“के छ तिमीलाई ? कस्तो छ ? सन्चै छौ ?” – सधैँ बोलिरहने भए नि मलाई यी प्रश्न उसले कहिल्यै पनि सोध्दैनथ्यो । सोध न भनेर भन्न पनि अलिक अप्ठ्यारो लाग्ने आफ्नो मनको मान्छेलाई । आफ्नालाई भन्न केही हुन्न भन्ने कहाँ सोच्छ र मनले ? मन त झन् चनाखो रहन्छ जब आफ्नाको कुरा आउँछ । किनकि नजिककालाई नै थाहा हुन्छ कहाँ हिर्काउँदा बढी दुख्छ भनेर । मनका हरेक पलहरू हरेक कुराहरू सबै आफ्नालाई खोल्न कहाँ सफल भइने रहेछ र ?

जतिसुकै आत्मीय भए नि, आफ्नो भए नि, एउटा भय मनमा रहिरहँदो रहेछ – उसले मलाई के सोच्छ होला ?

यही कारण थुप्रै कुराहरू मनको कुनामै थुप्रो परेर बस्दा रहेछन् । न आफूलाई भन्न हतार, न सुन्न कुनै आतुर कान ! सायद त्यही कारण होला, गुम्सिएर रहेका कुराहरू कहिलेकाहीँ सुन्ने मान्छे भेटिएको खण्डमा मनबाट निस्किँदो रहेछ; कोही अन्जानसँग । मनलाई लाग्दो हो, उसले मलाई चिन्दैन अनि मलाई महसुस हुन्न उसका आवाजहरू ।

अन्जान यात्रामा भेटिएको थियो ऊ । खासै धेरै समय नभए नि आफ्नो भन्ने परिचय पाई नसकेको उससँग बोल्न मैले केही सोच्न पर्दैनथ्यो । हुन त उसको र मेरो भेट भएको धेरै समय भएको थिएन तर कोही मान्छे जिन्दगीमा यसरी आउने रहेछन् – लाग्छ, ऊ मेरै लागि बाचिरहेको छ । म उसैका लागि सास फेरिरहेकाे छु । मेरो सपना सजाउन, उसको सपनाहरूलाई सघाउन नै हामी भेटिएका हौँ । मान्छे भेटिन्छन् । छुट्टिन्छन् । न भेटिनुको कारण हुन्छ न छुट्टिने रहर । तर कोही मान्छे यस्ता हुन्छन्, छुट्टिने मन भने हुँदैन । यस्तो लाग्छ, रहिरहोस् सम्बन्ध यस्तै गरी । यहीँ कतै । हरेक सादा पल दुवैले रङ्गाउने छौँ अनि एकअर्कालाई जिन्दगीभर यसरी नै साथ दिनेछौँ भन्ने लागिरहने रहेछ कोहीसँग।

माया र विश्वास अलग शब्द तर गहिरो अर्थ हुन्छ, जुन महसुस उसलाई भेटेपछि हुँदै थियो । डराएको मनलाई हिम्मत दिन ऊ जोडिए जस्तो लाग्थ्यो । काँपिरहेको मनले एउटा न्यानोपन भेटे जस्तै लाग्दै थियो । कोही यसरी आउँदै थियो जिन्दगीमा, भाग्यमा विश्वास गर्न म विवश भएकाे थिएँ ।

अलग स्वभावका बाबजुद पनि हाम्रा संवादहरू गहिरा हुन्थे । अलग सोचका बाबजुद पनि एकअर्कालाई सम्मान गर्न जानेका थियौँ । पहिलो पटक भेटेको भए पनि जन्मैबाट ऊसँग जोडिएको जस्तो लाग्थ्यो । लाग्थ्यो, हामी निक्कै अगाडि भेटिएका हौँ । अब कहिल्यै छुटिँदैनौँ, सायद । मान्छेहरूले यही कुरा आभास गरेर होला पूर्वजन्म भन्ने शब्द बनाएका, अनि कारण यही होला पुनर्जन्ममा विश्वास गर्नुको पनि । तिमीलाई भेटेपछि म पनि सकारात्मक भएकी छु ।

म पहिलो मायामा हार खाएको मान्छे । विश्वास गर्न अनि माया गर्न अझै पनि डराउँछ यो मन । तर योपटक केही खास थियो । विशेष थियो । जे परे नि म गर्छु भन्ने हिम्मत मनले जुटाएको थियो । मायामा नजानेर पर्नु अनि जानेर महसुस गरेर मायालाई आभास गर्नुको फरक म जान्दै थिएँ, मनले छुट्याउँदै थियो । मान्छे जब टुट्छ,  सम्हाल्ने कोही चाहिन्छ । मान्छे जति नै बलियो किन नहोस्, कमजोर बनाउन माया भन्ने भावना नै काफी हुँदो रहेछ । संसारका मै हुँ भन्ने शासकदेखि लिएर सिपाहीसम्म मायाको अगाडि फिक्का फिक्का हुँदा रहेछ । फिक्कावाला गुलियो माया, बुझ्यौ नि हैन?

मलाई आजकल मान्छेको बदलिँदो व्यवहारले डर पैदा गराउँछ । डर लाग्छ, आजकाल मान्छेहरूसँग नजिकिन । नजिकै बनाएर छाडेर जाने युगमा जो छौँ हामी । मान्छेहरू थरीथरीका हुन्छन्, बुझ्न एकदम कठिन हुन्छ । तर मसँग तिम्रा लागि अथाह प्रेम छ जुन तिमीलाई देखाउनु छैन, महसुस गराउनु छ । भन्न नसकिने अनि पोख्न नसकिने प्रेम आभास गराउन पर्छ रे ! तिमी पनि मलाई आभास गराउन ल ?

थाहा छैन, हाम्रो सम्बन्ध कहाँबाट कहाँसम्म पुग्छ । कताबाट कतासम्म जोडिन्छ । कसरी जोडिन्छ र कसरी तोडिन्छ । तोडिएर अलगिन्छौँ या सधैँ जोडिरहन्छौँ । लाग्छ, एउटा भय भने जहिले पनि हुनपर्छ – मबाट ऊसँग छुट्टिन्छु कि ! त्यो भयो भने मात्रै ‘Taken for Granted’ को सवाल उठ्न पाउँदैन ।

मान्छे टुटेपछि जोड्न समय लाग्छ रे । छोडिएका अनि छुटेका सपनाहरू समेट्न, टुटेका अनि बिग्रिएका हिम्मतहरू कहाँ तिम्रो ‘I Love You’ मा जोडिन्छ त ? तिमी बुझ्छौ नि यो सब तर केही नबुझेझैँ गरिदिँदा चित्त दुख्छ मेरो । हरेक कुराले तिमीलाई नजिक ल्याउँदै छ मेरो । नजिक नजिक । यति धेरै नजिक कि लाग्छ – अब छुट्टियौँ भने म मर्छु । सुन्दा एउटा फिल्मको एउटा संवाद जस्तो सुनिएला तर मैले रोएर बिताएका रातहरूमा आँसुको महाकाव्य लुकेकाे छ । तिमी कसरी सुनाऊँ ?

तिमी सुन्न तयार छौ र ? सोध आफ्नो मनलाई ।

तिमी र म बिल्कुल अलग छौँ, मान्छे छौँ । मलाई मन पर्ने शान्तमा झरना, चराचुरुङ्गीको आवाज – तिमीसँग फेरि सपना देख्ने हिम्मत जुटाउन खोज्दै छु । फेरि जोड्न खोज्दै छु तिमीसँग । आशा छ, तिमी टुट्दैनौ । टुट्न दिँदैनाै ।  मेरो बिग्रेका सपनाका घरहरू तिमीले महलमा परिणत नगरे नि आगो भने कदापी लगाउने छैनौ ।

मेरो मनमा अङ्कुरित इज्जत अनि विश्वासलाई तिमीले कहिल्यै कुल्चिने छैनौ । तिम्रा लागि आकाशको तारा झार्दिन्छु भन्ने भन्दा पनि तिमीसँग म हरेक दुःखसुखको साक्षी बन्ने हिँड्ने छु भनेर जीवनभर मेरै साथमा हुनेछौ ।

मैले सोचेको सपनाको राजकुमार यस्तै होस्, म यही नै चाहन्छु । मलाई बुझोस्, सम्हाल्न जानोस् । फकाउन जानोस् । मलाई म बन्न दियोस् । उसलाई म ऊ बन्न दिन सकूँ । हामीलाई एकअर्काको बोझ कहिल्यै बन्नु नपरोस् । हाम्रो घर एउटा उदाहरण बनोस् त म भन्दिनँ तर म घरलाई घर बनाउन सकूँ ।

मलाई सिर्फ यत्ति रहर छ । मलाई मात्र तिम्रो रहर छ ।