भाषाका नाममा, जातका नाम, ती देवी पिटिँदा ।
कलम अघि, बढेका तिनका, लेखक बन्नमा ।।
रोमानिया हुँदै, जर्मन देश, ती नारी उदाउँदै ।
नोवेल अवार्ड, ती जित्न पुगिन्, सबैलाई हराउँदै ।।
जर्मनको सबैभन्दा पछिल्लो नोबेल साहित्य स्रस्टाका रूपमा Herta Müller हेर्ता मुलर रहेकी छिन्। सन् २००९ मा साहित्यमा नोबेल पुरस्कार जित्न सफल हेर्ता मुलर रोमानियामा जन्मिएकी थिइन्।
भनिन्छ युद्ध कसैका लागि पनि हुँदैन, यसले युद्ध नायकहरूको अनुहारमा जहिले पनि कालो पोतेर बिदा हुन्छ । दोस्रो विश्व युद्धका नायकहरूमध्ये एक जर्मनका यहुदीहरू नाजीहरूबाट पीडित थिए तर ठिक यसको विपरीत हेर्ता नाजी भएर अरू सम्प्रदायबाट पीडित थिइन् । नाजी भएकै कारणबाट विभिन्न ठाउँमा हिंसा बेहोर्न परेका लेखहरू लेख्दालेख्दै एक सशक्त लेखिकाका रूपमा उदाएकी हेर्ता मुलरले सन् २००९ मा वैश्विक प्रसिद्ध साहित्यमा नोबेल पुरस्कार जिती विश्वलाई नै चकित पारिन् । हिंसाबाट पीडित उनले आफू पीडित भएको कुरा लुकाएर राखिनन् । उनले आफूमाथि भएको अन्याय खुलेर संसारमाझ राखेका कारण नै उनी नाेबेल पुरस्कार जित्न सफल भएकी हुन् ।
सन् १९५३ मा जन्मेकी हेर्ताको हालसम्म पनि लेखनमा कलम चलिराखेको छ । Nadris, The Passport, The Land of Green Plums, The Appointment, The Hunger Angel जस्ता कृतिहरूका रचनाकार हेर्ताका श्रीमान् पनि साहित्यकार हुन् । उनको नाउँ हो, रिचर्ड वागनर ।
खुशी र सुखी जिन्दगीका लागि साहित्य र दर्शनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। साहित्य र दर्शन बिना मानवीय अस्तित्व कल्पना पनि गर्न गाह्रो हुन्छ। मान्छे जानेर वा नजानेर पल-पल साहित्य र दर्शनमा घोप्टिइराखेको हुन्छ। विशेषतः मान्छे अस्तित्ववादी दर्शनमा अल्मलिएको हुन्छ। भौतिकवादी तथा तर्कवादमा मान्छे अल्मलिइरहेको अवस्थामा अस्तित्व भन्ने ऊ सोच्न भ्याएको हुँदैन तर कहीँ न कही ऊ अस्तित्वमा नै अल्मलिएको हुन्छ। तर भन्छ। प्रश्न गर्छ। साहित्य ? दर्शन ? बोरिङ विषय ! तर मनोरञ्जनका लागि उत्सुक रहेकै हुन्छ। मनोरञ्जन र दृश्य बन्नका लागि हरदम जोतिएको हुन्छ। चाहे त्यो मानसिक रूपमा होस् वा शारीरिक रूपमा। गीत, संगीत र मनोरञ्जन चाहिएकै हुन्छ, कथा चाहिएको हुन्छ, चुटकिला चाहिएको हुन्छ, अनि अरू अनेक अनेक चाहिएकै हुन्छ। पुँजीवादी विश्वले साहित्यलाई चाहँदा-चाहँदै यसको आधारलाई छायाँमा पारेको छ तर साहित्य बिना रहेको छैन र रहन पनि सक्दैन।
विश्वका मुख्य दर्शन पूर्वीय दर्शन र पश्चिमा दर्शनलाई नियाल्दा जर्मन देशको साहित्य र दर्शन पनि आफ्नै तरिकाले अगाडि बढेको देखिन्छ। जर्मनीको साहित्य र दर्शनको कुरा गर्दा गटफ्रेड विलियम लेवनिजलाई जर्मनको दार्शनिक पिताको रूपमा लिइन्छ । सन् १६४६ मा जर्मनको लेपिजमा जन्मेका लेवनिज विशेषतः इमानुअल कान्ट, जर्ज विलियम फ्रेडरिक तथा हेगलबाट प्रभावित देखिन्छन्। सन् १७४९ मा फ्रान्कफ्रट जर्मनीमा जन्मिएका जोहान वल्फगाङ वन गोथे ८३ वर्षसम्म साहित्य र दर्शनमा रमेका थिए। विशेष गरेर बेलायतका शेक्सपियरका साहित्य र दर्शनबाट प्रभावित गोथे जर्मनीका शेक्सपियर भनेर चिनिने गर्दछन्। आधुनिक साहित्य र दर्शनमा विशेष दख्खल दिने फेडरिक निचको जन्म जर्मनीको वाइमेरमा सन् १९४४ भएको थियो। एक सज्जन, प्रसिद्ध् पादरीका छोराका रूपमा जन्मिएका निचाको दर्शनले जर्मनी तथा विश्व साहित्य तथा दर्शनको सामाजिक तथा सांस्कृतिक परिवर्तन गर्नमा विशेष भूमिका खेलेको थियो र खेलिरहेको छ। यी महान् दार्शनिक फ्रेडरिक निचको देहावसान नोबेल पुरस्कार शुरू हुने वर्ष सन् १९०० मा भएको थियो ।
साहित्य र दर्शनका लागि दिइने विश्वको सबैभन्दा प्रसिद्ध पुरस्कार नोबेल साहित्य पुरस्कारका लागि जर्मन तथा जर्मनीका जर्मन भाषी भायग्मानी व्यक्ति थेवडर ममसेन (Theodor Mommsen) लाई रोजिएका थियो। हुन त त्यस समयका रसियाका महान् लेखक लियो टल्सटयको नाम यो पुरस्कारका लागि अगाडि आएको थियो तर लियो टल्सटयको मानवीय जीवनको आमूल परिवर्तनको लयलाई त्यस समयका विचारक तथा विज्ञहरूले स्वीकार्न सकिरहेका थिएनन् भनेर भनिन्छ। फलतः थेवडर ममसेनको नाम सन् १९०२ का लागि सर्वसम्मतले अगाडि आयो। साहित्यमा सबैभन्दा ठूलो मानिने नोबेल पुरस्कार पाउने सबै भन्दा पहिलो व्यक्ति फ्रान्सका सली प्रुधम थिए भने भाषा पनि फ्रेञ्च नै थियो। दोस्रो भाग्शाली व्यक्तिका रूपमा The History of Rome का लेखक जर्मनभाषी थेवडर ममसेन भए। स्मरण रहोस्, ममसेन पुरातत्व अध्ययन गर्दै पश्चिमा सभ्यताको जननी मानिने रोमको गहिरो अध्ययन गर्दै यो पुस्तक विश्वलाई दिन सफल भएका थिए ।
साहित्य र दर्शनमा नोबेल पुरस्कार पाउने नवौं र जर्मनका दोस्रो व्यक्तिका रूपमा सन् १९०८ मा रूडोल्फ क्रिस्टोफ युकेन (Rudolf Christoph Eucken) थिए । दर्शनशास्त्रका विद्यार्थी युकेन जर्मनको बर्लिन विश्वविद्यालयका विद्यार्थी थिए। सन् १८४६ मा हेनवर जर्मनीमा जन्मेका युकेनका पिताजीको असामयिक निधनपछि उनी आमाको रेखदेखमा हुर्किएका थिए। पश्चिमा दर्शनको अध्ययन र अध्यापनमार्फत दीक्षित युकेनले The Problem of Human Life, The Truth of Religion, The Meaning and Value of Life जस्ता कृतिहरू दिएका थिए ।
साहित्य र दर्शनमा नोबेल पुरस्कार पाउने एघारौं र जर्मनीका तेस्रो व्यक्तिका रूपमा सन् १९१० मा पाउल जहाँ लुदविग भोन हिसे (Paul Johann Ludwig von Heyse) थिए। ती महान् लेखक सन् १८३० मा एक यहुदी माताको कोखबाट बर्लिनमा जन्मिएका थिए। वर्लिन विश्वविद्यालयमा अध्ययनका क्रममा हिसेले छात्रवृत्तिमार्फत इटाली घुम्ने मौका पाएका थिए । इटाली घुम्ने क्रममा देखिएका सभ्यताका रूपरेखाले हिसेलाई नियात्रा, उपन्यास, कथा, कविता र गीत लेख्न उत्साहित बनायो। हिसेलाई विशेषतः उपन्यासकारका रूपमा चिनिन्छ। उनको लेखनमा मानवीय जिन्दगी भनेको सुख र खुशी हुनका लागि हो, हामीले दुःखलाई बिर्सेर सधैँ सुखी हुनुपर्छ भन्ने उनको लेखमा पाइन्छ।
साहित्य र दर्शनमा नोबेल पुरस्कार प्राप्त गर्ने तेह्रौं र जर्मनका चौथो व्यक्तिका रूपमा सन् १९१२ मा गेरहार्ट हम्टम्यान Gerhart Hauptmann हुन् । विशेषतः नाटककारका रूपमा परिचित गेरहार्ट हम्टम्यान सन् १८६२ मा जन्मेका थिए भने सन् १९४६ मा उनको देहान्त भयो । धार्मिक तथा संगीतप्रेमी काकाको संगतले पनि उनलाई साहित्यतर्फ आकर्षित गरेको थियो । येना विश्वविद्यालयका विद्यार्थीका रूपमा अध्ययनरत गेरहार्ट हम्टम्यानले एक धनी युवती थेइनेमान नाम गरेकी युवतीसँग विवाह गरेका थिए। साहित्यमा पटक्कै रूचि नभएकी युवती थेइनेमानसँग विवाह गरेर चार छोराछोरी भएता पनि वैवाहिक जीवनको २० वर्षपछि गेरहार्ट हम्टम्यानले सम्बन्ध विच्छेद गरी संगीतकार मारसाल्कासँग विवाह गरे। नर्वेजियन लेखक हेनरिक इब्सनका लेखनबाट प्रभावित हम्टम्यानले नाटककारका अतिरिक्त उपन्यासकार, गीतकार, कथाकार तथा कविका रूपमा पनि परिचित छन् ।
जर्मनीको इतिहासमा साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पाँचौँ व्यक्ति तथा साहित्यमा नोबेल पुरस्कार पाउने उनन्तीसौं स्रस्टाका रूपमा Thomas Mann (थोमस म्यान) थिए। जर्मनका कथाकार तथा उपन्यासकारका रूपमा परिचित सन् १८७५ मा जर्मनीको लुवेकमा जन्मेका थिए। म्युनिख विश्वविद्यालयमा अध्ययन गरेका Thomas Mann फ्रेडरिक नित्से, अर्थर सोफेन हावर र संगीतकार रिचर्ड वाग्नरबाट विशेष प्रभावित देखिन्छन्। यान्त्रिक युगदेखि त्रसित Thomas Mann ले कसरी मानवीय जीवन प्रकृतिसँग समाहित भएर सुखमय तरिकाले व्यतित गराउन सकिन्छ भन्ने कुरा आफ्ना कृतिमार्फत दिएका छन्। लडाईं तथा हिंसाबाट टाढा रहन चाहने Thomas Mann हिटलरको उदयसँगै कहिले अमेरिका त कहिले स्विजरल्याण्डमा रहेर आफ्ना कृतिहरूको सृजना गरे। The Buddenbrooks, The Magic Mountain, Death in Venice, Joseph and His Brothers, Doctor Faustus जस्ता कृतिहरूका रचनाकार Thomas Mann ८० वर्षको उमेरमा सन् १९५५ मा स्विजरल्याण्डको ज्युरिकमा बितेका थिए।
यस्तै जर्मनीको पोल्टामा नाेबेल साहित्य पार्ने अर्का साहित्यकार हेनरिक व्योल (Heinrich Theodor Böll) हुन् । सन् १९७२ मा उनले पश्चिमी जर्मनीका नाममा नोबेल पुरस्कार जितेका थिए। सबै क्षेत्रमा सम्पन्न हुँदाहुँदै पनि कुनै तानशाहले गर्दा विश्व, देश, क्षेत्र र समुदायले दुःख पाउने गर्दछ। त्यसको प्रत्यक्ष भुक्तभोगीमध्ये जर्मनी पनि एक हो। ती दुःख, पीडा, वैमनश्यतामा धेरै लेख तथा साहित्यहरू रचिए र त्यही दुःख र पीडामा लेखिएका रचनाहरूले महान् पुरस्कार पनि जित्न सफल भयो। सन् १९१७ मा जर्मनीको कोलोनस्थित क्याथोलिक परिवारमा जन्मिएका व्योल पहिले नाजी समर्थित थिए। हिटलरको शासनमा अनिवार्य श्रमदान तथा सैनिक सेवामा रहनु पर्ने बाध्यताअनुरूप व्योल जर्मनीका तर्फबाट पोल्याण्ड, फ्रान्स, रोमानीया, हङ्गेरी र सोभियत युनियनमा लडेका थिए। अन्त्यमा दोस्रो विश्वयुद्धका क्रममा अमेरिकी सैनिकबाट पक्राउ परेका व्योल एक सशक्त लेखकका रूपमा चिनिन्छन्। The Train was on time, The Black Sheep, And Where are you जस्ता कृतिहरूका रचनाकार व्योल उपन्यासकार, कथाकार, अनुवादक तथा निबन्धकारका रूपमा चिनिन्छन् ।
सन् १९९९ का साहित्यमा नोबेल पुरस्का विजेता Günter Wilhelm Grass (गुन्तर विल्हेयम ग्रास) सन् १९२७ मा जर्मनीको डान्जिङमा जन्मिएका थिए। दोस्रो विश्वयुद्धमा जानेर वा नजानेर हिटलरको युद्धमा लड्दै भिड्दै हिंडदा आफूले आफैँलाई चिनेका ग्रास आफ्नै पाराले लेखहरू लेख्न थाले। बन्दुक चलाउन जान्दा नजान्दै हिटलरको लडाकु बनेका ग्रासलाई अमेरिकी सैनिकले कैदी बनायो। सन् १९५० बाट लेख्न थालेका तर आफ्ना लेख कस्ता छन् भन्ने कुरा आफैँलाई थाहा नभएर छपाउन नमान्ने ग्रासका लेखहरू ग्रासकी पत्नी एनाले प्रकाशित गर्न थालिन्। विभिन्न लेख प्रकाशन गर्ने क्रममा सन् १९५९ मा प्रकाशित The Tin Drum ले ग्रासलाई अन्तर्राष्ट्रिय रूपमा लेखक तथा साहित्यकारका रूपमा प्रसिद्ध बनायो। अनुवादक, कवि, नाटककार तथा निबन्धकारका रूपमा परिचित ग्रासको मृत्यु सन् २०१५ मा भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।