सरकारहरू बद्लिन्छन्
मोटरहरू बद्लिन्छन्
बद्लिन्छन् फेरि
भित्तामा तस्बिरहरू
अफसोच
शासकको सोच बदलिदैनन्

सपनाका नक्साहरू कोरिन्छन्
फेरिन्छन् पात्रहरू र
आश्वासनका पोकाहरू
सबै बद्लिन्छ
केवल प्रवृत्ति बदलिदैनन्

सरकार फेरबदल हुन्छ
अनि
पुग्छ मेलम्ची काठमाडौँ
गाउँगाउँमा सडकहरू पुग्छन्
देशमा पानी जहाज आउँछ
चल्छन् पूर्व पश्चिम रेलगाडीहरू
हावाको बिजुली चलाइन्छन्
र जोडिन्छन्
ग्याँसका पाइपहरू झुपडी‑झुपडीमा
शासकहरू उद्घाटन गर्छन्
छाती फुलाउँछन्
गर्जिन्छन् बाघझैं
क्षणिक पलका लागि
अनि बन्छ देश
फगत भाषण र कागजहरूमा
एउटा पुर्खाको अवसान हुन्छ
गाउँमा विकास पुग्दैन
र पनि
थुप्रै रिबनहरू काटिन्छन्
बस्तीहरूमा

सजिन्छन् बुख्याँचाहरू
खादा र मालाहरूले
देखिन्छन् तस्बिरहरू रङ्गमञ्चमा
सुनिन्छन् समृद्धिका मिठा बातहरू
र गर्दछन् उद्घाटनहरू

बढ्दै छ गरिबी
शहर अनि बस्तीहरूमा
रित्तिँदै छन् ढुकुटीहरू
सकिदैछन् भकारीहरू
बढ्दै छ बेरोजगारी
तैपनि, देशमा उद्घाटन हुँदैछ
थपिँदै छ ऋणको भारी
खेत बञ्जर हुँदैछन्
देश परदेश बनेको छ
र पनि चलेकै छ उद्घाटन

घाँटीहरू रेटिएका छन्
पुछिएका छन् सिन्दुरहरू
उजाडिएका छन् बस्तीहरू
तैपनि, हुँदैछ समृद्धिको उद्घाटन ।