आकाश छोपेर बसेको बादललाई चिर्दै सूर्यको किरण एक युवकमा पर्छ । पुरानो मैलो ज्याकेट र धुलाम्मे पाइन्टमा सजिएको सुमित एकाबिहानै हुस्सुले छोपेको दहाणु रेल्वे स्टेसनअगाडि पिपलको रुखमुनि बसेको छ । ठूलो आवाजमा हर्न बजाउँदै रेल स्टेसनमा आएर अडियो ।
एक भिड मान्छे हतार-हतार ओर्लिएर उत्तर तर्फको गेटबाट बाहिरिए । अर्को भिड मान्छे दक्षिण तर्फको गेटबाट बाहिरिए । सुमितका आँखा भिडतिर तानिए । एक-दुई गर्दै त्यो भिड, लस्करै बसेका अटो-रिक्साले रित्याउन थाले । उसका भोका आँखा भिडलाई हेरेर अघाएनन् ।
* * * *
‘पा !’
‘हाम किसके लिए रुके हैं ?’
‘माँ कब आएगी ?’
‘हमको छोडकर कहाँ चलिगई ?’
बालिका आफ्नो संसार खोजिरहेकी छ । उसको खोजको जवाफ ऊसँग छैन । गोजीबाट एउटा देशी दारुको क्वाटर निकाल्छ र पिउन थाल्छ । मनुस्मृतिमा उसको प्रिय जिन्दगी र अप्रिय घटना घुम्न थाल्छ ।
अन्धकारमय छ । अस्तिसम्म उज्यालै थियो । तर जब ऊ एकदिन कामबाट घर फर्कियो, केटाकेटी कोठामा मीठो निद्रामा लिप्त थिए । ढोकामा बाहिरबाट चुकुल लगाइएको थियो । घर सबैतिर उस्तै थियो । केवल उसको प्रिय जिन्दगी त्यहाँ थिइन ।
ऊ अक्सर आफ्नी श्रीमतीलाई प्रिय जिन्दगीको नामले पुकार्थ्यो । असाध्यै माया पनि गर्थ्यो । मायाको फलस्वरूप दुई सन्तान वरदान पाएको थियो । हेर्दै माया लाग्दा थिए छोराछोरी पनि । सानै उमेरमा एकदम चलाक । सायद विधातालाई पनि उसको प्रिय जिन्दगीदेखि खासै रुचि नहुँदो हो । त्यसैले छुटायो ।
टेबलमा पोको पारेको कागज चिसो सिरेटोले घरी यता घरी उता गरिरहेको थियो ।
उसले त्यो कागज उठायो र खोल्यो । जसमा लेखिएको थियो –
प्रिय सुमित !
“म तिम्रो लागि कति प्रिय थिएँ वा तिमी मेरो लागि कति अप्रिय थियौ भन्ने कुराको लेखाजोखा मैले राखेकी छैन । परिवारको विरुद्धमा गएर हामीले प्रेमविवाह गर्यौं । बुबा अक्सर भन्नुहुन्थ्यो, ‘प्रेमले केही हुँदैन छोरी । गाँस, बास र कपासको पनि मेसो चाहिन्छ ।’ आज यति वर्ष तिम्रो समीपमा रहँदा मैले केवल अभाव महसुस गरिरहेकी थिएँ । हामी दुई बीचको सम्बन्धमा पनि मैले कहिल्यै पूर्णता महसुस गर्न सकिनँ ।
मेरा पनि त हजार चाहाना थिए । सबै चाहानालाई मारेर तिमीसँग यति वर्ष बिताउनुलाई मैले एउटा बिर्सन याेग्य क्षण सम्झेकी छु । तिमीले कति पनि आत्मग्लानि नगर्नु । हाम्रो प्रेमको साँचीको रूपमा दुई सन्तान पनि तिम्रै लागि छाडेकी छु ।
आमा भएर आफ्नै सन्तानलाई टुहुरा बनाएर छाड्नु मेरो लागि सहज थिएन । तर आज ममताले भन्दा पनि सायद अरू नै कुराले जित्यो भन्नुपर्छ । म नहुँदा तिमी कति पनि चिन्तित हुनेछैनौ भन्ने आशा राखेकी छु । मेरा चाहानाहरू पूरा गर्न नसके पनि दुई सन्तानको स्याहार गर्नू, माया गर्नू । उनीहरूकै मुख हेरेर भए पनि आफ्ना गलत आदतलाई छाड्ने प्रयास गर्नू ।
कहाँ जाँदैछु भन्ने जानकारी त मलाई पनि छैन । यत्ति आशा गर्न सक्छु कि अबका दिनहरू मेरा लागि कठिन पक्कै पनि हुनेछन् । सकेसम्म मलाई बिर्सने प्रयास गर्नू ।”
उहीँ तिम्री प्रिय…!
कलम एक बारमा केन्द्रित हुन्छ । हिजोसम्म जुन बारमा उसले बारम्यानको नोकरी गर्थ्यो । आज त्यहीँ युवक ग्राहक बनेर एक टेबलमा बसेको छ । जसले अरूको दुखलाई मिलाएर ककटेल बनाइदिन्थ्यो । उसैले आज दुई गिलास अगाडि राखेर सोचिरहेको छ । रक्सीमा दुख मिलाऊँ या दुखमा रक्सी ? सपना मिलाएर पिऊँ भनेँ । सबै खालीखाली छ । मजा आउँदैन । प्रेमको ककटेलले त जिन्दगी नै ह्याङ्ओभर बनायो । अब म पहिला दुःख पिउँछु । अनि रक्सी । एउटा गिलास उठायो र एक सासमा रित्यायो । अर्को गिलास उठायो अनि रित्यायो । केही समयको लागि उसको दुख-पीडा सबै विलीन भए ।
* * * *
“भगवानले आफूलाई पाताल लोक पठाएकोमा कति पिर हुँदो हो राक्षसहरूलाई । किन आखिर भगवानले उनीहरूलाई देवता बनाएनन् ? किन मान्छे बनाएनन् ? उनीहरूले पनि त सोमरस यत्तिकै पिउँदैनन् होला । उनीहरू यत्तिकै बौलाहा जसरी मान्छेको सिकार गर्दैनन् होला । उनीहरूको मनमा हजारौँ पीडा हुँदा हुन् । कसले सुन्यो ? कसले बुझ्यो ?
र कसले लेख्यो इतिहासका पानाहरूमा ? कसले बक्यो धर्मग्रन्थका ठेलीहरूमा ?”
नशा उत्रेपछि सुमितको अनुहारमा कसैले पानी छम्कियो । होसमा आउँदा ऊ बीच सडकमा थियो । कस्तो दुर्भाग्य ? बीच सडकमा आएर पनि मलाई मर्न लेखेन ! यदि मभित्र बाँच्ने चाहाना हुँदो हो त फुटपाथ मै आएर ठोक्ने थिए बज्याहरूले ।
ऊ बरबराउँदै घरतिर लाग्यो । पूरै गल्ली उसको दुर्दशामा हाँसिरहेको थियो । कठै, बिचरा ! जस्ता शब्दहरू गुन्जिरहेका थिए । ऊ चुपचाप समयको खेल नियाल्न मात्र सक्यो ।
उसलाई ती सन्तानको चिन्ताले पिरोल्न थाल्यो । ऊ एक्लैले दुई सन्तानलाई सुन्दर भविष्य उपहार दिने सामर्थ्य थिएन । त्यतिकैमा कसैले उसलाई केही सुनाएर गयो ।
“एक सन्तान कसैको जिम्मा लगाइदे न । दुनियाँमा नि-सन्तान आमा-बाबुहरू धेरै छन् । उनीहरूले यस्तै बालबच्चाहरू एडप्ट गरेर लैजान्छन् । बदलामा केही पैसा पनि दिन्छन् ।”
आफ्नो व्यथा उसले राम्रै बुझेको थियो । तर कुन सन्तान जिम्मा लगाउने भन्ने कुरामा बिचार गर्न थाल्यो । श्रीमतीले छाडेर गएपछि उसको नारीजगत् माथि विश्वास शून्य भएको छ । त्यसैले छोरीलाई जिम्मा लगाउने बारे सोच्न थाल्यो । छोरी दिँदा अलि धेरै पैसा दिन्छन् भन्ने पनि सुनेको थियो ।
एउटा ठूलो घरानाको व्यापारीसँग उसको भेट भयो । दुई लाख भारु दिने सर्तमा छोरी जिम्मा लगाउन ऊ तयार भयो । रेल्वे स्टेसन अगाडि भेट भएर चौकी जाने अनि सबै कागजात मिलाएर छुट्टिने सहमति भएको थियो । त्यसैले ऊ त्यही व्यापारीको प्रतीक्षामा थियो ।
एकैछिनमा कालो रङको लामो कार आएर अगाडि रोकियो । झ्यालबाट हात निकाल्दै गाडिभित्र पस्ने इशारा गर्यो । सुमित छोरीलाई लिएर गाडिभित्र पस्यो ।
गाडी पुलिस स्टेसनतर्फ मोडियो ।
“श्रीमती कहाँ छे ?”
निन्याउरो मुख लगाउँदै भन्यो, “पोइला गई सर !”
“हेर्दै फटाहा देखिन्छस् । किन नजाओस् त । छोरीलाई कतिमा बेचिस् ?”
तुरुक्क आँसु खसाउँदै नजर व्यापारीतर्फ मोड्यो ।
व्यापारी सानसँग कुर्चीमा विराजमान थियो ।
सुमितको आवाज नआएपछि आफै बोल्न थाल्यो ।
पुलिसले आनाकानी गरेपछि व्यापारी उठेर अर्को कोठातिर गयो । पुलिस पनि लुरुलुरु उसकै पछि पछि गयो । उनीहरूको खासखुस सुमितको कानसम्म पुग्न भ्याएन ।
एकैछिनमा पुलिस आयो र कागज दिँदै भन्यो, “ल काम पूरा भयो । आजदेखि यो तेरी छोरी हैन । भोलिका दिनमा मेरी छोरी हो भनी हक दाबी गर्न जाने छैन भनी यहाँ लेखेको छ । साइन गर ।”
सुमितले कलम समायो । किनकिन आज कलम पनि केही लेख्न मानिरहेको थिएन ।
“यो त्यहीँ कलम हो जसले कुनै दिन संविधानमा नारी अधिकारको व्याख्या लेखेको थियो । आज कसरी त्यहीँ कलमले छोरी बेचिएको रिपोर्ट लेख्न सक्थ्यो र ।”
सुमितले पेन जोरसँग झट्कार्यो र साइन गर्यो । कसैले जबरजस्ती पाप गर्न खोज्छ । त्यसलाई विधाता स्वयम् चुपचाप सहेर बस्छन् भने यो कलमको त के कुरा ?
भगवान् कुरुक्षेत्रमा भेटिएजस्तै भेटिएला यसको प्रतिरोध कुनै अखबारका हेडलाइनहरूमा । कुनै सायरका सायरीहरूमा । सजिएला कुनै कविको कवितामा बिम्ब बनेर ।
सुमितले छोरीलाई व्यापारीको जिम्मा लगायो । पुलिसले हात तन्काउँदै शब्दका बाण फ्याँक्यो, “साला जँड्याहा ! अझै नशा उत्रेको छैन । नशा उत्रेपछि आफै चेत पाउँछस् ।”
* * * *
चैतको महिना । भर्खर चिसिएको जमिन तात्न खोज्दै छ । बिरुवामा नयाँ पालुवा पलाउँदै छ । प्रकृति नयाँ जस्तै चम्किँदै छ । टिभीमा समाचार घन्किँदै छ ।
“भारतबाट अन्य देशमा बेच्न लैजाँदै गरेका दस बालिका सहित एउटा गिरोहका चार सदस्य पक्राउ परेका छन् ।”
सुमित टिभी अगाडि उभिएको छ । ऊ सम्झन्छ त्यो दिन । जुन दिन छोरी बेचेको पैसाले उसले नयाँ बयालिस इन्चको ‘एल-इ-डी टिभी’ किनेको थियो ।
मुम्बई
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।