बेलायती रानी क्यामिला पुस्तकप्रेमी हुन् भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो । पुस्तक प्रदर्शनी होस् या पुस्तक महोत्सव, उद्घाटन गर्ने मोह उनलाई छ भन्ने यसअघि पनि विभिन्न कार्यक्रममा उनले सहभागिता जनाएकाले पनि बुझ्न सकिन्छ ।

महारानी एलिजाबेथ द्वितीयाको निधन हुनुअघि उनले एउटा पुस्तकसम्बन्धी छलफल कार्यक्रम गर्नेबारे चर्चा गरेकी थिइन् तर विविध कारणले त्यो सम्भव भएन ।

गत साता चाहिँ द क्विन्स रिडिङ रूमको औपचारिक कार्यक्रम शुरू भयो । रिडिङ रूमको प्रारूप त सन् २०२१ मा नै भएको थियो तर त्यसलाई सार्वजनिक भने गरिएको थिएन ।

फेरि रिडिङ रूम ‘द क्यामिला सो’ मात्र नहोस् भन्नेमा रानी क्यामिला सचेत पनि थिइन् । त्यसैले उनले कम बोल्ने र अतिथिलाई बढी बोल्न दिने नीति उनले लिएकी छन् ।

पडकास्टमा उनले बताएअनुसार, आफ्ना नातिनातिनाहरूका लागि उनी सस्वर वाचन गर्ने गर्छिन् । रोचक चाहिँ, जति राजा चार्ल्सले नक्कल गरी गरी नातिनातिनालाई पढेर हँसाउन सक्छन्, रानी क्यामिलाले सक्दिनन् ।

रानी क्यामिलाको अहिलेको काम भनेको, टेढिन बेर नलगाउने परिवारका सदस्यहरूलाई नजिक राख्न मिहिनेत गर्नु हो । खासगरी, राजा चार्ल्स चाँडो रिसाइहाल्छन् । उनलाई चुप लगाउन कसैले सक्दैनन्, क्यामिलाले बाहेक । अनि त, उनको जिम्मेवारी थपिइहाल्छ ।

पडकास्टमा उनले किताबका कुराबाहेक अन्य कुरा पनि गरेकी छन् । जस्तो कि, महारानी एलिजाबेथ द्वितीयाको निधनका बेला उनले आफ्नै पूर्वपतिबाट जन्मेका सन्तानलाई पनि एउटा राम्रै स्थान दिलाउन सफल भइन्, उपस्थितिका हिसाबले ।

अनि, यस पटकको क्रिसमसमा नर्फोकस्थित दरबारमा सपरिवार रमाइलो गर्नुका साथै त्यो रमाइलो सकिएपछि पूर्वपतिका छोरीहरू, आफ्ना नातिनातिना सबैसबै मिलेर रमाइलो गर्न भ्याइन् ।

७६ वर्षीया क्यामिलाको क्विन्स रिडिङ रूम संसारका १२० मुलुकमा सुन्न डाउनलोड गरिएको बताइएको छ । क्यानडामा त कला विधामा सबैभन्दा बढी डाउनलोड भएको पडकास्टमध्येमा परेको छ । मुलुकभित्रै उनका स्रोता ४० प्रतिशत छन् भने ६० प्रतिशत अन्यत्रबाट सुन्ने गरेको देखिएको छ ।

द रिडिङ रूम साहित्य महोत्सव पोहोर निकै हल्लीखल्लीका साथ सुरू गरिएको थियो । आउँदो जुनमा पुनः यसलाई क्यानडा र अस्ट्रेलियामा समेत फैलाइने बताइएको छ ।

रानी चाहन्छिन्, ‘जनतामा पठन संस्कृति दह्रो बनोस् र सबै उमेर समूहले यसलाई गम्भीरताका साथ लिऊन् । पढ्ने विषय छान्दा नयाँ पुस्ताले विज्ञान विधाका पुस्तकहरूलाई बढी महत्त्व दिऊन् ।

यसले ज्ञान त बढाउँछ नै स्वास्थ्य पनि राम्रो बनाउँछ भन्ने रानीको विश्वास छ । पढ्ने मानिसमा अल्जाइमर्सलाई टाढै राख्ने शक्ति हुने बताइन्छ ।