लिली न्युबारसँग एउटा गज्जबको पेन्टिङ थियो । त्यो पेन्टिङमा जर्मन नाजीको आँखा लाग्यो र लिलीलाई बेच्न बाध्य पारियो । त्यो बेला ९०० मार्क (अहिलेको ६ हजार पाउन्ड) रकम दिने शर्तमा लिलीबाट पेन्टिङ उठाइयो । पैसा पाउने आशमा लिलीले पेन्टिङ जिम्मा लगाइन् । तर जब उनी जर्मनीबाट भाग्नुपर्ने भयो, उनले कबोलिएको रकम पाइनन् ।

यो पेन्टिङलाई सन् १८९७ मा कमिल पिसारोले बनाएका थिए । कमिलले पेरिसको एउटा गल्ली पेन्ट गरेका थिए । ‘दिउँसोको झरीपछि’ शीर्षकको यो पेन्टिङको मोल यतिबेला करोड युरोमा पुगेको छ ।

जब सन् १९९३ सम्म यो चित्र गुपचुप थियो तर त्यो वर्ष प्रदर्शनीमा देखिएपछि यसलाई स्पेनको एउटा संस्थाले ठूलो रकममा किनेको थियो ।

त्यसपछि न्युयोर्कमा बसिरहेका लिली न्युबारका नाति क्लाउड क्यासियरले सन् २००० मा आफ्नी हजुरआमाको सम्पत्ति आफूले पाउनुपर्ने भन्दै अमेरिकी सरकारसँग हारगुहार गरे ।

सरकारले चासो नदेखाएपछि सन् २००५ मा उनले कानुनी लडाइँ छेडे । यसमा क्लाउडलाई छोरी एभा र छोरा डेभिडले सघाए । उनीहरु दुवै जोडिएपछि अमेरिकाको युनाइटेड जेविस फेडरेसन अफ सानडियागोले यसलाई अमेरिका फर्काउन कम्मर कसेर लागेको छ । तर यो पेन्टिङ अमेरिका फर्कन कानुनी व्यवधान बढी देखिएकाले लामो समयसम्म यो मुद्दा चल्ने देखिएको छ ।