यसैबिच काओ त्साङ घरमा भोजको ठुलो तयारी हुँदै थियो । इष्टमित्र र कुलकुटुम्बीहरूको घुइँचोले त्यसको घर ठसाठस भरिएको थियो । साँझ नपर्दै ठुला बैठकमा राता रङका मैनबत्तीको गुलाबी प्रकाश फिँजियो । दुलहाको तामदान ढोकामा आइपुगेको समाचार पुऱ्याउन नाउबाटै खटिएर आएको मानिसले समाचार दिइसकेकै थिएन, त्यत्तिकैमा आमन्त्रितहरूका कानमा बाजाको आवाज पर्यो । काँधमा रातो रेसमी उपर्ना हालेका र टोपीमा फूल लाएका दुलहीपट्टिका मानिस वरको सत्कार गर्न र स्वागत कविता पढ्न आँगनतिर दगुरे । अनेक विधि विधान र शिष्टाचारका साथ त्यसलाई बैठक कोठामा ल्याइयो । त्यहाँ पुगेर त्यसले हंस लाई रक्सी चढाई ढोग्यो। त्यसपछि काओका सम्बन्धीहरूसित क्रमैसाथ एक एक गरी त्यसको परिचय गराइयो । बरको रूप देखेर सबै जना दङ्ग परे। अनि सबैलाई चियापान गराइयो, र त्यसपछि भोज खान थाल्नुअघि पाहुनाहरूलाई मिठाई र फलफूल टक्र्याइयो । विशेष अवसर भएको हुनाले सबै आगन्तुहरूलाई वरिपरि राखी वर विशिष्ट आसनमा बस्न राजी भयो । बैठक कोठामा त्यसले भोज खान लाग्दा बाहिर बाजा बज्न लागे । त्यसका साथ आउने नोकरचाकरहरू चाहिँ पल्ला कोठामा मेजमानी उडाउन लागे ।
मुक्तकण्ठले भइरहेको आफ्नो सौन्दर्यको बखान र त्यस्तो ज्वाइँ पाएकोमा काओको भाग्यको सह्राना भइरहेको सुनेर विशेष आसनमा विराजमान भएको चिएन मुख बङ्ग्याई बङ्ग्याई मनमनै हाँस्न लाग्यो ।
त्यसले विचार गयो, “म कुनै अर्कै लोकबाट आइपुगेको प्राणी हुँ कि जस्तो गरी यी सब मलाई हेरिरहेका छन्। म त छिटै यस रमाइलो सपनाबाट बिउँझिहालुँला, तर पछि सत्य कुरो थाहा पाएर यी बिचराहरू पो के गर्लान् । आज त मैले येनका सट्टा बसी सबै काम गर्नुपरेको छ, मेरो आफ्नै दुलहा हुने दिन पो कहिले आउने हो कुन्नि ! मेरो बिहे पनि यस्तै धूमधामको होला भन्ने चिताउनै पर्दैन ।”
मन खिन्न पार्ने यस्ता विचार उब्जन लागेकाले बिचरो चिएनले भोजको आनन्दै पाउन सकेन ।
काओका बाबुछोराले त्यसलाई नम्रतापूर्वक बारम्बार अलिकति रक्सी अझै थप्न आग्रह गरे। तर, दाजु चाहिँलाई नाहक धेरै बेर पर्खाइराख्नु उचित नठानेकोले चिएन बिदा हुन उठिहाल्यो । काओले एकछिन अझै बसेर केही खाइदिन आग्रह गयो । त्यत्तिकैमा सियाओ यी पनि साथ आएका सबै मानिसले बाइसकेका र अबेर पनि भइसकेको हुनाले अब त गइहाल्नुपर्यो भन्न आइपुग्यो । साथमा ल्याएका बरबकसका मालसामान सबैलाई बाँडिदिनु भनी त्यसलाई अह्राएर चिएन बिदा हुन उभियो। त्यस बखत आधा रात गइसकेको थियो । दुलहीलाई दिइएका दाइजोपातहरू नाउमा पुऱ्याइसकिएकै थिए। नवदम्पतीलाई तामदानसम्म पुऱ्याउन काओ जानै के लागेको थियो त्यत्तिकैमा माझीहरू दगुर्दै आइपुगे । तिनीहरूले चिच्याउँदै भने, “तुफान आयो ! आज राति हामी कसै गरी पनि जान सक्तैनौँ। हावाको वेग कम नभएसम्म हजुरहरूले पर्खनैपऱ्या ।”
कुरा के भयो भने – मध्यरातदेखि ठुलो आँधी चल्न लागेछ ।
झन्झा उठ्यो सकल वृक्ष लडे धरामा,
उक्ल्यो चढेर भुमरी अति उच्च धुलो ।
धक्का दिएर बलले त्यस झिललाई
उफ्री पुगे गगन चुम्न कराल छाल ।।
ढोल, सनई र बाँसुरीका आवाजले आँधी बेहरीका शब्दलाई ढाकेको रहेछ । काओले बाजा बन्द गर्न लगाएपछि सबैले त्यसको गर्जन स्पष्टै सुने । सबै जना छक्कै परे । चिन्ताले गर्दा यू चेनको बोलीसमेत लटपटियो । काओ पनि भुटभुटिन थाल्यो । त्यसले सबै जनालाई डाकेर फेरि भित्र लगी बसाल्नुपर्यो । बाहिर बसी मौसमको विचार गर्न त्यसले मानिस खटायो ।
आँधी बिहानपख झन् चर्क्यो । अझ काला काला तुफानी बादल पनि जम्मा हुँदै आए । छिटै हिउँ पनि पर्न लाग्यो । सबै जना आकाशको चालामाला विचार गर्न झ्याल झ्यालमा जम्मा भएर – अब के गर्ने ?- भनी छलफल गर्न लागे।
एक जनाले भन्यो, “यो हुरी सितिमिति थामिने होइन ।”
अर्कोले भन्यो, “आधा रातदेखि आँधी चल्न थाल्यो भने दोस्रो दिन आधा रात नभएसम्म थामिने गर्दैन ।”
तेस्रोले भन्यो, “हुरी थामिइहाल्यो भने पनि हिउँले जान दिने होइन ।” “हिउँ झन् झन् चर्को हुँदैछ ।” “कस्तो चिसो हावा ! यो थामिएपछि झिल पनि जम्ला कि ?”
“पूरै झिल त कहिल्यै जम्ने होइन, तर हुरी चल्नाको साथै हिउँ पनि पर्यो भने ज्यादै डरलाग्दो हुन्छ ।” पाहुनाहरू यता मौसमका सम्बन्धमा यस्तै तर्क वितर्क गर्दै थिए, उता काओ र यू चेन झन् झन् छटपटिँदै थिए । अलि बेरपछि बिहानको जलपान पनि आइपुग्यो । आँधीले भने झन् एकनास चली नै रहने छाँट देखायो । हिउँ झन् झन् बाक्लो हुँदै गयो । त्यस दिन झिल तर्ने त प्रश्नै रहेन । आजको लगन बित्यो भने के गर्ने भन्ने पिर पर्न लाग्यो । अर्को अनुकूल लगत त्यस महिनैभरि नभेटिनु पनि सम्भव थियो । गाजाबाजाका साथ त्यस्तो धूमधाम गरी आउने वरलाई दुलही नै नलिई त्यसै लुरुक्क फर्केर जान दिन पनि साहै नमज्जाको कुरो हुन्थ्यो ।
निमन्त्रित भलाद्मीहरूमध्ये चाउ चुआन भन्ने एक जना बुढो पनि थियो । त्यो बुढो काओकै छिमेकी थियो। टोल छिमेकमा झैझगडा पर्दा त्यसैले मिलाइदिने गर्दथ्यो । काओ त्साङलाई अलमल्ल परेको देख्ता त्यसले एउटा उपाय देखायो ।
त्यसले भन्यो, “मेरा तुच्छ विचारमा त यसको एउटा सजिलै उपाय छ ।” काओले भन्यो, “तपाईँको के सल्लाह छ ?”
“बिहै नगरी यो लगन त्यसै टर्न दिनु साहै अफसोसको कुरो हुनेछ । तसर्थ, वर र वधू दुइटै यहीँ छन् भने तिनको बिहे तुरुन्तै यहीँ सिद्ध्याइँ पनि किन नहाल्नु ? यही भोज बिहे भोज पनि भइहाल्यो। यसरी सारा टन्टा यहीँ सिद्धिसकेपछि हुरी थामिनासाथ तिनीहरू निश्चिन्त भई मजासित घर जान पाउलान् । यसो गर्नु बेस नहोला र ?”
निम्तेरीजति सबैले ‘साह्रै बेस विचार हो !’ भने ।
काओ पनि त्यस्तै गर्ने विचारमा थियो। बुढो चाउले मौकैमा मुख फोरिदिएको हुनाले ऊ साहै कृतज्ञ भयो। त्यसले तुरुन्तै आफ्ना नोकरचाकरलाई बिहेको बन्दोबस्त मिलाइहाल्न अह्रायो ।
अब चिएन चिङका कुरा गरौँ। दाजुचाहिँका सट्टा ऊ आइ मात्र दिएको थियो; बिहेमा त्यसको साँच्चिकैको आफ्नै भाग भन्ने कुनै कुरो थिएन । त्यस कारण पहिले त त्यसले न हुरीकै वास्ता गर्यो, न चाउ चुआन बुढाकै प्रस्तावतिर विशेष ध्यान दियो । बुढाका कुराले झस्कँदा झस्कँदै पनि काओले त्यस प्रस्तावलाई मानिहाल्ला भन्ने त्यसलाई पटक्कै लागेन। तर, काओले खुसीसाथ मन्जुर गरेको देख्ता ऊ असाध्यै तर्यो । आफ्ना तर्फबाट विरोध गरिदिने त्यसले यू चेनलाई यताउति खोज्यो । तर, लमी साहेब त पक्का जँड्याहा थिए । एक त जाडो, दोस्रो मन पनि खिस्रिक्कै परेको हुनाले चित्तै नपरेसम्म त्यसले धमाधम डबकाका डबका रक्सी धोकेको थियो । मेचका पीठमा अडेस लाएर ऊ त्यस बखत मजासित नाक बजाइरहेको थियो । तसर्थ दुलहा भइटोपलेको चिएनले केही नलागेर आफैँ विरोध गर्न अघि सर्नुपर्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।