काभ्रेपलान्चोकमा जन्मिएका रविन्द्र केसी नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षकको रूपमा कार्यरत छन् । सेवाको क्रममा उनी राष्ट्रपतिबाट जनसेवा श्री पदकले विभूषित भएका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले साहित्य, समाजशास्त्र, अन्तर्राष्ट्रिय मामिलामा रुचि राख्छन् । राष्ट्रिय पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा फुटकर लेख रचनाहरू प्रकाशित गराइरहने केसीको पहिलो कथासंग्रह `सम्बन्धको दोबाटो´ प्रकाशित भएको छ ।

प्रस्तुत छ, साहित्यपोस्टकर्मी जनक कार्कीले यसै संग्रहसँग सम्बन्धित रहेर साहित्यका विविध विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

===

यहाँको नवीनतम कथासंग्रह ‘सम्बन्धको दोबाटो’ भर्खरै लोकार्पण भएको छ । यसबाट पाठकले कस्ता विषयवस्तुलाई पठन गर्ने अवसर पाउने छन् ?

रविन्द्र केसी

रविन्द्र केसी

– ‘सम्बन्धको दोबाटो’ मेरो पहिलो कथा कृति हो । यसमा समावेश भएका सबै सिर्जनाहरू यथार्थपरक छन् । मौलिक शैलीमा लेखिएका छन् । सबै कथा मानवीय सम्बन्धकै सेरोफेरोमा घुमेका छन् । पुस्तकमा समयसँगै परिवर्तन हुँदै गएको मानवीय दृष्टिकोण र चेतनालाई पनि स्पर्श गर्ने प्रयास गरेको छु ।

हिजोआज गम्भीर रूपले आत्मकेन्द्रित सोच मौलाउन थालेको छ । मानिसका चाहना, आवश्यकता र प्राथमिकताहरू फेरिँदै गएका छन् । परिवर्तित जीवनशैलीले सम्बन्धमा अविश्चास, शङ्का र भ्रम बढाउन थालेको छ । दुःख, पीडा र उल्झनहरू दिनदिनै बढ्दै जान थालेका छन् । यो पुस्तकमा सम्बन्धका उकाली-ओराली, भँगाला र दोबाटाहरू प्रशस्त छन् । मैले समकालीन समाजको यथार्थ चित्रण गर्ने भरमग्दुर प्रयास गरेको छु ।

थाहा पाएअनुसार हिजोआज सम्बन्धविच्छेदका मुद्दाहरू ज्यामितीय ढङ्गले वृद्धि हुँदै गएका छन् । बहुविवाह र घरेलु हिंसाका घटनाहरू त्यसै गरी बढेका छन् । यी तथ्याङ्कहरूले पनि मानवीय सम्बन्धहरू ज्यादै जटिल हुँदै गएको कुरा देखाउँछ । जीवनभरिका लागि भनेर गाँसिएका सम्बन्धभित्रै डरलाग्दो गरी बिरानोपन मौलाउन थालेको छ । मानिस आफ्नाबाट बिस्तारै टाढिँदै जान थालेका छन् । सम्बन्धप्रतिको अनास्था, बेमेल र विरक्तिका कारण जीवन सकसपूर्ण बन्दै गएको छ । सम्बन्धकै दरारमा कैयौँ निर्दोष बालापन पनि च्यापिएका छन् । डिपेन्डेन्ट भिसा र ग्रीन कार्डका चम्किला भ्रमले कैयौँ चेलीहरूको जीवनमा आगो लगाएको छ । स्वार्थ, घात, विभेद, शोषण, उत्पीडनले आत्मीयताको मर्म र धर्मलाई धराशायी बनाएको छ । यो पुस्तकमार्फत मैले आजको यस्तै सामाजिक यथार्थलाई स्पर्श गर्ने प्रयास गरेको छु । यसमा फरक फरक भाव, अनुभूति र संवेदनाले भरिएका २१ वटा कथाहरू छन् र अधिकांश कथाहरू मेरो यही मान्यताको जगमा उभिएका छन् ।

 

सम्बन्ध मानिसको जीवनको महत्त्वपूर्ण पाटो हो । यहाँको संग्रहको नाम पनि ‘सम्बन्धको दोबाटो’छ । पक्कै पनि यसमा सम्बन्धका अनेक आयाम होलान् भन्ने अड्कल काटेको छु । अहिलेको समयमा सम्बन्धको अवस्था र महत्त्व कस्तो देख्नुहुन्छ ?

– जीवनको प्रमुख आधार निस्सन्देह सम्बन्ध नै हो । तर चिन्ताको कुरा के छ भने ती दिनदिनै जटिल हुँदै जान थालेका छन् । हुन त  हाम्रा आफ्नै विशिष्ट नैतिक, सामाजिक एवं पारिवारिक मूल्य र मान्यताहरू छन् । तर अब त्यसले मात्रै पनि मानवीय आचरण, व्यवहार, प्रवृत्ति र भावनालाई पूर्ण व्यवस्थित गर्न सक्ने अवस्था छैन । राजनीतिक, धार्मिक एवं सांस्कृतिक तथा जातीय र लैङ्गिक विभेदका अवशेषहरूले सबन्धलाई जरैदेखि हल्लाएका छन्, उखेलेका छन् । दृश्यमा जस्तो देखिए पनि सारमा सम्बन्धभित्रको द्वन्द्वको मूल कारण यही हो । यो यथार्थलाई स्विकार्नु पर्छ । आर्थिक, सामाजिक र राजनीतिक अवसरहरूलाई अझै समतामूलक ढङ्गले वितरण गर्नुपर्छ । समयसापेक्ष रूपमा सामाजिक मूल्य र मान्यता  विकास हुनु पर्दछ । सहअस्तित्व, पारस्परिक सम्मान, माया, दया, करुणा र प्रेममा जोड दिनुपर्छ । यो सजिलो कुरा त छैन तर पनि अपरिहार्य छ । यति गर्न सकियो भने अरू विकृतिहरूलाई विधि र नीतिले व्यवस्थित गर्न सकिन्छ । त्यसपछि मात्र मानवीय सम्बन्ध शाश्वत र जीवन्त भएर बाँच्न सक्छ ।

 

तपाईं नेपाल प्रहरीमा हुनुहुन्छ । प्रहरीको मन अलि कडा हुन्छ भन्छन् । तर साहित्य रचना गर्न मन अलि संवेदनशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ । तपाईंको साहित्य लेखनमा रुचि कसरी पलायो ?

– हो, म नेपाल प्रहरी सं‍गठनमा कार्यरत छु । यो संगठन हाम्रो देशको हरेक भूगोल र समुदायसम्म फैलिएको छ । नागरिकहरूका जन्मदेखि मृत्युसम्मका अनेक सुखदुःखमा जोडिएको छ । नागरिकका भावनालाई यसले जति नजिकबाट  महसुस गर्न पाउँछ, त्यस्ता अवसरहरू अरू सेवामा बिरलै उपलब्ध हुने गर्दछन् । मलाई के लाग्छ भने प्रहरी हाम्रै समाजको प्रतिबिम्ब हो । यसमा पनि समाजका सबै खाले चरित्रहरू छन् । यसभित्र पनि फरक फरक सोच, मान्यता र चेतना छन् । फरक फरक मन, मुटु र भावनाहरू छन् । अत्यधिक कार्यव्यस्तताका बाबजुद  नेपाली कला र साहित्यको श्रीवृद्धिमा प्रहरीहरूको पनि योगदान छ । समयक्रममा कैयौँ प्रहरी कर्मचारीहरू लेखक, कथाकार, कवि, गीतकार, चलचित्र कलाकारका रूपमा चम्किएका छन् । त्यसैले प्रहरीमा संवेदनशीलता हुँदैन भन्ने भाष्य त्यति यथार्थपरक छैन जस्तो लाग्छ मलाई ।

जहाँसम्म लेखनमा मेरो रुचि कसरी पलायो भन्ने प्रश्न छ, समयक्रममा मलाई लाग्यो कि जनताका दैन्दिनका सुख, दुःख, व्यथा, पीडा हाम्रो साहित्यमा अझै धेरै समेटिनु पर्छ । जीवन, समाज र माटोका पीडा बोल्ने अझै धेरै वास्तविक कथाहरू लखिनु पर्छ । त्यही अनुभूतिले मलाई लेख्न अभिप्रेरित गर्यो । अलिकति आदरणीय अग्रजहरूबाट प्रेरित भएँ । अलिकति आफ्नै हुटहुटीले लेख्न थालेँ ।

तपाईं  कथाको विषयवस्तु कसरी चयन गर्नुहुन्छ ? 

– समाजमा अझै पनि न्यायमा कैयौँ मानिसहरूको सहज पहुँच पुग्न बाँकी नै छ । कतिले चरम शोषण र उत्पीडन सहेर बाँच्नुपरेको छ । कतिलाई सामजिक विभेद, निषेध र विकृत कार्यसंस्कृतिले पीडित बनाएको छ । मैले देखेका, भेटेका र भोगेका त्यस्तै परिवेश, भाव र संवेदनाहरूलाई म कथाको विषयवस्तु बनाउँछु । कथाहरू मार्फत् जीवनमुखी सकारात्मकतामा जोड दिन्छु र परिवेशको अन्धकारबाट उज्यालोको खोजी गर्ने प्रयास गर्दछु । पाठकलाई वेदनाको भुमरीमा अलपत्र पार्ने काल्पनिक तानाबाना बुन्दिनँ । मौलिक र यथार्थपरक प्रस्तुतिमा जोड दिन्छु र लेखकीय सामाजिक दायित्वप्रति पनि सचेत रहने कोसिस गर्दछु ।

एउटा कथा लेख्न लागि के कस्तो प्रक्रिया पूरा गर्नुहुन्छ ?

– कथा लेख्दा अन्य सर्जकहरूले जे जस्ता प्रक्रिया पूरा गर्छन्, त्यसै गर्ने कोसिस गर्छु । घटना, पात्र, विषयमा आधारित कस्तो प्रकारको कथा लेख्न खोजेको छु, कुन उद्देश्य र विचारको सम्प्रेषण गर्न चाहेको छु यस कुरामा स्पष्ट हुने प्रयास गर्छु पहिले । सोही अनुसार चरित्र र पात्रहरूको छनौट गर्छु । त्यसपछि कथानक निर्माण गर्छु, कथा प्रवाहको खाका बनाउँछु । विषय, पात्र र परिवेशको विश्लेषण गर्छु । प्रयोग गर्ने बिम्ब, प्रतीक र शैलीको योजना बनाउँछु । त्यही अनुसारको भाषाशैली प्रयोग गर्छु । लेखकीय दृष्टिकोणमा सचेत हुन्छु । त्यसपछि लेख्न सुरु गर्छु र चित्त नबुझेसम्म परिमार्जन पनि गर्दै जान्छु ।

प्रहरी संस्थाभित्र धेरै अलिखित कथाहरू छन् जस्तो लाग्छ । त्यस्ता विषयवस्तुको कथा यस संग्रहमा पाउन सकिन्छ कि सकिन्न ?

– जहाँ जीवन हुन्छ, त्यहाँ अनुभूति हुन्छ । जहाँ अनुभूति हुन्छ, त्यहाँ कथा हुन्छ । प्रहरी संगठनमा यही समाजका नागरिकहरू छन् । अन्य क्षेत्रका नागरिकका जस्तै प्रहरीका पनि अनेक कथाव्यथा छन् । मलाई लाग्छ, नागरिकका कथा नै प्रहरीका कथा हुन् र प्रहरीका कथा नागरिकका पनि कथा हुन् । साहित्यमा प्रहरीलाई मात्र फरक आँखाले हेरिनुपर्छ भन्ने मलाई लाग्दैन । तर सत्य कुरा के हो भने प्रहरी संगठनजस्तो सुरक्षा निकायका आफ्नै खाले संवेदनशीलताहरू हुन्छन् । अलि विशिष्ट प्रकारका कानुन, आचारसंहिता र निर्देशिकाहरू हुने गर्छन् । यसको पालना र सम्मान गर्दै समयक्रममा प्रहरी संगठनबाट धेरै प्रतिभाशाली साहित्यकारहरू जन्मिएका छन्, धेरै साधक साहित्यसाधना गरिरहेका छन् । यस कथासंग्रहमा पनि ‘युद्धका घाउहरू’ शीर्षकको कथा सुरक्षाकर्मीसँगै सम्बन्धित छ । अन्य केही कथाका पात्रहरू पनि प्रहरी नै छन् ।

तपाईं किन कथा लेख्नुहुन्छ ?

– हुन त साहित्यका सबै विधाहरूमा मेरो रुचि छ । त्यसमा पनि कथासाहित्य विशेष मन पर्दछ । कार्यक्षेत्रमा सेवाग्राहीहरूका अनगन्ती मार्मिक कथाहरू भेटिन्छन् । कतिपय कथाले मन-मुटुसम्म स्पर्श गर्छन् । त्यसका पात्रहरू लामो समयसम्म मानसपटलमा सलबलाउँछन् । तिनीहरूका नियतिले भावुक बनाउँछ । पहिला पहिला आफ्नो धारणासहित तिनलाई डायरीमा लेखेर राख्ने गर्दथे । पछि ती कसै न कसैका लागि केही सचेतनाका विषय पनि  बन्न सक्लान् कि जस्तो लाग्न थाल्यो र त्यही अभिप्रेरणाले मैले कथा लेख्न थालेँ ।  कुनै विशेष उद्देश्य र अपेक्षा राखेर लेख्दिनँ । यो मेरो शोखको विषय हो र म आत्मसन्तुष्टिका लागि लेख्ने गर्दछु ।

यहाँलाई मन पर्ने पाँच जना नेपाली कथाकारहरूको नाम लिन पर्‍यो भने ककसलाई सम्झिनुहुन्छ ?

– मन पर्ने नेपाली कथाकारहरू थुप्रै छन् । फरक फरक स्रष्टाका सिर्जनाहरूमा फरक फरक विशेषता, रस र माधुर्य पाइन्छ । तर प्रश्नले नै पाँच जनाको सीमा तोकिदिएको छ । त्यसैले त्यहीअनुसार केही कालजयी व्यक्तित्वहरूलाई स्मरण गर्दछु । मलाई विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, मनु ब्राजाकी, रमेश विकल र इन्द्रबहादुर राईका कथाहरू मन पर्छन् । यसबाहेक मलाई माया ठकुरी, प्रेमा शाह, पद्मावती सिंहलगायत थुप्रै नारी स्रष्टाका कथाहरू पनि मन पर्छ । यसै गरी थुप्रै समकालीन र नयाँ पुस्ताका कथाकारहरूबाट पनि म निकै प्रभावित छु । उहाँहरूका कथाबाट सदैव केही न केही सिकिरहेको हुन्छु ।

आफ्नै कथाको आलोचना गर्नपर्यो भने के भन्नुहुन्छ ?

– मेरा हरेक सिर्जनाका लागि मैले उत्तिकै मिहिनेत गरेको छु । त्यसैले मलाई सबै कथा प्यारा लाग्छन् । तिनमा राम्रा-नराम्रा दुवै पक्ष होलान् तर मैले आलोचनात्मक चेत राखेर गम्भीर ढङ्गले समीक्षा गर्न पाएको छैन । भर्खरै मेरा २१ वटा कथा समावेश भएको कथाकृति लोकार्पण भएको छ । त्यस उपर विद्वान् समीक्षक, समालोचक र पाठक वर्गबाट गहन समीक्षा हुने नै छ । म उहाँहरूको सुझाव र प्रतिक्रियाहरूलाई हार्दिक स्वागत गर्दछु । मार्गदर्शनको रूपमा लिनेछु । त्यसैको आलोकमा म आफैले पनि गहन समीक्षा गर्नेछु र साहित्यको भावी बाटो तय गर्नेछु ।

समीक्षक तथा लेखक हरि अधिकारीले लेखनमा नाटकीय र संयोगहरूलाई दबाएर बढीभन्दा बढी मनोवैज्ञानिक गुत्थीहरू सुल्झाउन बढी प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । यहाँ के भन्नुहुन्छ यो विषयमा ?

– आदरणीय समीक्षक तथा लेखक हरि अधिकारीज्यूबाट व्यक्त भएका कुराहरूलाई म हार्दिकताका साथ स्वागत गर्दछु । मेरो कृति लोकार्पण समारोहमा उहाँले पुस्तक समीक्षा होइन, शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस क्रममा उहाँले कथाकेन्द्रित भएर भन्दा पनि स्तरीय कथा कस्तो हुनुपर्छ भन्ने विषयमा आम रूपमा सुझाव दिनुभएको हो जस्तो लाग्छ । यसै क्रममा उहाँले अरू पनि ज्ञानवर्द्धक, प्रेरणादायी र मार्गदर्शक कुराहरू व्यक्त गर्नुभएको थियो । तिनको हार्दिक सराहना गर्दछु र भावी दिनहरूमा पनि यस्तै बहुमूल्य सुझावहरूको अपेक्षा गर्छु ।

उक्त कार्यक्रममा समीक्षक तथा लेखक राजकुमार बानियाँज्यू र साहित्यकार एवं समालोचक ज्ञानु अधिकारीज्यूले मेरो कृतिको समीक्षा गर्नुभएको थियो । उहाँहरू दुवैले मेरा कथाका संवेदनात्मक र मनोवैज्ञानिक पक्षहरूमा निकै सकारात्मक टिप्पणी गर्नुभएको पनि म स्मरण गर्दछु ।

समग्रमा भन्नु पर्दा कथा साहित्यमा मैले नजानेका कुराहरू अथाह छन्, मूर्धन्य व्यक्तित्वहरूका यस्तै सुझावहरूले सिर्जनामा निखार ल्याउन मद्दत पुग्छ । म हरेक टिप्पणीलाई हृदयदेखि नै स्वागत गर्दछु । त्यहीअनुसार आफ्ना सिर्जनाहरू परिष्कृत गर्ने प्रयास गर्नेछु ।

यहाँका कथाहरूले समाजको अवस्था र मानवीय संवेदनालाई चित्रण गरेको व्याख्या गरिएको छ । कथाहरूले समाजलाई नयाँ दिशामा लान कत्तिको जोड गरेका छन् ?

– मेरा कथाहरूले समकालीन समाजको अवस्था र मानवीय संवेदनालाई कसरी समेटेको छ भन्ने विषयमा मैले जानेबुझे‍ सम्मका विचार माथिकै प्रकरणहरूमा विस्तृत रूपमा प्रस्तुत गरिसकेको छु । यिनले समाजलाई नयाँ दिशा दिने छन् भन्ने मेरो दाबी पटक्कै होइन । मैले केवल आफूले देखे, जाने र अनुभव गरेका कुराहरू पाठकसमक्ष अर्पण गरेको मात्र हुँ । ती कुराहरू सान्दर्भिक र उपयोगी छन्, छैनन् ? त्यसमा सहमति-विमति राख्ने वा त्यसलाई पूरै खारेज गर्ने सम्पूर्ण अधिकार आदरणीय पाठकवर्गमा नै छ । बरु उहाँहरूले मलाई कसरी दिशा निर्देश गर्नु हुनेछ, के कस्तो प्रतिक्रिया र सुझाव पाउने छु, त्यो मेरा लागि ज्यादै महत्त्वपूर्ण हुनेछ । त्यही कुराले मेरो सिर्जनामा निखार आउने छ र त्यसैले मलाई साहित्यमा दिशा निर्देश गर्ने छ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

– मेरो पहिलो कथाकृति भर्खरै लोकार्पण भएको छ । यो समयमा मैले आफ्ना कुराहरू राख्न पाएँ । यो अवसर जुराइदिनुहुने आदरणीय व्यक्तित्व एवं प्रतिभाशाली साहित्यकार जनक कार्की र लोकप्रिय साहित्यपोस्ट अनलाइनलाई कृतज्ञता व्यक्त गर्दछु । साहित्यको साधकका रूपमा मैले सिक्नुपर्ने कुराहरू धेरै छन् । म सिक्दै र लेख्दै जानेछु ।

नेपाली साहित्यको वैभवशाली इतिहास छ र उज्यालो भविष्य छ । हाम्रा आफ्नै विशिष्ट भूगोल, जनसङ्ख्या, जनजीवन र संस्कृति छ । हामीसँग आफ्नै मौलिक साहित्यको भण्डार छ । तर अझै पनि  माटो र जीवनका अनगन्ती कथाहरू लेखिन बाँकी छन् । हाम्रै मौलिकता अनुसार ती लेखिंदै जानुपर्दछ । यसबाट नै हाम्रो साहित्यिक विशिष्टता कायम हुन सक्छ, गौरवमय पहिचान बन्न सक्छ । मलाई लाग्दछ, मान्छेका भावनालाई कुनै दर्शन, सिद्धान्त र वादको बोसीलाले ताछ्नु र मुठार्नु हुँदैन । हदबन्दीमा तोकेर खुम्च्याउनु पनि हुँदैन । स्वतःस्फूर्त रूपमा अभिव्यक्त हुन दिनुपर्छ । यही मौलिक भावभूमिमा नै हाम्रो वास्तविक साहित्य राम्रोसँग मौलाउन सक्छ ।

अन्त्यमा पाठकहरूलाई हार्दिक आभार !