उसले भर्खर मात्र जिउँदो हुनुको अनुभूति गरेकी थिई । फूलहरू सुन्दर देख्न थालेकी थिई । अत्तरको सुवासलाई मीठो भन्ने प्रतिक्रिया दिन थालेकी थिई । बिहानीको उज्यालोमा रम्न थालेको केही समय मात्र भएको थियो । साँझहरू प्रेमिल लाग्न थालेका थिए । अचेल डुब्न लागेको घामलाई भोलि उदाउन आग्रह गर्न थाली । फूलहरूले ढपक्कै ढाकेका पैयुँका छायामुनि पल्टिएर सुन्दर प्रेमका कविता लेख्न सुरु गरी । पुतलीको चञ्चलता देखी ईर्ष्या गर्न थालेकी थिई । मैले देखेको धेरै भएको थिएन – उनका आँखाहरूमा प्रेमका अङ्कुरहरू टुसाएको ।
हो, केही रात मात्र भएको थियो उसले दुःस्वप्न र ऐँठनलाई रङ्गिन सपनाहरूले प्रतिस्थापना गरेको ।
प्रेम दिवसको राति मेरी प्रेमिकाले आत्महत्या गरी । त्यो भन्दा पहिले ऊ केवल जिउँदो लाश थिई र अन्ततः ऊ फेरी लाश नै बनी । सारा सपनाहरूको चिहान बनेको उसको छाती भित्रको स्थिर मुटु सायद कहिल्यै चिसो भएन । त्यो साँझ अरू के भयो त्यो भन्दै गरौंला तर मलाई हाम्रो प्रेम सम्बन्ध खुलाउन मन लाग्यो ।
० ० ० ०
घामले बिस्तारै बिदा लिइसकेको समय थियो त्यो । आर्यघाटमा एक किशोरीको लाश जलिरहेको थियो । आर्यघाट निकै व्यस्त थियो । हुलका हुल मलामीहरू काँधमा लाश बोकी आउँथे । तिनलाई चितामा सुताउँथे अनि आगो झोसेर शोक मनाउँथे । तिनका आफन्त कोही रोइरहेका हुन्थे, कोही धार्मिक रीति पुर्याउने कर्ममा लागिपरेका हुन्थे । जे होस् म चाहिँ त्यो अज्ञात किशोरीको शव दहन हेर्दै कमान्डर दैनिकको वर्गीकृत विज्ञापनमा रोजगारीका अवसरहरूमा रेजा लगाउँदै थिएँ । त्यो जलिरहेको लाश एक किशोरीको हो भन्ने कुरा एक हुल अर्का किशोरीहरूको संवादबाट सुनेको थिएँ मैले । ती किशोरीहरू सायद त्यो फायर शावर लिइरहेकी किशोरीका साथी हुँदा हुन् ।
एक हुल विदेशी र स्वदेशी पर्यटकहरू आधुनिक क्यामेराले ती दृश्यहरू कैद गर्दै थिए । मृत्यु कसको लागि पिडा त कसैको लागि तमासा बनिरहेको त्यो दृश्य आर्यघाटलाई नयाँ बिलकुल लाग्दैन ।
“मृत्यु अजीव हुन्छ है ?” एक नारी आवाज सुनियो ।
म बसेको बेन्चको रिक्त स्थान ओगट्दै एक अपरिचित नारी बसी । उसको आवाज मेरो कान नजिकै गुन्जिएको थियो । मैले उसको अनुहार हेर्न जरुरी ठानिनँ । न त कुनै प्रतिक्रिया दिन नै जरुरी सम्झेँ ।
“सिगरेट पिउनु हुन्छ ?” फेरि आवाज आयो ।
चुरोटको बट्टा उसले मतिर फर्काई । मैले धन्यवाद दिँदै एउटा चुरोट ओठमा च्यापेँ । चुरोटको बट्टा रित्तिएको अवस्थामा यो निकै लोभ लाग्दो आग्रह थियो । मैले नकारिनँ ।
“तपाईंलाई मृत्यु अजीव लागेको कुरा मलाई बडो अजीव लाग्यो ।” मैले भनें ।
ऊ हाँसी । उसको हाँसो मलाई बिलकुल अर्थहीन, कटाक्षपूर्ण र वाहियात लाग्यो । ठाउँ र परिस्थितिको हिसाबमा ।
“हेर्नुस् महासय ! जब एउटा नवजात शिशुले यो संसारमा पहिलो पल्ट आँखा खोल्छ ऊ रुन्छ । कुनै पशु या पन्छी जन्मँदा रोएको देख्नु भा’छ ? वा कतै सुन्नु भा’छ ?” उसले तर्क प्रस्तुत गरी ।
तर्क के भनौँ कुतर्कको अर्को उदाहरण पेश गरी उसले । तर कुरा पूरा सुनेर निष्कर्ष गरेँ मैले । मेरो अनुहार कुनै ठुलो प्रश्नवाचक चिन्ह जस्तो देखिएको हुँदो हो त्यस बखत ।
सिगरेटको कस तानेर ऊ आर्यघाटमा जलिरहेका लाश हेर्दै बोल्न थाली, “एउटा शिशु जन्मन्छ । ऊ सबैभन्दा पहिला रुन्छ । र उसको रुवाइले सबैभन्दा पहिला उसकी आमा हर्ष समेट्न नसकेर रुन्छे । हो आमा पनि रुन्छे तर उसको आँसु खुसीको हुन्छ । उसको बाउ जुँगामा ताउ लगाएर हाँस्छ । सबै खुसी नै खुसी हुन्छन् । बधाईहरू आदान प्रदान हुन्छ । उत्सव मनाइन्छ । तर यो उत्सवको हिस्सा ऊ कहिल्यै हुँदैन । ऊ त केवल एक दुर्घटनाको शिकार भएको हुन्छ र त्यो दुर्घटना हो जन्म । एक पुरुष – बाबु बन्ने पुरुषत्वको सामर्थ्य र एक नारी – आमा बनेर दुनियाँलाई म बाँझी छैन भन्ने कुरा प्रमाणित गर्ने प्रक्रियाको शिकार बन्छ एक शिशु ।” कुरा सकेसँगै लामो कस तान्छे र उसैगरी बिस्तारै छोड्छे ।
उसको कुरा निकै क्रूर थियो । उसका प्रत्येक शब्दहरू हजम हुने खालका थिएनन् तै पनि आफैलाई यातना दिँदै भए पनि उसलाई सुनिरहेको थिएँ । सुन्नु मेरो बाध्यता थियो र सुनाउनु उसको ।
“जन्मसँगै एउटा दौड सुरु हुन्छ । जिन्दगीको या मृत्युको, त्यो तपाईंको रोजाइ । तर ऊ फेरि पनि मृत्युतिरै बढिरहेको हुन्छ । त्यो दौडमा तपाईं पनि हुनुहुन्छ र म पनि छु । त्यो जलिरहेको लासका आफन्त पनि त्यही दौडमा छन् । मृत्यु सम्मको । तै पनि ती रोइरहेछन् । तर जो लास बनेको छ त्यो कति शान्त छ ! कति आनन्दित छ ! के कुनै कुराले उसको शान्ति भङ्ग गर्न सक्छ ? उसका सारा गुनासा, समस्या र पिडाहरूको निदान भएको छ तर यो उत्सवमय घडीमा संसार आँसु बगाउन व्यस्त हुन्छ । अनि छैन त मृत्यु अजीव ?”
आफ्नो बयान सिद्ध्याएर ऊ मलाइ हेरिरहेकी थिई । मानौं ऊ मेरो प्रतिक्रिया सुन्न चाहन्छे ।
“तिम्रो कुरामा केवल तर्क छ, मानवीय समवेदना छैन । के समवेदना बिना मान्छे मान्छे हुन्छ र ?” सोधें ।
“मलाइ हेर न के म मान्छे हैन, मसँग तिम्रो जस्तो भावना, संवेदना छैन, सपना र आकाङ्क्षा पनि छैनन् र शोकको रूपमा म चिता जलेको हेर्न मन पराउँछु तर पनि म छु । तिम्रो सामु के म मान्छे जस्तो लागें तिमीलाई ? तर जब तिम्रो मान्छे हुनुको परिभाषाभित्र पर्ने सबै तत्त्वहरू मसँग थिए तब मेरो श्वास पनि मेरो निमित्त थिएन । जीवित हुनुको आदत थियो तर त्यसमा आत्मा थिएन ।” चुरोट को ठुटो भुइँमा ठोसेर भनी ।
“जिउँदो हुनु हाम्रो आदत मात्र हो, किनकि मृत्युपछिको अनुभव सुनाउन कोही फर्किएर आएको छैन । नत्र यहाँ जन्मने भन्दा आत्ममृत्यु रोज्नेको संख्या भयानक ठुलो हुने थियो ।” फेरि उद्घोष गरी ।
आफ्नो कुरा सिद्ध्याएर ऊ मलिन साँझको तामसी धुँवासंगै विलीन भई । न आउँछु भनेर आएकी थिई न जान्छु भनेर बिदा भई ऊ । र यो पनि निर्क्योल थिएन भोलि ऊ आउली या नआउली । मसँग प्रश्नका भकारीहरू थिए र उत्तरहरू बोकेर ऊ फरार भई । आजको साँझ अजीव अजीव कुराहरू सुनेर बित्यो । तर जति अजीव त्यो आइमाई थिई, त्यति अजीव उसका कुराहरू पनि थिएनन् ।
० ० ० ०
त्यसपछिको भेटमा हाम्रो औपचारिक परिचय भएको थियो । प्रतिक्षा बताएकी थिई उसले आफ्नो नाम ।
“यो मुर्दा पोलेको हेर्नु बाहेक के काम गर्छौ तिमी ?” मैले सोधेको थिएँ
“म वेश्या हुँ ।” उसले हाँस्दै भनेकी थिई ।
यसो भनिरहँदा उसको अनुहारमा किञ्चित पनि संकोच र डर थिएन । न त उसका नजरहरू नै झुकेका थिए । बरु लाग्दथ्यो उसलाई वेश्या हुनुमा केही ग्लानि छैन ।
“अनि तिमी ?” उसले सोधी ।
“म एक शिक्षित बेरोजगार ।” म असहज हाँसो हाँसिदिएँ । फिस्स ! मेरो बाध्यता शायद मेरो हाँसोमा प्रस्टसँग पढ्न सकेकी हुँदी हो ।
“म पनि शिक्षित वेश्या हुँ ।” उसको भनाइमा मेरो निम्ति कटाक्ष थियो वा सहानुभूति बुझ्न सकिनँ ।
“तिमी केटी हुन्थ्यौ भने हामी एउटै पेशा गर्दा हौ शायद ।”
“हा हा हा !” हाँसो थाम्न सकिनँ ।
ऊ पनि जोड जोडले हाँस्न थाली । तर जुगले “जिगोलो” जन्माइसकेको कुरा हामी दुवै वाकिफ थियौं । ऊ वेश्या हुनुभन्दा पहिला कसैकी श्रीमती थिई । एक अवसादग्रस्त श्रीमती । यद्यपि उसलाई उसको निजी जिन्दगीसँग कुनै गुनासो थिएन । खास कौतुहलता मलाई पनि थिएन । जे होस् उसले मसँग आफ्ना कथाब्यथा बाँड्ने हिम्मतको जुगाड गरिसकेकी थिई ।
“मेरो डिप्रेसनको कुनै इलाज थिएन । र मैले ५ पटकसम्म असफल आत्महत्याको प्रयास गरेकी थिएँ ।” यसो भनिरहँदा उसको मुहारको आभामा गुलाबी रंग पोतिएको थियो ।
आर्यघाटको मुर्दागन्ध मिसिएको बतासले उसको केशरासी उडाउँदा दंग परी हेरिरहेको थिएँ ।
हाम्रो एक रोमान्टिक भेटमा उसले आफ्नो कथा अझ विस्तृत सुनाई । बेरोजगारीको चिर्पटले कन्चट चर्कने गरी पिटिएको म अखबारका वर्गीकृत रोजगारमूलक बक्सभित्र रेजा लगाउन बाहेक अर्को काम पनि गर्दै थिएँ । एक भूपू अवसादको बिरामी र वर्तमान नगरबधुको राम कहानी सुन्ने । म उसको काखमा पल्टिएको थिएँ र आफ्नो घना केशले मेरो मुहारमा पर्ने तेज घामका लप्काहरू छेकेकी थिई । कुनै बालकलाई लोरी सुनाए झैँ ऊ मलाई आफ्नो विषाद कथा सुनाउँदै थिई –
एक दिन कोटेश्वर चोकमा म मेरो भलाद्मी पतिको पछिपछि हिंड्दै थिएँ । बाटो काट्ने क्रममा सडकमा एउटा दुर्घटना घट्यो । मेरो कानुनी पतिलाई विपरीत दिशाबाट हुइँकिएको ट्रकले ठक्कर दियो । त्यो मान्छेको रगतले कोटेश्वर चोकको त्यो कालो पत्रे सडक रक्तमुछेल भयो । मान्छे जम्मा भए । ऊ केही बेर छटपटायो र यस संसारबाट बिदा भयो । हाँस्न बिर्सिएका मेरा प्रस्तर ओठहरूमा बिहे गरेको ५ वर्ष पछि मुस्कान छरियो । म निकै बेर हाँसें ।
मलाई याद छ त्यो हाँसोले मेरा ओठका काँपहरूमा पिडा दिएको थियो । उफ् हाँसोमा पनि पीडा ! एकछिनमै भिड जम्मा भएछ । सोध्नेहरूलाई मुस्कुराउँदै जवाफ दिँदै थिएँ । ऊ मेरो पति भएको कुरा जानकारी गराइरहेको थिएँ । आफ्नो पतिको दुखद मृत्युमा रमाइरहेकी आइमाई देखेर भिड अचम्म थियो । आइमाईहरू उक्त दृश्य हेर्न नसकेर चक्कर खाई ढल्थे । मलाई भीडले पागल करार गरिरहेको थियो । अरूले मेरो परपुरुषसँगको सम्बन्धको कारण म नरोएको भनिरहेका थिए । कोही मलाई पागल खाना लैजान भनिरहेका थिए । अनि कोही मलाई ढुङ्गाले हानेर मार्ने सल्लाह गरिरहेका थिए । एक छिनमा पुलिस घटनास्थलमा उपस्थित भयो । लाशको मुचुल्का तयार भयो । अनि प्रश्नहरू सोधियो ।
“के मृतक तपाईंको श्रीमान् हो ?”
“के ऊ अझै जिउँदो छ र ?” प्रश्नकर्तालाई मैले प्रतिप्रश्न गरें ।
“जिउँदो हुने त चान्स नै छैन । उहाँको मृत्यु भइसकेको छ । तपाईं केवल जवाफ दिनुस् ।” प्रहरीको फुलीवाल अफिसर आफ्नो लवजमा क्रोधको लेपन गर्दै भन्यो ।
“हो, तर हैन, थियो । अब ऊ केवल भूत हो । वर्तमानबाट उसको अस्तित्व विलीन भइसकेको छ ।” हाँसेर भनेँ ।
“के तपाईंलाई उहाँको मृत्युमा कुनै खेद छैन ?” फुलीवाला अफिसरको दोस्रो प्रश्न थियो ।
“यो तपाईंको व्यक्तिगत प्रश्न हो भने ठिकै छ । कानुनी हिसाबमा तपाईंको यो सवाल बेहुदा वाहियात छ मोहोदय ! कसैको मृत्युमा खुसी हुनु वा दुखी हुनु मेरो निजी कुरा हो । के नौटंकी गरी म रोनाधोनामा लागेको भए तपाईं मलाई यो प्रश्न गर्नु हुँदो हो ?” मेरो कुराले फुलीवाल पुलिस निकै आक्रोशित भयो ।
“उहाँको हत्या नियोजित ढंगले तपाईंले गरेको हो भनेर मैले भनेँ भने ?”
“तपाईंले भनिसक्नु भएको छैन । तर अब भन्ने नै बिचार गर्नुभएको छ भने म एसो भन्थेँ, ‘यो घटनामा मेरो कुनै दोष छैन । तर केही वर्षसम्म यो दुर्घटना नहुँदो हो त ! हुन सक्छ मैले यो मान्छेको हत्या गर्दी हुँ । फेरि त्यो भविष्यको कुरा हुन्थ्यो र शायद भविष्यमै तपाईंले मलाई ज्यान मुद्दामा गिरफ्तार पनि गर्नुहुँदो हो । तर मलाई अपसोच छ यो कुरामा कि उसको मृत्यु मेरो हातबाट लेखेको रहेनछ ।”
० ० ० ०
पतिको मृत्युपश्चात् ऊ यायावर बनेकी थिई । उसलाई उसको घरबाट निकालियो र माइतीबाट पनि ऊ तिरस्कृत बनेकी थिई । पतिको अन्त्येष्टि उसले आर्यघाटको त्यही बेन्चमा बसेर हेरेको कुरा बताएकी थिई मलाई । पुनः त्यही बेन्चमा बसेर । प्रत्येक दिन ऊ त्यही बेन्चमा बसेर चिताहरू जलेको दृश्य निकै मजा मानेर हेर्थी । मानौं ऊ कुनै रोमान्टिक चलचित्र हेरिरहेकी हो । मेरो दिमागमा खाली यही प्रश्न घुमिरहेको थियो कि कसरी एउटी पत्नीले आफ्नो पतिको मृत्युपश्चात् अवसादको दीर्घ रोगबाट मुक्ति पाउन सक्छे ?
० ० ० ०
हाम्रो भेटघाट बाक्लिँदै थियो । हाम्रो सम्बन्ध बाक्लिँदै थियो । ऊ कुनै न कुनै बहाना बनाएर मलाई भेटिरहेकी हुन्थी ।
“तिमीलाई याद छ तिमी एक वेश्यासँग कफी पिउँदै छौ ?” एक साँझ एक अमुक क्याफेमा कफी पिउँदै गर्दा उसले भनी ।
“केही फरक पर्दैन, आखिर वेश्या पनि यही समाजकै माग पूर्ति गर्ने ज्यामी नै त हो । हैन र ?” मैले भनेँ ।
दिल खोलेर हाँसेकी थिई । ऊ र हाम्रो संवादले त्यहाँको भलाद्मी माहौल अलि खलबलियो । सायद साहुनीले कर्के नजर फ्याँकी मतिर । उसले भनेकी थिई उसको पतिको तस्बिर अझै उसले राखेकी छे । कहीँ कतै ! मैले उसको पतिको तस्बिर हेर्ने जिज्ञासा तेर्साएँ ।
“त्यस दिन हाम्रो सम्बन्धको अन्त्य हुनेछ । त्यसैले यो इच्छा मनमा नराख ।” भनी ।
“किन ?” प्रश्न गरेँ ।
आँखाभरि आँसु लिएर हेरी मलाई । त्यसपछि जोड गरिनँ । लगत्तै हामी छुट्टियौँ ।
० ० ० ०
धेरै दिन भइसकेको थियो प्रतिक्षासंग भेट नभएको । मैले सोचेँ कि उसले मलाई सम्झिरहेकी होली । तर त्यो किञ्चित अनुमान थियो । हुन सक्छ ऊ बिरालो मुसार्दै, छालाको कालो काउचमा बसेर ‘सिन्डलर्स लिस्ट’ हेरिरहेकी होस्, अनि मजा लिइरहेकी होस्, यहुदीहरूलाई जिउँदै जलाइएको दृश्य हेरिरहेकी होस् मदिराको चुस्कीसंगै । या ऊ पढिरहेकी होस् क्रिस्टिना रोजेटी को ‘इन द डेथ अफ माइ डियरेस्ट’ या बाथटबमा आँखा चिम्म गरी ग्लुमी सन्डे सुन्दै निदाएकी पनि हुन सक्छ । या आफ्नो ग्राहकलाई सेवा दिइरहेकी होस् र उसको बुढो घर बेटीले ढोकाबाट चिहाउँदै होस् ।
० ० ० ०
एक गुच्छा बुकी फूल बोकेर म उसको डेरा जाँदै थिएँ । भर्याङमा उसको घरबेटीसंग जम्का भेट भयो । हमेसा जस्तै उसले मलाई घृणा भरिएको नजरले हेर्यो । ख्वाक्क खोक्यो र पित खकारले भुइँ पोत्यो । हमेशाझैँ मैले कृत्रिम मुस्कानले कृतज्ञता जनाएँ ।
“वेश्याको नपुंसक प्रेमी !” ऊ बडबडाउँदै सिँढी झर्यो ।
हमेसा झैँ ढोका खुल्ला थियो । कुनै सांकेतिक आवाज बिनै म उसको बैठक कोठामा छिरेँ । झ्यालबाट ऊ आर्यघाटतिर चिहाइरहेकी थिई । घाम मलिन हुँदै विलीन हुने सुरसारमा थियो ।
प्रतिक्षा मेरो प्रतीक्षा गरिरहेकी थिई । म ढिला भएको थिएँ । बुकी फूल कुनै पुष्प दोकानमा उपलब्ध हुँदैनथ्यो । त्यसैले बुकीको खोजमा म निकै टाढा निर्जन पहाडका पाखा पखेरा पुग्नु परेको थियो । ती पखेराहरूमा गोठालाहरू बाँसका छातीमा झिर उनी बाँसुरी बनाउँदै थिए ।
“तिमीलाई बुकी फूल किन मन पर्छ ?” एक दिन सोधेको थिएँ ।
“किनकि यो अरू कसैलाई मन पर्दैन ।” यो उसको जवाफ थियो ।
“अर्को कुरा बुकी फूल सारा फूलभन्दा शक्तिशाली हुन्छ । बसन्त सकिएपछि सारा फूलले आत्महत्या गर्छन् । तर तिनै फूलको चिहान बाट उम्रेको बुकी प्रत्येक उष्ण गृष्महरू झेल्दछ । चैते हुरी अनि हिउँदे असिनाहरूसँग लडिरहन्छे । मलाई लाग्छ बुकी फूल एक विधवा हो जो संसारसँग जुधिरहन्छे । आफ्ना बचेखुचेका खुशीका खाँतिर । बचेखुचेका आफ्ना सपनाका बगैंचामा आशाका तरल पौष्टिक मिश्रित ऊर्जाले सिचाई गरिरहन्छे । यस कारण मलाई बुकी मन पर्छ ।” मिठो मुस्कानको पूर्ण बिराम सहित ऊ रोकिई ।
“मलाई तिमी र बुकी फुल दुवै मन पर्छ ।” उसलाई आलिङ्गन गर्दै भनेको थिएँ ।
उसको गर्दन पछाडिका केश राशि हटाएर बुकी फूलले स्पर्श गरेँ । आँखा चिम्लिएर उसले लामो सास तानी । श्वास छोड्दा उसले अस्पष्ट मेरो नाम पुकारी । उसको शरीरको पृष्ठ भागतिर बाट आलिङ्गन गरेर बुकी फुल को गुच्छा उसको कोमल हातमा थमाइदिएँ ।
“भन यो बुकी फूल दिए बापत के चाहन्छौ ?” उसले भनी ।
“म तिमीलाई चुम्न चाहन्छु ।” मैले भनेँ ।
“म तयार छु ।” भनी ।
“म आतुर छु ।” मैले थपेँ ।
“मेरो एक शर्त छ ।” मलाई रोक्दै भनी ।
“हर शर्त मन्जुर छ ।” म बेझिझक बोलेँ ।
“तिमीले मेरो पिडाहरूलाई अनुभूत गर्न सक्नुपर्छ । पहिला मेरा घाउका डोबहरू चुम्न सक्नुपर्छ तिमीले ।” उसले शर्त तेर्स्याई ।
“तिम्रो जो इच्छा, त्यसको लागि म के गरूँ ?” मैले आज्ञाकारिता प्रकट गरेँ ।
“मेरो शरीर चिहाएर हेर । म प्रतिको तिम्रो प्रेम, भयङ्कर त्रास सहित मेटिन पनि सक्छ । कुनै चिताको अन्तिम आगोको लप्का झैँ ।” उसले चेतावनी सरी भनी ।
मौन भएँ । ऊ छततर्फ पिठ्युँ फर्काएर भुइँमा लम्पसार परी । मैले किचनमा गैर धारिलो चुप्पी खोजेर ल्याएँ ।
“तिमीले जे देख्नेछौ त्यसले मप्रति घृणा भाव उत्पन्न गराउन सक्छ तिमीलाई ।” उसले फेरि चेतावनीको भाषामा भनी ।
“कुनै शर्त र अवस्थामा पनि त्यो हुने छैन ।” मैले उसलाई आश्वस्त पार्दै भनेँ ।
उसले मलाई एक पल्ट निधारमा चुमी र यथा अवस्थामा मूर्तिवत बनी । उसको कम्मरनेर चुप्पी छिराएर मैले बिस्तारै रेट्न थाले र उसको गर्दन तर्फ चुप्पी बढाउन थालेँ । ऊ आनन्द विभोर भै रहेकी थी मानौं म उसको पिठ्युँको चिलाइ मेट्दै छु । चिरिएको श्वेत गाउनलाई मैले बीचबाट च्यातेर चुटाई दिएँ हनुमानले छाती चिरे झैँ !
उसको पिठ्युँभरि गहिरा घाउका सुकेका खतहरू थिए । कुनै ब्लेडले चिरेका जस्ता । कुनै तातो बस्तुले डामेका जस्ता । मैले करुणाले द्रवीभूत बनी उसको पिठ्यूँ सुमसुम्याएँ ।
“मेरो भूत पूर्व पतिको परिचयका सक्कली भग्नावशेषहरू कस्तो लाग्यो तिमीलाई ?” उसले भनी ।
म मौन थिएँ ।
“तिम्रो कौतुहलतापूर्ण प्रश्नको जवाफ यही हो । यसकारण म मेरो कानुनी पतिको मृत्युमा रोइन । बरु हाँसे । रमाएँ । दुनियाँले मलाई फेरि एकपल्ट पागल भन्यो । मैले उसको मृत्युको उत्सव मनाएँ । आर्यघाटमा जलेको उसको चिता हेर्दै रोमाञ्चित बनेर ।”
० ० ० ०
मैले उसका प्रत्येक घाउका खतहरू चुमेँ । करुणाका भाव र आवेगहरूमा आँखाभरि आँसु भरेर धित मरुन्जेल चुमे । उसले कोल्टो फेरी । उसको मुटुको धड्कन सुन्न सक्थेँ म । उसको र मेरो दुरी यो भन्दा पहिला कहिल्यै मेटिएको थिएन । उसको र मेरो श्वास कहिल्यै यसरी मिसिएको थिएन । यो मलाई अत्यन्तै प्रतिकर लाग्यो ।
उसका २ स्तनका पिँधहरूमा अर्ध चन्द्र आकारका २ भयानक खतहरू थिए । त्यसमुनि नाभिस्थल वरिपरि चुरोट निभाइएका गोल खतहरू थिए ।
“उसले कहिले मसँग सम्भोग गरेन । प्रत्येक रात उसले मलाई घाउहरू दिन्थ्यो । रगत चाट्थ्यो अनि कहिलेकाहीँ फेरी मेरो नाभिस्थल वरिपरि चुरोट ठोसेर निभाउँथ्यो । अनि सुँगुरझैँ घुरेर तृप्त निद पूरा गर्थ्यो ।”
उनले यसो भन्दा म पुरुष भएकोमा ग्लानि महसुस गरिरहेको थिएँ । ऊ बोल्दै थिई । म सुन्दै थिएँ ।
“तिमीले कहिल्यै प्रतिकार गरिनौ ?” मैले सोधेँ ।
“सुरुसुरुमा म रुन्थेँ, कराउँथे र सक्दो प्रतिकार पनि गर्थें । तर उसको मनमा दया, माया र करुणा भन्ने कुनै चिज नै थिएन । हिउँदमा खोला किनारको पत्थर जस्तो चिसो र कठोर मनमा कहिल्यै मेरो पिडाको कारण पग्लेन । अझ उसले परिवारदेखि टोल छिमेकसम्म मलाई पागलपनको समस्या भएको प्रचारबाजी गर्यो । तर जब दिनहरू बिस्तारै बित्दै गए मैले पीडाहरू त्यति नमीठा लागेनन् । बिस्तारै पीडाहरूको प्रतिक्रिया गर्नै छाडेँ । मेरो पति त्यसदिन खुशी भएको थियो । त्यही रात उसले मेरो स्तन मुनि चन्द्रकारमा ब्लेडले चिर्यो र मेरो रगताम्मे वक्ष हेर्दै कविता लेख्यो । त्यही कविता जुन तिम्रो अगाडि हाँसिरहेको छ ।” उसले भित्ता देखाउँदै कुरा सकी ।
भित्तामा एक हरफ कविता थियो । जुन यस प्रकार थियो:
“म तिमीलाई प्रेम गर्छु
त्यसैले त अनवरत पीडा दिन्छु !
मेरा दर्दहरू तिमीलाई उपहार
तिम्रो आँसुमा म मुस्कुराउँछु
मेरो मुस्कान तिमीलाई श्राप !
तिम्रा चित्कार मेरो सिम्फोनी !”
“जब म छाती पिटी पिटी रुन्थें ऊ सिगरेट सल्काएर पियानो बजाउँथ्यो । मैले कहिल्यै नसुनेका बेसुरा आलापहरू ।” उसले नीरवता चिर्दै बोली ।
“म तिम्रो मुस्कानहरूमा गीत लेख्न चाहन्छु ।” मैले भनेँ ।
“अनि ?”
“हिउँ परेका बिहानीहरूमा धुपीको पारिलो सियालमा बसी ग्वालाहरूलाई बाँसुरी बजाउन लगाउँछु।”
“अनि ?”
“अनि ती धुनहरूमा त्यही गीत सुसेल्ने छु ।”
“त्यो गीतको नाम के राख्ने छौ ?” उसले मलाई अङ्कमाल गरेर सोधी ।
“प्रतिक्षा !”
नशालु मुस्कान र मादक नजर सहित ऊ किचन कोठामा प्रवेश गरी । काठको सानो दराजका खापा खोली । त्यहाँबाट ओल्ड मङ्क रमको बोतल निकाली । अर्को दराजबाट २ गिलास निकाली र भरी । अनि मनतातो पानी हालेर हाम्रो पेय तयार पारी । भाडा धुने सिंकको टेबलमा खुट्टा खप्ट्याएर बसी र उद्घोष गरी ।
“मेरो राक्षस पतिको आत्मा अनवरत नर्कमै जाली रहोस् ! चियर्स !!”
“चियर्स”
० ० ० ०
मैले उसलाई उपहारस्वरूप तीन थरी फूल दिएको थिएँ । पहिलो सुकेको गुलाब, जसका पातहरूमा हरित कण कहीँ थिएनन् । त्यसका पुस्प्दलमा कुनै चमक थिएन तै पनि त्यो कुरूप थिएन । अर्को गुलाबका डाँठबाट मैले काँडाहरू खुर्किएको थिएँ र ठाउँ ठाउँमा ब्यान्डेज गरेको थिएँ । अनि तेस्रो थियो सेतो बुकी फुल । बिलकुल कुनै नव विवाहित विधवा जस्तै ।
यी तीन मध्य उसले एक छान्नु पर्ने थियो ।
बिहान उसको घरबेटी मलाई लाइभ भेट्न हाम्रो प्रिय स्थानमा आयो । त्यस दिन उसले मलाई हेरेर थुकेन । न त कुनै अप्रिय शब्द बोल्यो । उसले नै भनेको थियो मलाई प्रतिक्षाले आत्महत्या गरी भनेर । उसको आत्महत्या पत्रमा उसले यो कदम आफ्नो जीवनदेखि निराश भएर उठाएकी र यसमा कोही कसैको दोष नभएको कुरा लेखेकी रहिछ । घरबेटीले उसको लाशलाई अग्नि दिने प्रबन्ध गरेछ ।
यति कुरा बताए पछि उसले मेरो हातमा एउटा खाम थमाइदियो । त्यसमा पाउनेको नाममा मेरो नाम लेखिएको थियो ।
आर्यघाटको त्यही कुर्सीमा बसेर मैले उसको पत्र पढेँ ।
प्रिय प्रेम !
मलाइ थाह छ भोलिदेखि तिम्रो फेरि त्यही पुरानो दिन दोहोरिने छ । मात्र म त्यहाँ हुने छैन । तिम्रो समीप । तर तिमीसँग अरू कोही अवश्य हुनेछ । किनकि आजकल कथाहरू धेरै छन् । तर सुनिदिने र बुझिदिने तिम्रो जस्तो निस्वार्थ मन हुनेहरू थोरै छन् । तिमीसँगको पहिलो भेट पछि मेरो जीवनलाई हेर्ने परिभाषा बदलियो । तिमीले दिएका तीन फूलहरूले मलाई फेरि आफ्नो जीवनका भोगाइहरूका समीक्षा गर्न बाध्य तुल्यायो । म त्यो सुकेको गुलाब पनि बन्न सकिन, जसले टिपिनु अघि बगैंचालाई नै सुन्दर पारे होला । भँवराहरूका पैतालामा टाँसिएका त्यस गुलाबका पराग कणहरू आउँदो पुस्ताको लागि वसन्त ल्याउने सपना देखे होलान् । तर मेरो भविष्यमा भविष्य नै छैन । मेरो निरन्तरताको अन्त्यले न कुनै बसन्तलाई कुत्कुत्याउँछ न कुनै अघोरीको भोको पेट भर्दछ ।
दोस्रो काँडा ताछिएको गुलाब ! वाह ! गुलाबको काँडा केवल एक देखावटी सुरक्षा कवच हो । काँडाको सुरक्षा घेरा बाबजुद कति गुलाब बचे होलान् र निर्दयी फूल व्यापारीका हातबाट ? एउटी आइमाईको सुरक्षाको ठेक्का उसको श्रीमानले लिने गर्दछ । तर कसलाई मतलब ? कति श्रीमतीहरू आफ्नै पतिका निर्दयी आकाङ्क्षा बाट दिन रात वधशालाका चौपायाझैँ रेटिंदै होलान् ?
त्यसैले गुलाबमा काँडा भएको देख्न चाहने हाम्रो अभिलाषा मात्र हो । गुलाब त बिना काँडा पनि सुन्दर नै हुन्छ । जब मान्छेले काँडालाई बहिस्कार गर्नेछ ।
यो प्रेम दिवसमा मैले सेतो बुकी रोजेँ !
जाँदाजाँदै मैले तिम्रो घोर जिज्ञासाको चाबी अर्को खामभित्र राखी दिएकी छु । हेर्नु र बुझ्नु । मैले किन तिमीलाई माया गरेँ र किन तिमीबाट हमेशाको लागि टाढा भएँ ?
मेरो मृत्यु तिमीलाई प्रेम दिवसको उपहार ! नयाँ जीवनको शुभकामना तिमीलाई !
उही तिम्री
प्रतिक्षा
म उसको मृत्युमा रुन पनि सकिनँ । मुटुमा केवल गाँठो परिरह्यो । लामो श्वास तानेर खाम भित्रको अर्को खाम खोलेँ । मेरा मगजका गिर्खाहरू टन्किन थाले । खामभित्र एउटा तस्बिर थियो । उसको पतिको तस्बिर ! र त्यो अनुहार मेरो अनुहारसँग दुरुस्त मिल्दथ्यो ।
तस्बिरबाट पर हेरेँ । प्रतिक्षाको चिता जलिरहेको थियो ।
जर्मनी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।