हाल विभागीय प्रमुखका रूपमा पद्मकन्या बहुमुखी क्याम्पस नेपाली  विभागमा कार्यरत रहनुभएको डा. अम्बिका अर्याल नारीपहिचान र वर्तमान समाजका विकृति तथा विसङ्गतिमाथिको चिरफारमा कलम चलाउँदै आउनु भएको छ । उहाँले आधा दर्जन जति समालोचनात्मक पुस्तक प्रकाशन गरिसक्नुभएको छ । ‘अविश्रान्त’ (२०७५) उहाँको पहिलो उपन्यास हो । उहाँ उपन्यासकार मात्र नभएर कवि तथा नियात्राकार पनि हुनुहुन्छ ।

प्रस्तुत छ, बहुप्रतिभाशाली साहित्यकार डा. अम्बिका अर्यालसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

 

डा. अम्बिका अर्याल

डा. अम्बिका अर्याल

तपाईंको व्यस्तता आजभोलि कतातिर र कुन कुरामा छ ?

— कुनै एक क्षेत्रमा सीमित नभएर प्राध्यापन, पठन, साहित्य लेखन र सम्पादनमा उत्तिकै व्यस्त छु ।

तपाईं पढ्ने–पढाउने र साहित्य लेखनले गर्दा व्यस्त हुनुहुन्छ, अहिले के लेख्दै हुनुहुन्छ ?

— अहिले कथा र कविता लेख्दै छु ।

तपाईंले आफ्नो पहिलो कृति कति सालमा प्रकाशन गर्नु भएको हो ?

— २०६९ सालमा

तपाईंको ‘अविश्रान्त’ उपन्यासको बारेमा संक्षेपमा उल्लेख गरिदिनु हुन्छ कि ?

— आफ्नो उपन्यासको बारेमा आफैँले के भन्नु र ? त्यो त पाठकहरूकै जिम्मामा पुगिसकेको छ । तर पनि यो शास्वत प्रेमसम्बन्धी विषयलाई नवीन शिल्पमा लेखिएको उपन्यास हो । विगत, वर्तमान र भविष्यको सम्मिलन भएको यस उपन्यासमा विभिन्न वर्ग, उमेर समूहको अनुभूतिलाई समेटिएको छ । नारीपहिचान, विधामिश्रण, विधाभञ्जन, काव्यात्मकता, अधिआख्यानात्मकता, लेखक, पाठक, पात्र तथा समाख्याताको उपस्थिति, विभिन्न उपन्यासका पात्र तथा घटनाको संयोजन, पुनर्लेखन, रचना गर्भको चर्चा, स्वैरकल्पना र यथार्थता आदि उपन्यासका विशिष्ट पक्ष हुन् ।

तपाईंको अर्को उपन्यास कुन र कस्तो हुनेछ ?

— प्रकाशनको तयारीमा छ तर पनि यसलाई चाहिँ अहिले गोप्य नै राखौँ होला ।

तपाईं सबैको प्यारो मेडम हुनुहुन्छ साथै मीठो लेख्नु हुन्छ पनि । तपाईं पाठक वर्गहरूको मनको ढुकढुकी बन्दै हुनुहुन्छ कसरी ?

— पाठकहरूले मलाई यसरी सम्झनु र रुचाउनु त मेरो सौभाग्य हो । मैले उहाँहरूको अपेक्षालाई बुझेर अझै पनि लेख्न बाँकी नै छ जस्तो लाग्छ । तर म जे कुरा लेख्न खोज्छु, त्यसले पाठकको मागलाई सम्बोधन गर्छ वा गर्दैन भन्ने विषयमा उत्तिकै सजग हुन्छु । निष्पक्ष रूपमा उभिएर सर्वसाधारणका व्यथालाई बुझी सरल भाषामा अभिव्यक्ति दिने सर्जकलाई पाठकले मन पराउनुहुन्छ भन्ने मलाई लाग्दछ ।

तपाईं गद्य र पद्य कुनमा पोखिन रुचाउनु हुन्छ ? किन ?

— पद्य भन्दा गद्यमा पोखिन नै म बढी रुचाउँछु । त्यसो त मलाई पद्य कविता मन नपर्ने भने होइन । गद्य कवितामा पद्यमा भन्दा आफ्ना भावलाई हुबहु समेट्न सहज हुने भएकाले यसतर्फ मेरो लगाव बढेको हो ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न के गर्नु पर्ला ? कसरी ?

— नेपाली भाषाबाट अन्य भाषामा अनुवाद र विस्तार गर्न सके नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुने थियो । यसका लागि एकल प्रयास मात्र पर्याप्त हुँदैन । देश विदेशका सबैलाई संगठित गर्नुपर्छ । सरकारी निकायबाट पनि यसमा विशेष पहल हुनुपर्छ । नेपाली साहित्य त नेपालीको पहिचान र गौरवको विषय हो भन्नेमा सबैको ध्यान पुग्नु जरुरी छ ।

डायस्पोराको शाब्दिक अर्थलाई कसरी बुझ्नुहुन्छ ?

— डायस्पोरा ग्रिसेली भाषाबाट आएको अङ्ग्रेजी शब्द हो । यसले एउटा स्थानमा केन्द्रित र स्थापित मान्छे र तिनको भाषा, संस्कृति फैलिएर जाने अवस्थालाई द्योतन गर्दछ । मूल थलोबाट बाहिरका मुलुकमा गएता पनि मातृभूमिको बारेमा साझा मिथक हुनु, यसलाई आदर्शकरण गर्नु र यसको उन्नति–प्रगति चाहनु, बलियो जातीय पहिचान हुनु, परिस्थिति अनुकूल हुनेबित्तिकै मातृभूमि फर्कने सोच हुनु, आफूलाई स्वीकार गरिएको छैन वा पूर्ण रूपमा स्वीकार गरिँदैन भन्ने सोच राख्नु र अन्य देशमा रहेका डायस्पोरा सदस्यहरूसँग ऐक्यबद्धता देखाउनु आदि अभिलक्षण यसमा हुन्छन् ।

डायस्पोरामा बसेर लेखिने साहित्य विधा कस्तो हुनु पर्छ ?

— यही विधामा मात्र लेखिनुपर्छ भन्ने हुँदैन । डायस्पोरिक चिन्तन कथा, उपन्यास, कविता, निबन्ध, नियात्रा आदि जुनसुकै विधामा पनि प्रस्तुत गर्न सकिन्छ ।

साहित्यमा जीवन, दर्शन, आत्मचिन्तन र प्रकृतिलाई तपाईंले कसरी हेर्नु भएको छ ? आत्मचिन्तन र प्रकृतिको बारेमा केही प्रकाश पारिदिनु हुन्छ कि ?

— साहित्यमा जीवन, दर्शन र आत्मचिन्तन दूधमा मिसिएको पानी जस्तै अन्तर्घुलित भएर आउने कुरा हुन् । लेखकले कुनै एक दर्शन र चिन्तनलाई साहित्यमार्फत प्रस्तुत गरेको हुन्छ । मानिस प्रकृतिकै देन भएकाले प्रकृतिकै उपजले रचना गरेका साहित्यमा प्रकृति अभिन्न अङ्ग बनेर समाहित हुन्छ ।

साहित्य लेखन, अध्यापन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा पुर्याउँछ भन्ने कुरामा यहाँ कति विश्वास गर्नु हुन्छ ?

— भनिन्छ, “Writing is thinking.” चिन्तन–मननबिनाको साहित्य लेखन अकल्पनीय हुन्छ । यसमा अध्यापनभन्दा अध्ययन महत्त्वपूर्ण हुन्छ । साहित्य लेखनमा उत्तिकै महत्त्व आफ्नै जीवन अनुभवको हुन्छ ।

सुनिन्छ, तपाईंको कलम व्यङ्ग्य विधामा पनि चल्छ । चल्दैन भने तपाईंको मन पर्ने विषय के हो ?

— व्यङ्ग्य विधामै लेख्ने भन्दा पनि साहित्यमा व्यङ्ग्य त धेरथोर आइहाल्छ । त्यो कविता, कथा, उपन्यास, निबन्ध आदि जुनसुकैमा अट्ने कुरा हो । यसले सबै क्षेत्रमा भएका विकृति र विसङ्गतिप्रति प्रहार गर्दै सुधारको अपेक्षा राख्दछ ।

के तपाईंको कवितामा पनि व्यङ्ग्य मिसिएको हुन्छ ?

— हुन्छ । अघि नै भनिसकेँ कवितामा व्यङ्ग्यको अन्तर घुलन स्वाभाविक हुन्छ ।

तपाईं एउटा कलेज पढाउने गुरु, नेपाली साहित्यप्रति कसरी आकर्षित हुनुभयो ?

— मेरो नेपाली साहित्यप्रतिको मोह बाल्यकालदेखि कै हो । तर मेरो पेसा पनि नेपाली भाषा र साहित्यसम्बन्धी विषयको प्राध्यापन हो । म जे पढाएर विद्यार्थीलाई ज्ञान बाँडिरहेकी छु त्यसमै कलम पनि चलाउन पाएकी छु । तसर्थ यी एकअर्कामा अन्तर्सम्बन्धित नै छन् ।

तपाईंको बाल्यकाल बारे अलिकता चर्चा गरिदिनु हुन्छ कि ?

— बाल्यकालको कुन पक्षलाई यहाँले इङ्गित गर्नुभएको हो ? साहित्यकै विषयमा हो भने बाल्यकालदेखि नै साहित्यिक माहौल भएको घरमा जन्मेर हुर्केकी हुँ म । मेरो घरमा हजुरआमा पनि लयात्मक रूपमा महाभारत र रामायण वाचन गरिरहनुहुन्थ्यो । उहाँलाई धेरै श्लोक कण्ठ थिए । मैले अक्षर चिन्ने भएपछि रामायण हातमा थमाएर आफूले जस्तै लय हालीहाली वाचन गर्न लगाउनुहुन्थ्यो । त्यसले कविताप्रतिको रुचि बढ्दै गयो । विद्यालयको कविता प्रतियोगितामा पनि भाग लिन्थेँ । त्यसो त सानैदेखि नै कविताप्रतिको आकर्षण हुनु र लेख्न उत्प्रेरित गर्नुमा बुबा र दिदीको पनि हात छ । उहाँहरू अहिले पनि लेखिरहनुहुन्छ ।

तपाईं कहिलेदेखि साहित्यमा लाग्नु भयो ?

— मेरो साहित्य लेखन बाल्यकालबाटै सुरु भएको हो तर सङ्कोच स्वभाव भएकीले होला कसैलाई देखाउनभन्दा लुकाउनतिर लागेँ, त्यसैले धेरै त च्यातेर मिल्काएँ, कतिपय चाहिँ बडो जतनले लुकाएर राख्ने हुँदा झन् हराए । पहिलो लेखन यही हो भन्ने याद छैन तर कक्षा आठमा पढ्दा मेरो देश शीर्षकमा एउटा कविता लेखेर कक्षामा शिक्षकको अगाडि सुनाएको भने याद छ । फेरि विद्यालयमा पढाइ हुने सामाजिक शिक्षामा पनि कविता लेख्ने अभ्यासहरू हुन्थ्यो र परीक्षामा पनि त्यही प्रश्न सोधिन्थ्यो । हाम्रो कक्षामा सम्भवतः म मात्रै हुन्थेँ त्यसको उत्तर लेख्ने । तर मलाई कविता लेख्न मन पर्दो रहेछ भन्ने कुरा पछि मात्रै थाहा पाएँ ।

तपाईंले साहित्यमा लागेर के पाउनु भयो ?

— धेरै कुरा पाएँ जस्तो लाग्छ । कलममार्फत मनका भावलाई अभिव्यक्ति गर्नेदेखि लिएर जीवनलाई बुझ्ने र जीवन जिउने कला पनि मलाई यसैले सिकायो ।

साहित्यमा लागेर के गुमाउनु भयो ?

— त्यस्तो लाग्दैन ।

तपाईं साहित्यकार हुनुहुन्छ, तपाईंको घर परिवारमा साहित्य लेख्न र पढ्न रुचाउने को को हुनुहुन्छ ? साहित्य सेवामा लाग्नुको पछाडि कुनै कारण छ कि ?

— यसको जवाफ अघि पनि आइसकेको छ । खासमा बुबा, दिदी, बहिनी र भाइ सबै नै साहित्यमा रुचि राख्नुहुन्छ र लेखिरहनुहुन्छ ।

नेपाली साहित्य र अङ्ग्रेजी साहित्यमा भिन्नता के छ ?

— त्यति धेरै अन्तर छैनन् । परिवेश र शैलीमा भिन्नता होला तर भावमा समानता भेटिन्छ । यति हो, भाषा र सीमित पाठकका कारणले नेपाली साहित्य अङ्ग्रेजी झैँ विश्वव्यापी बन्न सकेको छैन ।

नेपाली साहित्यमा देखा पर्ने स्वदेशी धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अङ्ग्रेजीमा उल्था गरेर सार्वजनिक गर्दा केके फाइदा हुन्छ ? त्यसका लागि कुन कुन संस्थाले के के गर्नु पर्ला ?

— यसले नेपाली साहित्यलाई विश्वसामु पुर्याउने त पक्का हो । साथमा नेपालको पहिचान, धर्म, संस्कृतिलाई व्यापक मात्रै होइन जीवित तुल्याउने काम पनि गर्छ । नेपाली साहित्यका हस्तीलाई विश्वले चिन्ने मौका पनि दिन्छ । नेपाली सिर्जनाका क्षेत्रमा कहाँ छ ? भन्ने कुराको बोध मात्रै होइन सानो र विकट देशको शक्तिशाली सिर्जना भनेर भविष्यमा चर्चा पक्कै हुने छ । यसका लागि कुनै एक संस्थाको मात्रै जिम्मेवारी भन्ने हुँदैन । सरकारी एवम् गैरसरकारी निकायका साथै साहित्यका समुन्नयमा लाग्ने संस्था र नेपालको पहिचान जोगाउन चाहने जो कोही व्यक्तिले योजनाबद्ध रूपमा महत्त्वपूर्ण कदम चाल्नु पर्ने देखिन्छ ।

साहित्य समाजको दर्पण हो भन्ने उक्ति कति सान्दर्भिक छ ?

— यसमा असहमति जनाउनुपर्ने त छैन । समाज र साहित्य एकअर्काका पर्याय बनेर आइरहने हुनाले सान्दर्भिक हुन्छ नै ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?

— यो नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा लागेको अन्तर्राष्ट्रिय मञ्च हो । यसले नेपाली भाषासाहित्यलाई विश्वव्यापी बनाउने प्रयत्न गरिरहेको छ ।

अन्त्यमा नेपाली साहित्यले हाम्रो नेपाली समाजलाई के दियो ? यस बारे तपाईंको विचार के छ ?

— नेपाली साहित्यले नेपाली समाजलाई धेरैथोक दिएको छ । पहिलो त भाषाका मार्फत नेपालको पहिचान जोगायो । नेपाली भाषाको विकासमा नेपाली साहित्यको विशेष योगदान छ भन्ने कुरा नकार्न सकिँदैन । कथ्य रूपमा पहिले विकास भएर पछि मात्रै लेख्य रूप पाएका हरेक भाषाका आफ्नै इतिहास छन् । लिपिबद्ध नहुञ्जेल पुर्खाहरूले दन्त्यकथा, श्लोक, मन्त्र आदिबाटै पुस्तौंपुस्ता हस्तान्तरण गर्दै आएका हुन् ।

यस किसिमको रचनात्मक र कलात्मक अभिव्यक्ति साहित्य हुन् । तसर्थ साहित्यकै सहायताले भाषाको विकास हुँदै गएको र नेपाली भाषाले नै नेपाललाई एकीकरण गरेर आज बहुभाषिक नेपालीहरूको सबैभन्दा धेरै वक्ता नेपाली भाषाका रहेको देखिन्छ । तसर्थ हरेक नेपालीको मन र मुटुमा रहेको राष्ट्रको पहिचान नेपाली भाषा मात्र नभएर नेपालीलाई मानवता सिकाउने, परिवर्तनको मार्ग देखाउने, जीवन जिउने कला सिकाउने कार्यमा समेत नेपाली साहित्यको विशेष भूमिका छ ।

मैले सोध्न बिर्सेको र हजुरलाई पाठक समक्ष भन्न मन लागेका कुनै कुराहरू छन् ?

— खासै छैनन् । धेरै कुरा आइसके । मेरा विचार र भावनालाई पाठकसमक्ष पुर्याउने अवसर दिनुभएकामा यहाँहरूप्रति आभारी छु, धन्यवाद ।