गत वर्ष हलिउडका प्रख्यात कलाकार टम ह्याङ्क्सले आफ्नो कथासंग्रह बजारमा ल्याएका थिए । यस वर्ष अर्का स्टार कियानु रिभ्सले साइफाइ उपन्यास बजारमा ल्याउने भएका छन् । यो उनको प्रथम साहित्यकृति हुनेछ ।

कलाकार रिभ्सले बेलायती लेखक चाइना माइभिलसँगको सहकार्यमा उपन्यास लेख्नेछन् । द बुक एल्सह्वेयर शीर्षकको यो उपन्यास रिभ्सले परिकल्पना गरेकत्र कमिक बुक ब्रेजरको कथामा आधारित हुने बताइएको छ ।

रिभ्सको कमिक बुक सन् २०२१ मा बजारमा आएको थियो । उपन्यासमा आफू लामो समय किन बाँचेँ भनेर अनुसन्धान गरेको कथामा यो उपन्यास तयार भएको बताइएको छ ।

आउँदो जुलाई २३ मा पेइन्गुइनले यसलाई बजारमा ल्याउने छ । म्याट्रिक्स र जोन विक शृंखलाका सुपरहिट फिल्मका अभिनेताले अर्का लेखक चाइनासँगको सहकार्य अभूतपूर्व अनुभव रहेको द गार्डियन पत्रिकालाई जनाएका छन् ।

‘चाइनाले म जस्तो उपन्यास लेख्न चाहन्थेँ, सोही तरिकाले सहकार्य गरेका छन् । उनीसँग काम गर्नु गज्जबको अनुभूति रह्यो । उनीसँग सहकार्य गर्नु मेरालागि सम्मानको विषय हो,’ रिभ्सले पत्रिकालाई बताएका छन् ।

चाइनाले यसअघि द सिटी एन्ड द सिटी, एम्बेसी टाउन, पेर्डिडो स्ट्रिट स्टेसनजस्ता उपन्यास लेखेका छन् । उनले लेखेका साइन्स फिक्सनले तीन पटकसम्म प्रख्यात आर्थर सि. क्लार्क अवार्ड हात पारिसकेका छन् ।

चाइना भन्छन्, ‘कियानुले जब किताब सहलेखनका लागि मलाई बोलाए, म चकित परेँ । मेरालागि स्वप्न जस्तो अवस्था थियो त्यो ।’

कियानुको ग्राफिक उपन्यास ब्रेजर २५ वर्षअघि सिर्जना गरेका थिए । उनको सो उपन्यास नै त्यो बेला सबैलाई चकित पार्ने गरी बिक्री भएको थियो । पछि यसलाई नेटफ्लिक्सले फिल्म र एनेमी शृंखलासमेत बनाएको थियो ।