तिर्थराज भन्डारी गाउँ समाजमा नाम चलेका धनाढ्य व्यक्ति थिए । उनका पुर्खाको थातथलो पहाडतिरै भए पनि, बाबुको पालादेखि बसाइँ सरी तराईमै उनको रजगज थियो । सबै वंशियारीहरू अचेल पहाड छोडेर तराईका राम्राराम्रा सुगम ठाउँमा पुगेर सम्पन्नताको पहिचान दिइसकेका थिए । उनको पनि त्यहाँ राम्रै हाई दुहाई थियो । पुर्खा जिजुबाजेहरू त्यतिखेरको शासन प्रणाली अनुसार गाउँ एरियाका मुखिया भएर हाई दुहाई चलाएका थिए ।

पछि मुखिया पटुवारीको शासन हराएपछि, पञ्चायती व्यवस्थामा पनि उनीहरूको हाई दुहाई ठूलै थियो । उनीहरू राज्यव्यवस्थाअनुसारको पदपदैया लिएर सधैँ अगुवा नै बन्दथे । उनका बाबुले पहाडमा छँदा धेरै वर्षसम्म प्रधानपञ्च भएर नेतृत्व गरेका थिए । त्यतिखेर तराई फाँटमा औलोको प्रकोप थियो । त्यसैले पहाडलाई नै सुरक्षित मानेर उनीहरूको जरा पहाडमै फैलिएको थियो । समयकाल पछि बिस्तारै औलो उन्मुलन हुँदै गयो । औलो उन्मुलन भए पछि तराईकै रमणीय सुगम ठाउँ हेरेर आफ्ना सन्ततिलाई राख्न जग्गाजमिन किन्न थाले । र क्रमशः पहाडलाई बिक्री गर्दै अन्तमा सबै तराईमै बस्न थाले ।

तराईमा बाटोघाटो, निजी विद्यालय, अस्पताल सबै आवश्यकीय स्रोत साधनको सुविधा थियो । पहाडमा जस्तो ओल्लो थुम्को र पल्लो थुम्को घोडा चढेर उकाली–ओराली गर्नु पर्ने झन्झट तराईमा थिएन । तराईमा झरेर पनि सम्पत्ति प्रशस्ति आफ्नै भएकाले, आफू र आफ्ना परिवारजन सबार गर्ने साधन गाडीहरू घरैमा व्यवस्था थिए । अझै पनि चालिस बिगाभन्दा बढी जमिन आफू र आफ्ना सन्तानको स्वामित्वभित्र थियो । सहर बजारभित्र पनि धेरै घर घडेरीहरू थिए । त्यसैले त्यो ठाउँमा पनि तिर्थराज भन्डारीलाई धनाढ्य भूमिपति भनेर सबैले चिन्दथे ।

तिर्थराज भन्डारी पनि आजसम्म नै आफूलाई मुखिया खानदान हुँ भनेर गर्व बोक्दथे । सानातिना गरिबगुर्वा निमुखासँग भलाकुसारी गरिरहनु आफ्नै ओज घट्ने कुरा सम्झन्थे । अझै पनि आफूलाई आदर सूचक सलामी कोसेलीसहित सबै मान्न आउन् भन्ने सोच उनको जीवितै थियो । त्यसैले उनी आफ्नै शानसैकतमा थिए । मेरा छिमेकमा मभन्दा ठूलो जान्ने र धनीको छ र ! मनमनमा गर्व पालिरहन्थे । छिमेकीहरूको अगाडि उनको शान र रवैया लडतरो थिएन ।

आफ्ना दरसन्तानलाई सहर बजारका सुगम ठाउँमा राखेर पढाएका थिए । सबै परिवार अशिक्षित र दुःखसँग अपरिचित थिए । छिमेकका गरिब असहायहरूको अवस्था देखेर उनीहरू घिनाउँथे । कुनै सभ्यता नभएका हरि कङ्गालहरू भनेर हेपासी वचन बोल्दथे । निमुखाहरू चुपचाप आ–आफ्नो दुःखमा हेलिन जान्थे । उनीहरूमा धनतेज, विद्यातेज सबै सम्पन्न थियो । ती गरिब निमुखाहरूको दुःख वेदना उनीहरूलाई के थाह ! सबै असभ्य जङ्गली हुन् भनेर हियाउँथे । हामीले जे निर्णय गर्छौँ सबै निर्णय तर्क यिनीहरूले मान्नुपर्छ भन्ने गर्व उनीहरूमा थियो ।

तिर्थराजको जेठो छोरो दिनेश भरखरै विद्यावारिधि गरेर घरैमा थियो । उनको मनमा छोरो दिनेशको विवाह अब खानदानकी छोरी मागेर गरिदिने रहर थियो । एक दिन यही रहर अनुरूप आफ्ना नातेदारहरूलाई खानदानीया केटी खोज्न ठाउँठाउँ खटाए । आफन्तहरूले केटीको तलिसा गर्दै जाँदा एउटा सुगम बजारमा सम्पन्न व्यक्तिकी छोरी पत्ता लगाएर कुराको मेलोमेसो अघि बढाए । दिनेश सहित केटी हेर्न केटीको घरमा पुग्यो । केटी पढेलेखेकी राम्री थिई ।

केटी देखेर दिनेशले सन्तुष्टि प्रकट गर्यो । केटी माग्ने क्रम दोहोरियो, तेहरियो । वास्तविकताको विश्वास पाए पछि केटीका आमाबाबुले पनि केटी दिने निधो गरे । केटीको बन्दोबस्तत भए पछि तिर्थराज धूमधाम बिहेको तयारी गर्न थाले । हुँदा हुँदै दिनेश बेहुलो बनेर अन्मिने दिन पनि आयो । र तामझाम सहित बेहुलो अन्माएर जन्ती बाटो लाग्यो ।

उता बेहुलीको घरमा भने अर्कै चर्चो परिचर्चो मच्चिरहेको थियो । माइतीहरू सबै आजित भएर दौडधुप भएका थिए । किनकि बिहानीपखको रातीदेखि बेहुली घरमा थिइन, बिपत्ता थिई । खोज्दा खोज्दा कतै नभेटे पछि बेहुलीको हालखबर सुनाउन माइतीहरू विवश थिए ।

जन्ती लिएर जाँदै गरेको तिर्थराजको कानमा अनायास यो खबर आइपुग्यो । यो खबर सुनेर तिर्थराज त्यहीँ मुर्छा खाए । जाँदै गरेको जन्ती र बेहुलो बाटैमा गर्खट लाग्यो । तिर्थराज झोक्किंदै भन्न थाले, “यो भन्दा ठूलो बेइज्जत के हुन सक्छ ! कु मान्छेको घरमा कुहेकी केटी माग्न गए पछि यस्तै धोका हुन्छ ! मेरो इज्जत माटोमा मिलाइदियौ !” त्यो दोष माग्नेहरू माथि थोपर्दै उफ्रिन थाले । त्यहाँ यस्तै खैलाबैलाले निकैबेर हल्ला मच्चायो ।

निचोडमा दाह्रा किट्दै तिर्थराज फेरि बम्के, “एउटी माटाको मूर्ति भने पनि नली घर फिर्नु उचित हुँदैन । त्यसैले जाऊ गाउँगाउँका बस्ती बस्तीमा पसेर समस्या यस्तो आइलाग्यो भन्दै एउटी केटीको खोज गर ।”

त्यसपछि सबै ग्रुपग्रुप भएर नजिकका गाउँहरूमा पसेर समस्या यो भयो भन्दै केटीको खोज गर्न थाले । त्यही गाउँको एका पट्टि छेउमा सानो झुप्रो घर भएका गरिब क्षत्रीको घरमा भरखरै एस.एल.सी दिएर बसेकी छोरी थिइन् । सबै जना त्यही केटीमाथि घेरा बन्दी गर्न पुगे । आकाशपताल देखाएर ती सोझा क्षत्रीमाथि उनीहरूको अप्ठ्यारो समस्या फुर्काई दिनुपर्ने अनुरोध ओइरियो । सबै जना वरिपरि बसेर र्याखर्याखी पार्न थाले । आफ्नै गाउँ घरका भद्र भलाद्मी पनि त्यही भेला भएका थिए । सबैको पहल कदमी केटी दिनुपर्नेमा नै जोड थियो ।

यसरी यस्तो चेपाई आइलाग्दा केटीका आमाबाबुले पनि गरिबकी छोरी भनी हेला होचो हुँदैन भने हुन्छ त भन्ने वचन दिए । त्यसपछि बेहुलो र जन्ती त्यहीँ झुप्रे घरमा थुप्रिए । भएका गरगहना लत्ताकपडा त्यही केटीलाई पहिर्याएर विधिगत सिँदुरपोते गरी त्यहाँबाट बिदाबारी भए ।

यो ठक्करले तिर्थराजका सपरिवार दिउँसै सपना देखिरहेका थिए । तिर्थराजले त कति छाक भातै नखाई उठे । आफ्नो इज्जतमा खोट लागेको कुरा नमिठो भएर झाँगियो । आफ्नो घरमा गरिबको छोरी भित्र्याउन परेकोमा उनलाई कुलक्षण भित्र्याएको भान हुन्थ्यो । आफ्नी बुहारीले घर दैलो गरेको पनि आँखाले हेर्न सक्दैन थिए । उनको मनमा अनौठो औडाह मच्चिरहेको थियो ।

मनमा खपिनसक्नु चिन्ता खेल्दै गर्दा छोरो दिनेशलाई एकान्तमा बोलाएर सल्लाह गरे, “हेर छोरा ! हाम्रो खानदानमा ठूलै खोट लाग्यो । यो भन्दा ठूलो बेइज्जत के हुन सक्छ ! त्यो झुप्रे घरको तुच्छ बनियारेलाई मैले कसरी सम्धी भन्ने ! अनि तैँले कसरी ससुराली मान्न जाने ! यो असम्भव र अपाच्य छ । तसर्थ अब तैँले यो घडीमा एउटा जुक्ति र रोल खेल्नु पर्यो – त्यो एक मानेकी छोरीलाई यसरी भन्नु पर्यो – तैँले मलाई अप्ठ्यारो परेको बेला ठूलो गुन लगाइस्, त्यो गुन म बाँचुन्जेल भुल्ने छुइन । तर पनि लोकको अगाडि मलाई बिहेमा ठूलै बज्रपात लाग्यो । त्यो दाग मेट्नको लागि मैले अर्को बिहे नगरी भएन । तेरै सहमतिमा म बिहे गर्छु ! जेठी बाठीको ठाउँमा तँ नै रहनेछस् ! पहिलो माया तैँले नै पाउने होस् भनेर राजी पार्नू । राजी नभएमा कुनै सम्बन्ध ऊसँग तैँले नराख्नु ! म अर्कै कुटुनी लगाएर पन्साउने काम गर्छु । गुमेको इज्जत फर्काउनै पर्छ, नत्र हामी  मरेतुल्य भयौँ ।”

बाबुले यसरी कान फुकेपछि दिनेशले त्यही प्रसङ्ग आफ्नी श्रीमतीमाथि वचन प्रहार गर्न थाल्यो । श्रीमतीले माग्दाको बाचाबन्धन समाउँदै असहमति जनाई । बारम्बार धेरै कुरा बुझाएर सम्झाउँदा पनि असहमति नै जनाए पछि दिनेशले त्यो केटीसँग बोलचाल र सम्बन्ध नै बन्ध गरिदियो । दुरानेमा ससुराल पनि गएन । फगत केटी मात्र गई ।

यसरी दुरानेमा माइत पुगेकी छोरीका कोसेलीले माइतीहरूमा ठूलै विषाद फैलियो । हिजो मागिदिँदा रोहोवरमा बस्ने गाउँका सुजबुज भएका भद्र भलाद्मी व्यक्तिहरू समेत बोलाएर छलफल भयो । यो सुनेर गाउँका व्यक्तिहरूले पनि यो बोल्नै नहुने कुरा कसरी बोले, आश्चर्य प्रकट गरे ।

केही दिनपछि छोरी घरमा पठाउने सल्लाह भयो । पुर्याउन जाँदा माइती तर्फका दुईचार जना व्यक्तिहरू पनि साथै गएका थिए । तिर्थराजको दलानमा पुगेर सबै पटल कसे । तिर्थराज र दिनेशलाई सँगै राखेर कुरा सुरु भयो । कुरा चल्दै गर्दा कुराको ठोस निर्णय नै नगरी दिनेश जुरुक्क उठेर अनेत्रै हिँड्यो । तिर्थराज पनि बाङ्गो बाङ्गो हुँदै बाहिरिए । अब समाजले त्यहाँ बसिरहनु कुनै तुक रहेन । त्यसैले सबै जर्याकजुरुक उठेर हिंडेँ । यसरी मनमोटावको वाक्युद्ध दिनदिनै चलिरहेको थियो । पीडित पक्षहरूले धेरै उपायहरूको गौँडो खोजे । अन्तमा निष्कर्ष त्यहाँ पुग्यो–

त्यो जिल्लामा एकजना शिवनारायण भन्ने ज्वलन्त नेता थिए । उनी सही सत्यको पक्षमा सधैँ बोल्ने गर्थे । उनको पार्टीको नीतिगत कारबाही डरलाग्दो हुन्थ्यो । उनी वर्गीय विभेदका  धुरन्धर पनि थिए । उनको सम्पूर्ण दैनिकी टोल टोलमा बसेर सङ्गठन बिस्तार गर्नु नै प्रमुख हुन्थ्यो । राज्यभित्रका विकृति विसङ्गति विरुद्ध औँलो ठड्याएर बोल्ने गर्थे । यो देशमा सानो–ठूलो सबैको बराबर हकअधिकार हुनु पर्छ भन्थे । देशमा आमूल परिवर्तनको खाँचो छ भन्थे । स्वच्छ देश बनाउनको लागि हामी सबै एकजुट हुनै पर्छ भन्थे ।

यो कुरो घुमफिर हुँदै बाध्य भएर उनै शिव नारायणकाँ पुग्यो । उजुरी परेपछि तथ्यसत्य बुझ्न शिवनारायण घुम्दै त्यहाँ आइपुगे । पीडित दुलहीलाई एकान्तमा झिकाएर यथार्थ कुरा बुझे । कुरा बुझिसके पछि उनलाई पनि अप्रिय लाग्यो । अनि ती नव दुलहीलाई सान्त्वना दिँदै भने, “ठिक छ नानी ! म फलानो दिन दुईचार जना साथीहरू समेत लिएर आउँछु, उक्त दिन गाउँ समाज सबैलाई बोलाई राख्नू” भन्दै सल्लाह दिएर आफ्नै गन्तव्यतिर लागे ।

केही दिन पछि तोकिएको दिन पनि आयो । सबै सरसमाजलाई खबर पुगिसकेको थियो । गाउँका भद्र भलाद्मी, माइतीतिरका भद्र भलाद्मी एकपछि अर्को गर्दै दिनेशको घरमा जम्मा हुन थाले । उता शिवनारायण पनि पार्टीका दुई चारजना साथीहरू लिएर उपस्थित भए । आँगनमा गुरुम्म कुँडुलो लागेर छलफल सुरु भयो । सबै सरसमाजले पालै पालो आ–आफ्नो वैचारिक बेलिबिस्तार सुनाए ।

सबै समाजबाट यथार्थ विवरण सुने पछि, शिवनारायणले दिनेशपट्टि फर्किएर भने, “हेर्नुस् दिनेश जी ! हामीले तपाईंहरू दुई दम्पतीको झगडा फैल्याउन होइन, मिलाउनको लागि यो कष्ट गरिरहेका छौँ । अन्यथा नमान्नु होला ! हामी चाहन्छौँ तपाईंहरूको दाम्पत्य जीवन सुखमय होस्, आपसी मनमोटावको अन्त होस् । तर तपाईं जत्तिको विद्वान मान्छेको सोच आजको एक्काइसौँ शताब्दीको उत्तरार्द्धमा आइपुग्दा पनि खिया लागेको देख्दा मलाई ताजुब लागेको छ । तपाईं आफूलाई मात्र मपाईं सोच्नु हुन्छ क्यार ! आफैँ छातीमा हात राखेर सोच्नुस् – यी बहिनीको काहाँ के दोष छर ! तपाईंले मागेकी केटीले तपाईंलाई धोका दिई, यो सत्य देखियो ।

तर तपाईंलाई सामाजिक संकट परेको बेला झुलो चकमकझैँ खोज्दा यी बहिनीले तपाईंको इज्जत राखी दिइन् । साथ दिइन् । तपाईंको लागि त्यहाँ भन्दा ठूलो गुन के हुन सक्छ ! आज गर्जो टरे पछि ठूला ठूला सपना देख्न थाल्नुभो भने, आफ्नै नैतिकतालाई तिलाञ्जली दिन थाल्नुभो भने, यो सरासर निन्दनीय र गलत हुनेछ । आजको जमानामा दुई जनाको राजिखुसी भएपछि उमेर पुगेका जुनसुकै जात वर्ग र तहले पनि नस्ल बाहेक वैवाहिक सम्बन्ध कायम गर्न कानुनी छुट छ । यो कानुन जनताले नै आवश्यक देखेर ल्याएका हुन् । अझै अरू पनि अधिकारहरू प्राप्त गर्न जनताहरू जुट्दै छन्, र जुट्न आवश्यक पनि देखिन्छ ।

तपाईंहरूको वैवाहिक सम्बन्ध हेर्दा त कति पवित्र देखिन्छ । क्षेत्रीको छोरो, क्षत्रीकी छोरी परम्परागत धर्म संस्कृति पनि एउटै । सम्पत्ति तिर सोच्नु हुन्छ भने–  तपाईंकै अज्यास्ति सम्पत्ति छ । किन तपाईंलाई सम्पत्ति र धनीकी छोरी चाहियो र ! यो कुरा तपाईंले मनन गर्नु जरुरी देख्छु । जहिले पनि मानवभित्र मानवत्व हुनुपर्छ । मानिसले जो भन्छ – त्यो गर्छ, जो गर्छ – त्यो भन्छ हुनु नै मानव धर्म र कर्तव्य हो । मागेकी केटीले धोका दिँदा तपाईंलाई मनमा कति पीडा भयो ।

अब यी बहिनीलाई तपाईं धोका दिनतिर लाग्नुभो भने, यी बहिनीलाई पनि त्यतिकै पीडा हुनेछ । परेको बेला साथ दिने एउटी गौप्राणी श्रीमतीलाई तपाईंले धोका दिन मिल्छ ! त्यो भन्दा ठूलो बैमानी रपाप के हुन सक्छ । हामी सबै मानव जाति सामाजिक प्राणी हौँ । हामीले समाजको उल्टो काम गर्यौं भने, सामाजिक दण्ड बेहोर्नु पर्ने हुन्छ । कानुनको फन्दामा पर्नु पर्ने हुन्छ । तपाईं आफैँ विद्वान हुनुहुन्छ ! प्रचलित कानुन के हो, तपाईंहरू जस्ता विद्वानलाई नै बढी व्याख्या थाहा होला ! कानुनको बर्खिलाप गर्दा नतिजा के हुन्छ भन्ने कुरा । दिशालाई रोक्ने चेष्टा गर्नु हुँदैन, आफ्नै पेटको दुरदशा हो । अब आइन्दा तपाईंहरूले यस्ता नालायक आपसी मनमोटाव बिर्सेर मेलमिलाप कायम गरेर अघि बढ्नोस् ।

म यो छलफलबाट तपाईंहरू दुई दम्पतीलाई यही सन्देश र निष्कर्ष दिन्छु । मानिस ठूलो हुनलाई बिचार पनि राम्रो र ठूलो हुनुपर्छ । धन र इज्जत आवश्यकीय वस्तु भए पनि अफिन्ची भने होइन । तपाईंलाई धनले उल्लु बनाउन खोजिरहेको छ । सावधान रहनुहोस् ! विपरित कल्पनै नर्गनुस् । आफूलाई ढुक्क सम्झनोस् मैले जे निर्णय गरेँ त्यही ठिक छ भनेर, यसलाई मायाको रसले भिजाएर अघि बढ्नोस् ! यसैमा तपाईंको कल्याण र धर्म हुनेछ । यदि तल माथि सोच्न लाग्नुभो भने प्रश्न तपाईंमाथि नै खडा हुने छ ।”

यसरी शिवनारायणले धेरै बेर फलाकेपछि दिनेश एक वाक्य पनि बोलेन । तिर्थराज पनि अनुहार मलिन पार्दै भित्र पसे । शिवनारायणले मेलमिलापको कागज लेखाएर सहीछाप गराई लिखित प्रमाण तयार पारिदिए ।

त्यो दिनदेखि त्यो घरमा सबै तैँ चुप् मैँ चुप् भए । दिनेशले आफ्नी श्रीमतीलाई श्रीमतीको व्यवहार गर्न थाल्यो । कारण तिर्थराज शिवनारायणको नाम सुन्दै झस्कन्थे । आज त झन् उसकै उपस्थितिमा छलफल भएको थियो । त्यसैले होला आजदेखि तिर्थराज खानदानकी छोरी भन्न छाडे ।