हामीले हरेक साता कुनै न कुनै सिनेमाका बारेमा यहाँ चर्चा गर्ने गरेका छौँ । सकेसम्म कुनै साहित्यकृतिमा आधारित सिनेमा सिफारिस गर्न पाउँदा हामीलाई सन्तोष लाग्छ ।

यस पटक अंग्रेजहरूविरूद्ध गरिएका विभिन्न आन्दोलनमाथि लेखिएका उपन्यासहरूमध्ये एउटा चर्चित उपन्यासमा आधारित फिल्म सिफारिस गरेका छौँ ।

अभिषेक बच्चन र दीपिका पादुकोणद्वारा अभिनीत ‘खेलें हम जी जान से’ सन् २०१० मा रिलिज भएको थियो । फिल्मको व्यावसायिक असफलताले अभिषेक बच्चनको करियरलाई नै धक्का लगायो । फिल्मका निर्माता र निर्देशक आशुतोष गोवारिकर हुन् । उनले अर्थपूर्ण तर मनोरञ्जक फिल्म बनाउने गरेका छन् ।

उनको शाहरूख खानलाई लिएर बनाएको ‘स्वदेश’, आमिर खानलाई लिएर बनाएको ‘लगान’, हृतिक रोशनद्वारा अभिनीत ‘जोधा अकबर’ र ‘मोहेन्जो दारो’ मात्र हैन ‘पानीपत’ र अन्य सुन्दर फिल्म पनि छन् ।

तपाईंहरूलाई आश्चर्य लाग्ला, ऐतिहासिक फिल्म बनाउन रूचाउने आशुतोष गोवारिकरले पहला नशा र बाजीजस्ता चालु फिल्मबाट फिल्म निर्देशन थालेका थिए ।

डु एन्ड डाइ, मनिनी चटर्जी

फिल्मको विषयवस्तु रोचक छ । हाल बाङ्लादेशको चटगाउँमा रहेको सानो मैदानमा अंग्रेजले स्थानीय युवालाई फुटबल खेल्न प्रतिबन्ध लगाउँछन् । यसबाट आक्रोशित युवाहरू अंग्रेजविरूद्ध लडिरहेका भूमिगत समूहसँग मिसिन पुग्छन् ।

चटगाउँ विद्रोहका मुख्य योजनाकार सूर्य सेनको वरिपरि फिल्म घुम्छ । फिल्मको अन्त्य दुःखदायी भएका कारणले पनि व्यावसायिक रूपमा फिल्म सफल नभएको हुनसक्छ ।

भारतमा अंग्रेज शासन कस्तो थियो भन्ने एउटा उदाहरणका रूपमा मात्र यो फिल्मले देखाउँदैन, मातृभूमिमाथि अरूको खेलवाड देशभक्तलाई रत्तिभर मन पर्दैर र त्यसका लागि उनीहरूले जीवन उत्सर्गसमेत दिन पछि पर्दैनन् भन्ने उपन्यासले बुझाउन खोजेको छ । फिल्मले उपन्यास जत्तिको उद्वेलित बनाउँछ कि बनाउँदैन, त्यो भने फिल्म पूरै हेरेपछि मात्र थाहा हुन्छ ।

यो फिल्म सन् १९३० देखि ३४ सम्म भड्किएको चटगाउँ विद्रोहमाथि मनिनी चटर्जीद्वारा लिखित ‘डु एन्ड डाइ’ उपन्यासमा आधारित हो । उपन्यास भारतमा सन् १९९९ मा प्रकाशित भएको थियो ।

आउनोस्, आजको सटर्डे सिनेमामा एउटा सुन्दर औपन्यासिक कृतिमाथि बनाइएको फिल्मको मज्जा लिऔँः