मदन पुरस्कार पाउने चौथी महिला साहित्यकार हुन् – “निलम कार्की निहारिका” । ‘मौन जीवन’ उपन्यासबाट साहित्यिक यात्रा सुरु गर्नुभएको कार्कीले ६ वटा उपन्यास, ५ वटा कथासंग्रह, ‘मस्तिष्क ज्वरो’ लामो कविता प्रकाशित गरिसक्नु भएको छ । उहाँले ‘चीरहरण’ उपन्यासका लागि सन् २०१६ मा पद्म श्री साहित्य पुरस्कार, ‘योगमाया’ उपन्यासका लागि सन् २०१८ मा मदन पुरस्कार प्राप्त गरिसक्नु भएको छ । 

प्रस्तुत छ, ऐतिहासिक विषयमा रुचि राख्ने  निलम कार्की निहारिकासँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

निलम कार्की निहारिका

निलम कार्की निहारिका

आजकल तपाईं अध्ययन र लेखनमा निकै व्यस्त देखिनुहुन्छ, अहिले के गर्दै हुनुहुन्छ ?

– अहिले म लेखपढमै बढी समय व्यतीत गर्दै छु । विद्यावारिधिको लागि अलि बढी नै व्यस्त  भएकी थिएँ । पूर्वीय दर्शन अध्ययन विषय भएको हुँदा त्यसमा केन्द्रित थिएँ । अब त्यो किनारा लाग्यो  छ । अब फेरि सिर्जनात्मक लेखन मै फर्कंदै छु । थाती राखेको उपन्यासमा काम गर्दै छु ।

तपाईंले अहिले कुन पुस्तक निकाल्न लाग्नु भएको छ ? यो बारे केही भन्न मिल्छ ?

–  अब आउने पुस्तक पनि उपन्यास नै हो । र विषय मेरी आमाले दिनुभएको हो । दुखका साथ भन्नुपर्दा आमा जीवित हुँदा नै यो पुस्तकलाई पूर्णता दिन सकिनँ । त्यसको कारण कोभिड महामारी थियो । मैले त्यसको लागि अध्ययन अनुसन्धान अघि बढाइसकेकी थिएँ । केही  स्थलगत  अध्ययन पनि गरेकी थिएँ र  केही अझ बाँकी नै थियो । सन् २०१९मा श्रोत सामग्री जुटाइसक्ने र लेख्ने  योजना थियो । तर महामारीको विश्व बन्दाबन्दीले योजनाअनुसार हिँड्नु सम्भव भएन । थालेको काम थाती राख्नु पर्‍यो ।

रपनि केही वर्षदेखि मन मस्तिष्कमा बोकेर हिँडेको विषयलाई पूर्णता दिने मनसाय भयो । त्यसको लागि स्थलगत अध्ययन भै सकेको थियो । मात्र  द्वितीय श्रोतको डाटाको आवश्यकता थियो । बन्दाबन्दीको अलि खुकुलो समयमा त्यो जुटाउन सम्भव हुने भयो । त्यसमा लागेँ ।

त्यसपछि  लगत्तै म फेरि विद्यावारिधिको निम्ति  केन्द्रित भएँ । त्यसकारण  केही समयलाई  यो उपन्यास लेखन कार्य  थाती राख्नु परेको हो । अब भने  म लगालग यसमै लागिपरेकी छु ।

आमाले दिनु भएको विषय भन्नाले ?

– मेरी आमा २५ वर्ष अध्यापन गर्नु भएको शिक्षिका हो । उहाँलाई लेखपढमा निकै रुचि थियो । मेरा हरेक पुस्तक पढ्नु हुन्थ्यो । मैले योगमाया लेखिसके पछि भने आमालाई यो विषय आख्यान पनि आउनु पर्छ भन्ने लागेछ । उहाँले मलाई पहिलो पटक विषय दिँदा  यसरी भन्नु भएको थियो, “नानी यो विषयमा कोहीको ध्यान पुगेन ।अब तैँले  राम्रो खोज गरेर, राम्रो गरी बुझेर, केलाएर उपन्यास लेख्नु लेख्न जरुरी छ … ।”

मेरी आमाले जुन विषय दिनु भएको त्यो  कम लेखिएको अर्थात् इतिहासकारले समेत महत्त्व नै नदिएको  विषय हो ।

अध्ययन अनुसन्धान सुरु गरिसकेको एक साँझ  ‘भो अहिले नलेखूँ होला’ भन्ने सोच आएको थियो । तर अचम्म – त्यसको  भोलिपल्ट बिहानको  फोन सम्पर्कमा  आमा भन्नुभएको थियो, “कहाँ पुग्यो  ? लेख्न त लेख्ने हो  नि ? यसमा  नलेख्ने विचार त गरेको छैनस् नि नानी ?”

गएको साँझको  मेरो त्यो मन, त्यति टाढाबाट आमाले कसरी पढ्नु भयो होला ?  मनमा आएको मात्र थियो आमाले टट्कारै सुने झैँ पो भन्नुभयो । यो पनि भन्नुभयो ‘लेख है नानी लेख । लेख्नै पर्छ तैँले । ढिला भै सक्यो यसमा लेख्न ।’

त्यसपछि मैले अठोट गरेकी थिएँ, जतिसुकै कठिन भए पनि मैले यसलाई अवश्य पूर्णता दिन्छु । अनि बेला बेला आमालाई यसरी आश्वस्त पार्दै पनि रहन्थेँ, ‘मैले त्यसको लागि थप सामग्री भेला पार्दै छु है । काम गर्दै छु । पहिलो ड्राफ्ट सकियो … ।’

आमाले पनि आफूले पहिला सुनेको या भेटेको विषय सम्बद्ध घटना  मलाई टिपाई दिनुहुन्थ्यो । तर मैले पुस्तक पूरा गर्दासम्म आमा यो दुनियाँमा रहनु  भएन । यो उपन्यास  पुस्तक पूर्ण रूपमा मेरी आमाको लागि समर्पण भएर आउने छ । अहिले यसमा काम गर्दा आमाले छेउमा बसेर हेरिरहनु भएको छ भन्ने जस्तो लाग्छ ।

अहिले  लेखन अध्ययन र काममा उत्तिकै व्यस्त हुनुहुन्छ । कसरी समय मिलाउनु हुन्छ ?

– समयको कुरा नगरौं । मैले जीवनलाई घडीको सुई र क्यालेन्डरको समय तालिकामा बाँढेर चलाएकी छु । परिवारमा कुनै सदस्य या कोही कसैलाई  आफ्ना अन्य कामलाई पनि कत्ति पनि असर नपर्ने गरी  कम्तीमा  ६-८ घण्टा  मेरो लागि छुट्टाउने गरेकी छु । मेरो लागि भनिएको समय लेखपढको लागि हो ।

तपाईं फरक परिवेश तथा फरक धारमा उपन्यास लेख्नुहुन्छ । विशेष गरी अनुसन्धान गरेर लेख्नु हुन्छ किन ?

–  हरेक मान्छेको जीवन जिउने कला या तरिका फरक हुन्छ । त्यस्तै साहित्यमा पनि निजत्व हुन्छ नै । त्यसैले  विषय एकै जस्तो भए पनि प्रस्तुतिमा  पृथकता हुन्छ । हो केही  वर्ष यता म  अनुसन्धानात्मक आख्यानमा केन्द्रित छु । मेरो एक अग्रजले सुझाउनु भएको थियो स्वास्थ्यले साथ दिँदा नै हो अनुसन्धानात्मक पुस्तक लेख्ने, पछि लेख्छु भनेर कहाँ सकिन्छ ? त्यसकारण पनि म वर्तमानमा यही सूत्रमा हिँडेकी छु । अहिले त मेरा पाठकले पनि म सँगबाट त्यस प्रकारको पुस्तकको अपेक्षा राख्नु भएको पाएकी छु ।

यसरी लेख्ने लेखिकाले द्रौपदी अवशेष लेख्दा चाहिँ हुम्लाको स्थलगत अध्ययन गर्नु भएन भन्ने छ नि ?

– हो, लेख्नुभन्दा अघि म गइनँ । तर  म पहिला  नै  हुम्ला  पुगेकी छु । प्रतिनिधि पात्रहरूलाई प्रत्यक्ष भेटेकी छु  । लामै संगत पनि गरेकी छु । त्यही समाजमा बाँचिरहेको परिवारसँग एकै भान्छामा खाएकी पनि छु । कोभिडको समय हुँदा लेख्न भन्दा ठिक अघि भने  म त्यहाँ जान सकिनँ । तर मेरो मानसपटलमा सबै थियो । यदि फेरि  जानु पर्छ नत्र मेरो कथा पूर्ण हुन सक्दैन भन्ने लागेको भए जसरी लेख्दा लेख्दैको अर्को उपन्यासलाई  अध्ययन नपुगेकोले  थाती राखेकी थिएँ  त्यसरी नै यसलाई पनि थाती राख्ने थिएँ । या त्यस विषयमा प्रवेश गर्ने नै थिइनँ ।

हुम्लाका माननीयले छक्क बहादुर लामाले पुस्तकको भूमिका लेख्ने क्रममा  पाण्डुलिपि पढेपछि  मलाई सोध्नु   भएको थियो,”लामै समय बस्नु भएको थियो हो हुम्लामा ?”  मैले भनेकी थिएँ, “तत्काल त होइन । पहिलाका कुरा मेरो  स्मृतिमा ताजा थियो र त  म ठाउँ, परिवेश, कथाप्रति आफू पहिला स्पष्ट भएर नै  जिम्मेवारीपूर्वक प्रस्तुत गरेकी हुँ ।”

खाली समय कसरी बिताउनु हुन्छ ?

– एक आमा, एक गृहणी, एक जागिरे या व्यवसायी, विद्यार्थी अनि  एक लेखकको भूमिकामा भएको कुनै पनि नारीसँग खाली भन्ने समय होला र ? हामी नारीमा  अभावको कुरा गर्ने भने सबै भन्दा ठुलो अभाव समय कै हुन्छ भन्ने लाग्छ । र  समयको व्यवस्थापन गर्नु ठूलो  चुनौती हो हाम्रो । एकान्तमा बसेर यति लेखिसक्छु भनेर केही समय सबै कुराबाट टाढा भएर  लेखिबस्ने सुविधा हामी नारीलाई छैन । घर भान्छा गर्दै लेख्ने हो । कुकरको सिठी सँग सोच्ने हो । त्यसले गर्दा खाली समय नै हुँदैन । कहिलेकाहीँ खाली बनाउनु पर्छ ।

लेख्दाको कठिनाइ के कस्ता हुन्छन् ?

– समय एक भयो । अर्को कुरा हालको बसाइँ प्रदेशमा छ । आजसम्म धेरै जस्तो विषय उठान विषय घर देशको छ मेरो । नेपाल  गएको बेला आफ्नो लेखनको लागि सामग्री भेला पार्न बढी व्यस्त हुनुपर्छ । चाहना हुँदा हुदै पनि आफन्त  साथीहरूलाई पनि समय दिन सकिरहेकी छैन । त्यसले गर्दा उहाँहरूले मसँग मन दुखाएको पनि बुझेकी छु ।  अरू त खासै कठिनाइ छैन ।  अब त भर्खर पकाउन सिकेको भान्छे जस्तो पनि त  होइन । लेखन अनुभव सँगालेको पहिलो पुस्तक आएकै झन्डै तिन दशक भएछ । लेख्छु भनेर सामग्री भेला पारे, पारेर लेख्न बसे पछि लेख्नको लागि लामो समय लाग्दैन । तर कहिलेकाहीँ समय अभावको कारण  चिया उम्लिएर जस्तै पाकिरहन्छ मन । पोलिरहन्छ भतभती । कथाले अँठ्याएको हुन्छ, पात्रले साथ नछाडेर हिँडिरहेको हुन्छ साथै । तर विविध कारणले समय दिन सकिएको छैन भने अति नमज्जा लाग्छ । जति सुकै समय तालिका या योजनामा चल्छु भने पनि नारी भएकै कारण थप जिम्मेवारीको कारण कहिले त्यस्तो भै दिन्छ ।

तपाईंले बढी आख्यान र कविता लेख्नुहुन्छ । तपाईंलाई गीत, कविता, नियात्रा, नाटक जस्ता  अन्य साहित्यिक  विधा मन पर्दैन र ? तपाईंले गीत पनि लेख्नु भएको छ ?

– हरेक विधा मन पर्छ । अझ  अरूले कविता वाचन गरेको सुन्नु मेरो रुचिको विषय हो । नियात्राले नदेखेको ठाउँ, परिवेश, सम्पदा, इतिहास देखाउँछ । नाटकमा आफ्नै सुन्दरता छ । गजल, मुक्तकले उसै गरी छुन्छ । म लेखनको हिसाबले हालसम्म  कथा, गद्य, कविता र उपन्यासमा विधामा छु । २०५१ सालमा पहिलो पुस्तक प्रकाशित भएको आधारलाई मान्ने हो भने झन्डै ३ दशक हुन् लागेछ यी विधामा केन्द्रित भएको । मलाई यसमा  प्रस्तुत हुन सहज लाग्छ । कथा, कविता र उपन्यासको लागि म  सर्जक हुँ भने अरू विधाको निम्ति  विशुद्ध पाठक मात्र हुँ । अन्य विधामा १/२ रचना सिर्जना नगरेको होइन तर त्यो कसैले पत्रिकाको लागि या विशेष अवसरमा लेख्नै पर्ने भएर मात्र लेखेकी हुँ । गीत लेखेकी छु । त्यो पनि अनुरोधमा । २/४ प्रकाशित छन् । ३ वटा ले आवाज र संगीत पनि पाएको छ । तर म त्यो सिर्जनामा त्यति सन्तुष्ट हुन सकिनँ । त्यो हुँदा बाहिर आएकी छैन । अलि पछि आउँला पनि ।

आफ्नो लेखनमा तपाईंले धेरै नै मिहिनेत गर्नुहुन्छ भनेर सुन्न पाइन्छ, कति पटक पुनर्लेखन गर्नुहुन्छ ? यहाँको लेख्ने तरिका भन्नुस् न ।

– पहिला त विषयवस्तु अनुसारको अध्ययन अनुसन्धान गर्नु पर्यो । थिम ,प्लट निर्माण र पात्र छनोटका काम गर्छु ।  र पहिला रूपरेखा तयार पर्छु  केही पेजमा । त्यसपछि हातले लेख्न सुरु गर्छु । मैले प्रथम ड्राफ्ट सबै कापीमा नै लेख्छु । त्यसपछि सिधै कम्प्युटरमा टाइप गर्दिनँ ।  स्क्यान गरी टाइप गर्न पठाउँछु । टाइप गरेर आए पछि प्रिन्ट गरेर थप्नु पर्ने ठाउँमा मार्क गर्दै पढ्छु । त्यस पछि  कम्प्युटरमा नै सिधै थप घट गर्ने काम गर्छु । पहिलो पटक कम्प्युटरको काम सकेपछि पुन प्रिन्ट गरेर पढ्छु र पहिला झैँ चिनो लाउँदै फेरि काम गर्छु । यो काम कम्तीमा चार देखि ५  पटकसम्म पटकपटक गरेको सम्झना छ ।

तपाईं जस्तै लेखक बन्न चाहने दिदी बहिनीहरूलाई बताइदिनु हुन्छ, सफल लेखक बन्न के गर्नु पर्छ ?

– दिदी बहिनीको लागि भन्नु पर्दा हामी नारीलाई समयको कठिनाइ हुन्छ नै । हाम्रो  प्राकृतिक बनावट, सामाजिक, सांस्कृतिक कारण यसो हुन गएको हो भन्छु ।अझै पनि  हाम्रा कामहरू नारी र पुरुष अर्थात् लिङ्गअनुसार विभक्त छन् । एकाध अपवाद बाहेक अधिकांश घरभित्र का काम हामी नारीको जिम्मेवारीभित्र परेको पाइन्छ । विवाह पछि झन् यो कार्य विभाजनको स्पष्ट रेखा देख्न सकिन्छ । लामो परम्परा बनेर रहेको हुँदा सबैले मनन गर्दा गर्दै या बुझ्दा बुझ्दै पनि यसमा परिवर्तन हुन सकेको छैन ।  त्यसकारण पनि नारीलाई कठिनाइ भएको हो ।

हिजोको दिनमा नारी धेरै समय  घरभित्र मात्र सीमित भएको बेला यसरी कार्य विभाजन भयो त्यसैले आजसम्म निरन्तरता पायो । आज महिला बाहिर हरेक क्षेत्रमा पुरुषको बराबरीको दक्षता प्रस्तुत हुँदा पनि घर भित्रको त्यो जिम्मेवारीमा  भने त्यति परिवर्तन भै नसकेको अवस्था छ । (हुन त अब त प्रविधिको सहयताले पुरुषले पनि गर्भधारण गरेको बच्चा जन्माइसकेको युग हो यो ।) तर  प्रकृतिको कुरा गर्दा नारीले गर्भधारण गर्नु, बच्चा जन्माउनु, जन्मिइसके पछि दिनभरको स्याहारसम्भार गर्नु, र रातिमा पनि उठेर स्तनपान गर्नु पर्ने हुन्छ ।

मलाई अनुभव छ एउटा बच्चाको लागि एक आमा कम्तीमा पाँच वर्ष रातको पुरा निद सुत्न पाउँदिनन् । ती कर्तव्य पूरा गर्दै, नारीका घरायसी दायित्व पूरा गर्दै, आफ्नो बाहिर  जागिर गर्दै लेखनमा समय जुटाउनु पर्ने पनि हुन्छ । हामी नारीले कुनै त्यस्तो फुर्सदिलो समय आउँछ र लेखुँला भनेर समय पर्खिबस्नु  हुँदैन । किनकि त्यो समय आउँदैन । लेख्न नसकेको बेला पढ्न चाहिँ नछुटाउनु होस् । पढ्नु पनि लेख्नुकै भाग हो । लेखपढलाई साथीकै लिस्टमा राख्नुहोस् । मैले निद्रासँग समय सापटी लिएर निकै कठिन बाटो हिँडेकी हुँ र हिँड्दै पनि छु । निरन्तरता आवश्यक छ । हतोत्साहित गर्ने तत्त्व तमामलाई लाग्न सक्छन् । तर त्यसबाट थाक्ने, सुस्ताउन या पछि हट्ने  छुट छैन । पछि पछि लेखपढ आफैमा एक  राम्रो ‘बानी’ जस्तो बन्न जान्छ । कलमले मीठो लय आफैँ पहिल्याउँछ ।

तपाईं पुस्तक निकाल्ने अर्थात् लेख्ने भए पछि नेपाल गइहाल्नु हुन्छ ? के यो कुरा साँचो हो ?

– यसै पनि म यहाँ विद्यालयमा हुने लामो गर्मी बिदा छोराहरू लिएर नेपाल जान्छु । हो मैले विषयवस्तु अनुसार स्थलगत अध्ययन गर्नको लागि पनि समय मिलाएर नेपाल गएकी छु ।  भारत पनि गएकी छु लेखनको लागि अध्ययन कै सिलसिलामा । योगमायाको विमोचनको लागि म गएकी हुँ । तर अर्की आइमाई, चीरहरण या द्रौपदी अवशेष कुनै पुस्तक विमोचनमा म गएको होइन । चीरहरण यहीँ विमोचन भएको थियो । त्यसको तिन महिना पछि  म गएको बेला त्यहाँ पनि कार्यक्रम राखिएको थियो, विमोचनको लागि गएकी होइन । मेरा अग्रज र समकालीन साथीहरूले भन्नुहुन्छ, “पुस्तक प्रकाशनको २/३ महिना प्रमोसनको लागि समय दिनुपर्छ तिमीले ।” प्रकाशकले पनि भन्नुहुन्छ, “बाहिर जिल्लामा लेखकलाई बोलाइदिनु पर्यो भन्ने कुरा आएको छ ।” फेरि कुरा त्यही समयको आउँछ । त्यसको लागि त्यतिका समय  जुराउन सहज छैन । परिवारको सहमतिमा यसरी समय जोहो गरेर अध्ययन गर्न, लेख्न पाएको छु त्यसमा धन्य छु !