आवाज सुनेर उठिहाल्ने यहाँ कोही नभए पनि रातको अँध्यारोमा तिमीले नजिकै आएर कानेखुसी गर्यो । ‘मैले मेरो कपाल छोटो पारेर काटें भने अनि फेटा पनि फुकाले भने त्यो जागिर पाउन सक्छ भनेर उनीहरूले भने ।’
तिमीले त्यो कुरा भन्नै पर्दैनथ्यो । तिमीले आफ्नो नयाँ कोट र रबडको बाहिरी जुत्ता फुकाल्दै गर्दा नै मैले तिम्रो अनुहारमै सबै कुरा पढिसकेको थिएँ । घर्राभित्र मैले सेता खामहरूमा राखेको तिम्रो बचत र मेरो दाइजोकोबाट बचेको डलर, हो प्रत्येक खाममा एक दिनका लागि पुग्ने गरी राखिएको डलर, हेर्दाखेरि नै तिनीहरूको आवाज मैले हृदयमा सुनिसकेको थिएँ । मनमनै मैले डलरलाई रुपियाँमा लगिहेरें । प्रत्येक खाममा भएको पैसाले इन्डियामा कति जनालाई एक महिनासम्म खान पुग्छ भनेर सोचें मैले ।
क्यानडातिर प्रवासिनु भनेको के हो भनेर यसरी त पक्कै व्याख्या गरेका थिएनन् उनीहरूले । मलाई अझै सम्झना छ, उनीहरूले तिमीसँग भनेका थिए, ‘तिमी निकै योग्यता भएका मानिस हौ । हामीलाई व्यावसायिकहरूको खाँचो छ ।’ त्यसपछि उनीहरूले स्वतन्त्रताको कुरा गरे । अनि पहिल्यै अङ्ग्रेजी बोल्न जान्नेहरूले पाउने अवसरको कुरा गरे। त्यतिखेर कसैले पनि भनेनन्, ‘तिमीले गोरो छाला लिएर पुनर्जन्म पाउनुपर्छ । अनि त्यो प्रस्ट देखाउन दारीजुंगा सफाचट पारेर खौरिएको हुनुपर्छ ।’ केही महिनाअघि मात्र उनीहरूले हामीलाई ‘नयाँ परदेशी क्यानडियन’, ‘नयाँ देश बनाउने नयाँ रगत’ भन्ने संज्ञा दिएका थिए ।
आजै मात्र मैले मेरो बिहेको एउटा सारी नजिकैको ड्राई क्लिन गर्नेकहाँ लिएर गएको थिएँ । त्यहाँ एउटी आँखीभौँ नभएकी महिलाले त्यो सारीलाई भाँडा माझ्ने झुम्रो जस्तो गरेर पो समाती । अनि मलाई सोधी,
‘यो तन्ना हो ?”
‘होइन ।’ मैले भनें ।
‘पर्दा ?”
‘होइन ।’
मैले त्यो रेसमी सारी छिंडीमुनिको आफू बस्ने कोठामै फर्काएर लगें । त्यसपछि मैले आफ्नो कपाललाई पछिल्तिर लगेर कसिलो जुरो बनाएँ, सारीका गह्रौं पत्रहरूलाई धातुको स्नान टवमा राखेर धोएँ, अनि त्यसमा भर्न प्रयोग गरिएका सुनौला धागा चमचम चम्किने गरी लुगा सुकाउने ह्याङ्गरमा झुन्ड्याएँ ।
लुगा धोइसकेपछि मैले स्नानघरको भुइँमा एउटा तन्ना ओछ्याएँ । गएको हप्ता तिमीले लगाएका फेटाहरू एक अंगालोभरि लिएर चारैतिर निक्खर रातो, तामा रङको, गाढा नीलो, माटो रङको, कैंसर, प्याजी, अनि सुगा रङका बीचमा ख्वाप्प खोक्रो परेका फेटाहरूले घेरिएर त्यहीं घुँडा मारेर बसें। मन तातो साबुन पानीले स्नान टव भरुन्जेलमा निश्चित विधिपूर्वक तिम्रो शिरमा बाँधिएका प्रत्येक फेटाका गोला आकारहरूलाई फुकाउदै गएँ। एकैछिनमा तिम्रो लामो कालो कपालको सुरक्षा गर्ने मलमलका कपडाका लामालामा धर्साहरूले पूरै कोठा भरिदै गयो ।
प्रत्येक फेटालाई मैले फीजैफीज भएको टबमा राखें र तिनीहरू अझ गाढा र भारी हुँदै सुस्तरी, कोमलतापूर्वक त्यो उष्णतामा डुब्दै गएको हेरिरहें। मेरो छेउमा एउटा पनि फेटा बाँकी नरहेपछि म नजिकै गएर निहुरिएँ र हात डुबाएर प्रत्येकलाई एउटै तालमा सामञ्जस्य मिलाउँदै सफा गर्न थालें । आफ्नाआफ्ना मान्छेहरूले गर्वसाथ यो संसारको सामना गर्न सकून् भनेर मेरी आमा र उहाँकी पनि आमाले समेत पहिले पहिले यसै गरी सफा गर्नुभएको हुनुपर्छ । टबको पानीलाई मैले निकास दिएँ। अब नयाँनयाँ रङका धर्साहरू फुक्क फुलेर माथि उठे-गाढा रातो, कालिमाटी रङको, खिया रङको, सुन्तला, हल्का प्याजी र फिक्का हरियो ।
तामचिनी सिन्कमा मैले सफा पानी र माड भरें। फेटाहरूलाई यसरी उचाले जसरी आफ्ना छोराछोरीलाई कुनै दिन बोक्नेछु । त्यो दूध भरिएको कचौरा जस्तो सिन्कबाट तिनीहरूले पेट भरेझै भएपछि मुसार्दै मैले नचाहिने रातोरातो नीलो-नीलो पानी बाट तिनलाई मुक्त गरे । तिनीहरूलाई एउटा बाटामा सावधानीपूर्वक राखें र आफ्ना दुई अँध्यारा कोठामा सुकाउनका लागि लिएर गएँ ।
झ्यालनजिकै कुर्सी राखेर पर्दा झुन्ड्याउने गह्रौं फलामे डन्डीमा प्रत्येक फेटाका चारै कुना लम्बाइअनुसार बाँध्न भनेर त्यसमा चढें। बाँकी भागलाई तीन गजसम्म तानेपछि फेटा ठ्याक्कै दुई पत्रमा दोब्रिन्थ्यो । नबाधिएको अर्को छेउको दुवैतिर दरो गरी समातेर मैले आफ्ना हात भित्रतिर घुमाएँ। मेरै अगाडि फेटा खुम्चियो । फेरि मैले हात बाहिरतिर घुमाएँ। यस पटक फेटा फैलेर चंदुवा जस्तो भयो । यसै क्रममा फेटालाई फेरि भित्र, अनि वाहिर, भित्र, बाहिर गर्नलाई हात पनि नजिक जोड्दै, टाढा लग्दै निचोरिरहें। दिल्ली हुँदा टन्टलापुर घाम लागेको बेला सायद छतमुनि अथवा व्यास नदीको किनारसम्म फैलिएको हरियो गहुँ खेतनिरै म आफू पुगेजस्तै लाग्यो ।
फेटाहरूबाट पानी पूरै निथ्रिसकेपछि मलमलको पर्दाबाट देखिएअनुसारको कोठा नियाल्न थालें । धमिला भित्ता, मेरोलागि तिमीले अझ तातो पार्न खोज्ने कोठा न्यानो बनाउने रेडिएटर अनि अस्वाभाविक रूपमा अग्ला साना झ्याल । फेटाहरू फिक्का छउन्जेल थोत्रो गलैंचाको बीचमा लहरै राखिएका पछाडिको भाग अर्धचन्द्राकार भएका खाना खाँदा प्रयोग गरिने कुर्सीहरूको माथिपट्टि तिनलाई बाँधिदिए, बीचमा कोरिएको सिउँदोमा कसिलो पारेर च्याप्ने पिनले आफ्ना चुन्नी अड्याएका गिड्डा ।(पन्जाबी महिलाले नाच्ने एक किसिमको लोकनाच) नर्तकी जस्तै । त्यसपछि म ती कुर्सीहरूको अघिल्तिर बसेर तिनीहरूलाई नाच्नका लागि हौस्याउन थालें-नाच, मेरा लागि नाच, हाम्रा लागि नाच । मेपलभन्दा चिनार नै कमलो हुन्छ भन्ने मलाई थाहा छ तथापि अज्ञानी क्यानडेलीहरूमैं ती कुर्सीहरू जड़वत् ठिङ्ग उभिरहे ।
चांडै नै आफ्नो पूर्ववत् रङमा फर्किदै कपडाका खातहरूले कोठामा विशुद्ध हल्कापन भरिदिए। आफूतिरै ध्यान दिनका लागि आग्रह गर्दै, नीरसतालाई अस्वीकृत गर्दै, वक्राकारमा लहराउँदै तिनको आभा माथितिर प्रकाशित भइरह्यो । पर्दाको डन्डीलाई तिनले खेलको साविकको विजेताको गौरव स्तम्भकै रूपमा उपयोग गरेका थिए ।
मेरो टाउकोभन्दा माथिको झ्यालबाट दिउँसोको मन्ट्रियलको आवाज र पार्श्वपथमा कसैको उद्देश्यपूर्ण पाइलाको निश्चयी पदचाप सुनिन्थ्यो । कामदारहरूले ज्वाल (मन्ट्रियलका कामदारवर्गले बोल्ने फ्रेन्च) बोल्ने गरेका कुनै अङ्ग्रेजी नाम भएको मार्गमा तिम्रो फेटाले भीड छिचोल्दै हिँडेर तिमीलाई घरतर्फ डोऱ्याइरहेको कल्पनामा डुवें म ।
फेरि एकपल्ट म कुर्सीमा चढें र तिम्रा फेटाहरूलाई फुकाएं। एकपछि अर्को गर्दै प्रत्येकलाई आफूले समेटेर तिनको अवज्ञालाई पट्याउँदै, तिनको अनियन्त्रित क्रोधलाई शान्त पार्दै, तिनलाई अल्पकालिक समर्पणका लागि सज्जन बनाउँदै । अन्त्यमा तिनलाई अगाडि राखेर मैले तिनको सामना गरें ।
तत्पश्चात् तिमीले कमभन्दा कम लगाउने गरेको रातो रङको फेटा मैले छानें र सुत्ने कोठामा लिएर गएँ । त्यो चहकिलो रातो रङलाई मैले हाम्रो ओछ्यानमा फुकाएर फैलाएँ । त्यस बखत यस्तो लाग्यो, मानौँ मैले सम्पूर्ण सिख सहिदहरूको पवित्र रगतको खोलो नै त्यहाँ खन्याएको थिए। त्यसैले तिमीले विहानै उठेर आफूलाई सहयोग गर्न मलाई नउठाईकनै त्यसको एउटा कुनामा समातेर ढोकाको चुकुलमा बाँध्ने गरेको जस्तै गरी मैले पनि बाधें । ठ्याक्कै तिमीले गर्ने गरेझै तेसों कुना समातेर मैले कोठाको पल्लो छेउमा पुऱ्याएँ र त्यो रातो कपडालाई चारवटा पर्खालको साँघुरोपनाबीच सकेसम्म राम्रो गरी भित्रपट्टि दोबारें। फेरि हरेक दिन मैले मेरा बुबाको लागि त्यसपछि दाजुका लागि गरिदिने गरेजस्तै अहिले भने तिम्रा लागि बनाइदिन अर्को छेउ दोबार्न ढोकाको चुकुलमा बाँधिएको भागलाई फुस्काएँ । एकैछिनमा रातो फेटा लगाउनका लागि तयार भयो ।
ऐना अगाडि बसें । एउटा सरदारले लगाउनेजस्तै मिलाएर कस्न एकातिरको कुना दाँतले च्यापेर अनि निधारदेखि गर्दनसम्म वेनं हातहरू माथि उचाल्दै फेटा बाँध्न थालें । मैले फेरि त्यसै गरी बेरें, यस पटक अझ अलि माथि । अव तीव्र गतिमा कुशलतापूर्वक वाँध्न थालें, जवसम्म त्यो अभिमानपूर्वक माथि उठेर मेरो उचाइ चार इन्च बढाएन, त्यस बेलासम्म । अन्त्यको टुप्पो माथिल्लो भागसम्म पिन लगाएर जोडेपछि मात्र दाँतले च्यापेको टुप्पो बाहिर झारें र थुकले भिजेको फुर्कालाई भने अलि तल भएको जुरोनिर लगेर फेटामा सिउरिएँ, तिमीले गरेको जस्तै ।
ऐनामा मैले आफ्नो बुबालाई देखें । किशोर बुबा यस्तै देखिनुहुन्थ्यो होला । अनि मेरो दाजु पनि किशोरवयमा यस्तै देखिनुहुन्थ्यो होला । अनि तिमी पनि, क्यानडाको सामना गरिरहेका तिमी। मैले अब ऐनामा आफैलाई पनि देखें, म जस्तो हुनुपर्छ, त्यस्तै ।
चहकिलो फेटामुनिको अनुहार अव मुसुक्क हाँस्न थाल्यो ।
मेरो फेटाको गोलाइमा आफ्नो हात पुर्याएँ मैले । फेटा खुकुलो पार्दै फुस्काएं र आफ्नो सामुन्ने ल्याएर ऐनाअगाडि राखें । मैले अब केही चाहिनँ । केवल यसका निम्ति योग्य हुन सकूं।
त्यसैले मेरा प्यारा, तिमीलाई म यो अपरिचितहरूको देशमा यो कपालको बलियो लहरो काटेर फेटारहित भएर कहीं जान दिने छैन । मेरा बुवाले मेरो चुन्नी र तिम्रो फेटा जोड्दै कसिदिएको गाँठो अझै पनि हामीमाझ बलियो छ । यसले तिमीलाई कदापि असफल हुन दिने छैन । तिम्रो शिरमा मेरा हातले सधैं फेटा बाँधिदिनेछन् साथै काम पनि यिनै हातले गर्नेछन् गुजाराको लागि । एक दिन हाम्रा सन्तानले भन्नेछन्, ‘हाम्रा बुवा यो देशमा उहाँको फेटावाहेक केही थोरै मात्र लिएर आउनुभएको थियो तर उहाँलाई कसैले काम नदिएको हुनाले हाम्री आमाले काम गर्न सिक्नुभयो ।’
अनि फेटा लगाउनु कस्तो हुन्छ भनेर क्यानडालीहरूलाई हामीले सिकाएका हुनेछौं ।
साउना सिंह बाल्डविन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।