मेनुका प्रधान भारतीय नेपाली नाट्य जगतका एक जाज्वल्यमय नक्षत्र हुन् । गायन, नृत्य, अभिनय, साहित्यलेखन अनि समाजसेवामा समर्पित एकजना जुझारु योद्धाका रूपमा परिचित मेनुका प्रधानलाई वास्तवमा परिचयको खाँचो पटक्क छैन । तर हाम्रो समाजले जहिल्यै बलेको आगो मात्र ताप्ने गर्छ । उखानै छ “आयो गयो माया मोह आएन गएन को हो को हो” अर्थात् चर्चामा छ त यसो सोधी-खोजी गर्छ होइन भने नदेखेको दुईचार दिनमै भुलिदिन्छ । यसैले चर्चाकै सन्दर्भमा पनि मेनुका प्रधानका विशाल व्यक्तित्वलाई यहाँ पुनर्लेखन गर्न यो आलेख तयार गरेको छु । सर्जक मेनुका प्रधानले हाम्रो जाति, समाज र भूगोलको निम्ति जति योगदान दिएकी छन् त्यसको आजसम्म यथोचित मूल्याङ्कन नभएको महसुस गर्दै सम्बन्धित सबैलाई यसो चिमोटिहेर्नु पनि यो आलेखको उद्देश्य हो ।
दार्जिलिङदेखि धेरै टाढा रोङ्गो कमानमा बस्छु । त्यहाँबाट दार्जिलिङ, कालेबुङ, सिलगढी, खर्साङ, मिरिक, पूर्वाञ्चल आदि स्थानतिरका साहित्य, कला, सङ्गीत, नाटक, चलचित्र आदि क्षेत्रमा योगदान दिने सर्जकहरूका कामहरू केलाउँछु अनि उनीहरूले दिएका अभूतपूर्व योगदानहरू बुझ्ने प्रयास गर्छु तब ती जातिका गौरव स्रष्टाहरूप्रति अपार श्रद्धा जागेर आउँछ । दार्जिलिङमै जन्मेर हुर्केकी, साहित्य-सङ्गीत-अभिनय क्षेत्रका महान् व्यक्तित्वहरूका संसर्गमा रमाएकी श्रीमती सुधालाई जीवन सङ्गिनी पाएपछि मेरो सपना धेरै साकार बनेको छ । यस्ता जातिका महान् विभूतिहरूसित परिचय साट्ने मौका धेरै बढेर गएको छ । कति जनासितको भेटघाटलाई यसरी लेख-रचना मार्फत सुरक्षित राखिसकेको छु । श्रीमती सुधा मार्फत परिचित बनेका यस्तै एक प्रतिभासम्पन्न व्यक्तित्व हुन् मेनुका प्रधान पनि ।
नाटक ‘सुनको औँठी’ हेरेर मक्ख परेका छौँ म र मजस्ता लाखौँ-करोडौँ दर्शक-श्रोता । पेट फुटिञ्जेल, मुख च्यातिञ्जेल भनेजस्तो गरी मरिमरी हाँसेका छौँ । पटक-पटक, हेर्दैपिच्छे र अहिले पनि हाँसिरहेका छौँ । हाँसोसितै नाटकले दिने सन्देश र विचारले तर बिस्तारै चिमोटिएका छौँ । सुपर-डुपर सफल यो नाटकको मूल निर्देशिका नै मेनुका प्रधान हुन् भनेर चिनेपछि उनीप्रति मजस्ता हरेक दर्शक श्रोताको शिर श्रद्धाले स्वतः झुक्दछ ।
यति मात्र कहाँ हो र विश्वमै नेपाली नाटकले रेकर्ड कायम गरेको लोकप्रिय नाटक ‘अनि देवराली रुन्छ’ को २००६ को संस्करणलाई वरिष्ठ नाटककार किरण ठकुरीसित निर्देशन समेत गरेकी जसमा नाटककार मनबहादुर मुखिया समेतले अभिनय गरेका र उनको निर्देशनलाई प्रशंसा गरेका सुन्दा मेनुका प्रधानको व्यक्तित्वको उचाइ कति हो थाहा पाउन सकिन्छ । यताबाट बनेको पहिलो नेपाली चलचित्र ‘परालको आगो’देखि ‘बाँच्न चाहनेहरू’ ‘देवता’, ‘सम्झना-बिर्सना’ ‘जीवन काँडा कि फूल’, सुनको हारी, चेतना, भाग्य, दिशा-एक अनुभूति, हाम्रै सन्तान, प्रशान्त मनको औँठी, शायद, बन्द, प्रायश्चित, समर्पण, स्पेक्टर एन्ड सिब्लिङ, बर्मिज एड फिल्म गरी डेढ दर्जन जति साना-ठूला पर्दामा अभिनय गरिसकेकी पोख्त अभिनेत्री भनेर चिनिसक्दा मेनुका प्रधानको अभिनय यात्राको लामो कालखण्डका उतारचढाउ हामी कल्पना मात्र गर्नसक्छौँ ।
म जन्मेको साल अर्थात् १९६९ देखि गायन विधाबाट आफ्नो प्रतिभा तिखार्न यो कला क्षेत्रमा ओर्लिएकी मेनुका प्रधानले सन् १९७१ मा गोर्खा दुःख निवारक सम्मेलनद्वारा आयोजित वार्षिक नेपाली सङ्गीत प्रतियोगितामा चर्चित गायक दुर्गा खरेलसित युगल गीत गाएर प्रथम स्थान प्राप्त गरिन् । हिमालयन कला मन्दिर तथा आफ्नो कार्यालय लोक मनोरञ्जन शाखाद्वारा आयोजित कार्यक्रमहरूमा एक सबल गायिकाको रूपमा प्रस्तुत भइन् । यसबाहेक धेरै वृत्तचित्र, नृत्यनाटिका, एनिमेसन फिल्महरूमा पार्श्वगायन र स्वर दिएकी छन् । अल इन्डिया रेडियोका ‘ए प्लस’ ग्रेड अनुमोदित नाट्यकलाकार भएकीले एक हजार भन्दा अधिक रेडियो नाटक र फिचरहरूमा आफ्नो आवाज दिएकी छन् । उनमा कार्यक्रमलाई रोचक र आकर्षक ढङ्गमा सञ्चालन गर्ने बेजोड क्षमता भएकैले अनेकौँ महत्त्वपूर्ण कार्यक्रमहरूमा सफल उद्घोषिकाको दायित्व पनि निभाएकी छन् ।
जुन समय नेपाली छोरी-चेलीहरू घाँस-दाउरा, चुला-चौका र सीमित गृहस्थीलाई नै जीवनको क्षितिज मानेर बाँचिरहेका समयमा अनि शिक्षा जस्तो अपरिहार्य विषयदेखि टाढा बस्न परेको समयमा केही नारीहरू भने पारिवारिक अनि सामाजिक यस्ता बन्धन र साङ्ला तोडेर आफ्नो कला प्रतिभा निखार्न मञ्चमा ओर्लने साहस जुटाएका देखिन्छन् ।
दिलमाया खाती, अरूणा लामा, उषा गोम्देन, सोङमित आड्यान लेप्चा, शान्ति ठटाल, बिमला सुब्बा, शान्ति क्षेत्री, चन्द्रमित लक्सम, सरला-सोफिया, मेनुका प्रधान, अल्का प्रसाद, नीना प्रधान, बिमला ठटाल, मरयम्मित लेप्चा आदि केही नारी स्रष्टाहरूले नेपाली गीत-सङ्गीत, नाटक तथा मञ्चीय क्षेत्रमा आफूलाई दह्रोसित उभ्याउने साहस जुटाएका हुन् । झन् नाटक-थिएटर तिर त नारी उपस्थिति साह्रै नगण्य थियो त्यसैले त पुरुषहरू नै नै नारी चरित्रमा अभिनय र नृत्यमा सहभागी बन्नुपर्ने बाध्यता थियो । हाम्रो लोकनृत्य मारुनीमा पुरुषहरू नै महिला पहिरनमा आउनुको कारण पनि यसैले नै होला । यसमा सामाजिक अनि मनोवैज्ञानिक कारणहरू पनि धेरै छन् । यस्तो समय र परिवेशमा हाम्रा बहुमुखी प्रतिभाकी धनी मेनुका प्रधानले १६-१७ वर्षको उमेरदेखि मञ्चमा आफूलाई प्रस्तुत गर्ने साहस गरेकी हुन् ।
सन् १९७२ मा जब पहिलोपल्ट ‘अनि देवराली रुन्छ’ ऐतिहासिक नाटक प्रस्तुतिको तयारीमा थियो तब उनी गायनमा निकै ख्याति कमाइसकेकी कलाकार थिइन् । महान् नाटककार मनबहादुर मुखियाको अनुरोध अनि निर्देशनमा यो नाटक विधामा आएकी मेनुका प्रधान नाटककार मुखियालाई नै आफ्ना ‘गुरु’ वा ‘गडफादर’ मान्छिन् अनि आफ्नो अभिनयको यात्राको माइल खुट्टी नाटक ‘अनि देवराली रुन्छ’बाट अभिनय यात्रा अघि बढाउँछिन् । त्यसपछि त नाटकसित उनको यति गहिरो माया बस्यो कि आजपर्यन्त यही नाटकलाई आफ्नो जीवनको पर्याय मान्छिन् ।
त्यसपछि उनले अनेकौँ नाटकहरूमा अभिनयको अवसर पाइन् ।‘फेरि इतिहास दोहोरिन्छ, असत्यम् अशिवम् असुन्दरम्, त्यो फेरि फर्कला ?, क्रसमा टाँगिएको जिन्दगी, कालो गुलाब, व्यापार, गीत-गोविन्द, रातको प्रथम प्रहर, अण्डरसेक्रेटेरी, मुनामदन, ज्वाला, जिब्रो, सङ्घर्ष, साहुजीकी लाटी स्वास्नी, आमा, बघिनी, अमर आत्मा, प्रायश्चित, फ्रन्टियर, अनुराग, तर क्षितिज हाँस्दैन, भट्किएका आत्माहरू, म मरेपछि, दिव्यदर्शन, यथार्थ, आपद् विपद् सङ्कट, सुनको औँठी, बस्दिनँ म यहाँ, युद्धहरू, चेतना, काश जस्ता नाटकहरूमा अभिनय गरेर आफूलाई एक सफल नायिका अनि चरित्र अभिनेत्रीको रूपमा प्रस्तुत गरेकी छन् ।
नाटक अभिनयमा मात्र उनी सीमित भइनन् । नाटक लेखन र निर्देशन र निर्माणसम्मको भूमिका निर्वाह गर्दै भारतेली नेपाली नाटकलाई उच्चाकाशमा पुर्याउने कार्य गरेकी छन् । उनले सिर्जना गरेका नाटकहरू क्रमैले अभिलाषा र चेतना हुन् भने रेडियो नाटक बाध्यता र उन्मुक्ति हुन् । एकजना महिला नाट्य निर्देशकको रूपमा पुर्याएका योगदान पनि कम आश्चर्यजनक र गौरवशाली छैनन् । उनले निर्देशन गरेका नाटकहरू यस प्रकार छन्- शकुन्तला, सीताहरण, लरेटो कन्भेन्टको इतिहास, जङ्गलको राजा, प्रायश्चित, फेरि इतिहास दोहोरिन्छ, च्यातिएको फाइल, मोनिका, फ्रन्टियर, अनि देवराली रुन्छ-२००६, चेतना, सुनको औँठी, यथार्थ, अभिलाषा, चेतना, बस्दिनँ म यहाँ आदि ।
विभिन्न सङ्घ-संस्थाहरूले सर्जक/कलाकार मेनुका प्रधानको कलाको परख गर्दै समय-समयमा निकै सम्मान र संवर्द्धना जनाउने काम गरे पनि चलचित्र ‘परालको आगो’को निम्ति सन् १९७९ मा क्रिटिक सर्कल अफ इन्डिया नयाँ दिल्लीद्वारा उत्कृष्ट नेपाली अभिनेत्री पुरस्कार बाहेक भनेजस्तो पुरस्कार प्राप्त नभएको देखिन्छ । उनले जति काम गरेकी छन् त्यसलाई सही मूल्याङ्कन गर्नु हो भने राष्ट्रिय-अन्तर्राष्ट्रीय पुरस्कारहरूको डङ्गुर लागिसक्नुपर्ने हो । तर हाम्रो समाजमा मरेपछि मात्र फोस्रो गुण गाउने परम्परा छ । हुनु त उनले दर्शक-श्रोताबाट जति माया र सम्मान पाएकी छन् ती नै सबैभन्दा ठूलो पुरस्कार मान्न सकिन्छ । आज पनि आम दर्शक-श्रोताको मनमा छपक्क भिजेर बस्न पाउनु नै आफूलाई भाग्यमानी ठान्ने व्यक्ति हुन् उनी ।
हिमालयन कला मन्दिर, गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ रेडक्रस सोसाइटी, दार्जिलिङ कलाकार सङ्गठन, भारतीय गोर्खा परिसङ्घ, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ दर्शीका एडुकेशन सोसाइटी, नमस्ते फाउन्डेसन जस्ता संघ-संस्था तथा गैरसरकारी संस्थाहरूसित संलग्न बनी सधैँ जाति, समाज र मानवताको हितमा कार्य गरिरहन रुचाउने मेनुका प्रधानको कर्म, चिन्तन र दर्शनको पनि अलग्गै मूल्याङ्कन हुनुपर्ने समय आइसकेको छ ।
माता हेमलता प्रधान अनि पिता बी.के. प्रधानको कोखबाट सन् १९५३ को २१ जनवरीको दिन जन्म ग्रहण गरेकी बहुमुखी प्रतिभाकी धनी मेनुका प्रधानको लेखनकलाबारे चर्चा गर्न यहाँ उनको एक मात्र कृति ‘निफन्न नसकेका सम्झनाहरू’ सन्दर्भमा छ । यसमा संलग्न संस्मरण तथा परिचयात्मक आलेखहरूबारे चर्चा गर्नअघि हामी केही प्रसङ्गहरू केलाऊँ । साहित्य पठन र लेखनलाई उस्तो गम्भीरतासित नलिए पनि रुचिका साथ भ्याए र पाए जत्ति पढिरहने व्यक्ति हुन् उनी ।
साहित्यकार, संस्कृतिकर्मी, कलाकार, गीतकार आदिसित निरन्तर सम्पर्क र संसर्गले पनि उनमा साहित्यिक अभिरुचि बढेको हो भनी तोक्न सकिन्छ । झन् यो नाट्यविधामा लागेपछि त नाटकहरू पढ्ने जिम्मेवारी पनि बढ्यो । पहिले रहरले पछि दायित्वबोधले नाट्य लेखनमा पनि हात हालिन् । रेडियो नाटक र वार्ताहरू लेखिन् । गीतलेखनमा पनि लागिरहिन् र वरिष्ठ सङ्गीतकार शान्ति ठटालद्वारा सङ्गीतबद्ध आठवटा गीतहरूको सँगालो ‘भुल्न गाह्रो भो’ प्रकाशमा आयो ।
अरू कति गीतहरू सङ्ग्रहमा आउन बाँकी होलान् । यसै क्रममा आफूले भोगेका, अनुभूत गरेका अनि भन्न मन लागेका कुराहरूलाई मिलाएर संस्मरणहरू पनि लेख्दै दैनिक तथा सामयिक पत्रपत्रिकातिर प्रकाशन पनि गर्न थालिन् । तीनै प्रकाशित संस्मरण र परिचयात्मक आलेखहरूलाई एकमुष्ट सङ्कलन गरी गत वर्ष सन्२०२२ मा एक महत्त्वपूर्ण कृति प्रकाशनमा आएदेखि साहित्यमा पनि उनको उपस्थिति देखिएको मान्न सकिन्छ ।
कृति ‘निफन्न नसकेका सम्झनाहरू’ गैरआख्यान विधामा पर्ने विविध विषय र विचार समेटिएको एक महत्त्वपूर्ण कृति हो । यसमा वैयक्तिक संस्मरणहरूभित्र नै केही महत्त्वपूर्ण इतिहास र दस्ताबेजहरू समेटिएका छन् । यसैले यो कृति भारतीय नेपाली नाटक, गीत-सङ्गीत, चलचित्र, सौन्दर्य-प्रतियोगिता लगायत जातीय संस्कार-संस्कृति, अस्मिताभाव आदिबारे जिज्ञासु पाठक तथा अन्वेषकहरूका निम्ति उपयोगी सिद्ध हुनेछ । आफ्ना अनुभव-अनुभूति अनुज सन्धाताहरूका निम्ति जोगाई राखिदिने काम थोरैले गरेका छन् । कृति ‘निफन्न नसकेका सम्झनाहरू’ले त्यो अभावपूर्ति गरेको महसुस हुँदछ ।
यहाँ दुई शब्दहरू ‘निफन्न’ र ‘सम्झनाहरू’लाई केलाऊँ । ‘निफन्नु’ शब्दले हाम्रो लोकभाषाको विशुद्ध परिचय दिन्छ । अन्नबाट भुस तथा अनावश्यक तत्त्वहरूलाई नाङ्लोमा राखी छुट्याउने अर्थात् फाल्ने कामलाई निफन्नु भनिन्छ । निफनिसकेपछि जुन सग्लो र आवश्यक थोक बाँच्छ त्यसलाई भविष्यमा वा तत्काल उपयोगको निम्ति छुट्याइन्छ । हरेक मान्छेसित सम्झनाको डङ्गुर थुप्रेर बसेका हुन्छन् । सबै सम्झना काम लाग्ने नहुन सक्छन् । यसरी कति सम्झनाहरू तर निफनेर फाल्नै नसकिने पनि हुन्छन् । एकजना राष्ट्रिय-अन्तराष्ट्रीय स्तरमा ख्याति आर्जन गरिसकेका प्रतिभाका ती सम्झनाहरू पनि जाति र समाजको निम्ति धेरै उपयोगी हुन्छन् । यसैले यो कृतिले दिएका सम्झनाका पुलिन्दाहरू सबै जाति र समाजका निधि बन्न सकेका छन् । गहिरिएर अध्ययन गर्नेका निम्ति यी सबै आलेख मोतीका दानासरह अमूल्य छन् ।
कृति ‘निफन्न नसकेका सम्झनाहरू’मा मूलतः दुई खण्ड छन् । पहिलो खण्डमा लेखिकाले आफूले जीवनमा देखेका, भोगेका, अनुभव-अनुभूति बटुलेका, कार्यक्रम आदिमा सहभागिता जनाएका सङ्घटनाहरूलाई जोडेर आफ्नो गायन, अभिनय, लेखन, उद्घोषण आदिको क्रमिक यात्रालाई प्रकाशमा ल्याएकी छन् भने दोस्रो खण्डमा आफ्ना आत्मीय मात्र नभई समाजका श्रद्धेय अनि उज्ज्वल नक्षत्रहरूका कलासिर्जनालाई मूल्याङ्कन गर्दै ती स्रष्टाहरूलाई सश्रद्धा पूजा गर्ने काम पनि गरेकी छन् । यस अर्थमा लेखिका मेनुका प्रधानको यहाँ दुवै रूप देखा पर्छ-स्रष्टा अनि द्रष्टा स्वरूपको ।
वरिष्ठ साहित्यकारद्वय श्रीमान् कृष्णसिंह मोक्तान अनि विद्वान डा. जीवन नामदुङको आशीर्वादीय भूमिका अनि साङ्गीतिक धरोहर सङ्गीतकार शान्ति ठटाल, नाटककार मनबहादुर मुखिया, युवा सर्जकहरू सविता सङ्कल्प र योगिता राईका शुभकामना सन्देशसमाहित यो कृति कृतिकारको आफ्नै प्रतिबिम्ब पनि हो । यो कृति सिङ्गोपाङ्गो अध्ययन गर्नेले हाम्रो जाति, समाज र तत्कालीन समयलाई पनि पढ्न भ्याउने छन् । युवा भाषाज्ञाता मिलन बान्तवाको भाषा सम्पादन रहेकोले थोरै मात्र भाषिक त्रुटि र प्रुफ गल्ती भेटिन्छन् । लेखिकाको भाषाशैलीमा घटना र विचारलाई अभिव्यक्त गर्ने शिल्प निकै आकर्षक छ । त्यसैले कृतिका रचनाहरू पढिरहँदा सपाट वर्णन र टिपोटहरू पढेजस्तो निरस लाग्दैन ।
अब कृतिका आलेखहरूका संक्षेप विमर्श गरौँ । पहिलो रचना ‘बोडोल्यान्डका आफन्तहरूसित’ एक संस्मरणात्मक आलेख हो । भारतीय गोर्खा परिसङ्घका पदाधिकारी अनि सम्मानित कलाकारको हैसियतमा ‘नवजागरण युवक सङ्घ’को आयोजनामा सम्पन्न ‘५ औँ रमाइलो तिहार उत्सव’ कार्यक्रममा निमन्त्रणा पाएर सहभागी बन्न बोडोल्यान्ड पुग्दाका अनुभव-अनुभूतिहरू यसमा संलग्न छन् ।
१ अनि २ दिसम्बर २००७ मा सम्पन्न यो कार्यक्रममा यताबाट वरिष्ठ गायक कुमार सुब्बा, नाटककार-अभिनेता जीवनकुमार गुरुङ, युवा गायक सुधीर राई अनि लेखिकाको टोलीले सहभागिता जनाएका थिए । बोडोल्यान्डको उदलगढी जिल्लाको मेडाबिल भन्ने ठाउँमा पुग्दा आयोजकवर्गले जुन सम्मानका साथ स्वागत जनाएका थिए त्यसले लेखिकालाई भावविह्वल बनाउँछ । त्यहाँ पुग्नअघिको तयारी, पुग्दाखेरीको अवस्था, त्यहाँ सम्पन्न दुईदिनको विविध कार्यक्रमका झलकहरू, कार्यक्रमको उद्देश्य लगायत आ-आफनो प्रस्तुति सबैलाई मिलाएर एउटा सार्थक कार्यक्रमबारे मीठो संस्मरण तयार गरिएको छ ।
त्यस्तै अर्को संस्मरणात्मक आलेख छ ‘गुवाहाटी मालीगाउँ बम विस्फोट अनि हामी’ । पूर्वाञ्चल भारत धेरै अस्थिर र अशान्त भूभाग हो । कतिपय राजनैतिक कारण, जनजाति प्रकरण, आदिवासी समस्याहरूले यी भूभाग आज पनि शान्त छैन । कुन बेला के घटना घट्छ पत्तै हुँदैन । लेखिका मेनुका प्रधानले यस्तै अशान्त माहौलमा यात्रा सम्पन्न गर्नुपर्ने स्थिति झेल्नुपरेको तर सुखद् अनुभूति समाहितको घटना यहाँ वर्णित छ ।
‘नेपाली साहित्य परिषद् असमको’ १० र ११ जनवरी २००९ मा सम्पन्न भएको ‘३५ औँ वार्षिक अधिवेशन’मा बोडोल्यान्डको कार्यक्रममा झैँ अतिथि अनि कार्यक्रम उद्घोषणाको दायित्व लिएर पुग्नुपर्ने तर सिलगढी एनजेपी पुग्दानपुग्दै असमको मालीगाउँमा बम विस्फोट भएको समाचारले सिर्जना गरेको अन्यौलता, जाने टोलीमा कोही जाने कोही नजाने भन्ने द्विविधा, तर लेखिकाको दृढताको कारण फेरि सबै असम जाने निर्णयमा पुगेको द्वन्द्वात्मक स्थिति रोचक लाग्छ । कार्यक्रममा पुगेपछि त्यहाँ सम्पन्न कार्यक्रमको विवरणमा साहित्यिक गोष्ठी, आसामका मुख्यमन्त्रीद्वारा इन्डियन आइडल प्रशान्त तामाङको सम्मान, रोहित सुनार तथा प्रकृति गिरीहरूका साङ्गीतिक-सांस्कृतिक कार्यक्रम लगायत कामाख्या मन्दिरको दर्शनसम्मका इतिवृत्तभित्र मीठा यादहरू सँगालिएका पाउछौँ ।
कृतिको अर्का दुई आलेखहरू ‘अरूणा लामाको अन्तिम यात्रा’ र कृतिनामको लेख ‘निफन्न नसकेका सम्झनाहरू’ स्वर साम्राज्ञी अरूणा लामासित सम्बन्धित छन् । पहिलो लेखमा स्वर किन्नरी अरूणा लामासितको अन्तिम भेटका सम्झना र गायिकाको ४ फरबरी १९९८ मा मृत्यु भएपछि उनको पार्थिव शरीरलाई काठमाडौँ देखि दार्जिलिङ ल्याउँदाको, ५ फरबरी घरमा शवको दर्शन अनि ६ फरबरी शवयात्राको विस्तारमा विवरण राखिएको पाउछौँ । यो लेख पढ्दा प्रत्यक्ष प्रसारण हेरे जस्तो महसुस हुन्छ । दार्जिलिङले जुन हिसाबले स्वर साम्राज्ञीको सम्मान गर्नु थियो उनको शवयात्रा लिएर सो सम्पन्न गरेको यो लेखले स्पष्ट पार्छ । लेखले अरूणा लामाप्रति चोखो श्रद्धाञ्जली अर्पण गरेको छ ।
यसै गरी अर्को लेखमा लेखिकाको अरूणा लामासितको सान्निध्य र निकटताले जन्माएका धेरै कुराहरू खुलाएको छ । यसमा स्वर साम्राज्ञी अरूणा लामाका व्यक्तिगत कतिपय कुराहरूदेखि उनले सङ्गीत अनि गायन क्षेत्रमा दिएका श्रम, समय र योगदानबारे संक्षेपमै भए पनि धेरै पक्ष खुलस्त पारिएको छ । यसबाहेक लेखमा गायिकाले प्राप्त गरेका उपलब्धिहरू, समाज र जातिले दिएका सम्मान र संवर्द्धना बारे पनि प्रस्ट पारिएका उपयोगी सूचना र जानकारीहरू समाहित छ ।
कृतिको अर्को लेख छ ‘जीवन काँडा कि फूल: पुस्तकदेखि चलचित्रसम्म’ । चर्चित लेखिका झमक घिमिरे लिखित जीवनीकृति ‘जीवन काँडा कि फूल’ को चलचित्र निर्माणको पूर्व तयारी, निर्माणावधि अनि यसको प्रदर्शनीसम्मका मुख्य सम्झनाहरू समेटेर तयार गरिएको यो लेखले साहित्य र चलचित्र सम्बन्धित धेरै पक्षहरू खुलाएको छ ।
आदिकवि भानुभक्तपछि यसरी कुनै सर्जकको जीवनी चलचित्र (बायोपिक) निर्माण भएको यो दोस्रो अवसर हुनुपर्छ नेपाली समाजमा । तर यो चलचित्र निर्माण भानुभक्तको जीवनी जस्तो काल्पनिकताले भरिएको सरल र सहज पटक्क थिएन । सर्जक झमक घिमिरे जो शारीरिक रूपले असक्षम भए पनि बौद्धिक अनि मानसिक सबलतासितै अत्यन्त संवेदनशील सर्जक व्यक्तित्व हुन् ।
यसैले उनको जीवनवृत्तलाई पर्दामा उतार्ने कामना राख्नु पनि निकै ठूलो चुनौती र साहसको कुरो हो । यसको निर्माणका चुनौती र कठिनताबारे यस चलचित्रका पटकथा, संवाद लेखक तथा गीतकार मुक्ति उपाध्यायको कृति ‘संस्मरण गुच्छ’मा सविस्तार वर्णित छ । सर्जक मेनुका प्रधानले तर चलचित्रका अभिनय, कलाकार चयन तथा निर्माणकालका मीठा संघटनाहरूलाई उनेर रोचक आलेख तयार गरेकी छन् । निर्माता-निर्देशक विनोद विष्टको लगनशीलता अनि चलचित्र निर्माणका हरेक सहयोगीहरूका श्रम र योगदानलाई स्मरण गर्दै सर्जक प्रधानले चलचित्र ‘जीवन काँडा कि फूल’ जनसाधारणसम्म पुग्न सफल बनेको मीठो यादलाई सुन्दर ढङ्गमा पस्केकी छन् ।
कृतिको अर्को संस्मरण लेख ‘अनि देवराली रुन्छ’को ५० वर्ष’ एक अति महत्त्वपूर्ण अनि गहन लेख हो । यसले नेपाली नाटक लेखन र मञ्चनको गौरवमय इतिहास पनि बखान्ने काम गर्छ । नेपाली नाटक विधामा अध्ययन र सन्धान कार्य गर्ने जिज्ञासु पाठकको निम्ति यो लेख धेरै उपयोगी छ ।
लोकप्रिय नाटककार मनबहादुर मुखियाकृत ऐतिहासिक नाटक ‘अनि देवराली रुन्छ’ को प्रथम मञ्चन १९७२ देखि २०२२ सम्मको अवधिलाई समेटेर ५० वर्षको यो नाटकको यात्राकथा भन्ने काम यो लेखले गरेको छ । वरिष्ठ साहित्यकार आई. बी. राई कृत ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’ अध्ययन गर्नेलाई ज्ञात छ कि भारतीय नेपाली साहित्यमा नाटक लेखन र मञ्चनको आरम्भिक अवस्था कस्तो थियो भन्ने । कसरी नेपाली नाटकलाई धनवीर मुखिया, हस्तलाल गिरी, हरिसिंह थापाहरूले विकास गरेर ल्याए । नाटककार मनबहादुर मुखिया यसै नाट्यलेखन अनि मञ्चन परम्पराका एक लिजेन्ड नाटककार हुन् भने उनको नाटक अनि देवराली रुन्छ’ एक माइलखुट्टी । यसै नाटकको ५० वर्षे यात्राका गरिमामय उपलब्धिलाई समेटेर सर्जक मेनुका प्रधानले धेरै ऐतिहासिक तथ्यहरू जोगाड गरिदिएकी छन् ।
नाटक ‘अनि देवराली रुन्छ’को रेकर्ड प्रदर्शनी अनि अपार सफलता, नाटककार मनबहादुर मुखियाको नाटक लेखन यात्रा अनि धेरै नाट्य कलाकारहरूबारे यो लेखले महत्त्वपूर्ण जानकारी दिएको छ । यो लेखले सर्जक मेनुका प्रधान स्वयंको अभिनय यात्राको ५० वर्षको इतिहासलाई पनि सुरक्षित राख्छ । सन् २००६ मा यो नाटक पुनः मञ्चन हुँदा यसको एक निर्देशक पनि बन्ने सौभाग्य पाउँदा साँच्चै सर्जक प्रधानको निम्ति यो नाटक ‘निफन्नै नसकिने सम्झना’ बन्न सकेको लाग्छ ।
कृतिको अर्को संस्मरणात्मक आलेख छ- तयारी ‘सुनको औँठी’को । साहित्य अकादमी पुरस्कारले विभूषित नाटककार स्व. लक्ष्मण श्रीमल लिखित लघुनाटक ‘हुँदा रामराज्य नहुँदा वनवास’ नै कसरी ‘सुनको औँठी’ बनेर मञ्चसम्म पुग्नसक्यो त्यसबारे विस्तृत जानकारी रोचक ढङ्गमा राखिएको छ । वरिष्ठ नाटककार/ निर्देशक किरण ठकुरीद्वारा तयार यो नाटकको पूर्णाङ्की स्वरूप समय कालमा प्रायोजक तथा निर्माताको अभावमा धेरै वर्ष फाइलमा चेप्टिएर बस्नुपरेको अनि बल्ल सन् २००३ मा भारतीय गोर्खा परिसङ्घद्वारा संसद् परिसरमा सहिद मेजर दुर्गा मल्लको मूर्ति स्थापनाको अवसरमा आर्थिक सङ्ग्रह हेतुले मञ्चन गर्ने मनसायमा यो नाटक जीवन्त बनेको थाहा पाउछौँ । यसमा वरिष्ठ नाट्य कलाकार गणेश रिजालको महत्त्वपूर्ण भूमिकाबारे पनि इमान्दारीसित प्रस्ट्याइएको छ । त्यसबाहेक नाटककार जीवन गुरुङ र उनको नाट्य संस्था ‘हिमालयन थिएटर वर्कशप’को भूमिका पनि उल्लेखनीय देखिन्छ ।
नाटक मञ्चनपछि दार्जिलिङे कलाकारको पक्षमा मूर्ति स्थापनाको निम्ति रु. ४५ हजार भारतीय गोर्खा परिसङ्घलाई बुझाउन सकेको देखिन्छ । त्यसपछि नाटकको लोकप्रियता यति धेरै बढ्छ कि दार्जिलिङ अनि वरिपरिका ठाउँहरूदेखि सिक्किम, मेघालयसम्म मञ्चन गरिन्छ । विदेशबाट पनि नाटक मञ्चनको निम्ति अनुरोध आउँछ तर कतिपय व्यवहारिक कुरोले यो सम्भव हुँदैन । यो नाटक हेरेपछिको मेरो व्यक्तिगत प्रतिक्रिया अघि नै लेखेको छु । लेखले नाटक निर्माणमा सहयोगी हातहरू, अभिनय कलाकार, गीत-सङ्गीत सबै पक्षलाई परिचय दिने काम गरी एउटा चोखो अभिलेखन पनि गरेको छ जो उनीहरूका कार्यको साँचो मूल्याङ्कन पनि हो ।
संस्मरण खण्डको अन्तिम लेख छ ‘गोर्खा सुन्दरी प्रतियोगिता: एक अवलोकन’ । कुनै पनि सौन्दर्य सदैव आह्लादकारी र प्रशंसापरक हुन्छ । नारी सौन्दर्य पनि उसरी नै प्रशंसनीय हुन्छ । यसै सौन्दर्यलाई लिएर कविता, सायर, गजल र गीत बनिन्छ । आजको समयमा ‘मिस वर्ल्ड’, ‘मिस युनिवर्स’, ‘मिस अर्थ’ जस्ता वैश्विक सुन्दरी प्रतियोगिताले चर्चा, सम्मान र अर्थ कमाइरहेको छ । त्यसैको सिको गरेर राष्ट्रिय, राज्य अनि जिल्ला स्तरीय सुन्दरी प्रतियोगिताहरू सम्पन्न भइरहेका छन् । एक थरीको मतमा यसलाई पुँजीवादी क्रियाकलाप मानिन्छ र यसको जोरदार विरोध पनि भइरहेको हुन्छ ।
सन् २००४ अर्थात् वि.स. २०६१ को वैशाख नयाँ वर्षलाई छेक पारेर गोर्खा सांस्कृतिक संस्थान खरसाङले आयोजना गरेको दस दिने सांस्कृतिक महाकुम्भ (मेला)को अवसरमा एक दिन आयोजित फरक किसिमको ‘गोर्खा सुन्दरी प्रतियोगिता’को दस निर्णायकमध्ये एक चुनिएकी लेखक मेनुका प्रधानले प्रतियोगिताबारे विशेष जानकारी मात्र दिएकी छैनन् तर यो सुन्दरी प्रतियोगिताको सकारात्मक पक्ष अनि यसलाई सुधार गर्न सकिने अवकाशहरूलाई पनि निष्पक्ष ढङ्गले राखिदिएकी छन् ।
कृतिको दोस्रो खण्डमा ‘संवेदनशील सङ्गीतकार: जीतेन्द्र बरदेवा’मा गीतकार-सङ्गीतकार जीतेन्द्र बरदेवाको लामो साङ्गीतिक यात्रालाई सामयिक र सिर्जनागत सन्दर्भसित मूल्याङ्कन गरिएको छ । यसले पहाडका एक जातीय गौरवलाई साँचो श्रद्धाञ्जली दिइएको महसुस हुन्छ ।
यसरी नै अर्को लेख ‘सबैका आदर्श: मौनकर्मी चन्द्रमीत लक्सम”ले गीत लेखन अनि समाजसेवामा समर्पित स्रष्टा चन्द्रमीत लक्समका परिचय, सिर्जना अनि सामाजिक कर्मलाई केलाउँदै उनलाई जातिकै एक मौनसर्जकको रूपमा मूल्याङ्कन गरिएको छ । अर्को लेख ‘भीष्म पितामह: गणेश रिजाल’ ले नाट्य कलाकार गणेश रिजालको व्यक्ति परिचय लामो अभिनय यात्रा, समाजसेवा लगायत उनका समर्पित मनोभावलाई मूल्याङ्कन गर्दै ‘भीष्म पितामह’ उपमाले सजाएको यथोचित लाग्छ ।
अर्को लेख छ ‘नेपालीका बङ्गाली कलाकार:रञ्जीत ब्यानर्जी’ जहाँ लेखिकाले अनेपाली व्यक्ति भएर पनि नेपाली नाटक भनेपछि मरिहत्ते गर्ने एक कलाकार रञ्जीत ब्यानर्जीका जीवनवृत्ति, सङ्घर्ष र सिर्जनकर्मलाई मूल्याङ्कन गरेकी छन् । त्यसै गरी कृतिको अन्तिम लेख ‘कुशल नृत्यङ्गना: उषा गोम्देन’मा पनि नृत्यङ्गना उषा गोम्देनको लामो मञ्चीय योगदान, जीवनवृत्ति अनि उपलब्धिहरूलाई सविस्तार राख्दै स्रष्टाको पूजा गर्ने कार्यलाई सार्थकता दिएकी छन् लेखिकाले ।
कलाकार तथा स्रष्टाहरूलाई चिन्नु अनि चिनेर अरूलाई पनि चिनाउनु महत्त्वपूर्ण कुराहरू हुन् जो सबैले गर्न चाहँदैनन् वा समर्थ हुँदैनन् । जातिका यस्ता सम्मानित गौरवहरूका सिर्जनकर्मको अभिलेखन हुनु जरुरी थियो त्यही बोधले लेखक मेनुका प्रधानलाई सताएको हुनुपर्छ जसको फलस्वरूप यति व्यक्ति परिचयाङ्कन कृतिमा आउन सक्यो । लाग्छ यी पनि सर्जक मेनुका प्रधानको निम्ति ‘निफन्न नसकेका सम्झनाहरू’कै एकांश बनेर रहेका थिए ।
यति महत्त्वपूर्ण कृतिको निम्ति सर्जक मेनुका प्रधानलाई हार्दिक बधाई । यसको दोस्रो भाग पनि आओस् शुभकामनाहरू ।
रोङ्गो, कालेबुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।