नेपालकै पहिलो कवितासम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को पहिलो संस्करणकी विजेता हुन् नीलम गुरुङ । सिक्किमकी गुरुङ आइडल बनेकाे करिब एक वर्षपछि पहिलो कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरू’ काे विमोचनका लागि काठमाडौँ आएकी छिन् ।
नेपालीमा स्नातक गरेकी नीलम शिक्षण पेसामा संलग्न छिन् । गान्तोकमा रहेको टाशी नामग्याल अकादमी पाठशालामा उनले कक्षा १० सम्मका विद्यार्थीहरूलाई नेपाली विषय पढाउँछिन् । नीलमका बुबा दिलिप गुरुङ चर्चित हाँस्य कलाकार हुनुहुन्छ । जसलाई “सिक्किमे हमजाएगा” भनेर पनि चिनिन्छ । बुबाको यो गुण छोरी नीलममा पनि छ । उनी कविता लेखनसँगै “स्ट्याण्डअप कमेडी” पनि गर्छिन् ।
प्रस्तुत छ, पहिलो पोएट आइडल नीलमसँग आइडलले दिलाएकाे सफलता र जिम्मेवारी तथा प्रकाशोन्मुख कृतिका बारेमा साहित्यपोस्टका लागि सम्पादक कृष्ण ढुङ्गेलले गरेको कुराकानीकाे सम्पादित अंशः
===
नीलमजी, सर्वप्रथम तपाईँलाई आफ्नो पहिलो साहित्यिक कृति (कविता) सङ्ग्रहको लागि बधाई छ । ‘द पोएट आइडल’को पहिलो विजेता भएको एक वर्ष नपुग्दै पुस्तककारका रूपमा प्रकाशन हुँदै हुनुहुन्छ, कस्तो महसुस गरिरहनुभएको छ ?
हार्दिक धन्यवाद ! म अति नै खुसी छु र एक खालको नौलो अनुभव गरिरहेकी छु भित्रबाट । मेरो जीवनको पहिलो पुस्तक सार्वजनिक हुन लाग्दै छ जो चाँडै मेरा पाठकहरूको घरको कुनै ताकमा हुने छ । मेरा कविताहरू मेरा हुने छैनन्, उनीहरूको हुने छन् । यो मेरा लागि मेरो कवितासंग्रहको नाम ‘नपल्टाएका पन्नाहरू’ मध्ये मेरो जीवनको अर्को एउटा पल्टिएको पाना हो ।
नेपालको साहित्यसम्बन्धी पहिलो सो द पोएट आइडलको पहिलो आइडल – तपाईँ यो ताज पहिरिने पहिलो नेपालीभाषी कवि । अब तपाईँ बताई दिनुहोस् – यसको गरिमा कस्तो हुँदो रहेछ ? र गरिमालाई कामय राखी अघि बढ्न कतिको सहज हुँदो रहेछ ?
यो उपाधि आफैँमा एउटा ठूलो गरिमा हो । ‘पोएट आइडल’ मेरो उपनाम नै बनिसकेको छ । मान्छेले बाटोमा मलाई ‘तपाईं त पोएट आइडल होइन ?’ भनेर सोधेपछि मात्र ‘नमस्ते कविजी’ भन्छन् । गर्व लाग्छ । औधी खुसी लाग्छ । अझ आफूलाई यस उपाधिको लायक बनाउन मन लाग्छ । पढ्न मन लाग्छ र परिश्रम गर्न पनि रमाइलो लाग्छ ।
सहज र गाह्रो भन्ने कुरा आफूले कसरी यसको गरिमालाई सार्थकता दिँदैछ भन्ने कुरामाथि निर्भर गर्दछ । कविता यात्रामा मेरो निरन्तरता र मेरो साहित्यप्रतिको साधनाले यो कुरा आउँदो दिनहरूमा अवश्य नै बताउने छ ।
जब तपाईँ पहिलो द पोएट आइडल हुनुभयो, सिक्किमका तपाईँलाई गरिएको स्वागत कुनै स्थापित सेलिब्रेटीलाई गरिनेभन्दा कम थिएन । पोएट आइडलमा आउनुअघिको आफू र आइडल बनिसकेपछिको आफूमा के अन्तर अनुभव गर्नुभएको छ ?
द पोएट आइडलमा आउनुअघिको आफू र आइडल बनिसकेपछिको आफूमा अवश्य नै अन्तर अनुभव गरेकी छु । जस्तो कि, एउटा ठुलो ज़िम्मेवारीको बोध भएको छ । अब उप्रान्त मैले मेरो कविता शैली र जीवनशैली दुवैलाई सम्हालेर लानु पर्ने हुन्छ । मलाई माया गर्नु हुने सबै जनालाई प्रतिनिधित्व गरिरहेकी हुन्छु । त्यसैले उनीहरूको अपेक्षाहरूलाई सार्थकता दिन सक्नुपर्छ मैले । हिजो त्यसो थिएन, हिजो म आफ्नै लयमा लेखिरहेथेँ तर आज कवितासगँ अझ घनिष्ठता बढेको अनुभव गर्छु ।
एक कवि साहित्यकार सेलिब्रिटी बन्न सम्भव छ कि छैन ? साहित्यकारमा ‘सेलिब्रेटी सिन्ट्रोम’ आउनु हुँदैन पनि भनिन्छ – तपाईँलाई के लाग्छ ?
सेलिब्रिटी साहित्यकार होइन, सेलिब्रिटी उसको साहित्य हुनुपर्छ । एउटा कविलाई उसको कविताले चिनाउन सक्नु पर्छ । म पनि त्यही चाहन्छु, मलाई मेरो कृतिले चिनाओस तर मभन्दा धेर मेरा कविताहरू मान्छेले चिनुन् । मेरा प्रस्तुतिभन्दा धेर मेरा शब्दहरूले मनहरूमा ठाँउ बनाओस् । साहित्यकारमा सेलिब्रेटी सिन्ड्रोम आउनु हुँदैन भन्ने कुरामा यत्ति भन्छु कि ‘आँखाले आकाश नै ताक्नु पर्छ तर पैतलाचाहिँ भुइँमा नै राखेर’ ।
अब किताबको कुरा गरौँ – आइडल बनेको एक वर्षभित्र कवितासङ्ग्रह आउँदैछ । अलिक हतार गरेजस्तो लागेको छैन ?
छैन । किनभने यस संग्रहका प्रायः कविताहरू पोएट आइडल हुनअघि लेखिएका कविताहरू हुन् । मेरो कयौँ वर्षको अभ्यास, अध्ययन, अनुसन्धान र साधना हुन यी ३५ कविताहरू । कति त मसगैँ हुर्किएका पनि छन् र जब मेरो जीवनमा पोएट आइडलको अध्याय आरम्भ भयो तब मात्र मलाई विमोचनको निम्ति आँट आएको हो । यो पुस्तक विजेताले पाउने पुरस्कारमध्ये एक हो, र सबै पाटो मिलेको हुनाले आज मेरो पहिलो ग्रन्थ आउँदैछ ।
सङ्ग्रहमा कुन समयमा लेखिएका के कस्ता विषयहरू समेटिएका कविताहरू छन् ? आइडल बन्नु अघि र पछि लेख्नुभएका कविता कति कति छन् ?
यस संग्रहका प्रायः कविताहरू पोएट आइडल हुनुअघि लेखिएका कविताहरू हुन् । आइडल भइसकेपछि लेखेका कविताहरू पनि छन् । मेरो कविताहरूमा धेरजसो नारी चेतना अथवा नारीवादी दृष्टिकोण पाउनु हुने छ। नारी मात्र होइन तर समाजले पुरूषहरूप्रति गरिरहेका शोषणका कुराहरू, मान्छेभित्रका द्वन्द्वहरू अनि जीवनका धेरै नपल्टाएका पन्नाहरू यस ग्रन्थले बोकेको छ ।
पुस्तककारकै रूपमा आइसकेपछि अगाडिको साहित्यिक यात्राका बारेमा पनि सोच्नु भएकै होला ! आफ्नो भविष्यका साहित्यिक योजनाका बारेमा छोटकरीमा बताइदिनुस् न !
साहित्यिक योजनाभन्दा पनि मलाई मेरो विद्यार्थीहरूको मनमा नेपाली भाषाप्रतिको मोह बढाउनु छ । एउटी शिक्षिका भएको नाताले पनि अनि कवि हुनको दायित्वले पनि भाषा बिरामी भएको देख्दा मन खिन्न हुन्छ । बालसाहित्यमा आफ्नो कलम चलाउन मन छ भविष्यमा तर बाल मनोविज्ञानको अध्ययन गरेपछि मात्र । कविता लेख्ने र पढ़ने क्रम त सदैव नै जारी राख्ने छु ।
अन्त्यमा, तपाईँलाई आइडल बनाउने, कविता मन पराउने तथा साहित्यलाई माया गर्नेहरूलाई के भन्न चाहनु हुन्छ ?
यत्ति भन्छु कि हजुरहरूले दिनुभएको साथ अनि आशीर्वादले मलाई धेरै उर्जा मिलेको छ । म हजुरहरूको माया फाह्रो गर्दै चलाउने छु । मसँग हजुरहरू पनि अब त यसरी जोडिनु भएको छ जसरी मान्छेभित्रको देवता हर-एकसगँ जोडिएको हुन्छ । हामी नेपालीहरू जतै भए पनि साहित्यले हाम्रो सम्बन्धको डोरी कुनै गाँठो बिना नै बाँधिरहोस् र कविता सदैव अमर रहोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।