येनले भन्यो, “लौ हुन्छ, यस पालि मैले आफै जानुपर्ला ।”

यूले भुइँमा खुट्टा बजार्दै चिच्याएर भन्यो, “हिजो भर्खरै घरभरिका सारा जहानले चिएन बाबुलाई आँखाभरि देखिसकेका छन् । सम्झनाकै भरले पनि तिनीहरू उनको तस्विर उतार्न सक्ने भइसकेका छन् । अब यस पालि अर्कै एउटालाई लैजाँदा मैले कस कसको के के चित्त बुझाउनुपर्ने हो ? बिहेको कुरो त त्यत्तिकैमा खतम भइहाल्ला, मैले अपमानित हुनु त छदै छ ।”

येनले अब लमीलाई नै जथाभावी भन्न थाल्यो । त्यसले भन्यो, “मैले पहिले नै – यो बिहे भाग्यैले जुराइसकेको कुरो हो – भनेको होइन ? पहिले मैलाई लैजानुभएको भए आज आएर के गरू, कसो गरुँ भनेर यसरी भुटभुटिनुपर्ने थिएन । काओ ज्यादै अप्ठेरो खालको मानिस छ भनेर आफ्ना सट्टा भाइलाई पठाउन लगाउनुभएको तपाईले नै हो क्यारे ! – गल्ती आफैले गर्नुभयो । यसो हेर्दा त काओजत्तिको सोझो मानिस त कोही रहँदै रहेनछ । गएर केटी माग्नेबित्तिकै बिचरोले खुरुक्कै मन्जुर गरिहाल्यो । मैले त्यसैकी छोरी बिहे गर्नु भन्ने माग्यैमा लेखेको छ – भन्या होइन ? – चिएन चिडलाई त्यसले देख्नु वा नदेख्नुको त यहाँ सवालै छैन । त्यसपछि झन् त्यसले मेरा सरसौगातसमेत मन्जुर गरिसकेको छ – अब त त्यसकी छोरी मेरी भई, भई। नामन्जुर गर्ने अब त्यसको के तागत ? यस पालि म आफै गए भने त्यसले के पो गरिहाल्न सक्ला ? बिहे नै रोक्न सक्ला त ?”

यूले टाउको हल्लाउँदै भन्यो, “जरुर, खुसीसाथ बिहे रोक्न सक्तछ । छोरीलाई तामदानमा बसाल्नै दिएन भने त्यसको के लछार्न सक्नुहुन्छ तपाई ?”

येनले भन्यो, “अलि बढी मानिस लैजाउँला । त्यो मन्जुर भयो भने बेसै हो, भएन भने जबरजस्ती भित्र पसेर त्यसकी छोरी टिपेर हिँडौला । अनि खुसी लाग्छ भने अड्डा खाना गई मुद्दा हाल्दै गरोस्। प्रमाणका लागि केटीको चिना मैसित छ क्यारे । बिहे खारेज होस् भन्छ भने गल्ती त्यसैको ठहर्छ ।”

यूले त्यसलाई सम्झाउँदै भन्यो, “चारैतिर विचार नगरी झाटझुट्ट त्यस्तो चिताउनु ठिक होइन । जतिसुकै बलियो बिजुली किन नहोस्, त्यसले आफ्ना दुलामा बसेका सर्पसित जोरी खोज्न कदापि सक्तैन । त्यसैले जति मानिस लगे पनि त्यहीँ घर भएका मानिसले आफ्ना मद्दतका लागि हाम्राभन्दा बढी मानिस जम्मा गर्न नसक्ने होइन। फलस्वरूप ठुलै रडाको पर्न गयो भने, र त्यसले गर्दा हामी मुद्दामा फस्न गयौँ भने बुढोले किरियै हालेर ‘केटी माग्न आउने यो वर हुँदै-होइन’ भनिहाल्नेछ । अनि त मेजिस्ट्रेटले लमीलाई सोध्नुपर्ने खण्ड आइहाल्यो । यातना खप्नुपर्दा मैले साँचो कुरो नओकली धरै पाउन्न । चिएन बाबुको जिन्दगी पनि बिग्रन जानेछ । यो कुनै ठट्टाको कुरो होइन ।”

एक छिन घोरिएर येनले भन्यो, “भइहाल्यो, उसो भए म नगइरहुँला । तपाईँले नै एक पटक फेरि दुःख गरिदिनुपऱ्या भोलि गएर काओलाई ‘वर एक पटक आइ नै सके, हाम्रातिर वरले आफै गएर कन्या ल्याउने चलन छैन; तसर्थ साधारण चलन अनुसार कन्यालाई नै पठाइदिनुपर्यो’ भनेर आउनुहोस् न ।”

यूले भन्यो, “अब त्यतिले मात्र काम चल्ने होइन । बुढो काओ खोज्दा खोज्दा बल्ल भेट्टाएको वरलाई देखेर साहै दङ्गदास परेको छ । ऊ त्यसै बखतदेखि केटाको बुद्धि र रूपको घमन्ड गर्दै हिँडिरहेको छ । त्यसैले त्यसका नातागोताका सारा मानिस र छरछिमेकहरूसमेत कन्या लिन वर कहिले आउला र हामी पनि आफ्नै आँखाले देख्न पाऔँला भनी पर्खेर बसेका छन् । तसर्थ कसैले न कसैले त तिनका अगाडि पर्न जानै पर्दछ ।”

यनेले भन्यो, ” उसो भए तपाई नै भन्नुहोस् न त अब कसी गर्ने ?”

यनेले भन्यो, “मेरा तुच्छ बुद्धिमा त आफ्ना सट्टा एक पटक फेरि चिएन बाबुलाई नै गएर आखिरीसम्म यो जालझेल गरिदिने अनुरोध गर्नुपर्‍यो । त्यसबाहेक गर्न मिल्ने अर्को कुनै उपाय छ जस्तो त लाग्दैन। दुलही भित्र्याउन मात्र पाऔँ, अनि त काओले पछि आएर छोरी लैजान खोज्यो भने पनि त्यसलाई रोक्न आफ्ना घरमा तपाई खुदै बलियो भइहाल्नुहुन्छ । बुढोले गाली त जरुरै गर्ला, तर बिहे सिद्धिसकेपछि त्यसले तपाईँको कपाल किन दुखाइरहन सक्थ्यो ।”

अलि दोमन गर्दै येनले त्यसका कुरा मन्जुर गरेर भन्यो, “तपाईँले भनेकै कुरा ठिक लाग्छ । तर, तमासा हेर्नुहोस् – बिहे मेरो हो, तर उत्सवको मोज गर्न आफैले अरूलाई पठाउनुपरिरहेछ । अझ झन् त्यतिले पनि नपुगेर त्यसलाई ‘गइदेऊ बाबा’ भनेर राजी पार्नु पनि कम्ती गाह्रो छैन ।”

चेनले भन्यो, “अर्को उपायै छैन । चिएन बाबुले त दुलही ल्याउने सानो उत्सवको मोज मात्र पाउनुहोला, जिन्दगीभर सुखभोग गर्ने त तपाईं नै हुनुहोला क्यारे ।”

त्यसपछि क्रोध मिश्रित हर्षले भरिएको येन चुन यू चेनसित बिदा भएर चिएनलाई खोज्दै पुस्तक कोठामा पुग्यो ।

त्यसले चिएनलाई भन्यो, “प्यारा भाइ, एउटा अर्को कृपा गरिदिने अनुरोध गर्छु ।”

“अब यस पालि के गरिदिनुपर्‍यो ?”

“आउँदो महिनाको तेस्रो दिन मेरो बिहे हुने भएकाले त्यसको अघिल्लो दिन दुलही ल्याइदिन फेरि तिमीले नै मेरा सट्टा एक पटक गइदिने दुःख गरिदिनुपर्‍यो ।”

चिएनले भन्यो, “अघि तपाईँका सट्टा जाँदाको स्थिति त्यति महत्त्वको थिएन । तर दुलही भित्र्याउने विधि विधानका जस्ता विशेष मौकामा कसैका सट्टा म कसरी जाऊँ ? त्यसको त प्रश्नै उठ्तैन ।

येनले भन्यो, “तिमीले भनेको पक्का पनि ठिक हो भाइ । तर पहिलो पटक तिमी गई नै हाल्यौ । त्यसका सारा घर परिवारले तिमीलाई देखिहाले । अब यस पालि म गएँ भने ठुलो शङ्का पर्न जानेछ । त्यसले बिहेको सम्बन्ध मात्र तोड्ने होइन, तिनीहरूले मेरा नाममा मुद्दै हाल्नसमेत बाँकी राख्ने छैनन् । त्यसमा तिमीसमेतले मुछिनुपर्नेछ । यति सारा काण्ड भइसकेपछि अव आखिरीमा ठिक लागेन भनी दोमन गरी सारा कामै बरबाद नपार । मेरी दुलहीलाई एक पटक घर मात्र भित्र्याइदेऊ, त्यसपछि सारा कामै बरबाद नपार । मेरी दुलहीलाई एक पटक घर मात्र भित्र्याइदेऊ, त्यसपछि त्यसको बायु जेसुकै भनिरहोस् – मलाई परवाह छैन। हेर भाइ, यस समस्याबाट पार पाउने अब यही एउटा उपाय छ । तिमीले मेरो यति आखिरी भलो त गरिदिनैपर्दछ ।”

आफ्ना आश्रयदाता र दाजुले त्यसरी साहै रोए कराएको देख्ता चिएनले हार्न सकेन । आखिरमा त्यसले ‘लौ त’ भनेकोले येनले बाजा बजाउने र चाहिने नोकरचाकरहरूको पनि बन्दोबस्त मिलायो । गुह्य नखोली दुलहीलाई लिएर फर्केर आयौ भने बेसरी इनाम पाउनेछौ भनेर त्यसले सबैसित कबुल पनि गर्‍यो । सबैले ‘हुन्छ’ नै भने, ‘हुन्न’ भन्ने आँट कसैले पुऱ्याउन सकेन ।

प्रस्थान गर्ने दिन एकाबिहानै यू चेनले येनका घर आई कन्याका घरका मानिसलाई लैजाने सरसौगात र काओका नोकरचाकरलाई बाँड्नुपर्ने बरबकसका मालमत्ता रोजेर ठिकठाक पार्ने काममा सघायो। चिएनका लागि विद्वान्हरूले लाउने विशेष किसिमको टोपी, बाटुलो कालर, रेसमी कम्मरपेटी, काला जुत्ता लगायत सबै कुरा ठिकठाक भइसकेपछि खानेकुरा र ओढ्ने, बिछ्याउने आदि मालसामान नाउमा पुऱ्याइयो । दुलहीका लागि एउटा र दुलहा र लमीका लागि एउटा गरी दुइटा ठुला नाउका साथै नोकरचाकरका निम्ति चारवटा साना नाउ पनि ठिक पारिएका थिए। यी सवारी नाउका साथै जान र नाउ नाउका बिच खबर ओहोरदोहोर गर्नका लागि छिटो चाल भएका चारवटा थप नाउको पनि बन्दोबस्त थियो । घण्टा घडियाल र करनाल बज्नासाथै ती दशै बटा नाउ पाल फिँजाई झिलमा रवाना भए । लगातार पटकाका पर्रा छुटेकाले तिनको हिँडाइ अझै भव्य देखिन्थ्यो ।

साँझपख नाउहरू पश्चिमी टुडटिङ पुगे, र तिनले काओका घरबाट केही सय गजकै अन्तरमा लङ्गर हाले । यू चेन दुलहा आइपुगेको समाचार पुऱ्याउन अघिबाटै गयो । सरसौगातका मालमत्ता बोकेर लैजाने नोकरहरूका जिम्मा लगाइदिए । दुलही लैजाने खुब सजिसजाउ तामदान ठिक पारियो । सयकडौँ लालटिन र चिराक बालिए । त्यति भइसकेपछि झकिझकाउ लुगा लगाएको चिएन चिडलाई रेसमी झल्लरहरू झुलेका तामदानमा बसाली आठ जना मानिसले बोके । सनाई, बाँसुरी र ढोल बजाउँदै बरियाँत हिँड्यो । के टाढा, के नजिक – सबै टापुका मानिसले काओका भावी ज्वाइँको असाधारण रूप र पाण्डित्यको बखान सुनिसकेका थिए । तिनीहरू त्यो कनै धार्मिक जुलुसै हो कि जस्तो गरी बडो उत्सुकताका साथ रमिता हेर्न घुइँचो गर्दै चारैतिरबाट जम्मा भए । चिएनलाई मानौँ सिंहासन-मणिकै मूर्ति हो कि झैँ गरी तामदानमा बसेको देखेर तिनीहरू त्यसको सह्राना गर्न लागे ।

काओकी छोरीलाई देख्ने केही महिलाहरूले भने मनका कुरा मनैमा राख्न नसकी कराउँदै भनी पनि हाले, “यस खाइलाग्दो र मेधावी विद्वान् केटो र त्यस रूपवती केटीको जोड त खुबै मिलेको हो । काओले साँच्चिकै लायक ज्वाइँ रोजेको हो ।”