
मीठो सुमधुर स्वरमा उनका गीतहरू सुन्नुहुन्छ कि कविता, आकाशवाणी खर्साङ्बाट प्रसारित रेडियोवार्ता वा लघुकथा सुन्नुहुन्छ, कि सोसल मिडियामा उनीसित भेट गर्न चाहनुहुन्छ, अथवा उनका प्रकाशित कृतिहरू पढ्न चाहनुहुन्छ । आउनुहोस्, परिचय गरौँ – उनी हुन् इङ्ग्ल्याण्डकी गोरेनी जस्ती सुन्दर स्वरूप र बहुप्रतिभाकी धनी शारदा स्टेफी, जो लिजाहिल, बिजनबारी, दार्जिलिङकी स्थायी बासिन्दा ।
उनका स्वर र सिर्जनाहरूले भारतीय नेपाली साहित्य, सङ्गीत, कला र समाजलाई पुर्याएको योगदान पुर्याएको छ । “बन्दी पहाडका गीतहरू” (कवितासंग्रह) र “समयको प्रतिविम्ब : बाबाका स्मृतिहरूसित” (संस्मरण) दुई कृति विगत ११ नभेम्बरका दिन बिजनबारी, दार्जिलिङमा लोकार्पित भएका थिए ।

समयको प्रतिविम्ब : बाबाका स्मृतिहरूसित
शारदा स्टेफीका कृतिहरू केही वर्षहरूदेखि मात्र प्रकाशित भए पनि उनको कलम भने धेरै अघिदेखि लगातार चलिरहेको हो । कवि, संगीतकार, तथा बालबालिका, नारी विषयहरूमा सक्रियताका साथ आवाज उठाउने लेखिका हुन् उनी । शारदा स्थानीय इग्नेसियस विद्यालयकी संस्थापक प्रधानाध्यापक उनी थुप्रै स्थानीय संघसंस्थाहरूसित आबद्ध छिन् । र अन्तर्राष्ट्रिय साहित्य र कलामञ्चमा क्रियाशील सदस्य पनि हुन् ।
लेखिकाबाट यी दुवै पुस्तक मलाई प्राप्त भएपछि सर्वप्रथम ‘समयको प्रतिविम्ब’ पढेर सिद्ध्याएँ ।
उक्त संस्मरणात्मक ग्रन्थ पढेपछि थाहा हुन्छ उनको बाल्यकाल, शैशवकाल, प्राथमिक शिक्षाकाल र सुरुका गार्हस्थ्य जीवनका कठिनाइ, निराशा, अड्चन र सङ्घर्ष । कसरी आफ्ना पूजनीय पिताले उनका हरेक पाइला दह्रो बनाउन सघाएका थिए, कति प्रेरणा र प्रोत्साहन दिए र कसरी निराशाका बादलहरू पन्छाएर उनलाई उज्यालोतर्फ डोर्याएर लगेका थिए । आफ्नो मिहिनेत, अघि बढ्ने अठोट र असाधारण प्रतिभाको सहारामा ती सबै वाधाहरू छिचोलेकी छन् शारदाले र सफलता प्राप्त गरेकी छन् ।
‘बाबा’ पवित्र शब्द हो । गहिरो, अनिवार्य र महत्त्वपूर्ण हुन्छ जीवनमा बाबाको सम्बन्ध । त्यसको महसुस बाबा हुनेलाई पनि नहुनेलाई पनि उत्तिकै हुन्छ यो पुस्तक पढ्दै जाँदा । म स्वयम् ‘बाबा’ को लालनपालन, स्याहारसुसार, शिक्षादीक्षा आदिबाट जीवनमा वञ्चित भएको व्यक्ति हुँ । यौटा पिताले आफ्नो सन्तानकोलागि, उसको उज्ज्वल भविष्य निर्माणको लागि के कतिसम्म गर्न सक्दा रहेछन् भन्ने कुरा यही पुस्तकबाट मैले जान्न पाएँ । शारदाज्यूले बाल्यकाल देखि वर्तमानसम्म आफ्नो पिताको माया, स्नेह र मद्दतको कारुणिक वर्णन रोचक ढङ्गले प्रस्तुत गरेकी छिन् । दुर्भाग्यवश शारदाजीका पिताश्रीको गतवर्ष स्वर्गवास भयो, त्यो भन्दा करिब डेढबर्ष अघि नै माताश्रीले पनि संसार छोडेर जानु भयो । छोटो समयको अन्तरालमा एकपछि अर्को वियोग सहनु शारदालाई कति मुस्किल पर्यो होला । अनुमान गर्न सकिन्छ ।
ममतामयी मातापिताको बिछोडको पीडामा तड्पिए पनि बाबा ‘एल.एम. सुब्बा’ सित बिताएका स्मरणीय पलहरू सबै समेटेर उनले यो पुस्तक लेखेकी हुन् । संस्मरणमा शारदाले आफ्नो जन्मदेखि वर्तमान उमेरसम्म हरेक पक्षमा बाबाश्रीले दिनुभएको दरिलो साथ, समर्थन र मार्गदर्शनको प्रशस्त वर्णन गरेकी छन् ।
मनका भावनालाई साहित्यिक रङ्ग भरेर लेख्न सिपालु शारदा स्टेफी लेख्छिन्, “बाबा यो भौतिक संसारबाट बिलाउनु भए पनि उहाँलाई सम्झनामा, स्मृतिपटलमा, आँखामा र हृदयमा सर्वदा वास गराउन यो पुस्तकले मलाई आजीवन सहयोग पुर्याउने छ।”
सरल भाषामा संस्मरणलाई कालअनुसार छुट्टाछुट्टै १३ ओटा खण्डमा विभाजित गरेकी छन् । रोचकिलो लेखाइ र प्रस्तुतिकरणको आधारमा शारदाज्यूलाई उत्कृष्ट सृजनशील स्रष्टा भारतीय नेपाली साहित्य संसारमा उदाएकी भनेर भन्न सकिन्छ ।
स्व. बिपी कोइरालाको ‘आत्म-वृत्तान्त’ पढेपछि नेपालीमा अर्को रोचक आत्मवृत्तान्त वा संस्मरण पढेको शायद मैले यो शारदा स्टेफीज्यू को “बाबाका स्मृतिहरू” हो । सुन्दर प्रस्तुतीकरणमा डुबेर पढें, झुमेर पढें ।
नेपालतिर आत्मकथा लेख्ने प्रथा फस्टाउँदै गएको पाएको छु, तर धेरैले उपन्यास वा कथासंग्रह बनाएर लेख्ने गर्छन् अनि भित्र आफ्नै अनुभव, नियात्रा, कथाहरू बुनेका हुन्छन् । यता भारततिर भने मैले त्यस्तो आत्मकथा वा अटोबायोग्राफी कमै देखेको छु नेपालीमा ।
उत्कृष्ट आत्मवृत्तान्त खडेरी नै परेको छ अहिले । त्यसैले सम्झिन्छु “अर्काको कथा (संस्मरण) मा हामी किन टाउको दुखाउने ?” भन्ने जस्ता दरिद्र सोच बोक्न थाले संस्मरण विधामा कलम चलाउने वर्तमान र आगन्तुक सर्जकहरूलाई ठूलो आघात पुग्ने र दुरुत्साहन पुर्याउने रहेछ ।
आफ्नै गाउँ गोक बजारको विद्यालयमा कक्षा पाँचसम्म पढाइ सकेर विद्यासागर विद्यालय, बिजनबारीमा गई उच्च शिक्षा आर्जन गरिन् । जीवनमा उज्यालो पथमा अग्रसर हुने अवसर प्राप्त गरिन् । शारदाज्यू साँच्चिकै भाग्यमानी छोरी प्रमाणित भएकी छन् । हुन त पढाइमा होस् वा विद्यालय बाहिरका दैनिकी जीवनमा होस्, लगातार परिश्रम गरेर सफलताको सिँढी चढेकी पनि हुन् शारदा स्टेफी ।
‘समयको प्रतिविम्ब’ ले शारदाका बचपन र किशोर अवस्थाको कुरा मात्र हैन जवानी र प्रेमको कालखण्ड र वैवाहिक सूत्रमा गाँसिएका वास्तविक घटनाहरूलाई पनि बढो आकर्षित ढङ्गले ‘रिल पछि रिल’ बनाएर प्रस्तुत गरेकी छन् लेखिकाले ।
प्रत्येक ठाउँ र समयमा बिताएका क्षणहरूको सरासर वर्णन नगरी हरेक परिच्छेदमा जीवनलाई प्रभावित पार्ने विभिन्न पक्षहरूलाई समेटेर संस्मरण अझ रङ्गिन तुल्याएकी छन् । घटनाक्रम मात्र लेख्दै नगएर ज्ञानगुणका कुरा, नैतिक कुरा र शिक्षात्मक विचार पनि प्रशस्त मिसाएर पाठकहरूलाई अँठ्याई राख्न उनी सक्षम भएकी छन् ।
मलाई कहिल्यै पनि बाबाको छत्र-छाया, माया, पालन-पोषण र शिक्षादीक्षा भाग्यमा जुरेन । तर पुस्तकले मन छोयो, घोच्यो, झकझकायो र यौटा अलौकिक दृश्य पनि देखायो । यौटा नानीको जीवनमा बाबाको आवश्यकता र माया कति अपरिहार्य हुँदो रहेछ ।
बाल्यकालमा बारीमा, खोल्सातिर, घरमा, डाँडाकाँडामा, स्कूलमा आफ्ना सखीहरूसँग खेलेको, हाँसीमजाक गरेको वर्णनले जो सुकैको पनि ग्रामीण बाल्यकाल जीवन्त भएर आउँछ । हामी पनि त्यसै गर्थ्यौं, फरक यति थियो हामी केटाहरू थियौं तर स्वर्णिम बखत त त्यही न थियो । कति झरिलो संस्मरण ।
आफ्नो प्रभु र पति दुवै इसाई हुन पुगेपनि पितासँगको पारिवारिक नाता र असीम आदर अझ दरिलो बन्दै गएको रहेछ । त्यसैले पनि यस्तो देवता जस्तो हृदय भएका प्यारा अभिभावकको ऋण चुक्ता गर्न पनि अथक परिश्रम गरेर यो विशाल संस्मरण पुस्तिकाको रचना गरेकी रहिछन् लेखिकाले । छोरीको धर्म कहाँ हो र हारेको कर्म ? यस्तो पो हो त बाबालाई शब्द शब्दमा उनेर श्रद्धाका सुमनहरू चढाइरहने ।.
यो संस्मरण ग्रन्थको अर्को सुन्दरता के छ भने यसमा लेखिकाले हामी पाठकलाई विभिन्न कालखण्डतिर टुर गराउँदै गराउँदै, विभिन्न समयमा बिताएका भएका रोचक घटनाहरूतिर अलमल्याउँदै अलमल्याउँदै पुनः फुत्त निस्किएर आफ्नो अनुभवले खारिएको विचारहरूको समुद्रतिर लगेर चोबली दिन्छिन् र वर्तमान स्थिति अनुकूलका माननीय कुराहरू, सिक्नुपर्ने नैतिक पाठहरूतिर हाम्रो ध्यान आकर्षित पनि गराई दिन्छिन्।
अनि धेरै अगाडी पुगिसकेको समयको स्टोरीहरूमा हामी रुमलिँदै जाँदा, अचानक केही बिर्सेजस्तो केही सम्झे जस्तो, केही छुटेजस्तो गरेर पुनश्च विगतका एपिसोडतिर लगिछिन्दिन लेखिकाले । यो लेखन शैलीले कुनै पनि पाठकलाई कहिले पनि दिक्क लाग्न दिँदैन। उल्टै – ‘अहो, विगतको कुन एपिसोड चाहिँ छुटेछ हौ’ भनेर थाहा पाउन पो उत्सुक हुँदा
शारदाज्यूकै लेखन शैलीको अनुसरण गरेर आत्मकथा लेख्दा आफ्नो सर्कल बाहेक पनि सयौं, हजारौंको रुचिमा खरो उत्रिन सक्छ . भाषा मीठो, सरल छ, केही रमाइला घटनाहरूलाई सजीवता प्रदान गरिएको छ, प्रेम प्रसङ्ग छ, सङ्घर्षको कथा छ, धर्म, समाज, शिक्षा, साहित्य, सङ्गीत, गायन आदि आदि विषयलाई आत्मसात् गरेको छ यो ग्रन्थले।
अन्तमा यदि कसैलाई आफ्नो आत्मवृत्तान्त / आफ्नो जीवनका कथाहरू लेख्ने जाँगर चले शारदास्टेफीकृत “समयको प्रतिविम्ब : बाबाका स्मृतिहरूसित” एकपल्ट हेर्न सुझाव दिन्छु, यो पुस्तकले हाम्रो भारतीय नेपाली साहित्यमा श्रोतग्रन्थको रूपमा प्रवेश पाएको छ । आफ्नो जीवनका हरेक स्मरणीय पानाहरू सम्झेर लेख्ने हो भने “समयको प्रतिविम्ब : बाबाका स्मृतिहरूसित” ले ठूलो प्रेरणा दिने नै छ ।
यो पुस्तक जीवित रहेसम्म हरेक पुस्ताले यसमा कुँदिएका शब्दहरूको मिठास पान गर्दै उत्कृष्ट शैलीमा डुबेर सारा इतिहास फेरि झलझली हेर्नेछन्, दिव्यदृष्टिमा, मानसपटलमा, अनि समात्नेछन् कलम अर्को उत्कृष्ट सिर्जनाका लागि ।
विगत ९ मार्च २०२१ मा शारदाज्यूले रचेको कविता ‘परिवर्तनका लहरहरू’ को यो अंश सान्दर्भिक र यथार्थमय छ :
“सदा रहिरहने अजर अमर
के छ ? त्यसैलाई हो खोजेको
शरीर त यहाँ माटो न हो
अमर रहने कला त श्रीजना मात्रै हो । “
लण्डन, बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

