१४ वर्षे उमेरमा चलचित्र उद्योगमा छिरेर लगातार २४ वर्षयस उद्योगलाई आफ्ना स्वर्ण दिनहरु दिएर चलचित्र उद्योगलाई गुन लगाउने अभिनेत्री करिश्मा मानन्धर अहिले चलचित्र उद्योगभन्दा टाढा रहे पनि दर्शकले उनलाई भुल्न सकिरहेका छैनन् । त्यसैले त उनी अमेरिकाको बाल्टिमोरमा बसे पनि उनलाई माया गर्ने दर्शकहरुले उनको एक झलक पाउन टाढाटाढाबाट डाक्ने गरेका छन् ।

स्कूले शिक्षा मात्र पाएकी करिश्मालाई त्यसो त नाटक, नृत्य, चलचित्र केही पनि थाहा थिएन । यद्यपि, त्यो हेर्न भने उनलाई रुचि थियो । जीवनलाई पछाडि फर्केर हेर्दा उनलाई अहिले यस्तो लाग्छ, यत्तिका वर्ष कसरी चलचित्र उद्योगमा बिते होलान् !

 

पहिलो चलचित्र

‘सन्तान’ चलचित्रबाट यस उद्योगमा छिरेकी करिश्मालाई उनको अभिनय प्रतिभाले भन्दा पनि उनको अनुहारको ‘ग्ल्यामर’ले अरुलाई आकषिर्त गर्‍यो । त्यसैले त चलचित्रका निर्देशक स्वर्गीय प्रकाश थापाले करिश्माको हजार अज्ञानताका वावजूद ‘सन्तान’मा खेलाई छाडे । कडा स्वभावका स्वर्गीय थापाले उनलाई कहिलेकाहीँ त लठ्ठीले समेत लघेर्ने गर्थे, भनेको नमान्दा-नटेर्दा ।

बानेश्वरकी एउटी साधारण केटी चलचित्र उद्योगमा प्रवेश गरेपछि उनले आफूलाई धेरै सुधार गर्नुपर्ने आवश्यकता महसूस गरिन् । तरै पनि निर्देशक शम्भु प्रधानले उनलाई ‘मायालु’मा एउटा पर्ूण्ा नायिकाको भूमिका दिए । जहाँ रुनु, कराउनु, भावुकता देखाउनु, हाँस्नुका अतिरिक्त नृत्य पनि गर्नु पर्दथ्यो । करिश्मालाई नाच्नु काउछो खेलाउनु सरह थियो, जसले उनलाई भतभति पोल्थ्यो । तर गाली गर्दै, लठ्ठी देखाएर तर्साऊदै नृत्य निर्देशक वसन्तजङ्ग रायमाझीले उनबाट काम लिएरै छोडे ।

करिश्मा मानन्धर

मुम्बई अनुभव

‘मायालु’मा काम गरिसकेपछि उनलाई महसूस भयो, मेरो कर्मथलो चलचित्रबाहेक अरु हुन सक्तैन अब । यसपछि उनी आफूलाई समयअनुसार ‘अपडेट’ हुन मुम्बई पुगिन्, जहाँ उनले मधुमति नामकी चर्चित भारतीय कलाकारसँग अभिनयको प्रशिक्षण लिइन् । त्यतिबेला तब्बु, करिश्मा कपूरहरू पनि मधुमतिबाटै प्रशिक्षण लिइरहेका थिए । त्यहाँ पुगेपछि उनलाई थाहा भयो- अभिनय केटाकेटीको खेल होइन । यो एउटा कला हो र यसमा डुब्न सके जीवनकै सबैभन्दा उत्तम काम गर्न सकिन्छ ।

छ महिने अभिनयको प्रशिक्षणपछि चर्चित टेलिश्रृंखला ‘चन्द्रकान्ता’का निर्देशक सुनील अग्निहोत्री नयाँ अनुहारको खोजी गर्दै मधुमतिको प्रशिक्षणशाला आइपुगे । करिश्माको सौन्दर्यबाट मुग्ध सुनीलले उनलाई तत्काल ‘चोरों की बारात’मा अनुबन्ध गरे । चलचित्रको सुटिङ सकिएपछि उनको कामबाट प्रभावित सुनीलले अन्य दुई चलचित्रका लागि अनुबन्ध गर्ने कुरा गरिरहेकै बेला काठमाडौँ फर्किन् । जसबेला चर्चित छायाँकार गौरीशंकर धुँजुले एउटा चप्पलको विज्ञापनमा करिश्मालाई खेलाए ।

 

विनोद मानन्धरसँगको सम्बन्ध

चलचित्र भनेपछि हुरुक्क हुने विनोद मानन्धरले ‘कस्तुरी’ चलचित्रमा नयाँ अनुहारको खोजी गर्दै गरेको बेला सोही चलचित्रका छायाँकार धुँजुले करिश्मासँग भेट गराइदिए । चलचित्र ‘कस्तुरी‘ बेलायतमा छायाँकन भएको एक मात्र चलचित्र साबित भयो तर चलचित्र सकिएपछि विनोद करिश्माको प्रेममा गम्भीर आशक्त भए । बिहेको प्रस्तावसमेत राखे, दुई महिनासम्म सोचेर उनले विनोदसँग बिहे गर्न राजी भइन् ।

चलचित्रको सीमित बजार, चर्को प्रतिस्पर्धा, असुरक्षित जीवन- अनेक सोचेर विनोदसँग बिहे गर्नु नै उनले उत्तम ठानिन् । पहिले नै खेल्न स्वीकृति जनाइसकेका ‘अरुणिमा’ र ‘मनकामना’मा काम गरेर उनी उद्योगबाट संन्यास लिनेबारे सोचिरहेकी थिइन् । उनी एउटा असल श्रीमती र आमा हुन चाहन्थिन् । तर ईश्वरले उनका बारेमा अर्कै सोचेका थिए ।

 

द किसिङ्ग स्क्याण्डल

‘मनकामना’मा शिव श्रेष्ठ र करिश्माबीचको अत्यन्तै अन्तरङ्ग ओठ चुम्बन सर्वाधिक चर्चाको विषय रह्यो । त्यो चुम्बनले दर्शकहरूलाई चुम्बकझैँ तान्यो र मनकामना त्यो बेलाको हिट चलचित्र बन्न सफल भयो । त्यसपछि भुवन केसीले करिश्मालाई केन्द्रविन्दु बनाएर ‘सपना’ चलचित्र बनाउने भए । उद्योगबाट संन्यास लिनेबारे सोचिरहेकी करिश्मालाई भुवन केसीको प्रस्तावले फेरि उद्योगमै फर्कन बाध्य पार्‍यो । सपना पनि त्यो बेलाको अर्को सुपरहिट चलचित्र साबित भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

यसपछि उनको जीवनमा अर्को घटनाले सबैसामू छर्लङ्ग हुने अवसर पायो । ‘महादेवी’ चलचित्रमा भुवन केसीले उनको ओठमा चुम्बन गर्ने दृश्य खिच्दा निर्देशक नारायण पुरीले विनोद मानन्धरबाट पिटाई खानु पर्‍यो ।

करिश्मा यतिबेला सम्झन्छिन्- ‘त्यो बेला मलाई यस्तो लाग्यो, एउटी नारीको अस्मितामाथि धावा बोलिदैछ । मलाई त्यसरी खिचेको पटक्कै मन परेन । वरिपरि स्कूले केटाकेटी, वयस्क मान्छेहरू भुवन केसीले ओठैमा जबरजस्ती ‘किस’ गरिरहेको दृश्य हेरेर रमाइरहेका थिए । उनीहरू थपडी मारिरहेका थिए । मलाई त्यो एउटा ठूलो ‘इन्सल्ट’ गरेजस्तो लाग्यो । फेरि त्यसबेला मेरो गर्भमा छोरी (कविता) थिई । म बढी नै भावुक भएकी थिएँ । म केटाकेटी नै थिएँ, त्यो अवस्थाको सामना कसरी गर्ने भन्ने बारे मलाई थाहा थिएन । अहिले त्यस्तो अवस्था आइपरेको भए मेरो समाधानको बाटो नै अर्कै हुन्थ्यो होला ! त्यसपछि त्यो दुर्घटना घट्यो, जुन अहिले सम्झँदा नभएको भए हुन्थ्यो जस्तो लाग्छ ।’

 

करिश्मा र राजेशको हिट जोडी

उनको प्रतिस्पर्धामा मौसमी मल्ल, कृष्टि मैनाली, गौरी मल्लजस्ता अनेक प्रतिभासम्पन्न नायिकाहरू थिए । तर समयबाट पाठ सिक्ने करिश्माले तिनलाई उछिन्ने मात्र होइन, गतिला भूमिका गर्नसमेत भ्याइन् । यो कुरा अलग हो कि देशकै चलचित्र उद्योगले राम्रा चलचित्र दिन नसकिरहेको बेला अभिनयका दृष्टिकोणले अत्यन्तै उच्चस्तरीय भूमिकाका लागि भने उनले अझै पनि खाली महसुस गर्नु परिरहेको छ ।

त्यसो त करिश्मासँग शिव श्रेष्ठ र भुवन केसीजस्ता पुराना कलाकारदेखि दिलिप रायमाझी, निखिल उप्रेतीसम्मका नयाँ कलाकारले खेल्ने अवसर पाएका छन् । तर उनको जोडी सबैभन्दा बढी राजेश हमालसँग सुहाएको धेरैले अनुभव गर्छन् । त्यसैले पनि होला, करिश्माले आफूले बनाएको पहिलो चलचित्र ढुकढुकीमा राजेशलाई नै खेलाइन् । राजेश हमालसँग नै अहिलेसम्म सबैभन्दा बढी चलचित्र खेलेकी छिन् करिश्माले ।

उनका खातामा सन्तानदेखि मनकामना, सपना, साथी, वसन्तीलगायत अन्य सफल चलचित्रको नाम गाँसिएको छ । जसबाट उनी सन्तुष्ट छिन् । सबैभन्दा सन्तुष्ट त आफूले सोच्दै नसोचेको क्षेत्रमा लाखौँ दर्शकको ढुकढुकी बनेर बाँच्न पाउनु नै रहेको छ ।

 

कलाकारपछि निर्माता

विनोद पनि चलचित्र भनेपछि हुरुक्क हुने र करिश्मा पनि शनैशनै यसैमा हराउँदै जाने भइसकेपछि उनीहरूले कालान्तरमा चलचित्र निर्माण गर्नेबारे सोचे । लोकप्रियताको शिखरमै रहेको बेला चलचित्र निर्माण गरेर एउटा सुनिश्चित भविष्य बनाउने र नेपाली चलचित्रलाई अहिलेको अवस्थाभन्दा भिन्न बनाउने उनको योजना थियो । त्यही योजनाअनुसार शुरुमा आफ्नो लगानी नबिग्रिने र नडुब्ने उद्देश्यले ‘ढुकढुकी’ बनाइन् । उनी चलचित्रको गीत रेकर्डिङ्गदेखि कथा लेख्नेसम्मका कुराहरूमा गम्भीर रुपमा सहभागी भइन् । कामप्रतिको चाख र एउटा परिपक्व युनिटका कारण यो चलचित्र कतिखेर शुरु भएर कतिखेर सकियो उनलाई समेत थाहा भएन । चलचित्रको सुटिङ्ग हरेक दिनको एउटा पिकनिकजस्तो थियो । चलचित्रले पनि राम्रो व्यापार गर्‍यो । यसबाट उत्साहित बनेपछि उनले अर्को चलचित्र ‘जुनेली’ बनाउनेबारे सोच्दै थिइन् तर त्योभन्दा अघि नै ‘बाबुसाहेब’को कथाले उनलाई आकर्षित गर्‍यो र सो चलचित्र बनाउने निर्णय गरिन् । सुस्मिता केसीले लेखेको यो कथामा निर्देशक रमेश बुढाथोकी छानिए र सुटिङ्ग पनि शुरु भयो । उनको लगानीको पहिलो चलचित्रले उनलाई जुन मीठो अनुभव दिएको थियो, दोस्रो चलचित्र ‘बाबुसाहेब’ले उनलाई यति तीतो अनुभव दियो कि त्यसपछि उनले फिल्म निर्माणको फ पनि उच्चारण गर्न चाहिनन् ।

बाबुसाहेब दुई वर्ष समय लगाएर ७० लाख रुपियाँ ऋणमा बनेको चलचित्र थियो । यो फिल्मले त्यो बेला १० लाख पनि नउठाएपछि करिश्मा नराम्रोसँग उद्योगबाट बिरक्तिइन् । चलचित्रको निर्माणको दिनदेखि नै यति विघ्नबाधा र अड्चनहरू आइलागे कि चलचित्र पूर्ण रूपमा बनिसकेपछि एक महिनासम्म त उनले कसैसँग पनि कुरा गर्न रुचाइनन् । चलचित्र फ्लप भयो भन्ने जानिसकेपछि त उनलाई कसैको पनि मुख हेर्न मन लाग्दैनथ्यो । यस्तो विरक्तिबाट पार पाउन उनले नयाँ बहाना खोज्न थालिन् ।

 

प्रवासको यात्रा

जीवनभरि कमाएको पैसा एउटा चलचित्रले पूर्ण रुपमा निमिट्यान्न पारेपछि त्यो पैसा उठाउन उनी अमेरिका छिरिन् । अमेरिका बसाइ उनका लागि शिक्षाप्रद रह्यो । उनले त्यतिबेला थाहा पाइन्, स्वदेश के हो ? घरपरिवार, श्रीमान् र छोरी को हुन् ? देशको अशान्ति के हो ? बाहिर गएर काम गर्नुको पीडा के हो ? शिक्षा, साहित्य र कलाको महत्त्व के हो, यी सबै कुरा अझै गम्भीर रुपमा बुझ्न पाइन् । घरमा वरको सिन्को पर नसार्ने करिश्माले अमेरिकाको बाल्टिमोरमा बर्गर बनाउनु पर्दा उनलाई जीवनको अर्को पाटोबारे पनि ज्ञान भयो ।

 

करिश्माको योजना

चलचित्र निर्माणबाट धोका भए पनि उनलाई चलचित्र मोहले भने त्यागेको छैन । उनलाई भविष्यमा चलचित्र निर्देशक हुने इच्छा छ । अमेरिका बसाइको क्रममा उनले चलचित्र निर्देशनसम्बन्धी कला सिक्ने इच्छा र नेपालमा अहिलेको पारम्परिक चलचित्र निर्माणलाई चुनौती दिने मन छ ।

तर त्योभन्दा पहिले आफ्नी आमा र छोरीलाई अमेरिकाका केही घुम्नलायक् ठाउँमा घुमाउने योजना छ ।

धेरै कुरा हिजोआज छोरी कविताका लागि योजना बनाउने गर्छिन् आफ्नालागि भन्दा पनि । उनलाई लाग्छ- छोराछोरी मानिसहरूलाई ईश्वरको सबैभन्दा सुन्दर उपहार हो । त्यसैले पनि आफ्नालागि भन्दा कविताका लागि उनको योजना धेरै छन् ।

 

अहिलेकी करिश्मा

तपाईंले अहिले करिश्मालाई भेट्नु भयो भने अभिनेत्री करिश्माका रुपमा पाउनु हुन्न । उनको जीवन, उनले भोगेका घटना-परिघटना, जीवनको उतार-चढावले उनलाई एउटी विदुषी बनाएको छ । उनका हरेक वाक्यलाई तपाईंले एउटा उद्धरण बनाउन सक्नु हुन्छ । उनका हरेक विचार तपाईंका लागि लाभदायक हुन सक्छन् ।

(२०५९ मा इनशा डटकममा प्रकाशित फिचर ।)