एक मनले आज भेटेरै छाड्छु भन्छु, त्यसै दिन केही न केही काम आइलाग्छ । जाने मन हुँदाहुँदै पनि रोकिन्छु । अर्को दिन आज नगई छाड्दिन भन्छु । फेरि उस्तै, केही न केही कामले अड्किन्छु । आज–भोलि गर्दागर्दै वर्ष दिन पुग्न थालिसकेछ । आज चाहिँ जस्तोसुकै काम आइपरे पनि भेट्ने कुरालाई प्राथमिकतामा राख्नेछु भनेर बिहानै उठेँ । गर्मीका दिन झन् त्यसै दिन चर्को घाम । घाममा हिंड्न भनेपछि डराउने म । हिंड्न अल्छी लाग्न थाल्यो । एक मनले होस् आज जान्न भन्छु, फेरि अर्को मनले मौसमसँग डराएर पनि के बस्नु भन्दै छाता खोलेँ, निस्केँ ।
फटाफट हिंड्न सक्नेहरूको लागि आधि घण्टाको बाटो, म जस्ता हिंड्न नसक्नेलाई पैँतालिस पचास मिनेट । त्यो पनि बाटोमा चिनेजानेकासँग भेट भएन र बोल्नु परेन भने । टन्टलापुर घाममा बाटो काट्न त गाह्रो हुन्छ । तर निस्केपछि निस्केको निस्कै हुन्छ भने जस्तै । अलि ढिलो पुगेकोमा गुनासोमै सीमित हुनेछ आजको भेट । गुनासो गरे हाँसेर जित्नेछु । ‘कमसेकम आज आए भन्नुस् न । माया नभएको भए आज आउँथे होला !’ भन्दै कुरा अन्तै मोड्छु । मन भित्रभित्रै कुरा खेलाउँदै हिंड्दा आधि बाटो कटिसकेछ थाहै भएन ।
एकोहोरो भएर हिंड्दा यस्सो ठेस लाग्यो । झसङ्ग भएँ । यताउति हेरेँ आफैंसँग लाज मानेँ । कसैले देख्यो कि भनेर । सुनसान छ सबैतिर – घरभित्र कोही छैन जसरी, गर्मीले हो या खाना खाएर आराम गर्ने समय भएर हो, एकदुई किराना पसल र एकदुई ठेला बाहेक । यस्सो ठेलावाल बहिनीले मुख हेर्न खोजे झैं गरिन् । आफ्नो सामान किनिदिने आशामा । छाताले ओझेल परेको अनुहार कति देखिन् । नजिक पुगेपछि खिस्स हाँसिन् । मैले उनको मनसाय बुझेँ तर मलाई चाहिने सामान केही देखिनँ । खिस्स हाँसे हिंडे । मनमा त कति लोभी भनिन् होला । कमसेकम उनको थकाइ मिश्रित हाँसो देखेर विशेष प्रकारको फरक अनुभूति रह्यो मनमा ।
हिंड्दै जाँदा एउटा पुरानो र मौलिक घर । सजिलै अनुमान लगाउन सकिन्छ, त्यो एक शताब्दी अघिको काठमाडौँ यस्तै थियो । सुकुलमा बस्नु भएको बुवाआमा सधैँ बाटो हिंड्दा चिन्ने जसरी खिसिक्क हाँस्नुहुन्छ । म पनि यो बाटो हिंड्दा उहाँहरूलाई देख्नै पर्ने जस्तै गरेर हेर्छु सधैँ । मैले उहाँहरूलाई देख्नु र उहाँहरूले मलाई देख्नु खुसी बराबर रहेको आभास हुन्छ । उहाँहरू नेवारी म नेपाली । न त मैले उहाँहरूको भाषा बुझ्छु न त उहाँहरूले मेरो । दुवैले आफ्नो आफ्नो भाषामा के कति बुझ्छौं तर नबोली छोड्दैनौं ।
‘बुवा यो फूलको नाम के हो ?’ अनौठो खाले भ्यान्टा रङको फूल फक्रिएको देखेर सोधिहाले !
थोते दाँत देखाएर कानको सुनको मोटो मुन्द्रा हल्लिने गरी खुला दिलसँगै भन्नु भयो, ‘गुलाफ’ । मैले बुझेको गुलाफ कति फरक थियो ! तर जवाफमा देखेको निश्चलता देखेर मन हाँस्यो ।
घरको गेटअघि पुगिसकेको पत्तै भएनछ । घडी हेरे एक घण्टा लागेछ । कतै निस्कँदा निस्किन गाह्रो हुन्छ तर निस्के पछिका अनुभूति कति फरक फरक ! कति थरी दुनियाँमा पुगिन्छ एकैछिनमा । एक घण्टाको दुनियाँमा यति धेरै अनुभूतिको संग्रह निस्कन्छ भने सिंगो जीवन हिंड्दा ?
गेट बन्द ! भित्र सुनसान । केही फरकपनको अनुमान बाहिरबाटै लगाउन सकिन्थ्यो । आँगनतिर ओइलाएका बोटबिरुवा र गमलाहरू । गेट बाहिरको झारपात । केही समयका लागि छाडेको घर जस्तै ।
ठूलो ठूलो आवाजले कुकुर भुक्यो । निकै बेर कोही निस्केन । फोनको घण्टी पनि गयो तर उठेन । घरभित्र मानिस कोही छ भन्ने संकेत त भित्रबाट लक गरेको गेटबाट बुझेँ तर मान्छे ननिस्किंदा मनमा चिसो पस्यो ।
यस्सो गेटभित्र मुन्टो तन्काएर हेर्न खोज्छु । कुकुर भुकेरै हैरान पार्छ । लाग्छ कुकुरले मलाई चोर भनेर संकेत गर्दै छ । हुन पनि हो, अरूको लक भएको गेटमा यसरी मुन्टो तन्काउनु, अझ मुनिको प्वालबाट चियाएर हेर्नु, उसले उसको धर्म निभाएकै हो । मलाई भने घर भित्रको परिवेशले कताकति मन चसक्क पारिदियो ।
जे पर्ला पर्ला गेट त नबजाई भएन । यति टाढा आएर फर्किनु पनि भएन । जोडले गेट बजाएँ ।
बल्लतल्ल माथिबाट कोही आएको संकेत पाएँ ।
भित्र पसें । दिदीले मलाई चिन्नु भएन । मकहाँ पुगें ! सपना हो या बिपना ! एक पटक आफैंलाई चिमोटेँ । बिपना नै रहेछ । मनमा नमिठो झड्का लाग्यो । न त बोल्न सकेँ न त चुप रहन । हात चपक्क पारे चिसो रहेछ । एक टकले मुख मात्र हेरिरहेँ । बोल्ने शब्द पनि भावुक बन्यो ।
निकै बेर मौन बसें । मनमा नमिठो तरङ्ग पैदा भयो । ती दिन र अहिले उनलाई देख्दा लाग्यो मनको तराजुमा कसरी तौलिनु ? भनिन्छ राम्रो मान्छेकै परीक्षा लिन्छन् भगवानले । किन होला भगवानलाई पनि राम्रो मान्छेकै परीक्षा लिनुपर्ने । मान्छे राम्रो हुनु पनि पर्ने अनि परीक्षा पनि उसैले दिनु पर्ने ? अनि यो परीक्षाको नतिजा के हो ? र कस्तो हुन्छ ? जान्न पनि पाउनु पर्ने हो ! लोग्नेको हिंसा सहेर बस्नेले कति ग्रेड पाउँछन् ? हिंसा सहेर पनि अति भएपछि सम्बन्ध विच्छेद गर्नेहरूले कति ग्रेड पाउँछन् ? अति भन्दा अति भएपछि मन बुझाउन नसकी आफ्नो ज्यान फाल्नेहरू त त्यसै अनुत्तीर्ण हुने भैहाले ।
‘दिदी ! म जान्छु, हजुर छिटो निको हुनुपर्छ है ।’ मुस्किलले आवाज निस्कियो ।
‘आज त यतै बस्नू ।’ निस्कन खोज्छु रोकेजस्तो गर्छिन् । निस्कनै सक्दिन फेरि एकछिन बसेजस्तो गर्छु । फेरि दिदी म छिट्टै आउँछु भनेर उठ्न खोज्छु अत्तालिएझैँ गरेर रोक्न खोज्छिन् । फेरि बस्छु । जति पटक जाने अनुमति माग्छु रोक्न खोजे झैं गर्छिन् । बोली फुटाउन खोज्छिन् सक्दिनन् ।
‘दिदी केही भन्नु छ भने भन्नुस् मसँग ?’
तप्प आँसु झर्यो आँखाबाट । बोल्नु के थियो भन्नु के थियो ? बोलीबाट बुझाउन नसकेका कुरा आँखाले कति पोख्यो । मैले कति बुझेँ । हिंड्नै लाग्दा गोडाले यस्सो छोयो । मलाई ढोगिन् । यस्तो अवस्थामा पनि यस्ता कुरा चाहिँ नभुलेको देख्दा कताकति उनको संस्कारलाई सलाम गरेँ । मन अमिलो लिएर निस्केँ । मन लाग्दा नलाग्दै निस्किनै पर्ने बाध्यता । बाहिर झम्के साँझ परिसकेछ । बाटोमा कोही नभेटियोस् झैं भयो । कसैसँग बोल्न पनि मन लागेन । यस्सो मास्क झिकेँ ब्यागबाट, लगाएँ ताकि कसैले झट्ट नचिनोस् भनेर । धन्न आज पुगेछु यसमै धन्य माने आजको दिनलाई ।
जीवनका भोगाइ आफ्ना–आफ्ना । भोगाइभित्र बाँचेका सपना, सपना भित्र साँचेका रहर के कति थियो । दोष उनको या भाग्यको या त भनूँ बुद्धि बिग्रेको लोग्नेको (सरकारी जागिरे) । सानातिना झैँ झगडा त सबैको घरमा हुन्छ । तर यतिसम्मको परिवारै विखण्डन गर्ने कुबुद्धि पनि हुँदो रहेछ । त्यति धेरै वर्ष सरकारी सेवामा बसेको मान्छेको । तर पनि अझै दम्भ छ बाहिर बाहिर । बुझ्नेले पहिले घरपरिवार र बिस्तारै समाज र देश बुझ्ने हो । मजदुरी गरेर पनि त घरपरिवार राम्रोसँग बचाएका उदाहरण छन् जहाँतहीँ । तर मूर्खसँग दैव डराउँछन् भने झैं उनी दिनदिनै डराउँदै डराउँदै सुक्दै सुक्दै आज यो अवस्थामा पुगिन् । तापनि कसैलाई पश्चात्ताप छैन ।
माइतीले पनि जब यी दिनहरू बुझ्दै आए झन् झन् टाढिंदै गए । राम्रो हुँदासम्म जति नजिक थिए, अहिले न चाडपर्व छ न त सुख दु:ख । बर्षौं भयो माइत जानै छोडिन् । यति हुँदा पनि आमाले ‘आऊ छोरी ! म छु तिम्रो साथ’ नभने पछि झन् अरू को नै हुन्छ र यो दुनियाँमा ? आमाको आड भरोसा नपाएपछि आमा पछिका दिदीबहिनी भनिने पनि टाढिए । कसलाई कुन जग्गा मन पर्ने ! कसैले कताको घर ताक्ने ! लुछाचुँडी जस्तै भयो ! घरभित्र र बाहिरका सबैलाई । घर बिग्रेकोमा मिलाउनेको नाममा झन् बिगार्नेको कमी पनि भएन । चाड पर्व नातागोता सबै टाढिएपछि जाने कहाँ ? बच्चा सानै छन् । केवल घरभित्र । उकुसमुकुस, मनमा शान्ति छैन जस्तै न त लोग्ने न त पैसा । कसरी सम्हाल्ने घर परिवार अनि बालबच्चा ।
गर्न नसक्ने पनि थिइनन् उनी । जागिर खान नखोजेको पनि होइनन् । बिहे अलि छिटै भयो । बच्चा भइहाले फटाफट । काठमाडौंको ठाउँ भाडाको घर दुईदुई बच्चा कहाँ छोड्नु उमेर पनि अलि काँचै । बच्चाको मायाभन्दा जागिर र बाहिरको संसार उनलाई ठूलो लागेन । चाहिने भन्दा बढी ख्याल र समर्पित भएर लागिन् ।
संसार भुलिन् हात रित्तो हुँदासम्म । आफ्नो मनको कुरा कही कतै खोलिनन् । केवल सहिन् । उनलाई थाहा पनि थियो; अति धेरै सहनु हुन्न भन्ने । तर सहनतिरै लागिन् ।
लोग्नेको माया र साथ कस्तो हुन्छ ? थाहै नपाई लोग्ने र छोरा छोरीकै लागि समर्पित उनको जीवन सम्झँदा अहिले मलाई जीवन के नै रहेछ झैं लाग्छ । भोलीको दिन कल्पना गरेर साँचेका इच्छाहरू साँच्चिकै पूरा हुन्छ र ? के एउटा आमाले यति धेरै अग्निपरीक्षा दिएर आफ्नो सन्तानको लागि बाँच्नु पर्ने । उसको रहर इच्छा चाहना केही हैन कर्तव्यभन्दा । के ती सन्तान उनका मात्र थिए । जागिर खान नदिएपछि परिवार सम्हाल्ने दायित्व कसको थियो ! जब लोकसेवा लड्ने उमेर छुट्यो । लोग्नेका हरेक व्यवहार छुट्नु कस्तो धर्म । अझै आफूलाई सर्वमान्य सम्झेर समाजमा उल्टै श्रीमतीलाई होच्याउँदै खसाल्दै हिंड्नु, अझै छिमेकमा बेमेल बनाएर उनीहरूसँग ज्ञानी बनेर एक्लो पार्नु, कहाँसम्मको धर्म हो । र त चुपचाप छिन् । चुपचाप । किनकि सुन्नु छैन, बुझ्नु छैन अपमान घर भित्रको रडाको । बुझेर पिरमा पर्नुभन्दा बरु यही सही । न त बुझ्नु छ, न त बुझाउनु छ । यो पनि त जीवन हैन र ! बुझेर चोट खेप्नु भन्दा बुझ्दै नबुझेकै जाती ।
दिदी ! एकछिन त बस्नुस् न । गफ गर्नुस्, थकाइ मेट्नुस् । कति जाँगर लाग्छ हजुरलाई । जति गरे पनि उस्तै काम कहिल्यै सकिन्न । शरीरलाई आराम चाहिन्छ । सधैँ चिसोमा खेल्नुहुन्छ । आफ्नो माया गर्नुस् । उमेर सधैँ एउटै हुन्न । यसो भन्दा एकछिन बसेजस्तो गर्ने, तर एउटा न एउटा काम झिक्नै पर्ने । धेरै जाँगर दिए भगवानले । अनुशासन, सभ्यता र संस्कार पनि दिए । सीप र बौद्धिकता पनि थपिदिए । धर्म पनि । तर भाग्य नै नदिए पछि केही नलाग्ने रहेछ । यी सबै गुण नहुनेलाई पनि त एकै पटक भाग्य दिएका हुन्छन् हैन र !
घर पुगेपछि धेरै दिनसम्म मेरो मन बिथोलियो । भनूँ मनमा घामै लागेन । त्यतै मोडिरह्यो । काम गर्न पनि त्यति जाँगर चलेन । आखिर परिवार भनेर मरिमेटे पनि केही नहुने रहेछ झैं लाग्यो । भविष्य थाहा हुने भए मान्छेले समयमै बुद्धि पुर्याउने थियो होला । आफ्नो लागि केही सोच्थ्यो पक्कै । तर आज न जागिर खाने उमेर छ, न हातमा दुई चार पैसा छ, न जग्गाजमिन आफ्नो नाममा छ । केवल रित्तै रित्तो ।
‘आफ्नोलागि पनि केही सोच है ! भोलीको दिन कोही साथ रहन्नन्’ भन्ने मनमा रह्यो । भोलि यसले यो गर्ला, त्यसले त्यो गर्ला भनेर ढुक्क नहुनु रहेछ । जसले गर्ला भनेर भरोसा गरिन्छ उसैले झनै मन तोड्छ र अप्ठ्यारो दिनमा एक्लो बनाउँछ । पैसा पनि हे रहेछ जीवन भनी बुझ्नुपर्छ । जब हातमा सुख छ, पैसा छ आफ्नाको लर्को । जब फरक परिवेशले मानिसलाई गाँज्छ नाता, चाड पर्व सबै टाढिने रहेछ।
बिहानै चियाको चुस्कीसँगै फेसबुक हेर्ने बानी । पहिलो पोस्टमा नै नमिठो खबर । एकछिन सत्य नहोस् भनेर कामना गरे तर सत्यलाई स्वीकार गर्नै पर्ने बाध्यता । चिया भनेपछि मरेको पनि जाग्ने म आज त चियासँगै मन सेलायो । कसैको जीवन सेलायो । न त आँसु झर्न सक्यो केवल झरे मुखबाट दुई शब्द– ‘बाँच्नुभयो दिदी !’
पाउनु, देख्नु र भोग्नु मात्र रहेनछ जीवन, कसैकसैलाई फाप्नु पनि रहेछ ।
स्वर्गमा बास् होस् दिदी । अर्को जन्म रहेछ भने फेरि पनि हाम्रो भेट होस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।