मेरो घरमा सदाबहार एउटा वादविवादको विषय बन्छ, “खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?”

मेरी माता सँधै मलाई खाना खाने बेला किचकिच गर्छिन्, “हेर बाबु, जम्मा छ इन्चको जिब्रो छ । जिब्रोभन्दा तल खाना गएपछि केही स्वाद हुँदैन । दिएको खाना श्रद्धाले खाने गर ।”

हुर्कंदै गर्दा मूलमन्त्र जसरी मलाई सिकाइयो, “अन्न भगवान हो । अन्नको पूजा गर्नु पर्छ ।” एक सिता भात छोड्दा पनि आमै ग्रर्जँदै आइपुग्थिन्, “तैँले एउटा सितो भात छोडिस् भने पनि एक जुनी किरा भएर बाँच्नु पर्छ ।”

किराको जुनी बाँच्नुपर्छ भन्ने त्रासले भयभीत भएर पनि म चाटीपुसी सबैथोक खान्थेँ । आजसम्म पनि थालमा एक सितो भात छुट्दा पनि मन चिसो हुन्छ ।

अन्नको आदर गर्ने संस्कार सिकाउन बाबाले फरक किसिमको प्रविधि अप्नाए । एउटा निकै प्रसिद्ध तर मार्मिक तस्बिर रहेको छ । एउटा निकै दुब्लो बच्चा, शरीर कुपोषणले अस्थिपञ्ज मात्र बाँकी, त्यो बच्चा कहिले मर्छ र खाउँला भनेर पछाडि गिद्ध ढुकेर बसेको । ओहो ! त्यो तस्बिर देखेर कलिलो उमेरमा मन छियाछिया हुन्थ्यो । त्यो फोटोग्राफरले आत्मग्लानी भएर आत्महत्या नै गरे ।

बाबा सँधै भन्थे, “हेर, खान नपाएर मान्छे बोरा चुसेर बाँचिरहेका छन् । अन्नको अपमान भयो भने अन्नको सराप लाग्छ ।”

पटक्कै मन नपर्ने खाना भए पनि, निल्न नसकेर वाक्क आए पनि, म त्यो बच्चो सम्झन्थेँ । कुपोषणले ग्रसित जनता सम्झन्थेँ । र, आँखामा टिलपिल आँसु पार्दै भए पनि खाना निल्थेँ । खानाको आदरसम्मान गर्नु मेरा लागि अनुशासन थियो । एउटा बानी थियो र सायद मैले सिकेको पहिलो धर्म थियो । मन्दिरमा स्तब्ध भगवानले के कृपा गर्छन् ? थाहा थिएन । तर थालमा पस्किएको अन्नले ममा प्राण भर्थ्यो । मेरो लागि खाना ईश्वर थियो ।

वास्तवमा गम्भीर प्रश्न हो यो – खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ? हामी जीवनभर आखिर त्यही दुई छाक खानाकै लागि लागिपर्छौं । होइन र ? पेटमा आहार परोस्, परिवार भोकै नरहोस् भनेर हरेक अभिभावक लागिपर्दछन् । यो खानाका लागि नै त बाँचेको हो ।

हामी मध्ये धेरै रेष्टुरेन्ट चाहर्छौं । नयाँ नयाँ व्यञ्जन चाख्न रुचाउँछौं । खानाले हाम्रो मूड परिवर्तन गराउँछ । मीठो खाँदा दिनै प्रफुल्लित भएर बित्दछ । खाना हाम्रो जीवनको यस्तो मेरूदण्ड हो जुनबिना हरेक कुरा खल्लो हुन्छ । बाँच्नका लागि त हरेक वर्ग खान्छन् । ढिँडो होस्, जाउलो होस्, कन्दमूल होस्, नून खुर्सानी र रोटी नै किन नहोस्, जेजस्तो भए पनि आहारा नभई हुँदैन, जीवन धान्न ।

तर बाँच्नका लागि मात्र खाने हामी धेरै कम छौँ । साथीभाइ भेट्दा होस्, बिहेवर्तमनमा होस्, खुसीको माहोलमा या दु: खको कोलाहलमा; मान्छे खाना नै खोज्छन् । ‘खाना’ एउटा भाषा हो जसले जात, धर्म, वर्ण, रङ केही देख्दैन । यसले हामीलाई जोडिराखेको हुन्छ ।

म आफैँ डिप्रेसनको बिरामी थिएँ । खुसीको अनुभूति पटक्कै हुन छोडेर एन्टीडिप्रेसेन्टबाट खुसी निचोर्दै थिएँ । त्यतिखेर समेत मेरो आशाको त्यान्द्रो ‘खाना’ थियो । मीठो खाँदा अलिकति खुसी मिलेको बोध हुन्थ्यो । त्यसैले म भन्ने गर्छु – खानाले मलाई फेरि हाँस्न सिकायो ।

मैले धेरै मान्छेले खानाको अनादर र आफल-ताफल गरेको देख्छु । नाकनिक गर्ने, खाना फाल्ने, खानाको उपेक्षा गर्ने – मलाई त यो अघोर पाप गरेझैँ लाग्छ । विवाह-वर्तमन हुँदा सयौँ मान्छेलाई पुग्ने खाना फ्याँकिन्छ । हुनेखानेहरूको घरमा फ्रिजभित्र खाना नखाइकन कुहिएर जान्छ । म यो खान्नँ र त्यो खान्नँ भनी खाना फाल्ने मेरो आफ्नै धेरै साथी छन् । कहिलेकाहीँ बाध्यताले मबाट पनि यस्तो पाप हुन्छ । खानाको कदर गर्नु निर्जीव अन्नको मात्र होइन, जमिन फोरेर टन्टलापुर घाममा हलो जोत्दै अन्न उमार्ने किसानको कदर गर्नु पनि हो । बिहान अर्धनिद्रामा त्यो किसानबाट किनेर बजारमा अन्न, तरकारी बेच्न हिँड्ने तरकारीवालाको कदर गर्नु हो । लखतरान थाक्छ, तैपनि छोराछोरी भोकै नसुतुन् भनेर प्रचुर प्रेमले भरिएको आमाको ममताको कदर गर्नु हो । खानाको इज्जत गर्नु समृद्धिको कदर गर्नु हो, सभ्यता जोगाउनु हो खानाकाे कदर गर्नु ।

मैले त बुझ्नै बाँकी छ, म खानका लागि बाँच्छु कि बाँच्नका लागि खान्छु ? सायद यस जीवनकालमा यसको उत्तर अवश्य फेला पर्ला । अहिले भने हरेक रात सुन्दर पक्वानको, वासना परिकल्पना गर्दै म स्वादिष्ट सपना देख्छु । सायद, इसीका नाम जीन्दगी हे ।