उर्लाबारी, मोरङमा ५० वर्षअघि जन्मिएका लीलाराज खतिवडाले काठमाडौँको आरआर कलेजबाट पत्रकारिता र राजनीति शास्त्रमा स्नातक गरेका छन् । जनस्वतन्त्रता साप्ताहिकबाट वि.सं. २०५१ देखि पत्रकारिता सुरू गरेका उनले त्यसपछि राजधानीबाट प्रकाशित हुने विभिन्न दैनिक तथा साप्ताहिक अखबारहरूमा संवाददाता तथा स्तम्भकारका रूपमा काम गरे । अनुसन्धान पत्रकारिता उनको खासियत हो । पत्रकारिताबाट क्रमशः दर्शन, चित्रकला तथा साहित्यको आयाममा फाल हालेका लीलाराजले एक दशकभन्दा बढी अध्ययन र अनुसन्धान गरेर ‘म को हुँ’ उपन्यास (२०७२) बजारमा ल्याए । समीक्षकहरू उनको ‘म को हुँ’लाई नेपाली साहित्य जगतमा गरिएको एउटा अभूतपूर्व र फरक प्रयोग ठान्छन् ।

आफ्नो शशक्त भाषा शक्तिका कारण अप्ठ्यारोभन्दा अप्ठ्यारो विषयलाई पनि केलाएर सबैले बुझ्ने गरी प्रस्तुत गर्नसक्नु लीलाराजको कलमको खुबी हो । ‘म को हुँ’ उपन्यासपछि लकडाउनका बेला उनले ‘चक्रवर्ती सम्राट’ शीर्षकमा प्रेरक कथासंग्रह प्रकाशित गरे । त्यसपछि उनले ‘कालो ड्रयागन’ र ‘१३’ नामक ‘ईबुक’ पनि बजारमा ल्याइसकेको छन् । उनको एउटा निबन्धसंग्रह प्रकाशोन्मुख छ । ‘द रियल शमशेर’ उनको निर्माणाधीन चलचित्र हो । उनले राजधानीमा २ पटक एकल चित्रकला प्रदर्शनी पनि गरिसकेका छन् ।

प्रस्तुत छ, उनै लीलाराजसँग साहित्यपोस्टका लागि जनक कार्कीले गरेकाे कुराकानीकाे सम्पादित अंशः

===

हिजोआज यहाँको दिनचर्या के कस्तो छ ?

अहिले निष्काम भावमा छु तर छिट्टै नयाँ पुस्तक लेख्न थाल्दै छु ।

तपाईंको उपन्यास छ नि, ‘म को हुँ ?’ यो एउटा यस्तो प्रश्न हो जो आफैँले आफैँलाई सोधिन्छ । तपाईँले पनि आफैँलाई धेरैचोटि यो प्रश्न सोध्नुभएको होला । तपाईंले के के उत्तर भेट्टाउनु भएको छ ?

यसका लागि उपन्यास नै पढ्ने सल्लाह दिन्छु ।

तपाईँमा आध्यात्मिक भोक कसरी जाग्यो ? त्यो भोक मेटाउन कस्तो कस्तो प्रक्रियाबाट गुज्रनु भयो ?

हरेक मानिसमा आध्यात्मिक भोक हुन्छ तर मनको बादलले त्यसलाई ढाकेको हुन्छ । र, मानिस भौतिक भोक मेटाउने चक्करमा लाग्छ । अनि शेष हुन्छ । सर्वप्रथम त्यस आध्यात्मिक भोकलाई बोध गरेर ध्यान तथा साधनाबाट आफूलाई गुजार्दा आध्यात्मिक जागरण सम्भव छ । मेरो सन्दर्भमा यात्रा निकै कठिन थियो । म धुजाधुजा भएर फेरि बौरिएको हुँ । यो मेरो नयाँ जीवन मात्रै नभएर अवतार हो ।

तपाईं बेलाबेला गायब हुनुहुन्छ । त्यो गायब भएको बेला तपाईं कहाँ के गर्दै हुनुहुन्छ ?

सृजना गर्ने मान्छे बेलाबेला हराएन भने उसले के नै नयाँ आविष्कार पेश गर्ला ?

तपाईंको जीवनशैली एकदम अराजक देखिन्छ । अराजक भएर जिउनु कतिको चुनौतीपूर्ण छ यो समाजमा ?

हरेक मान्छेको स्वाभाव अराजक हुन्छ तर आफूलाई अनुशासित गर्ने चक्करमा उसले आफूलाई समाज र घरका डोरीहरूले टनटनी कसेको हुन्छ । मनमा त हरेक मान्छे अराजक छ । बुद्ध मात्रै राजक लाग्छन् । भित्र म जे छु त्यसलाई मैले प्रकट हुन दिएँ । मैले घर र समाजका अनावश्यक डोरीहरू, जो मलाई जन्मजात कस्छन्, तिनलाई चुँडाउने प्रयास गरें । मलाई अराजक देख्नेहरू पनि राजक त छैनन् । उनीहरू पनि अराजक छन् र मेरो अराजकता चिन्न सके । सर्पले सर्पको खुट्टा जो देख्छ ।

तपाईंले गरेको आध्यात्मिक खोजमा के के भेट्टाउनु भएको छ, जसले तपाईंलाई यसैमा लागिरहन मद्दत गर्यो ?

शून्यता । किनभने हामीभित्र यो नै शाश्वत र अन्तिम सत्य पनि हो । जब म भावशून्य हुन्छु तब ब्रह्म-सदृश हुन पुग्छु । अब जीवन सहज हुनपुग्छ र मानव मानवेत्तर हुन्छ ।

तपाईंले धेरै अनियोजित यात्रा गर्नुभएको छ । यात्राका क्रममा भारतका धेरै स्थानमा पुग्नुभएको छ । तपाईंको यात्राको खोज के हुन्छ ?

अस्तित्वलाई बोध गर्न आफ्नो वरपर नयाँ नयाँ स्थानमा यात्रा गर्नु पर्दछ । मेरा यात्राहरू निरुद्देश्य हुने गर्दछन्, र त्यही निरुद्देश्य यात्राले नै केही आविष्कार ओकलिदिन्छ ।

लीलाराज खतिवडा

लीलाराज खतिवडा

तपाईंले बिताउनुभएको रहस्यमय रातहरूको बारेमा बताउनोस् न ! प्रकृतिका कुनै पनि प्राणीका लागि लिखित नियम हुँदैन तर मान्छेलाई किन लिखित नियमको खाँचो परेको होला ? तपाईं आध्यात्मिक साधक पनि हुनुहुन्छ । ध्यान गर्नुहुन्छ । यसमा आनन्द भेटाउनुहुन्छ । आध्यात्मिक यात्रामा हिँडेको मान्छेको लक्ष्य भनेको बुद्धत्व प्राप्त गर्नु पनि हो भनिन्छ । तपाईं बुद्धत्वको यात्रामा हुनुहुन्छ ? यो यात्रामा तपाईंले सिकेका केही कुरा बताउनोस् न जसले पाठकलाई मार्गनिर्देशन गरोस ।

यसको लागि मेरा पुस्तकहरू काफी छन् । यी र यस्तै प्रश्नका जवाफहरूलाई मैले आख्यानमा कायाकल्प गरेर पुस्तकहरू निकालेको हुँ । म को हुँ उपन्यासपछि महामानव निर्माणका लागि कालो ड्रयागन भन्ने उपन्यास र नयाँ शासक कथासंग्रहका २६ थान कथाहरूमा मैले तपाईंले जान्न खोजेका कुराहरूलाई नै तत्त्व मीमांसा गर्ने प्रयास गरेको छु । मेरा कृतिहरू पढ्ने सचेत र मुमुक्षु पाठकहरूले उक्त रसायन महसुस गरेका छन् ।

तपाईंको खोज के हो ? एउटा आम मान्छेले जसरी नबाचेर किन फरक जिन्दगी बाच्ने अभिलाषा पलायो ?

स्वयम्लाई आविष्कार गर्नु नै मेरो खोज हो । त्यो स्वयम् आविष्कार हुँदै जाँदा मैले सामान्यबाट असामान्यतर्फ फड्को हानिसकेको हुन्छु । हुन त यहाँ सब असामान्य छन् । तर भीडग्रस्त भएकाले आफूलाई प्रायःले सामान्य नै ठानिदिन्छन् र जिन्दगी पनि सामान्य पाराले नै सकिदिन्छन् । उनीहरू कहिले आए र कहिले गए पत्तै हुँदैन । सेक्सपियरका पालामा जगतमा कति भयंकर अरू धेरै मानिसहरू थिए । राजा-महाराजा र डनहरू थिए । तर ती सबको नामोनिसानाको आज हेक्का छैन । तर सेक्सपियर ? पुरै दुनियाँका बच्चाबच्चालाई सेक्सपियर कण्ठै छ । सेक्सपियरको शेखपछि जगतमा कति धेरै युद्धहरू भए र कति धेरै शासक वा सेनामेनाहरू मारिए । तर सेक्सपियर मरेनन् । कहिल्यै मरेनन् । मर्दैनन् पनि । त्यसैले प्रेरणा लिँदा पनि सही लिनुपर्छ भन्छु म, खासगरी युवापुस्तालाई ।

मान्छेलाई सबैभन्दा बढी नियन्त्रण यौनको मामिलामा गरिन्छ । समाजले एक जनासँग बिहे गर र जिन्दगीभर त्यसैसँग मात्र यौन क्रियाकलाप गर, अरूसँग लसपस गरिस भने तँ चरित्रहीन होस् भन्छ । यस्तो बन्धन हुँदा पनि मानिसले एक जनाभन्दा बढीसँग यौनसम्बन्ध बनाइरहेकै छ । आज संसारका आधा जस्तो अपराध यसैका लागि हुन्छ । खासम यौन सम्बन्ध के हो र यसलाई कसरी व्यवस्थापन वा कस्तो अवस्था छोडिनिदिनु पर्थ्यो ?

जति नियन्त्रण, त्यसभन्दा अत्यधिक विष्फोटन । प्रकृतिलाई मानिसले कानुनमा बाँध्न सक्दैन । मानिसले बरु आफ्नो जनसंख्या नियन्त्रण गर्न सक्छ तर प्रकृतिलाई नियन्त्रण गर्न सक्दैन । गरे विष्फोटन हुन्छ । जो अहिले ग्यासका सिलिण्डर विष्फोट भए जसरी घरघरमा सम्बन्धहरू विष्फोटन भइरहेका छन् ।

मानव सभ्यतामा विवाह संस्थाको आवस्यकता छ वा छैन ?

जगत् चलाउन विवाहले जरुर मद्दत गरेको होला तर विवाहमा व्यक्तिहरू सकिन्छन् । स्वाहा हुन्छन् । विवाहितहरू थलामा बाँधिएका पशुसरह हुन् । घाँस खाने र बच्चा जन्माउने यिनीहरूको काम हो । यसभन्दा बढी विवाहित जोडीहरूबाट के अपेक्षा गर्ने ? प्रकृतिमा उछलकूद गरेर हुर्किएको पशु र गोठमा बाँधिएको पशुबिचको अन्तर मैले यहाँ भनिरहनु नपर्ला । कि पर्छ ?

तपाईं अध्ययनमा पनि गहिरो रुचि राख्नुहुन्छ । केही मनपर्ने पुस्तकको नामसहित कारण बताइदिनोस् न ?

हो, मैले चाहेजति पुस्तक पढें । तर मलाई कुनै पनि पुस्तकले प्रभाव पारेनन् । के नाम लिनु ? तर पनि सेक्सपियरलाई पढ्ने सल्लाह दिन्छु ।

आजको पुस्ताले पढ्नै पर्ने पुस्तकको नाम लिनुपर्दा ?

लीलाराजको ‘म को हुँ’ उपन्यास पढ्नुहोस्, घड्याप्पै जाग्नुहुनेछ । कतिपय त जागिसके । तपाई किन छुट्नुभयो ?

राजधानीमा रहेर तीन दशक पत्रकारिता गर्नुभयो । उपन्यास र कथा पनि लेख्नुभयो । एउटा सिनेमा पनि बनाउँदै हुनुहुन्छ । तपाईं किन छरिन चाहनु हुन्छ ?

छरिएको होइन । म त आफूलाई समेटिरहेको छु । म जे गर्दै छु ती मेरा प्यासन हुन् ।

कला, साहित्य र सङ्गीतले मानिसको जीवनमा के कस्तो प्रभाव पार्न सक्छ ?

मेरो जिन्दगीमा यी कुराहरू नभइदिएको भए मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ । सृजना र साधनाले मात्रै मानिसमा रूपान्तरण घटित हुन्छ । त्यस्बाहेक अरु कुनै उपाय छैन । हो, सृजना र साधनाको आयामचाहिँ अथाह छ ।

यहाँको सपना के छ ?

संसार कब्जा गर्ने मेरो सपना छ ।

पैसाले मानव सभ्यतामा ल्याएको सकारात्मक र नकारात्मक पक्ष के देख्नुभएको छ ?

पैसाको एउटा पनि सकारात्मक पक्ष छैन । पैसा प्राकृतिक होइन । शासकहरूलाई शासन गर्न सजिलो गरिदिने बाहेक पैसाको अर्को प्रयोजन छैन । त्यसैले पैसा यो जगतबाट हमेशाका लागि बन्द हुनुपर्छ र बार्टर प्रणाली लागू हुनुपर्छ ।

यहाँ धेरै राम्रो वक्ता हुनुहुन्छ । आध्यात्मिक दर्शनको राम्रो व्याख्या गर्नुहुन्छ । के हामी तपाईंलाई कुनै दिन आश्रममा प्रवचन दिइरहेको देख्न पाउछौँ ?

पाउनु हुन्न । यो आशा कृपया मसँग नगर्नुृहोला ।

के प्रेम र करुणा आजको मानिसबाट हराउँदै गएको हो ?

बिल्कुलै हो । आजको मानिस रोबोटिक छ र यसभित्र प्रेम र करुणालाई प्रोग्रामिङ गर्न कठिन छ ।

एउटा हाइपोथेटिकल प्रश्न गर्छु । तपाईं नेपालको प्रधानमन्त्री हुनुभयो भने केके गर्नुहुन्थ्यो ?

जो संसार नै कब्जा गर्ने सपना देख्छ, उसको लागि नेपालको प्रधानमन्त्रीको जागिर अलिक निम्छरो होला कि !

संसारचाहिँ कसरी र कहिले कब्जा गर्नुहुन्छ ?

त्यो अहिले यहाँ खुलाएँ भने फेरि अर्कोले कब्जा गरिदिन्छ मेरो संसार । त्यसैले यस विषयमा म आर्य मौन !