स्कटल्यान्डका प्रख्यात साहित्यकार अस्कर वाइल्डले समलैंगिकताको आरोपमा जीवनका दुई वर्ष कठोर जेल सजाय भोग्नु पर्यो । त्यो जेल कुनै समयको क्रिस्चियन मठ थियो । पछि कालान्तरमा कालकोठरीका रूपमा प्रसिद्ध भयो ।
झन्, देशकै प्रख्यात साहित्यकारले सोही जेलमा दुई वर्ष बिताएको हुनाले पनि यसको महत्त्व मान्नेहरूको कमी थिएन ।
पछिल्लो समय बेलायती न्याय मन्त्रालयले यो जेललाई बिक्रीमा राखेको थियो । रिडिङ, बर्कसायरस्थित यो जेल गत एक दशकदेखि असुरक्षित भएको भन्दै बन्द गरिएको थियो ।
चीनमा जन्मिएका बेलायती अर्बपति व्यापारी चानिङ बाईले यो जेललाई ७० लाख पाउन्डमा किनेका छन् ।
जाइरन एजुकेसन फाउन्डेसनको नाउँमा यो किनिएको हो । अब यो फाउन्डेसनले यसलाई सांस्कृतिक केन्द्रका रूपमा विकसित गर्ने विश्वास न्याय मन्त्रालयले लिएको छ ।
यो जेललाई रङरोगनका साथ सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । सन् २०२१ देखि नै यसलाई सिर्जनशील ठाउँका रूपमा उपयोग गर्ने प्रयासहरू भइरहेको थियो । स्थानीय निकायले १० लाख पाउन्ड उठाउन खोज्दै सो रकमले शैक्षिक र ज्ञानमूलक कार्यका लागि उपयोगमा ल्याउने प्रयास गरिएको थियो तर रकम जुट्न सकिरहेको थिएन ।
साढे तीन एकड जमिनमा फैलिएको यो मठ रानी भिक्टोरियाको पालामा जेलमा रूपान्तरण गरिएको थियो । यहीँ छेउमा बेलायती राजा हेनरी प्रथमको चिहानसमेत छ ।
केही समयअघि सरकारले यो जग्गा बेच्न ठिक परेको थियो । यो ठाउँमा जेल भत्काएर नयाँ अपार्टमेन्ट बनाउन खोज्दा स्थानीयले विरोध गरेका थिए ।
यो जेलबाट एक जना अपराधीले कुनै समय पर्खालमा डोरी झुण्ड्याएर भागेको हुनाले सोको सम्झनामा यहाँ एउटा पेन्टिङसमेत बनाइएको छ ।
जायरन एजुकेसन फाउन्डेसनले लेखक अस्कर वाइल्डको यो जेल बसाइलाई मज्जैले उपयोग गर्ने बताएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।