबाट आइडिया आउँछ । मेरो उपन्यास ‘होल्ड टाइट’को सोच साथीहरूसँग डिनर खाँदै गर्दा जन्मिएको थियो । उनीहरूले कुरै कुरामा मिल्ने भए आफ्ना बच्चाहरूको कम्प्युटरमा क्यामेरा जडान गर्ने थिए भनेर बोले । त्यो कुराले मलाई उपन्यास लेख्ने झिल्को दियो । अर्को उपन्यास ‘द स्ट्रेन्जर’को विषयको झिल्को एउटा वेबसाइटको समाचारले दिएको थियो । समाचार पढ्दा रोचक थियो । एउटी युवतीले आफू गर्भवती भएको पुक्क उठेको भुँडी देखाएर अरूलाई ठगिरहन्थी । त्यो युवतीप्रति यति जिज्ञासा पलायो कि मैले उसमाथि एउटा गज्जबको उपन्यास नै लेखेँ । कहिलेकाहीँ मैले एउटा तस्बिर वा कुनै वाक्यलाई मेरो टेबुलमा टाँस्छु र त्यो तस्बिर वा वाक्यसँग चुनौती र जोखिम मोल्छु र त्यसमाथि लेखिदिन्छु । ‘नो सेकेन्ड चान्स’ नामक मेरो दोस्रो उपन्यासको पहिलो वाक्य नै ‘जब पहिलो गोली मेरो छातिमा च्वास्स गरी छिर्यो, मलाई एक्कासि मेरी छोरीको याद आयो’ भन्ने थियो । यो पहिलो वाक्यले नै सबैथोक तान्दै गयो ।

तपाईंलाई लाग्ला, दिमागमा आएका सबै आइडिया काम लाग्दैनन् । त्यसैले तिनलाई छाडिदिनु हुन्छ । त्यो गलत कुरा हो । म मेरो दिमागमा आएका सबै सोचलाई टिपेर राख्छु । ती सबै राम्रा सोचहरू मेरा किताबका विषय हुन्, वा हुनसक्छन् । जब म एउटा किताब लेखेर सिध्याउँछु, म ती सारा आइडियाको खातमा एक पटक विचरण गर्छु र तीमध्ये आफूलाई मन पर्नेलाई टपक्क टिप्छु र लेख्न थाल्छु ।

तपाईंलाई आश्चर्य लाग्ला, कुनै कुनै आइडियाले उपन्यासको रूप लिन ३० वर्ष लगाउँछन् । मेरो एउटा उपन्यासले यस्तै समय लगाएको छ । आइडिया परिपक्व नहुञ्जेल लेख्न हतार नगर्नुस् । कहिलेकाहीँ पाँच वा छ वटा आइडिया एउटै उपन्यासमा प्रयोग हुन सक्छन्।

जब कुनै सोचमाथि काम थाल्नुहुन्छ, त्यो बेला तपाईंले आफैँप्रति निर्मम प्रश्न गर्नुपर्ने हुन्छ‑ के यो सोच या आइडिया बोकेर जुन एक वर्षको समय खर्चन्छु, त्यसको लायक छ ? म यस्तो उपन्यास पढ्न मेरो अमूल्य पैसा खर्चन रूचाउँछु ? यो रोचक छ ? छैन भने यसमा समय खर्चनु उपयुक्त छैन भन्ने मलाई लाग्छ ।

कथा नै मूल जरो
मैले जब गज्जबको किताब पढेँ यार भनेर कसैलाई भन्छु भने साथीले मुख्य पात्र को, कस्तो, किन भनेर सोध्दैन । उसले कथा के हो भनेर सोध्छ । के विषयमा हो भन्ने सोध्छ ।

सबैजसो महान् उपन्यासहरू, चाहे त्यो चार्ल्स डिकेन्स, अलेक्जेन्डर डुमास, जेन अस्टिन कै किन नहोस्, ती सबैले जन्माएका पात्रहरूप्रति तपाईंलाई प्रेम हुनसक्छ । तर मूल भूमिका कथाको नै हुन्छ । कथाले नै तपाईंलाई यसरी तान्छ कि त्यसपछि पात्रहरू तपाईंको हृदयमा अमर बन्न पुग्छन् ।

केही लेखकहरू एउटा मूल वाक्यबाट शुरू गर्छन् तर त्यसको अन्त्य के हो स्वयंलाई थाहा हुँदैन । अरू केही लेखकलाई हरेक पात्रको जीवनी थाहा हुन्छ तर उपन्यासको मूल विषयका बारेमा उनीहरू दुविधामा हुन्छन् । म भने ती दुईका बीचमा छु । उपन्यास शुरू गर्नुअघि नै शुरू कहाँबाट हुन्छ र कसरी अन्त्य हुन्छ भन्ने मलाई थाहा हुन्छ । उपन्यास लेख्नुहुन्छ भने आइडिया होइन, कथा कहाँबाट शुरू गरेर कहाँ सक्ने, त्यो निधो गर्नुस् । तपाईंलाई गन्तव्य थाहा छ भने उकाली‑ओराली, गल्छेडो र नागबेली गर्दै तपाईं पुग्नुपर्ने गन्तव्यमा पुगिहाल्नुहुन्छ ।

लेख्न बस्दै गर्दा तपाईंले सधैँ सोध्ननुस्, ‘ह्वाट इफ… ?’ तपाईंका बच्चाहरूको कम्प्युटरमा जासुसी क्यामेरा जडान गरिएको भए ? केही नयाँ कुरा पत्ता लगाउनुस्, केही गुमाउनुस् र त्यसले तपाईंको जीवनमा हुन्डरी ल्याइदिओस्, जस्तो कि तपाईंको मृत श्रीमान्ले काखे बच्चोसँग खेलिरहेको क्यामेरामा देखियोस् । तपाईंको आँत सिरिङ्ग हुँदैन त ?

धेरै लेखकहरू तिनको ल्यापटपमा लेख्छन् तर म कुनै प्लट बनाउनु पर्यो भने ल्यापटप वा कम्प्युटरमा बनाउँदिनँ । म चाहिँ डटपेन लिन्छु र कागजमा खेस्रा कोर्छु । त्यो उपन्यासको नक्सा कोर्छु । म म दृश्य कोर्छु, तीरहरू कोर्छु, तिनमाथि आएका विचारहरू लेख्छु । त्यसैका आधारमा जब मैले पहिलो ड्राफ्ट लेखिसिध्याउँछु, त्यसपछि मात्र कोरकार गरेका ड्रइङ, लेखिएका तीर, पात्रसम्बन्धी चिजबिज पाखा लाग्छन् ।

खत्रा खलपात्र कसरी जन्माउने ?
तपाईं कुनै थ्रिलर लेख्दै हुनुहुन्छ भने त्यसको मूल पात्र, तपाईंको आँतै चिस्याउने पात्र खलपात्र नै हुन्छ । असल पात्रलाई त तपाईंले एउटा मानकमा उभ्याउनुहुन्छ, काम सक्किइगो । ब्याटम्यान किन खत्रा लाग्छ ? किनभने, ऊ जन्मनुमा उसका आमाबाबुको हत्या उसैका आँखा अगाडि हुनु हो । बदलाको भावले उसलाई त्यस्तो बन्न प्रेरित गर्यो । त्यही प्लटले उसलाई ऊजस्तो बनायो ।

पात्रको कुरा गर्दा बिर्सनै नहुने अर्को पक्ष चाहिँ, ती पात्रलाई जहिल्यै तपाईंले दैनिक भेटिरहेका नै बनाउनोस् । ‘फूल मि वन्स’की मुख्य पात्र जो छिन्, उनी सैन्य जहाजकी पाइलट हुन् । उनलाई जन्माउँदा मैले हावाको तालमा जन्माएको होइन । मैले अफगानिस्तानको युद्धमा सहभागी भएकी एक जना महिला सैन्य पाइलटसँग भेटेको थिएँ । उनको हाउ, भाउ, कटाक्ष मलाई यति मन पर्यो कि केहीबेरको कुराकानी सक्नेबित्तिकै मैले उनलाई मुख्य भूमिकामा राखेर एउटा उपन्यास लेख्छु भन्ने सोचिसकेको थिएँ । जब तपाईंले देखे,भेटेकै मानिस पात्र बनाउनुहुन्छ, त्यो पात्र जम्छ । त्यो पात्रको कपाल, कपडा लगाउने शैली, उठबसको तौरतरिका, बोलीचाली आदिले पात्र विशेष बन्छ । अब त्यो पात्रलाई अन्य मन परेका अन्य सम्भावित पात्रहरूसँग मिसमास गराइदिनुस् । अनि, यस्तो पात्रले कस्तो व्यवहार गर्छ, कसरी बोल्छ, उसको जीवनध्येय के होला भनी लेख्न थाल्नुहुन्छ, त्यसपछि यो पात्र बेग्लै र अभूतपूर्व बन्न पुग्छ ।

खलपात्र बनाउँदा अनौठो बनाउनु पर्दैन । अन्य पात्रजस्तै सामान्य बनाउनोस् किनभने कुनै पनि खलपात्रले आफूलाई खलपात्रका रूपमा देखेको हुँदैन । गज्जबको खलपात्र त्यो हुन्छ, जुन काम म आफैँ पनि गरिरहेको हुन्छु । वा मैले काम गर्न सहज भएकै काम त्यो खलनायकले पनि सहजै गर्छ ।

शब्द शब्द तौलनुस्
तपाईंको उपन्यास किन पढ्ने ? यो पाठक, जो तपाईंलाई पढिरहेको छ, उसले टेलिभिजन, फोन, इन्टरनेट, सिनेमा सारा कुरा त्यागेर तपाईंको उपन्यास उठाइरहेको छ भने उसलाई ती चिजभन्दा गज्जबको चिज दिनुहोस् । हरेक शब्द, हरेक अनुच्छेद, हरेक पृष्ठ यस्तो लेख्नोस् कि ती सारा कुरा पढ्दै जाँदा उसले आफ्नो मोबाइल बिर्सोस्, इन्टरनेट झ्याउ मानोस् । पाठकको समयलाई यति महत्त्व दिन सक्नुहुन्न भने बरू नलेख्ननुस् । बरू कम्तीमा यो भन्दा महत्त्वको काम त गर्ला उसले ! पाठकको दिमागमा प्रश्न नउठाउने साहित्य त साहित्यै होइन भन्ने पाराले लेख्नुस् । तपाईंको उपन्यास पढ्दा गतिलाई सधैँ ख्याल राख्नुस्, जबसम्म तीव्र गतिमा तपाईंका अक्षरहरू दौडदैनन्, पुनर्लेखन गरिरहनुस् । जब तपाईंले यसमा मास्टर बन्नुहुन्छ, तपाईंका प्रत्येक किताब एकभन्दा अर्को फरक भइहाल्छन् । यो कुरालाई ख्याल गरेर नै मैले पछिल्लो उपन्यास ‘आई विल फाइन्ड यु’ लेखेको हुँ । यो उपन्यासको पहिलो वाक्य नै यस्तो छः ‘मेरो जन्मकैदको पाँचौँ वर्ष पूरा गरेँ । ममाथि मेरै बच्चोको हत्या अभियोग प्रमाणित गरिएको छ । तपाईंलाई बताइहालूँ, यो हत्या मैले गरेको थिइनँ ।’
अब यत्ति पढिसकेपछि तपाईं यो उपन्यास नसक्किई उठ्नुहोला त ?

अन्त्य भव्य बनाउनुस्
तपाईंले उपन्यास शुरू गर्नुभन्दा पहिले नै उपन्यासको अन्त्य सोचिसक्नु भएको हुनुपर्छ । अन्त्य कसरी गर्ने भन्ने तपाईंलाई थाहा नभए पनि अन्त्य के हुन्छ भन्ने थाहा पाएपछि त्यसलाई तपाईंले जसरी पनि सहज बनाउन सक्नुहुन्छ । मेरा प्रायः उपन्यासलाई मैले भव्य अन्त्य गराउने प्रयास गर्छु । उपन्यास सकिनै लाग्दा यति धेरै खुलासाहरू हुन्छन् कि ती खुलासाबारे जान्न पाठक आतुर हुन्छ र उपन्यास पढिसक्दा लामो सास फेर्छ । यो मेरो शैली हो र प्रायः रहस्य, रोमान्च, थ्रिलर विधाका उपन्यासको यो साझा गुण पनि हो । अन्त्यमा खराब पात्रको पहिचान हुन्छ, छुट्टिएको परिवारको मिलन सम्मिलन हुन्छ, त्यसपछि एउटा नयाँ रहस्य खुल्छ र त्यो रहस्यका बारेमा पाठकहरूलाई सोच्न छाडिदिनुस् । त्यो यस्तो होस् कि पाठकले तपाईंको अर्को उपन्यास कहिले आउला र त्यो रहस्यका बारेमा बताउला भन्ने हुटहुटी पालिरहोस् ।