‘पृथ्वी गोल छ’– म चिच्याउँछु ।
‘कस्तो गोल गुरु ?’ विद्यार्थी स्पष्टीकरण माग्छ ।
‘पृथ्वी भोगटे जस्तो गोल छ’– म बुझाउँछु ।
‘कस्तो गोल रे गुरु ?’– विद्यार्थी बुझपचाउँछ । म रिसले तिलमिलाउँछु । मभित्रको गुरुत्व कक्षा चर्काएर टेबुलमा बजारिन पुग्छ –
‘पृथ्वी तेरो टाउको जस्तो छ !’
विद्यार्थीको मुखमा बडै बुझो लाग्छ, तर टेबुलमा रन्थनिएको मेरो हात आफ्नै टाउको छाम्न पुग्छ; टोपीको सिउनीले कुन्नि कसको एउटा पङ्क्ति सम्झाइदिन्छ-
‘यो टाउको होइन, टोपीको स्ट्याण्ड पो हो त !’
नभन्दै यो त टोपीको स्ट्याण्ड हो; हिजो मात्रै किनेको सक्कली-ढाकाको टोपी मैले यही स्ट्याण्डमा राखेको छु । (कसैको निम्ति यो टोपीको स्ट्याण्ड होला, कसैको निम्ति फेटाको, कसैको निम्ति फेसक्यापको स्ट्याण्ड होला, कसैको निम्ति पगरीको तर मेरो टाउको टोपीको स्ट्याण्ड हो ।) टोपी सभ्यताको पताका, संरक्षणको गुटिका अनि व्यक्तित्वको झण्डा हो । त्यसैले यो राख्ने एउटा गतिलो स्ट्याण्ड चाहिन्छ । मेरो टोपीको स्ट्याण्ड पृथ्वी जस्तो गोल छ ।
छाम्दाछाम्दै शङ्का उठ्छ- त्यसो भए मेरो टाउको खोइ त ? साँच्ची, टाउको खोइ त ? विद्यार्थीहरु डराएर मेरो मुखाकृतिमा टुलुटुलु हेरिरहन्छन्- मानौं उनीहरुको कुतूहल यही छ पृथ्वी टाउको जस्तो हुन्छ, तर टाउको भनेको कस्तो हुन्छ ? म आफैं अलमलिन्छु- टाउको भनेको कस्तो हुन्छ ? म पढेको मास्टर, नपढेको कुरा जान्दिनँ । नपढेको कुरा बुझ्न गिदी चाहिन्छ गिदी । गिदी भनेको टाउकाको गुदी हो, लिपि घोटेर लेपेको लेप होइन, तर मसँग गिदी छैन, त्यसैले टाउकाको अर्थ पनि छैन । यो अर्थविनाको अस्तित्व … … ।
होइन, होइन, टाउकाको अर्थ किन छैन ? शरीरको माथिबाट ठडिएर रहने यसको अर्थ हो; यसैले राति सुत्दा पनि यसलाई तकियाको अग्लो स्ट्याण्ड चाहिन्छ, अर्थात् ठडिएर रहनुमा टाउको सार्थक हुन्छ, तर म जस्तो एउटा साधारण शिक्षकको टाउकाले कहाँ पाउँछ सधैं ठडिइरहन । नौ सय नमस्तेमा निहुरिरहनुपर्छ; हजारौं हस्मा लच्कनुपर्छ । बलभद्र र अमरसिंह जस्ता मेरा कैयौं बाजेबराज्यूले बरु टाउको दिए, तर टाउको निहुराएनन् रे; तर मेरो टाउको यति लुलो छ कि झिँगालाई गोडैमा ढोगिदिउँला झैं गरी निहुरन्छ । मानौं उसको पाखुरा खैंचाइ मेरो टाउकोलाई चुनौती हो । म टाउको छाम्दाछाम्दै हराउँछु, विद्यार्थीले प्रश्नको घोचो लिएर मलाई कक्षामा तान्छ-
‘भन्नोस् न गुरु ! पृथ्वी टाउको जस्तो भए टाउको कस्तो छ ?’ मलाई रिस उठ्छ- यो पनि कुनै प्रश्न हो ? तर आफूले बोल्न नपाउँदै अर्को विद्यार्थी जवाफ दिन्छ- ‘टाउको फुटबल जस्तै हुन्छ ।’ उसले झन्डै-झन्डै ठीक भन्यो- टाउको फुटबल जस्तै हुन्छ, त्यसैले यसलाई बराबर पम्फु दिनुपर्छ । मेरो टाउकोमा पहिलो पम्फु मास्टरले दिएका थिए, विद्यालयले जोख्यो, तौलचिह्न लगायो, प्राध्यापकले पम्फु दिए, महाविद्यालयले जोख्यो तौलचिह्न लगायो । पम्फु दिने काम बढ्दै गयो । विश्वविद्यालयले जोख्यो, बडेमानको फुर्केचिह्न झुन्ड्याई गुडाइदियो । तौलपछि तौल गर्दै सत्र पटक तौलिएको यो मेरो टाउको कति गर्विलो छ, कति दर्पिलो छ । म आफ्नो टाउकोमा तौलको बहाल माग्न अड्डा पुग्छु, अदालत पुग्छु, कम्पनी र कर्पोरेशन धाउँछु, सेवा आयोग अझ बडेमानको तुलो लिई अघि सर्छ । जोख्ताजोख्तै गाँठिएको टाउको फेरि जोखाउँछु, एउटा तौलचिह्न अर्को थपेर पुर्याइदिन्छ स्कूलतिर ।
अहिले म मास्टर छु । होइन, होइन, म एउटा पम्फु छु, हावा दिँदै छु सयौं-सयौं बलहरुमा । यी सबै टाउकाको तौल बढाउनु छ, यिनीहरुबाट पनि त्यसैगरी जीवनको रङ्गशालामा आ-आफ्नै टाउकाको भकुन्डो खेलाउनु छ । एउटाले अर्कोलाई बुङ्ग हिर्काउँछ, अर्काले अर्कालाई । खेल न हो ! – कुनै टाउको बुद्रुक्क उफ्रन्छ माथि पुग्छ, कुनै माथिबाट तल झर्छ । टाउकै खेलाडी टाउकैको खेल, गोलगोल भन्दाभन्दै कति टाउकाको बीचैमा भद्रगोल हुन्छ ।
‘तर होइन, टाउको भकुन्डो जस्तो होइन, मलाई त अरिङ्गालको गोलो जस्तो लाग्छ ।’ म जस्तै अर्को गुरु बीचैबाट प्वाक्क बोल्छ । म नजिकैको रुखमा अरिङ्गालले लगाएको गोलो सम्झन्छु, आङ जिरिङ्ग हुन्छ ।
अरिङ्गालहरु भुनभुनाइरहेछन्- गोलामा, मानौं त्यहाँ बास नपुगेकोले ठूलो रडाको छ, बलियाबाङ्गाहरुले धेरै-धेरै ठाउँ पहिल्यै ओगटिसकेकाले लुत्रेलाम्रेहरुलाई टाउको घुसार्नसम्म ठाउँ छैन । एउटा ‘ठाउँ छोडिदे’ भन्छ, अर्को ‘धक्का नलगा’ भन्छ, गर्भिणी अरिङ्गाल्नी बच्चा खसाल्ने ठाउँ पाउन्न, कसैले बल्ल-बल्ल पाएको बच्चा कसैले थिचिदिएको छ, मिचिदिएको छ, आमै नि ! कस्तो गन्जागोल यो अरिङ्गालको गोलामा । मलाई अघि नै सुझेको भए विद्यार्थीलाई यही भनिदिन्थेँ- पृथ्वी अरिङ्गालको गोला जस्तो छ । अरिङ्गालको गोला हाम्रो टाउको जस्तो छ ।
स्मृतिसामु एउटा अरिङ्गाल उड्छ, ऊ सायद आहार खोज्न गएको होला आफ्नो बच्चाहरुलाई; ओहो ! मेरो सानो बच्चाले आज दूध खायो कि खाएन कुन्नि ? उसलाई निमोनिया भएको छ- बल्लबल्ल हिजोदेखि अलि-अलि बिसेक भयो । आमा चाहिँ पनि सारै मूर्ख छ, विचारै पुर्याउन्न । अघि उडेको अरिङ्गाल अर्को दलिनमा बस्छ । अर्को एउटा पनि भुनभुनाउँदै त्यहीँ पुगेर बस्छ, मानौं ती भालेपोथी हुन्, तर एउटा भ्यागुताको बच्चा जस्तो अर्को माछाको बच्चा जस्तो । छ्या ! जोडा पनि भने जस्तो नमिल्नु; यो जोडाभित्रको एक जोर बिजोडा !
त्यसैले पनि अरिङ्गाल एउटा समस्या, समस्या एउटा अरिङ्गाल, अब कल्ले भन्न सक्छ- टाउको अरिङ्गालको गोला होइन ? पालेले घण्टी लाउँछ- सम्झनाले उठाएका अरिङ्गालहरु गोलामा गई गुजुमुजिन्छन्, भुराहरु भुर्भुराउँदै उठ्छन् । म अफिसको टेबुलमा हाजिरकापी थचार्छु; बसेर टाउको समाउँछु । प्रधानाध्यापकज्यू भन्नुहुन्छ- ‘मेरो त मुद्दाले टाउको खायो ।’
मेरो टाउको पनि कुटु-कुटु खान्छ- बिरामी छोराले । टोपी फुकालेर टेबुलमा राख्छु- एउटा प्रश्न राखिए झैं लाग्छ टेबुलमाथि- के अरु सबै अङ्गभन्दा टाउकै कमलो छ ? नत्र चार महिनाको छोराले आमाको स्तन चुस्न छोडेर बाबुको टाउको किन खान्छ ? छोराले मात्र होइन, कहिलेकाहीँ प्रेमिकाले पनि जब आँप जस्ता गाला छोडेर यही ओखर जस्तो टाउको खान थाल्छिन्, तब मलाई लाग्छ- भगवान्ले मलाई मुर्कट्टा नै जन्माइदिएको भए हुन्थ्यो । त्यसो गरिदिएको भए जोरीपारीले पनि ‘तेरो टाउको नफुटाई के छाडौंला’ भन्न पाउने थिएनन् । टाउकै बनाउनु थियो त ढुङ्गैको बनाइदिएको भए पनि न कसैले खान सक्थ्यो न कसैले फुटाउन, तर मान्छेको टाउको कस्तो कमलो छ भने यसलाई जोगाएर राख्ने फिक्रीले नै कुटु-कुटु टाउको खाइरहेको हुन्छ । तैपनि जोगिन्छ कि भनी म कपाल पाल्छु, टोपी लाउँछु र भन्न खोज्छु- टाउको टोपीको स्ट्याण्ड होइन, टोपी टाउकाको कभर हो ।
म टोपी टिपेर टाउको छोप्छु, तर कपाल मात्र छोपिन्छ, टाउकाभित्रको सिलिङबिलिङ छोपिँदैन । अरु त्यहाँ एउटा भुमरी पर्छ, भुमरीमा म फन्न रिङ्छु, देश रिङ्छ, विश्व रिङ्छ, मानौं सिङ्गै ब्रह्माण्ड अटाएको छ मेरो टाउकोभित्र । आमै नि, कति ठूलो हुन्छ- मान्छेको टाउको ! पृथ्वीभन्दा धेरै ठूलो, ब्रह्माण्डभन्दा धेरै ठूलो ! ओहो, यत्रो भयङ्कर टाउको मैले कसरी बोकेको छु ! मलाई खलखली पसिना आउँछ, टाउको छाम्छु- एउटा जुम्रो छ्यास्स टेबुलमा खस्छ । ब्रह्माण्डभन्दा टाउकाको बासिन्दा यो जुम्राले मानौं आफ्नो परिचय दिन्छ- ‘म त्यस गोल दुनियाँको सर्वश्रेष्ठ जुम्राजाति हुँ ।’ म पनि यस गोल दुनियाँको मानवजाति हुँ । दुवैको पृथ्वी गोल छ भने जुम्रा र मान्छेमा के फरक छ ? जब टाउको धेरै फोहोर हुन्छ, जुम्राको सृष्टि हुन्छ, जबसम्म म नुहाउन्नँ, स्थिति हुन्छ, एक-अर्कासित मायापिर्ती बस्छ, लिखा जन्मन्छन् । लिखाबाट जुम्रा बन्छन्, यो रौंबाट ऊ रौं, यो कुनाबाट ऊ कुनामा ओहोरदोहोर चलिरहन्छ । जुम्रामा पनि कुनै भास्को डिगामा र कुनै कोलम्बस नौला ठाउको पत्ता लगाउलान् । जुम्रामा पनि कुनै व्यास, होमर जस्ता कवि होलान् । कोपर्निकस, न्यूटन र आइन्सटाइन निस्केर टाउकाको परिधि र व्यासको लेखाजोखा गर्लान् अनि गुरुत्वाकर्षण र सापेक्षतावादको व्याख्या गर्लान् । त्यहाँ पनि कृष्ण, कन्फुसियनस, क्राइस्ट, बुद्ध र महम्मद जस्ता महात्मा जन्मेर जुम्राजातिको उद्धारको लागि भरमग्दुर कोसिस गर्लान् ।
अझ सम्भव कुरा त्यहाँ पनि गाँसबास, यौन-प्यासको निम्ति युद्ध होला । ढाडीजुम्राहरुले चम्कनाहरुलाई छिन-छिनमा सताउँदा हुन्, तर जब नुहाउन थाल्छु, साबुनको झवलले जुम्रालोकमा हाइड्रोजनको काम गर्छ । महाप्रलय भएर उनीहरुको दुनियाँ उजाड हुन्छ । मेरो र जुम्राको संसारमा के फरक छ ? मेरो र जुम्राको अस्तित्वमा के फरक छ ? बरु हुन सक्छ पृथ्वी कसैको गोल टाउको, मान्छे त्यस टाउकाको जुम्रा ? जब टाउकोवाला नुहाउन थाल्छ, हाम्रो प्रलय हुन्छ, फोहोरै राखिछोडोस् बरु उसले आफ्नो टाउको । म सोच्तै जान्छु- जुम्रा टेबुलमा रगरगाउँछ, कस्तो अनुभव हुँदो हो त्यसलाई टेबुलमा ? उसले यहाँबाट फेरि फर्कन पायो भने जुम्रालोकमा कस्तो यात्रावृत्तान्त सुनाउँदो हो- ‘बुझ्यौ, हाम्रो संसारभन्दा बाहिर अर्कै संसार रहेछ ।’ हो, पक्कै यस्तो व्याख्या छाँट्दो हो ! एउटा कुतूहल ल्याउँदो हो, तर मलाई जुम्रादेखि असाध्यै घिन लाग्छ, नमरे पनि धेरैबेर बाँच्न सक्तैन भन्ने थाहा हुँदा-हुँदा पनि म मारिदिन्छु । कस्तो निर्ममता ! हस्याङ-फस्याङ गर्दै घरको नोकर भन्न आउँछ- ‘सानो नानीलाई साह्रो भइसक्यो, छिटै पाल्नोस् रे !’
म टोपी मिलाउँदै कुद्छु । तर, जुम्राको बाबु कुदेर आएन । आएकै भए पनि के लछार्न सक्थ्यो र त्यसले, जसरी केही गर्न सक्तिनँ म आफ्नो मर्न लागेको छोरो नमार्न । मृत्युको टाउको देख्न पाए मान्छेले कति टोक्तो हो, कति ठोक्तो हो, तर कहिलेसम्म कति दार्शनिकहरुको टाउको खायो यो मृत्युले । अहिलेसम्म कति वैज्ञानिकको टाउको खाँदै छ यही मृत्यु । त्यसैले भन्न मन लाग्छ- मृत्युकै टाउकोमा हाम्रो सृष्टि छ । मेरो टाउको अझ रन्थनाउँछ, तर छोराको टाउकामा अब कुनै रन्थन छैन, जुम्रा र हाम्रो मृत्युमा फरक यति छ- उसलाई जीवनको मायाले रन्थनाउँदैन, मृत्युको छायाले तर्साउँदैन । कारण उसको र हाम्रो टाउको उस्तै हुँदैन ।
हो, सबै प्राणीको भन्दा अनौठो टाउको मान्छेकै हो । भनूँ भने मान्छेको विशेषता नै टाउको हो र टाउकोको सार्थकता नै मान्छे ! त्यसैले कृष्ण एउटा टाउको, क्राइष्ट एउटा टाउको, कन्फुसियस एउटा टाउको ! कपिल, कणाद, गौतम सब टाउकैटाउका । सुकरात, प्लेटो, एरिष्टोटल टाउकैटाउका । बुद्ध, जनक, अरनिको टाउकैटाउका । आर्किमिडिज, आइन्सटाइन र ग्यालिलियो टाउकैटाउका । मलाई भन्न मन लाग्छ- इतिहास टाउकैटाउकाको माला हो ।
गधा पिठ्यूँले बाँच्छ, गाई कल्चौंडाले बाँच्छ भने मान्छेले बाँच्ने माध्यम टाउको पाएको छ, आफूलाई बाँच्ने माध्यम टाउको पाएको छ । हो, मेरा पनि पुर्खा थिए, तिनमा कोही टाउकैले बाँच्थे होलान् । तर, मलाई थाहा छ- मेरा धेरै मामाहरु गर्धनले बाँचे, मेरा कति काकाहरु पाखुराले, मेरा कैयौं भाइबहिनीहरु केवल भुँडीले बाँच्छन्- त्यसैले मैले टाउकाले बाँच्न पाएको छैन । जब टाउको उठाउन खोज्छु, भित्र-भित्रै मेरो टाउको साटिइसक्छ, यसको विचित्रता नै यस्तै छ- आफ्नो टाउको साटिएको आफैंलाई थाहा हुँदैन । त्यसैले टाउकाबाट बाँच्न खोज्दाखोज्दै म टाउकाबाटै हराउँछु । तर, मेरो हिमालय मलाई बराबर सोधिरहन्छ- ‘ए, तैंले आफ्नो टाउको हराएको त छैनस् ?’
हत्त न पत्त छाम्छु, टोपी त सिङ्गुलै छ, तर टाउको कति साटिएको छ, कति छाँटिएको छ, त्यो ठम्याउन सक्तिनँ । अनि मेरो टाउकोभरि हीनताभास भरिन्छ- मेरो टाउको- टाउको नभएर टेपरिकर्डर बन्छ । त्यसैले म प्रत्येक दिन स्कूलमा टेपरिकर्डर फुकाउँछु- ‘सगरमाथाको उँचाइ २९०२८ फिट छ ।’
(‘नेपाली साहित्यिक रचना’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।