बा भन्नुहुन्छ: छोरा, तैँले यस्तो बन्नु पर्छ ।
आमा भन्नुहुन्छ: छोरा तैँले यस्तो गर्नु पर्छ !
मैले नचाहेर म जन्मिएँ
मेरा बाआमाले ‘म’लाई नै जन्माएको हैन
जवानीको राप अनि तापको परिणाम हुँ म
जसले अनिश्चयमा जीवन पायो
र निश्चयको खोजीमा आयो

केही थोपाबाट सिर्जिएको यो अस्तित्व
म कसलाई समर्पित गरौँ ?
बाबालाई ?
आमालाई ?
समाजलाई ?
कि आफैँलाई ?
न त सर्जकको हुन मन लाग्छ
न त पराइको पाउ छुन मन लाग्छ
समस्त स्वामित्व छिन्छ यो समाज
न त यो समाजले स्वयंको बन्न दियो
साँच्चै…

के यो प्राण बनाउँदै गर्दा मेरो अनुहार सर्जकको आँखामा थियो ?
न त स्वयंको चाहना हुँ म
न त सर्जकको चाहना हुँ
रौसरागबाट पग्लिएको निखार जमेपछिको
चिसो ढिको हुँ म
नकोट्याऊँ मलाई म पोखिन सक्छु
यात्रा बिचैमा रोकिन सक्छु

मैले त मेरा सर्जकलाई धन्यवाद दिनु छ
जसले उसको चाहना बिनै यौटा जीवन सिर्जना गर्यो
र आफ्ना चाहना मलाई सुनाउँदैछ
छोरा तैँले यस्तो गर्नुपर्छ
छोरा तैँले यस्तो बन्नु पर्छ
मैले नचाहेको जीवनका मेरा सपना म रोकेर हिँडिरहेको छु
त्यसबेला हुँदै नभएको सर्जकका चाहना
यसबेला म बोकेर हिँडिरहेको छु

किन जन्मिन्छ मान्छे ?
कसका लागि जन्मिन्छ मान्छे ?
किन जन्माउँछ मान्छे ?
आमाले छोरो जन्मिएपछि छोरो चिन्नुभयो
बाउ जस्तै, ठ्याक्कै बाउ जस्तै
साँच्चै…
आमाले बाकै लागि खुशी किन्नुभयो
र त बा काँधमा खुशी बोकेर हिँड्नुभयो
तर त्यो कलिलो खुशी
स्वयं आफ्नो खुशी त्यसरी नै काँधमा बोकी हिँड्दा पनि खुशी छैन
किन जन्मिन्छ मान्छे ?
किन जन्माउँछ मान्छे ?
खुशी काँधमा बोकेर पनि किन रूनुपर्छ मान्छे ?
ए समाज !
कस्तो हुनुपर्छ मान्छे ?