लैनचौरको बैठक कक्ष (दूतावास हैन) मा उनीसित लामै कुरा भयो । १०१ वर्ष पुगेका उनीसित पाँच मिनेट कुरा हुनु पनि लामै हो । तर, कुराकानीको बिट मारेर रेकर्डर बन्द गर्न थाल्दा १०१ मिनेटभन्दा बढ्तै देखाइरहेको थियो ।
हामी सोफामा बसेर गफ गरिरहेका थियौँ । सहकर्मी फोटो पत्रकार उमा विष्ट फोटो/भिडियो खिचिरहेकी थिइन् ।
‘आमासित पनि कुरा गरौँ न’, भनेपछि महाकाली घिमिरे पनि आउनुभयो । उहाँसित पनि केहीबेर कुरा भयो । रोचक के भने भोलिपल्ट अर्थात् भदौ १३ गते उहाँ ८४ वर्ष पुग्दै हुनुहुँदो रहेछ । पतिको पहिलो रचना ‘ज्ञानपुष्प’ र उहाँ एकै साले हुनुहुँदो रहेछ । उहाँलाई ज्ञानपुष्पविनै ह्यापी बर्थडे टु यु आमा भनियो । यसरी भनियो, न मन्दाक्रान्ता, न शार्दूलविक्रीडित !
‘अब हजुरहरू जोडीको केही फोटो खिचौँ न’, भन्दै दम्पतीलाई सोफामा नजिकै बस्न भनियो । उहाँ उठ्न खोज्नुभयो । ‘उभिन गाह्रो होला कि, बसेरै खिचौं’ भन्दाभन्दै बूढा उठी त गए । ‘पख्नुस्, अर्को पोज दिन्छु’ भनेर श्रीमती महाकालीलाई अँगालेर उभिए । एक हातले लट्ठी टेकेर अर्को हातले श्रीमती च्यापेको हाँसोसहितको तस्बिर हामीले खिच्यौँ । श्रीमतीतिर हेरेर बूढाले आफ्नै गीत गाए:
तिम्रो प्रीति पैले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले
रमाइलो भयो । यी संवाद पनि रेकर्ड होऊन् भनेर मैले मोबाइल फोनको रेकर्डर फेरि अन गरिसक्या थिएँ ।
०००
सहकर्मी उमाजी र म उहाँले दिएको समयमै घरमा पुगेका थिइम् । उहाँ माथि खाना खाँदै हुनुहुँदो रहेछ । हामी तलै बस्यौँ ।
२०७६ असार २९ गते २०६ औं भानुजयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितले गरेको अभिनन्दनको ठूलो फ्रेम । विद्यादेवी भण्डारी, केपी शर्मा ओली, तीर्थ खनियाँसहितको त्रिविको मानार्थ महाविद्यावारिधि ग्रहण गर्दै गरेको फोटो । कलाकार केके कर्माचार्यले बनाएको ठूलो मुहार फ्रेम । पति दुबोको मालामा ठाँटिएर पति–पत्नी मुस्कुराइरहेको फोटो । सिसाको घरभित्र उहाँको सर्वश्वेत सालिक । टोपी नलगाएको, मोटो कालो चस्मामा माथिल्लो लहरको अगाडिको दाँत नभएको जस्तो हँसिलो–हिरोवाला फोटो फ्रेम ।
अनि टेबुलमा थियो, एउटा चिठीः
माधव घिमिरेको जन्मभन्दा १० वर्षपछि ‘स्था. वि.सं. १९८६’ उल्लेख गरिएको ‘श्री पुज्य कविप्रसाद गौतम हरेराम संकीर्तन मण्डल, जानकी जीवन कुञ्ज’को लेटरहेडमा ‘सम्मान ग्रहण गरिदिनुहुन अनुरोध’ विषयक चिठी । २०७६ भाद्र ११ गते बुधबार दिनको १ः३० बजे हिजो उहाँ पशुपति, देवपतन जानुभएनछ । यसरी यो चिठी एउटा स्वयं मुटुको व्यथा थियो । (समको मुटुको व्यथा पनि ८६ कै थियो क्यारे !)
उहाँको पर्खाइमा रहँदा म यहाँ कहिले कहिले कसरी कसरी आएँ त, सम्झिरहेको थिएँ । (तिनताका लेखकका घर जानु, भेट्नु मेरो रेडियो सुन्नु तथा पत्रपत्रिका पढ्नुजस्तै सोख थियो ।) यो घरमा म पहिलोपटक २०६६ सालमा आएको थिएँ । तिनताक म त्रिचन्द्र कलेजमा पढ्थेँ । विभागबाट निस्कने पत्रिका ‘आकुञ्चन’ सम्पादन गर्ने अवसर जुरेको थियो । त्यो साल महाकवि देवकोटाको पचासौँ स्मृति तथा सयौँ जयन्तीको साल थियो ।
कलेजको पत्रिकाका लागि योजना बनाएको थिएँ, उपन्यास विधाका डायमनशमशेर राणा, नाटक विधाका गोविन्दबहादुर मल्ल गोठाले, निबन्धका कृष्णचन्द्रसिंह प्रधान, कविताका माधव घिमिरेसित वार्ता गर्ने र छाप्ने । पछि साहित्यको संग्रह/सम्पादन/सम्मान गर्ने कमल दीक्षितसित पनि वार्ता गर्नुपर्छ भन्ने भएपछि यी पाँच जनासित घरघर पुगेर कुरा गर्ने अवसर पाइएको थियो ।
यी पाँचै जनालाई एकेडेमीको हलमा बोलाएर ‘आकुञ्चन’ विमोचन पनि गरिएको थियो । पत्रिकाको कभरमा देवकोटाको ठूलो स्केचको तलतिर लहरै पाँचजनाको फोटो राखेर ‘कविताप्रसाद, उपन्यासशमशेर, नाटकबहादुर, निबन्धचन्द्र र साहित्यिकमणिसितको अन्तर्यात्रा’ भनेर छापेका थियौँ ।
विद्यार्थीका तर्फबाट सानो सम्मान फ्रेम बनाएर यिनै विधागत उपाधिले नगदरहित झ्याउलो सम्मान गरिएको थियो ।
म त्यसपछि कविज्यूको घरमा फोन गरेपछि ‘कविताप्रसाद’ भन्थेँ । उहाँ ‘त्रिचन्द्रको बाबु’ भनेर चिन्नुहुन्थ्यो ।
त्यसपछि कलेज पढ्दाको हाम्रो अर्काे उट्पटयाङ । यो उटपट्याङ लामै समय चार–पाँच वर्षै चल्यो । हरेक साल तिहारमा देउसीभैलो खेल्ने हामी । हाम्रो देउसीको उद्घाटन देवकोटापूजाका दिन (यस दिन लक्ष्मीपूजा पनि पर्छ) जहिल्यै उहाँकै आँगनबाट भयो । उहाँ श्रीमती महाकालीसहित हामीसित ‘नब्बे, हब्बे न कव्य’ भन्दै उही केटौले जोसमा नाच्नुभयो । मलाई यो रमाइलो लाग्यो । यसबारे लेखेर कान्तिपुर कोसेलीमा पठाएँ । त्यहाँ यो ‘नब्बे, हब्बे न कव्य’ शीर्षकमै छापियो ।
०००
उमा विष्टजी र मेरो २६ मिनेटको बैठक–विचरणपछि सहयोगीको सहारामा उहाँ काठको भर्याङ बजाउँदै ओर्लिनुभयो । उमाजीले दृश्यमा यो सब कैद गर्नुभयो ।
संवाद गर्न जानुअघि मेरो एउटा योजना थियो । उहाँसित अनेकले अनेकपटक कुरा गरिसकेका छन् । म आफैँले धेरैचोटि उहाँसित कुरा गरिसकेको थिएँ । दोहोर्याई तेहेर्याई गरेर उहाँलाई, पाठकलाई र आफैँलाई दुःख दिन म चाहन्नथेँ ।
एउटा व्यक्तिका लागि ‘१०१’ वर्ष आफैँमा संख्या मात्र होइन, यो त अनुभवको विश्वविद्यालय हो । आत्मकथैकथाहरूको बाढीमा उहाँको आत्मकथा (वा आत्मकाव्य) आएन । अब यो सम्भव पनि छैन । उहाँको स्वास्थ्यलाई ख्याल गर्दै अब यो उमेरमा पुगेका बूढाबाट ‘फुर्सद’का लागि ‘दिव्योपदेश’ लेखाउँछु (भनाउँछु) भन्ने चाह थियो मेरो ।
यति लामो अवलोकन र अनुभव, बस् र उठ्बाट निःसृत अभिव्यक्ति, त्यो त सूक्ति हो । १०० वर्ष पुगेका बालाई सके १०० वटै विषय, नभए जति सकिन्छ ती विषयमा सटीक आनुभविक अभिव्यञ्जनायुक्त उपदेश दिन किन नलगाउने ? जस्तै— जन्म के हो ? जीवन के हो ? मृत्यु के हो ? आयु के हो ? प्रेम के हो ? विवाह के हो ? सन्तान के हो ? कविता के हो ? छन्द–लय के हो ? गद्य के हो ? गीत के हो ? गीतिनाटक के हो ? बालबालिकाका लागि साहित्य के हो ? अँ, साहित्य नै के हो ?
यसरी नै उनले संगत गरेका देवकोटा को हुन् ? लेखनाथ, सम, भूपी, बीपी, पारिजात, शंकर लामिछानेहरू को हुन् ? राजाहरूको व्यक्तित्व–बुझाइ सार के हो ? पुस्तक के हो ? प्रकृति के हो ? अनि सम्झना–स्मृति के हो ? खलिल जिब्रानको ‘द प्रोफेट’ टाइपमा घिमिरेका सय ‘दिव्योपदेश’ छाप्छु भन्ने थियो ।
०००
अन्तर्वार्ताको अन्त्यमा फोटोसोटो खिचिसकेपछि उहाँलाई माथि आफ्नो कोठामा उक्लिनुपर्ने भयो । घरमा काम गर्ने, अघि ओराल्दिएका सहयोगी त्यहाँ हुनुहुन्थेन । कतै निस्किनुभएको रहेछ । मैले ‘आउनुस् बा, म बोक्छु’ भनेँ ।
उहाँ मेरो बुई चढ्नुभो । उमाजी र आमा सँगै हुनुहुन्थ्यो ।
ओर्लिंदा पाखुरा समाइदिएका भरमा सके पनि उक्लिँदा भने बोक्नुपर्ने रहेछ उहाँलाई । उहाँलाई बुई चढाएर एक–दुई खुट्किला चढेँ । त्यसपछि जे भयो, त्यो म कहिल्यै बिर्सिन्नँ ।
०००
आज भदौ २ गते बेलुकातिर उहाँ सधैँका लागि जानुभयो । मैले उहाँको निधनको खबर सुन्नेबित्तिकै घरमा कुरा गरेँ । भोलि बिहान १० बजे सीधै पशुपति आर्यघाट लाने कुरा छ भन्नुभयो, घरकाले । जिन्दगीभर एकेडेमीतिर बसेका बूढालाई त्यता लैजाने कार्यक्रम छैन रे । माधवप्रेमी यत्रो जमात महामारी नहुँदो हो त मलामी हुन हुरहुरी निस्किँदो हो ।
मैले त्यो दिनको डायरी हेरेँ, म यति डराएको रहेछु कि आज जब उहाँ नरहनुभएको खबर पाएँ, मन खिन्न भयो, म त्यस दिन योभन्दा बढ्ता खिन्न थिएँ रहेछु ।
‘बोक्छु, सकिहाल्छु’ त भनेँ । काठको भर्याङ, अलि सानो, अलि ठाडो, अलिअलि चिप्लोचिप्लो पनि । खासमा यो भर्याङ नयाँ भएर मेरा लागि अप्ठेरो भएको हुनुपर्छ । नत्र यो अप्ठेरो चाहिँ हैन । खासमा सजिलो हुनु भनेको त अभ्यस्त हुनु रहेछ नि !
उहाँको तौल पनि मलाई लाग्छ, कम थिएन । सातौँ खुड्किला टेकेपछि मेरा गोडा थरर कापेँ । कारण, उहाँको भार सहन नसकी कुप्रिएको मेरो शरीरको माथिल्लो भाग अलिकति ठाडो भयो । जिउ थरर, मुटु ढक्क भयो मेरो । सातौँबाट आठौँ खुट्किला टेक्नुअघि मलाई साढे सातौँ दशा आइलाग्यो ।
दिन दाहिना रहेछन् । सायद, हामी दुवैका ।
मैले उहाँलाई पछाडि पुर्याएका मेरा दुवै हातले पुठ्ठामा बल गरी कसेँ । थामेँ । भर्याङ उक्लिसकेपछि प्यासेजबाट ढोका हुँदै एउटा कोठामा छिरेँ । जब मैले उहाँलाई बिस्तारै खाटमा बिसाएँ नि, अनि मैले लामो सास फेरेँ । उहाँको स्थायी स्मित अनुहारले भन्यो, उहाँलाई मेरो अप्ठेरो केही थाह भएनछ ।
उमाजीले उहाँ आफ्नो खाटमा बसेको फोटो खिच्नुभयो, जुन फुर्सदको कभर फोटोका रुपमा छानियो ।
आफ्नो ‘ऋतम्भरा’ महाकाव्यको एउटा अंश पनि उहाँले दिन्छु भन्नुभएको थियो ।
वार्ताको १९ दिनपछि काव्यांश लिन जाँदा म अग्रिम पारिश्रमिक पनि लिएर उहाँको घरमा गएँ । यसपालि म एक्लै थिएँ । सीधै माथि बोलाउनुभयो । म पुग्दा उहाँ श्री अरविंद आश्रम, पांडिचेरीको ‘योग–समन्वय’ र ‘श्रीरामकृष्णवचनामृतसार’ पुस्तक पल्टाएर बर्काे ओढेर ओछ्यानमा बसिरहनुभएको थियो ।
पुस्तक छेउमै उहाँका मसिना, लाम्चालाम्चा अक्षरमा ‘ऋतम्भरा’ महाकाव्य लेखिइरहेको एउटा सानो पातलो कपी पनि खोलिएको अवस्थामा थियो ।
मलाई महाकाव्यको मुटु नै झिकेर दिन लागेको भनेर एउटा पाना सुम्पिनुभयो । मलाई पढ्न भन्नुभयो, मैले बेछन्दमा पढेँ । अर्थ र प्रसंग बुझिनँ ।
उहाँले भन्नुभयो, ‘महाकाव्यको सोमयाग सर्गबाट तपाईंलाई यी दुई गीत । नायक श्यावाश्व राजाकी छोरीकहाँ पुग्छ । त्यहाँ सोमयाग भइराखेको हुन्छ । त्यहाँ सोमपानको रमाइलो भइराख्या हुन्छ । ऋषिपुत्र नायकलाई सोमपान गराउने जिम्मा ऋतम्भरालाई दिइएको हुन्छ । सोमपान गराउँदाखेरिमा नायक तल मधुपात्र लिएर बस्या हुन्छ । उसका आँखा पनि त्यसै मधुपात्रमा प्रतिविम्बित छ । नायिकाको आँखा पनि त्यसैमा प्रतिविम्बित छ । सत्य कठोर–निठुर पनि हुन सक्छ, तर काव्यमा त्यसलाई मधुर बनाउनका निमित्त मैले यो दृश्य संयोजन गरेको हुँ । मैले यो महाकाव्यको मुटु नै झिकेर दिएको छु ।’
मैले पारिश्रमिक बापतको रु. १० हजार रुपैयाँ दिएपछि उहाँले गन्नुभयो । ‘रचना नछापिँदै पत्रिकाबाट यति धेरै पाएको पहिलोचोटि हो बाबु’, उहाँले भन्नुभयो, ‘मैले मुटु दिएँ, यहाँले पनि मुटु नै दिनुभयो ।’
अफिसले साइन गराएर ल्याउनू भनेको भर्पाइ झिकेर उहाँलाई दिएँ । उहाँले आफ्नो नाम मात्र लेख्नुभएन, नामको मुन्तिर साल, महिना, गते ‘२०७६/६/१’ पूरै लेख्नुभयो । सम्झना शक्ति के विधि हो के, म ट्वाँ !
र, असोज ७ गते उहाँको जन्मदिनको पूर्वसन्ध्यामा ‘फुर्सद’मा उहाँसितको अन्तर्यात्रा र ऋतम्भराको ‘मुटु’ छापियो ।
०००
त्यसदिन नाथुराम गोड्से हुनबाट संयोगले जोगिएँ म । आफ्नो असावधानी देखेर म अझै पनि यति त्रस्त हुन्छु कि यति त्रस्त त कोभिडले ग्रस्त मान्छे पनि होइन ।
हार्दिक श्रद्धाञ्जलि शताब्दी–पार कविज्यू !
@BimalSalyan
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।