लेखक: रहनवार्द जरयाव

(अफगानिस्तान )

( रहनवार्द जरयावको जन्म सन् १९४४ मा अफगानिस्तानको काबुल नजिकै रिका खानमा भएको हो । उनी अफगानिस्तानको प्रसिद्ध उपन्यासकार, कथाकार, आलोचक तथा पत्रकार हुन् )

म प्राथमिक तहको पाठशालामा कक्षा चारमा पढ्थेँ । कक्षा सुरू हुने प्रारम्भिक दिनहरूमा हाम्रा शिक्षक कक्षा कोठामा आएएर भने, `केटाकेटीहरू ।´

अनि आफ्नो नजर भुइँतिर पल्टाएर कक्षाको अर्को किनारामा पुगे । यस्तो देखिन्थ्यो कि धरातलमा राखेको सिलोट गनिरहेका थिए । त्यतिबेला उनी निकै होचो देखिएका थिए । वास्तवमा हाम्रो अध्यापक निकै सानो होचो कदका थिए ।

अचानक उनी भित्ताको नजिक पुगेर रोकिए । मानौँ उनले गिन्ती पूरा गरेका थिए । उनको ओठ निकैबेर काँप्यो र भने, भोलि तिमीहरूले सबैजनाले निबन्ध लेखेर ल्याउनेछौँ, शीर्षक `वसन्त ।´

यो हाम्रो लागि अचम्मको कुरा थियो । हाम्रा आँखाहरू आश्चर्यजनक अवस्थामा अध्यापक मोहदयमा अल्झेको थियो भने कान झन्झन् बझेको महशुस हुँदै थियो ।

निबन्ध ! वसन्तको बारेमा ! हामी सबै अचम्मित मुद्रामा थियौँ ।

अध्यापक मोहदयले निस्चय नै हाम्रो झट्कालाई बुझेको हुनुपर्छ । अनि हामीलाई व्याख्या गर्न थाले ।

`मेरो मतलब तिमीहरू जान्दछौ वसन्तको निबन्धमा के गर्ने भनेर । तिमीहरू यसो गर्नु । लेख्नु कि वसन्तमा मान्छेहरू के गर्छन् । उदाहरणको लागि वसन्त ऋतुमा जनावरहरू के गर्छन् । यस्तैयस्तै अरु थप कुराहरू लेख्नु ।´

अध्यापक मोहदयलाई लाग्यो कि हामी विद्यार्थीहरू पनि उनी जत्तिकै बुद्धिमान थियौं । उनलाई लाग्यो उनको व्याख्या प्रयाप्त थियो । तर, हामी सबै त्यहीँ प्रश्नलाई दोहोराइरहेक थियौँ `वसन्तको बारेमा निबन्ध !´

विद्यालयबाट घर फर्किँदै गर्दा मैले वसन्तको बारेमा निबन्ध बाहेक अरु केही सोच्ने फुर्सदै पाइनँ ।

जब घर पुगेँ, आमालाई सोधेँ, `के तपाईंलाई थाहा छ निबन्ध भनेको के हो ?´

मेरी आमाले मतर्फ आँखा फैलाएर भनिन, `अहँ मलाई थाहा छैन, के तिमीले आज पाठशालामा यहि सिकेर आयौ ?´

`अहँ सिकेको छैन । तर, मलाई निबन्ध लेख्नुछ ।´

मध्याह्नको खानापछि मैले लेख्न सुरु गरेँ । मतलब कपिको टाउकोमा शीर्षक वसन्त लेखेँ तर अगाडि बढ्न सकिनँ । मलाई थाहा थिएन के लेख्न पर्ने हो । त्यसैले मैले सोचिरहेँ सोचिरहेँ बस् सोचिरहेँ अहँ केही लेख्न सकिनँ । अन्ततः म झ्यालको सामुन्ने आएर बाहिरको दृश्यपान गर्न लागेँ ।

मैले बगैंचाको एउटा रुखको हाँगामा भगेरो देखेँ । पातको हरियो पृष्ठभुमिमा भगेरो पहेँलो देखिएको थियो । मैले देखेँ मेरो कुखुरा एउटा कुनामा धुलोमा खेलिरहेको । मेरो नजरमा कुखुरा निलो रंगको देखिन थाल्यो । एउटा ढुकुर छतको कप्चेरामा गुँड बनाउँदै थियो । ढुकुर माछा जस्तै आकारको चंगा देखिन थाल्यो । अनि मैले हाम्रो विरालोलाई देखेँ । घाम मन नपरेर भित्ताको छायामा पल्टिरहेको थियो । बिरालो रंग हरियो देख्न थालेँ ।

अनि म फेरि मेरो कपीको नजिक आएँ । प्रश्नले अझैसम्म मेरो मस्तिष्कको पर्खालमा दबाब बनाइरहेको थियो, `वसन्तको बारेमा एउटा निबन्ध ।´

जब मैले सोचेर बसिरहेको थिएँ, मैले देखे मेरो छिमेकी कतै जाँदै थिए । उनी पातला अग्लो मान्छे थिए । मेरो बुवाले भन्नुभएको थियो, उनी कवि हुन् । उनले मलाई देखेर मेरो नजिक आए ।

`तिमी किन उदास देखिन्छौ ?´, उनले सोधे ।

`मेरा अध्यापकले एउटा गृहकार्य दिएका छन्, वसन्तको बारेमा निबन्ध लेख्न ।´, मैले भनेँ ।

`तिमीले लेख्न जान्दैनौ होइन ?´, उनले सोधे ।

` हो ।´ मैले जवाफ फर्काएँ ।

मेरा छिमेकी हाँस्न थाले । मेरो कुममा समातेर आकाशतर्फ औंला सोझाएर हावामा एउटा अर्धवृत्त बनाए ।

`आफ्नो चारैदिशामा दृष्टिपान गर, जे जे देख्छौ त्यही लेख । त्यो नै वसन्तको बारेमा निबन्ध हुनेछ ।´, उनले भने ।

एकाएक सबै कुरा मेरो दिमागमा स्पष्ट हुनथाल्यो ।

` मैले बुझेँ´, प्रशन्नताले म चिच्याएँ । छिटोछिटो घरतर्फ दौडिएँ । म झ्यालमा उभिएको थिएँ । सबैकुरा उस्तै थियो,जस्तो मैले छोडेर गएको थिएँ । मेरी आमा रुख नजिक बसेर भात पकाउन चामल सफा गर्दै थिइन् ।

मैले कलम उचालेर लेख्न सुरु गरे `वसन्तको बारेमा निबन्ध ।´

अनि मैले लेखेँ :

वसन्तमा पहेँलो भगेरो रुखको हाँगामा नाच्छ । निलो कुखुरा धुलोमा खेल्छ । ढुकुर माछा आकारको चंगा देखिन्छ । एउटा गुँड बनाउँछ । हरियो बिरालो घामलाई मनपराउन्न र पर्खालको छायामा सुत्छ ।
मेरी आमा रुखमुनि बसेर चामल सफा गर्छिन् । वसन्तमा आकाश सफा हुन्छ । चारैतिर भमरा उडिरहेको हुन्छ । विद्यार्थीहरू वसन्तको बारेमा निबन्ध लेखिएका हुन्छन् ।´

यो भन्दा बढी लेख्न सकिनँ तर जति लेखे निकै खुसी थिएँ ।

भोलिपल्ट अध्यापक मोहदय हाम्रो कापी जाँच गरिरहेका थिए । मेरो पालो आयो । मैले लेखेको कुरा अध्यापक मोहदयले पढे । अनि म तर्फ आँखा तन्काएर जिज्ञासाको दृष्टिले हमला गरे । मेरो ढुकढुकी सय मिटरको दौड सक्याए जस्तो गरि धड्किन सुरु गर्‍यो । आध्यापक मोहदयले मलाई आफू बसेको कुर्सी नजिक आउन इशारा गरे । म गएँ ।

 

अध्यापक मोहदले मलाई आश्चर्यचकित भएर हेरेर भने, `तिम्रो बुवालाई भन्नू कि तिमीलाई एकपटक राम्रो डाक्टरकोमा जाँच गराइयोस् ।´

` किन ?´ मैले सोधेँ ।

`तिम्रो आँखाले राम्रोसँग काम गरिरहेको छैन ।´, उनले भने ।

`मेरा आँखा एकदम ठीक छन् ।´ मैले जवाफ फर्काएँ ।

त्यसो भए तिमीलाई थाहा हुनुपर्ने कि भगेरा पहेँलो हुँदैन, कुखुरा निलो हुन्न, कुनैपनि बिरालो निलो हुँदैन । बुझ्यौ?´, उनले भने ।

`हजुर´, मैले भनेँ ।

मैले कापीतिर हेरेँ । एउटा ठूलो × चिन्ह देखेँ । मेरा आँखा आँसुले नुहाएछन् । × चिन्ह मलाई दुई धारिला तलबार जस्तै लागेँ ।

अनुवाद : जनक कार्की