क्रिसमसभन्दा ठ्याक्कै अगाडि मध्यगर्मीको एक बिहीबार उनको मृत्यु भयो ।

झिसमिसे बिहानदेखि नै झ्याउकीरीहरू ट्यार्रट्यार्र कराइरहेका थिए । पुरानो अस्पतालको हलमा लासझैँ पहेँलिएकी र मौन मेरी यताउता गर्दै थिइन् । उनी भित्तामै टाँसिएजस्तो गरी हिँड्दै थिइन् । यो उनको सानैदेखिको बानी भए तापनि केही समय यता यसरी हिँडेकी थिइनन् । उनी त्यहाँ छिन् भन्ने कुरासमेत मानिसहरू याद गर्दैनथे । उनी त उनीहरूको विचारसँगै प्रवाहित भइरहने केवल एक खरानी कण थिइन्, त्यो भन्दा बढी केही पनि होइन । चिकित्सक र परिचारिका उनकै  छेउबाट हतारिँदै यताउता हिँडिरहेका थिए । उनी भने खहरेबीचको मसिनो ढुङ्गासरि भएकी थिइन् ।

अन्यत्रै कतैकतै जानुपर्ने मानिसहरूबिच घेरिएकी उनी ढोका अगाडि धेरैबेर उभिइन् । अघिल्ला हप्ताहरूमा उनले कैयौँ पटक त्यो ढोकालाई पार गरेकी थिइन् । त्यो ढोका एउटा बेग्लै संसारको प्रवेशद्वार थियो जहाँ मानिसहरू विभिन्न उपकरणसित गाँसिन्थे । कीटाणुमुक्त पारिएका वार्डहरूका अड्बाङ्गे जिल्लावासीहरू, दुर्घटनामा परेर शरीर छियाछिया बनेका, हात नभएका, मुर्छित अवस्थाका मानिसहरू । बरु छालालाई छेडेर भित्र छिराइएका पाइप र तारहरूको जन्जालोले घेरिए पनि तुलनात्मक रूपमा उहाँ पूरै रूपले सामान्य हुनुहुन्थ्यो । उहाँको अनुहार भरिपूर्ण अनि परिचित थियो । उहाँका आँखा सफा र केन्द्रित । बोल्न मात्र सकेको भए उहाँले…।

उनले बाहिरबाट ढोका घचेटेर खोलेपछि सघन उपचार कक्षका परिचारिकाहरूले एकैसाथ माथितिर हेरे । स्वभावतः उनले सम्पूर्ण प्रक्रियाहरू जडवत् पूरा गरिन् र ढोकाको छेवैमा रहेको सिन्कमा आफ्ना हात मिचिमिचि दलीदली धोइन् । वृद्ध मानिसको शरीरमा पनि यति धेरै रगत रहेछ भनेर कसले पो सोचेको थियो होला र ? परिचारिकाहरू आआफ्ना काम एक आँखाले भ्याउँदै अर्कोले उनलाई सुटुक्क ध्यानपुर्वक हेर्न थाले । अन्त्यमा मार्गरेट उनीतिर आइन् ।

‘मेरी !’ एउटा हात उनको कुमनिर राख्दै मार्गरेटले बोलाइन् । फीँजले गाँजिएका आफ्ना सेता हात मेरीले धारामुनिको पानीमा स्वाट्ट हालिन् र ती परिचारिकातिर हेर्दै हेरिनन् । ‘के छ तिम्रो ?’ मेरीले उनीतिर खालि शून्य दृष्टि मात्र फ्याँकिन् । उनको भिजेका हातबाट सफा लिनोलियम दरी ओछ्याइएको भुइँमा तरतर पानी चुहिँदै थियो ।

‘ठीकै छ ।’ अनुहार भावहीन भए तापनि उनका आवाज अचम्मैसित शान्त र नियन्त्रित सुनिन्थ्यो ।

मार्गरेटले उनलाई कागजको रुमाल दिइन् । त्यो सस्तो किसिमको कागज थियो र पानीमा भिज्नेबित्तिकै फ्यात्त परेर टुक्रिन्थ्यो । फोहोरदानीतिर उभिएर उनी हातमा टाँसिएका भिजेका सानासाना कागजका टुक्रा टिप्न थालिन् ।

‘तपाईंकी बहिनी भित्र छिरिसक्नुभयो ।’ मार्गरेटले भनिन् । मेरीले शब्दोच्चारण नै नगरी टाउको हल्लाएर हो भनिन् । मार्गरेटले लामो उच्छ्वास लिइन् । ‘रात जहिल्यै कष्टकर हुन्छ ।’ अग्घोरै शान्त आवाजमा परिचारिकाले भनिन्, ‘हामी रातमै धेरै कुरा गुमाउँछौँ ।’

‘उहाँ कहाँ हुनुहुन्छ ?’ बीचमा कुरा काट्दै मेरीले सोधिन् । परिचारिकाले कर्तव्यनिष्ठ हुँदै पर्दा हटाइन् र उनलाई एउटा अँध्यारो पारिएको कोठामा लिएर गइन् ।

‘तिमीलाई जति बेर लाग्छ लगाए हुन्छ ।’ उनले भद्र तरिकाले सुस्तरी भनिन् । मेरीले एकैछिन उनको दयालु अनुहारमा ध्यान दिइन् । त्यो अनुहार उनले साधारण वार्डमा भेटेका अन्य परिचारिकाको भन्दा भिन्न थियो, कोमल र मित्रवत् ।

मार्गरेटले पर्दा लगाइदिइन् । लिनोलियम दरीमा हिँड्दा उनको अस्तर (प्याड) हालिएको जुत्ताले निकाल्ने ‘थप’ ‘थप’ आवाज परसम्म नपुगुन्जेल मेरी स्थिर भएर उभिरहिन् । त्यसपछि उनी पछाडितिर फर्किइन् । बाहिर हलको चहकिलो बत्तीको उज्यालोबाट भित्र आउँदा कोठाको मधुरो प्रकाशनमा आफ्ना आँखा अभ्यस्त पार्न उनलाई एकैछिन लाग्यो । टल्केको बत्ती हेरेर आएका आँखाले अँध्यारोमा जबरजस्ती हेर्न खोज्दा रातो छायाले घेरेको ओछ्यानको एउटा आकृति पहिल्याए । यो त पक्का उहाँ नै हुनुहुन्थ्यो । अन्यथा त्यहाँ अरू को हुन सक्थ्यो र ? क्षणभरका लागि त उनलाई कतै गलत कोठामा त ल्याइदिएनन् ? भन्ने मज्जाको विचार फुर्यो । उनलाई त्यो लामो र भ्यात्ले आकार पटक्कै परिचित लागेन । वरिपरि सायद पाइपहरू र टिँटिँ गरिरहने उपकरणहरूको भीडभाड नभएर होला । त्यहाँ फगत शरीर मात्र थियो, एक्लो शान्त र निश्चल ।

ओछ्याननजिक पुग्नै लाग्दा उनको मस्तिष्कको अभ्यन्तरले उनको मनको अवस्थिति केलाउन खोज्यो । उनको मुटुमा एउटा स्थिरता थियो र त्यो खासै केही जस्तो लागिरहेको थिएन । सुगा रङको तन्नामाथि सुई र पाइप छिराइएका ठाउँमा नीलडाम परेको उनका हात पसारिएका थिए । अनुहारमा आँखाको चिर्कटोबाट सेतो धर्सो देखाइरहेको थियो । निरपेक्ष र कुनै भावविहीन भएर उनले हेरिरहिन् । हात लम्काएर उनले उहाँको शरीरको छाला छामिन् । त्यो सुन्निएको चिसो र अचम्मैसित कडा थियो । उनले हात हटाइहालिन् ।

परिचारिकाले उनलाई किन जति बेर लगाए पनि हुन्छ भनेकी होलिन् ? त्यहाँ बसेर गर्नुपर्ने के नै थियो र ? उनी किन त्यहाँ आएकी थिइन् ? फगत उहाँलाई मृत साबित गर्न ? उहाँलाई, उहाँको रित्तो कायालाई निर्निमेष हेर्नुबाहेक उनी गर्न नै के सक्थिन् र ? उहाँसँग संवाद गर्न नसकिने पनि थिएन । तर आफ्नो पश्चात्तापमिश्रित मनलाई बिसाउँदै मृत मानिससँग कुरा गर्ने र ओछ्यानमा मुन्टो गाडेर रुने किसिमकी मान्छे भनेर उनी आफैँले आफूलाई भन्ठानेकी थिइनन् ।

उनले कोठाको चारैतर्फ दृष्टि फैलाइन् । त्यो साधारण र खाली थियो । त्यहाँ मालसामान अथवा हप्ता दिनदेखि ओइलाएर सुकेका फूलले सजाइएका फूलदानी केही थिएनन् । ओछ्यानछेवैको टेबलमा शीघ्र स्वास्थ्य लाभको कामना गरिएका कार्डहरू छरपस्ट पनि थिएनन् । एकदुई रित्ता कुर्सीहरू बेडतिरै फर्किएका थिए, प्रदर्शनीको पर्खाइमा धैर्यपूर्वक बसेका दर्शकझैँ । अर्को कोठातिर खुल्ने गरी एउटा झ्याल पनि थियो तर त्यो बन्द थियो । झ्यालको सिसामा कसैले नक्कली हिउँको सेतो दलेर नयाँ वर्षको शुभकामना भनेर पोतेको थियो । यस्तो ठाउँमा त्यो लेखाइ केही भयानक जस्तो प्रतित हुन्थ्यो । उनी व्याङ्ग्यपूर्वक मुस्कुराइन् ।

जसै उनी ओछ्यानतिर फर्किइन् उनलाई अकस्मात् के लाग्यो भने भावनामाथिको उनको नियन्त्रण क्षणभरमै चकनाचूर भएको थियो । बाहिरको शान्त मुखाकृतिको मकुन्डो च्यातिएको थियो । त्यो वार्डभरिका सनकीहरूझैँ अनौठो त्यो ज्यान अस्पतालको बेडमा लास बनेर पल्टेको थियो । पातलो कागज जस्तै भएको उहाँको छाला सुइरो घोचिएको डाम, रगत जमेका फोका अनि काला धब्बाहरूले ढाकिएको थियो । एकोहोरो त्यसरी हेरिरहँदा उनका आँखा पोल्न थाले । सुगा रङको तन्नामाथि उहाँको औँला हल्लेको आफूले देखेको कुरा उनी कसमै खाएर भन्न सक्थिन् । दुई दिनअघि उहाँ जिउँदै हँदा र होसमै हँदा हल्लाएजस्तै गरी ती औँला उनैलाई बोलाउन हल्लेका थिए । उनले उहाँलाई, उहाँको शरीर, लासलाई हेरिरहन सकिनन् । तर यस्तो हुनु ठीक भने थिएन । उनी आफैलाई यस्तो तरिकाले तर्साउन सक्तिनथिन् । मनका अन्य सम्झना नै मेटिने गरी यति गहिरोसँग उहाँको यो छविलाई सँगाल्न उनी चाहँदिनथिन् ।

पर्दा नउघारेरै शरीरले ठेलेर छिचोल्दै उनी निस्किइन् र फटाफट ढोकामा पुगिन् । मार्गरेटले उनलाई बोलाइरहेको आवाज उनले हल्का सुनिन् तर उनी रोकिइनन् । आफूले सक्नेजति चाँडो उनी कोरिडोरतिर ओर्लिइन् र बाहिर जाने बाटो खोज्दै बेचैन हुन थालिन् । वरिपरिका मानिसहरूलाई लाखापाखा लगाउँदै लगभग दौडिएजसरी नै उनले आफ्नो हिँडाइको गति तीव्र पारिन् । उनलाई त्यो कोरिडोर एकदम लामो र अन्त्यहीनझैँ लागिरहेको थियो । अन्त्यमा एउटा ढोका देखा पर्यो । अस्पतालको अवास्तविक समानान्तर संसारबाट टाढाको बाहिरी संसार । दुई पल्ला भएका गह्रौँ ढोकाहरूलाई घचेटेर उनी बलपूर्वक बाहिर निस्किइन् । बाहिरको आर्द्र हावा घट्क्याएर सास फेर्दै उनले घाँटीमै अड्किएको तितो डल्लो जस्तोलाई निल्ने प्रयास गरिन् ।

आफ्नो ध्यान केन्द्रित गर्न उनले बेसरी आँखा चिमचिम पारिन् । जसै त्यो तैरिरहेको संसार पुनः एक पटक बिस्तारै बुझाइमा आउन थाल्यो, उनले ढोकाको पल्लोपट्टिको लामो बेन्चमाथि बसिरहेको आकृति देख्न पुगिन् । उनी दायाँबायाँ नहेरी लरखराउँदै आफ्नै एउटा खुट्टाले अर्कालाई ठेस लगाउँदै त्यतैतिर लागिन् । साधारण नीलो कमिज लगाएकी कपाल सरक्क कोरेको सानो बट्टा हातमा लिएकी इभेत त्यहाँ बसिरहेकी थिई । मेरीले हेर्दा उसको आँखा राता थिए तर त्यसबाहेक अन्य भाव उसको अनुहारमा प्रतिबिम्बित थिएनन् ।

‘तिमी कतिखेर यहाँ आइपुग्यौ ?’ आफ्ना पुराना लुगाले गर्दा फोहोरी र असजिलो महसुस गर्दै मेरीले सोधिन् । उनको कपाल जिङ्ग्रिङ्ग थियो अनि हात पसिनाले लफ्रक्कै । इभेतले उनितिर भावहीन भएर ट्वाल्ल हेरिरहिन् ।

‘सात बजे ।’ उनले भनिन् ।

‘मलाई किन खबर नगरेकी ?’ घाँटीमा अड्किएको डल्लोले भतभत पोल्न थालेको जस्तो लाग्दै मेरीले सोधिन् ।

‘केही फरक परेन, अस्पतालले तिमीलाई खबर गरिहाल्यो नि ।’

बेवास्तामै इभेतले भनिन्, ‘उनीहरूले उहाँको सम्झनामा मलाई दिएका ।’

‘केके सामान ?’

‘पाइजामा, दाँत माझ्ने ब्रस ।’

‘हामीलाई उहाँको दाँत माझ्ने ब्रस किन चाहियो र ?’ मेरीले बट्टाभित्र नियाल्दै भनिन् । अनिच्छामै उनको अनुहारमा वितृष्णाको भाव तरङ्गित भइरहेको थियो ।

‘उनीहरूलाई चाहिँ किन चाहिन्थ्यो र ?’ इभेतले बट्टा बेन्चमाथि राखिन् ।

मेरी आफ्नी बहिनीको छेवैमा बसिन् । हरेक पटक सास फाल्दा शरीरभित्रको जम्मै हावा बाहिर निस्किएर जीउ नै खुम्चिदिएदेखि सडकमा काम न काजसँग बेवारिस लडिरहन पाए हुन्थ्यो जस्तो लाग्यो उनलाई । फेरि सास तानेर हावा भित्र लिनुपर्दा उनी निरास नै बनिन् । इभेतले आफ्नो कालो चस्मा लगाइन् ।

‘अब के गर्ने ?’ तातिसकेको सडक पेटी व्यस्तापूर्वक पार गर्दै गरेको कमिलाको ताँतीतिर टोलाउँदै उनले भनिन् । ती कमिला कति व्यवस्थित, कति सिपालु देखिन्थे । आफू पनि कडा मिहिनेत गरेर पत्याउनै गारो हुने गरी व्यस्त हुन, बेपर्वाहसित काम गर्न र विचार नगरेरै कहाँ हो कहाँ जानका लागि कुदिहाल्न पाए हुन्थ्यो भन्ने इच्छा लगभग कायम गर्न पुगिन् उनले । इभेतले भने अधैर्यपूर्वक लामो निश्वास छोडिन् ।

‘मसित किन सोध्दै छौ हँ तिमी ?’ छोटकरीमा भन्दै उनी उठ्न थालिन्, ‘तिमीलाई केही चाहिन्छ ?’ बट्टातिर सङ्केत गर्दै उनले भनिन् । मेरीले नकार्दै टाउको हल्लाइन् । इभेतले बट्टा उठाइन्, आवाजै ननिकाली मेरीको छेवैबाट अगाडि लागिन् र गाडितिर हिँड्दै गर्दा त्यो बट्टालाई फोहोर फाल्ने ढ्वाङमा फालिदिइन् । गाडी हुइँकाउँदै पर पुगेर पछिल्तिरका पिलिकपिलिक गरिरहेका राता राता बत्ती कुनामा पुगेर नहराउन्जेल मेरीले निर्निमेष हेरिरहिन् । त्यसपछि उनी फोहोर ढ्वाङ भएको ठाउँसम्म दगुर्दै पुगिन् र बट्टालाई स्वाट्ट तानेर आफ्नो शरीरमा टाँसिने गरी लपक्क च्यापिन् । उनी फेरि त्यही बेन्चमा बसिन् र रुन थालिन् ।

रबेका जी

लेखक, सम्पादक, ग्राफिक डिजाइनर, सङ्गीतकार । युनिभर्सिटी अफ न्यु साउथ वेल्सबाट सिर्जनशील लेखनमा स्नातकोत्तर । समकालीन साहित्यमा एसियन अस्ट्रेलियन पहिचानसम्बन्धी अध्ययन ।