… अनि माथेमाले श्रीमती सम्झे
सम्झनु समान्य कुरा हो । तर सम्झना सधैँ सधैँ सामान्य मात्र भने रहँदैन । कुरा शिक्षाविद् केदारभक्त माथेमाको श्रीमती सम्झाइको हो । उनलाई श्रीमती सम्झाउने पानीको हो ।
श्रीमती वा प्रेमिकालाई सम्झनु उल्लेख गर्नै पर्ने विषय होइन । अझ आफ्नै श्रीमती वा प्रेमिकालाई सम्झनु त हुँदै होइन । तर कहाँ, कसरी र कसलाई सम्झिइन्छ भन्ने कुराले भने ठुलो अर्थ राख्छ । कुरो त्यही समय र स्थानको हो ।
अँ, एक साहित्य महोत्सवका लागि ‘किनोट स्पिकर’ बनेर केदारभक्त माथेमा पोखरा पुगेका थियो । पोखरा मस्त पानीमा रुझिरहेको थियो । उक्त अवसरमा उनले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपका बारेमा निकै गहकिलो र सारगर्भित मन्तव्य दिए । तर स्पिच दिनुअघि उनले पोखराको तत्कालीन मौसमलाई लिएर रमाइलो एक वाक्य बोले । सिर्फ एक वाक्य जसले दर्शकहरुलाई काउकुती लगायो । उनले भनेका थिए, ‘यो पानीमा मलाई त मेरी श्रीमतीको याद आइरहेको छ ।’
माथेमाको प्रस्तुत वाक्यलाई फरक–फरक अर्थमा बुझ्ने सुविधाको थियो । तपाईँले जुन जुन अर्थमा बुझ्नुभयो दर्शकहरुले पनि त्यसैगरी बुझे । हल हाँसोको कुहिरोमा डुब्यो । शिक्षाविद् माथेमा, आम–दर्शकहरुको मनोविज्ञान नबुझ्ने कुरै थिए । उनले स्पष्टीकरणमा बोले, ‘अरु कारणले सम्झिएको होइन ।’
उनले अगाडि भने, ‘मलाई श्रीमतीले सधैँ धेरै लुगा लगाउन बल गर्ने गर्छिन् । म आफू भने सधैँ कम लुगा लगाउँछु । सोही कारण उनलाई सम्झिएको हुँ । आज पनि उनैले भनेर कोट अगाएर आएको थिएँ, काम लाग्यो ।’
कुरो सकियो । तपाईँलाई कस्तो लाग्यो ?
===
आफैँले स्थापित गराएको पात्रलाई लेखकले घृणा गर्न सक्छ ?
कथा तथा उपन्यासको पात्रहरुको शक्ति पढनदासहरूलाई थाहै छ । के कति अवस्थामा लेखक तथा पुस्तकको नाम मस्तिष्कले नटिप्दा पनि पात्र भने सदृश्य चल्मलाइरहेको अनुभव स्तम्भकार स्वयंले पनि धेरैपटक गरेको छ । तर कुरा कुनै कथा वा उपन्यासको पात्रको महिमाको होइन । प्रश्न हो – एक लेखकले आफ्नै पात्रलाई घृणा गर्न सक्छ ?
कुरा हो बेलायतका प्रख्यात लेखक सर आर्थर कोनन डोयलको । इतिहासकारहरुले आर्थरले आफ्नै पात्रालाई घृणा गर्ने गरेकाे दाबी गरेका छन् । उनीहरुका अनुसार आर्थर प्रख्यात बनाएका पात्र सर्लक होम्सलाई घृणा गर्थे । इतिहासकार लुसी वर्सलीको दाबी छ, ‘दिमागी रुपमा ज्यादै चलाख होम्सलाई आर्थर निकै घृणा गर्थे । आफूभन्दा बढी पात्र चर्चित भएको उनलाई मन परेको थिएन ।’
हेर्नुहोस् त मान्छेको स्वभाव ! आफैँबाट सिर्जित पात्र पनि आफूभन्दा सफल भएको देख्न सक्दैन । अँ, यो प्रश्न गर्न मिल्ला–नमिल्ला – सन्तान आफूभन्दा सफल भएको हेर्न एक अभिभावकले सक्छ सक्दैन ? स्तम्भकारलाई बलिहुडका बादशाह शाहरुख खानको याद आयो । उनले अनुपम खेरसँग एक संवादमा भनेका थिए – मभन्दा सफल त म मेरै सन्तान पनि होऊन् भन्ने चाहन्नँ ।
अँ, कुरो शाहरुखको होइन ।
सन् १८९१ देखि आर्थरले एक म्यागेजिनमा सर्लक होम्सका कथाहरु लेख्न थालेका थिए । पात्र होम्स यति धेरै लोकप्रिय भयो कि ११ वर्षपछि दरबारले दिने प्रतिष्ठित सम्मान ‘नाइटहुड’ उनलाई प्रदान गरेको थियो । रेडियो टाइम्स म्यागेजिनमा इतिहासकार वर्सली लेख्छिन्, ‘एक समयपछि आर्थर सर्लक होम्सलाई लिएर विरक्तिन थाले । उनले आफूलाई राम्रो लेखक माने पनि प्रकाशकले उनलाई गम्भीर लेखक कहिल्यै मानेनन् । छाप्नेहरु उनका उपन्यासलाई ‘सस्तो साहित्य’का रुपमा छाप्न चाहन्थे ।’
दुई वर्षको अवधिमा आर्थरले सर्लक होम्सका कथा लेखेरै मनग्य पैसा कमाएका थिए । त्यसपछि उनले आफ्नो पात्रलाई एक गम्भीर कामका लागि स्विजरल्याण्ड पठाउने र त्यहीँको तालमा डुबाएर मार्ने ‘षड्यन्त्र’ गरेका थिए । तर सन् १९०३ मा एक अमेरिकी प्रकाशकले उनलाई हालको १६ लाख डलर बराबर रकम दिने जनाए । त्यसपछि उनले पुनः पैसाका लागि लेख्न थाले ।
सर्लक होम्स यति धेरै लोकप्रिय पात्र भयो कि ऊमाथि चारवटा उपन्यास लेखिए । ५६ वटा कथाहरु प्रकाशनमा आए । अपराधीहरुले अपराध गर्दा केकस्ता साना तर नदेखिने गल्ती गरिरहेका हुन्छन्, ती गल्तीहरुलाई सर्लकले कसरी पक्रन्छ भन्ने विषयमा सम्पूर्ण उपन्यास तथा कथाहरु केन्द्रित छन् ।
कुरा सकियो । इतिहासको सहारा लिनुपर्ने यस्तो महत्त्वपूर्ण कुरो स्तम्भकारको हात कसरी पर्यो ? – तपाईँलाई थाहै छ – ‘कहिलेकहीँ सोच्छु’ मार्काका लेखक तथा पत्रकार अच्युत कोइरालासँग यस्ता खजना जति पनि छन् । नागरिक दैनिकका लागि ‘यस्तो पनि !’ स्तम्भमा आर्थर र सर्लकका बारेमा उनै कोइरालाले लेखेका छन् ।
अँ, कुरो सकिए पनि अन्त्यमा लेखक सर आर्थर कोनन डोयलका बारेमा थाेरै जानकारी राखिहाल्नुहोस् ।
एडिववर्गमा जन्मिएका आर्थर कोनन डोयल चिकित्साशास्त्र अध्ययन गरिरहेको थिए, तर लेखकका रुपमा प्रख्यात भए । सन् १९३० मा ७१ वर्षको उमेरमा उनको निधन भएको थियो ।
आर्थरको निधन भएको एक दशक पुग्न लागेको छ । उनका उपन्यासहरु तत्कालीन समयमा ‘कमसल’ ठानिए पनि तिनलाई फिल्ममा उतार्न निर्माताहरु हत्ते नै गर्छन् ।
===
नयनराज पाण्डेले किन जोडे आमाको कोठामा सीसी–टीभी ?
साहित्यकार नयनराज पाण्डेलाई परिचयको जरुरत छैन । नेपाली आख्यान लेखनमा विराट हस्ताक्षरका रूपमा स्थापित लेखकलाई के उपनामले परिचित गराऊँ ? पाण्डेको व्यक्ति–परिचयतिरै लाग्दा पनि घच्चीको लेख बनिजान्छ । स्तम्भकारलाई थाहा छ – त्यतातिर लाग्नु स्तम्भकारको मूर्खता भइजान्छ । बरु गरौँ पाण्डेकी आमाकै कुरा । सीसी–टीभी प्रकरणको कुरा ।
सुरुमै भनिहालौँ – नयनराजले आमाको कोठामा सीसी–टीभी जोडेका छन् । आमाको जासुसी होइन, निगरानी गर्न । प्रेमपूर्ण निगरानी । मध्येरातमा ब्युँझदा पनि मोबाइलमा सीसी–टीभीका माध्यमबाट उनी आमालाई नियाल्छन् । आखिर किन ?
कहिलेकहीँ नयनराज मध्येरात झस्किन्छन् । उनको त्यो झस्काइ आमामा समर्पित हुन्छ – केही भयो कि आमालाई ? कान्तिपुरमा पत्रकार दीपक सापकोटासँगको कुराकानीमा उनले भनेका छन्, ‘अत्यास लाग्छ – आमालाई केही भयो कि भन्ने डरले । खै, यस्तो डर कसरी मनमा बस्यो ? यो भय रोगकै तहमा पुगेजस्तो लाग्छ । त्यसैले आमाको कोठामा सीसी–टीभी जोडेको हुँ । मोबाइलबाटै हेर्छु, सुत्नुभयो कि जाग्राम हुनुहुन्छ ?’
यदाकदा सपनामा पनि पाण्डेको आमाप्रतिको सुर्ता दृश्य बनेर आउँछन् । दोहोरिरहने सपना । उनले सापकोटासँगको कुराकानीमा सुनाएको सपना यस्तो छः
लखनऊको एउटा अस्पताल । लहरै शय्याहरूबीच एक शय्यामा दमले स्याँ–स्याँ गरिरहेकी आमा । सुँक्क–सुँक्क रोइरहेकी । क्लान्त र बेचैन । कलेटी परेका ओठ । अस्तव्यस्त कपाल ! मरुभूमिजस्तो सुक्खा अनुहार ! अनि, औषधिको चर्को हरक । र, मृत्यु, डर, तनाव, निरीहतामा अस्पतालको कुनामा घुँडाबीच मुन्टो घुसारेको, गति–स्फुर्ती हराएको, गलेको एक बिरामी कुरुवा ! बाहिर रफ्तारमा कुदिरहेको लामो रेलको एकनासे आवाज… !
बारम्बार देखिने यस्तो सपनाले नयनका नयन फेरि निदाउन सक्दैनन् । छटपटीमै उनी बाँकी रात बिताउँछन् । मोबाइलको सहायताले आमाको निगरानीमै रात बिताउँछन् ।
नयनराजको सीसी–टीभी प्रकरणको बारेमा त थाहा पाइहाल्नुभयो । अब तपाईँमा उनकी आमालाई समग्रमा बुझ्ने उत्कट चाहना जाग्रित भएको हुनुपर्छ । तपाईँले आफ्नो चाहनालाई र्निमुल पार्न भने कान्तिपुरका लागि दीपक सापकोटाले लेखेको ‘नयनराज पाण्डेकी कथावाचक आमा’ नै पढ्नुपर्ने हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।