कचहरी जारी थियो । सतीदेवीले प्राण छोडेको पनि २७ घण्टा पुगिसकेको थियो । अघिल्लो दिनदेखि विजयपुरवासीहरू रमकान्तको घरमा थिए । बूढाबूढी, आइमाई र केटाकेटीहरूको ओहोरदोहोर चलिरहेको थियो । तुलसाको मोठ नजिकै गोबरले लिपिएको थियो । अघिल्लो दिन लिपिएको भूँइमा कतै पनि चिस्यान थिएन । सतीदेवीको पार्थिव शरीर न त मठ नजिकै थियो न त लिपिएको ठाउँमा नै ।

 

दुबै थरिले प्रतिष्ठाको विषय बनाएकोले समाधिले समस्याको रुप लिएको थियो ।

आँगनको दुई कुनामा अन्तिम संस्कारका लागि तयार पारिएका सामानहरू छरपष्ट थिए । उत्तरपट्टि हरिया बाँसका घारा, बाबियोको डोरी, पिताम्वर, सेतो कोरा, धानको लावा, शंख, कुश, घ्यु, र खुद्रा पैसाहरू राखिएको थियो भने दक्षिणपट्टि काठको बाकस, एक बोरा नुन , खाडल खन्न तयार पारिएका कुटा र कोदालाहरु…..। लाग्थ्यो यहाँ दुई जनाको सङ्गै मृत्यु भइको छ ।

गाउँलेहरू दुई समूहमा विभाजित थिए । एक थरिले सतीदेवीको पार्थिव शरीरलाई क्रिस्चियन परम्परा अनुसार दाहसंस्कार गर्न चाहन्थे । अर्को थरिले हिन्दू परम्परा अनुसार । दुई दिनदेखि लास उठ्न सकेको थिएन । लासमाथिको विवाद लम्मिदै हात हालाहालसम्म पुग्न थालेको थियो । दुबै थरिले प्रतिष्ठाको विषय बनाएकोले समाधिले समस्याको रुप लिएको थियो ।

वैशाखको दोस्रो दिन थियो । बिहानैबाट सूर्यको ताप हृवात्तै बढेको थियो । बिस्कुन सुकाए झैँ सतीदेबीको पार्थिव शरीर आँगनमा लम्पसार थियो । लासको शिर र गोडातिर एक एकवटा पंखा लगाइएका थिए । झिंगाको आक्रमण तीव्र हुँदै थियो । कता कता लासबाट गन्ध आउन थाले जस्तो लाग्थ्योे । रमाकान्त मृत श्रीमतीको छेऊमा बसेर झिंगा धपाइरहेका थिए । उनको हातमा गम्छा थियो । त्यही गम्छाको सहायताले उनले भिंmगाको आक्रमण विफल पार्दै थिए ।

 

शंका, इश्र्या, असहयोग र स्वार्थ गाउँको चिनारी बन्दै गइरहेको थियो । आफ्नै गाउँ फरक ठाउँ जस्तो । अमेरिका र तेहरान जस्तो । हिन्दुस्थान र पाकिस्तान जस्तो ।

विजयपुरवासीहरू दुई कित्तामा विभाजित थिए । दुईछोराहरूको विभाजनसङ्गै यो स्थिति आएको थियो । यही विजयपुर गाउँ हो जुन गाउँ कुनै बेला एकताका लागि परिचित थियो । गाउँ गाउँ जस्तो नभएर एउटै घर जस्तो थियो । सबै गाउँलेहरु एउटै घरका परिवार जस्ता थिए । हरेको खुसीमा हाँसो मिसाउने र दुःखमा आँसु मिसाउने परम्परा नै बसेको थियो । कसैले आपूmलाई एक्लो महसुस गर्नु पर्दैनथ्यो गाउँमा । दुःख सुखमा सधैं सङगै हुन्थे । मर्दाको मलामी र जिउँदाको जन्ती भन्ने उखान सायद यही विजयपुर गाउँबाट सुरु भएको हो । विजयपुरले आफ्नो नाम अनुसारको काम गरेर आफ्नो क्षेत्रमा प्रसिद्धी कमाएको थियो । तर पछिल्लो समय गाउँ गाउँ जस्तो थिएन । विजयपुरमा पराजयका संकेतहरू देखिन थालेका थिए । आफन्त आफन्त जस्ता थिएनन् । शंका, इश्र्या, असहयोग र स्वार्थ गाउँको चिनारी बन्दै गइरहेको थियो । आफ्नै गाउँ फरक ठाउँ जस्तो । अमेरिका र तेहरान जस्तो । हिन्दुस्थान र पाकिस्तान जस्तो ।

गाउँलेहरू बीच दूरी बड्न थालेको त्यस्तै डेढ दशक मात्रै भए होला । यो डेढ दशकले डेढ सय पुरानो परम्परामा दरार ल्याएको प्रष्टै देखिन्थ्यो । बेला बखत दुई समूहबीच भनाभन् समेत हुने गथ्र्योे । आज मात्रै पनि पटक पटक भनाभन् भयो सतीदेवीको दाहासंस्कारको विषय लिएर । मृतकको घरमा मूर्दा शान्ति छाउनु पथ्र्यो । सबै शोक मग्न हुनु पथ्र्यो तर यहाँ यसपटक यस्तो भएन । कोही शान्त रहेन । कसैले आँसु झारेन । आँसुको वर्षा हुनु पर्ने ठाउँमा तुच्छ शब्दहरूको वर्षा भयो । रिसका भावहरूको खोलो बग्यो । आवेगको बाढी आयो सतीदेवीलाई सम्झने रमाकान्त बाहेक कोही भएनन् । छोराहरू पनि कठोर देखिए । सायद छोरीहरू भएको भए रमाकान्तको आँसुमा आँसु मिसाउँथे, दुःखमा दुःख बिसाउँथे । सतीदेवीले छोरीको चाहाना नगरेकी होइनन् तर पतिकै सल्लाहमा सतीले छोरी जन्माउने बाटो बन्द गरेकी थिइन् ।

आफ्नै छोराहरू आफ्ना जस्ता लागेका थिएनन् भने गाउँलेको कुरा त झन् टाढाको कुरा । उनले सतीलाई हेरे र लामो सास फेरे ।

आज रमाकान्तलाई निकै गाह्रो भएको थियो । संसारमा आफू एक्लो भएको महशुस हुँदै थियो । छोराहरू चुम्बकका असमान धु्रब जस्तै आँगनको दुई कुनामा दुईतिर र्फकेर बसेका थिए । हुन त केही वर्षदेखि रमाकान्त र सतीदेवीमा पनि यही स्थिति रहेको थियो । अक्कल झुक्कल बाहेक बोलचाल बन्द थियो । शारीरिक रुपले टाढा थिए । भान्सा र बिस्तरा अलग अलग थिए । एक्लो भएर पनि यसभन्दा पहिला कहिल्यै यस्तो महशुस भएको थिएन । आफ्नै छोराहरू आफ्ना जस्ता लागेका थिएनन् भने गाउँलेको कुरा त झन् टाढाको कुरा । उनले सतीलाई हेरे र लामो सास फेरे ।

एक पटक उनी लामो समय बिरामी परेका थिए । अस्पतालको औषधिले पनि काम नगरे पछि धामी झाँक्रीको साहारा लिएका थिए । औषधि खाने काम र झारफुक गर्ने काम सङ्सङ्गै चल्दै थियो । तर निको भएको थिएन । हरेस् खाइसकेका उनी जेठा छोराको सल्लाहामा चर्चमा पुगेका थिए । उनका जेठा छोरा राजिव केही वर्षदेखि क्रिश्चियन बनेका थिए । केही समयपछि खै केले काम गर्यो उनको स्वास्थ्यमा सुधार आयो । अन्ततः राजिवको आग्रहमा रमाकान्तले पनि धर्म परिवर्तन गरेका थिए । कान्छा छोरा विदुर र सतीदेवीलाई भने जति फकाए पनि जति सम्झाए पनि परिवर्तन गराउन सकेका थिएनन् ।

सतीदेवीसँग बिताएका विगतका मिठा अनुभवहरू आँखा वरिपरि चलचित्र जस्तै घुमिरहेका थिए । उनीमाथि सतिदेवीको अथाह माया थपिदै थियो । आपूmले जति सम्झाउँदा पनि धर्म परिवर्तन गर्न नमानेकी सतिदेवीको मृत शरीरलाई धर्म परिवर्तन गराएर दाहसंस्कार गराउन उनको मनले छुट दिइरहेको थिएन ।

बाबु र आमाको भान्सा डेढ वर्षदेखि अलग भएको थियो । भान्सासङ्गै बेड बिस्तरा अलग भएका थिए । घण्टौंसम्म गफ्फिने उनीहरूको बोलीचाली औपचारिकतामा सीमित हुन थालेको थियो । यस्तो लाग्दै थियो मानांै उनीहरू कहिल्यै श्रीमान् श्रीमती भएनन् । दुःख सुखमा कहिल्यै सहभागी भएनन् । बाबु जेठो छोरातिर थिए भने आमा कान्छा छोरातिर । कुनैबेला मिलेको परिवार भनेर नाम कमाएको रमाकान्तको परिवार छिन्नभिन्न भएको थियो ।

समय घर्किसकेको थियो । रमाकान्त सतीदेवीको मृत शरीर रुगेंर बसेका थिए । कुनै न कुनै निचोडमा पुग्नु बाध्यता बनिसकेको थियो । सहमतिका लागि दुबै समूहबाट दुईदुई जनालाई समस्या समाधानको जिम्मा दिइयो । उनीहरूको निर्णय मान्न दुबै भाइ तयार भए ।
निर्णय आइसकेको थिएन । एकघण्टाभन्दा बढी भइसकेको थियो चार जना एकान्त कोठामा बसेको पनि । तर निर्णय आउन सकेको थिएन । लामो वहसपछि एउटा सहमति बाहिर आयो । मृत शरीरको दाहसंस्कार सतीदेवीका श्रीमान् रमाकान्तको इच्छा अनुसार गर्ने ।
निर्णय रमाकान्तको काँधमा आएर अड्कियो । उनलाई निर्णय गर्न निकै सकस भयो । धेरै लम्ब्याउनु पनि उचित थिएन । उनले यताउति हेरे । आफ्ना उमेरका दौतरीहरू सबै कान्छाका पक्षमा थिए । पूजा कोठातिर नजर दौडाए जहाँ हरेक दिन सतीदेवी घण्टौं बसेर पूजा गर्थिन् । बाहिर तुलसीको मठले केही दिनदेखि पानी पाएको थिएन । उनले पुज्ने देवताहरूले कतै प्रसाद पाए पाएनन् ? उनले हरेक दिन चढाउने अर्घको अभाव सूर्य नारायणले महशुस गरे गरेनन् ? यो रमाकान्तलाई थाहा भएन तर सतीदेवीले हरेक दिन चढाएको पानीले हलक्क भएका तुलसीका बोटहरू ओइलाएका थिए । जमिनतिर शिर झुकाएका थिए । रमकान्तको नजर चारैतिर दौडिरहेको थियो मनसँगसँगै ।

सतीदेवीको मृत शरीरमाथि घात गर्न मनले मानेन । धर्मप्रतिको कट्टरता राम्रैसङ्ग थाहा थियो रमाकान्तलाई । धर्म परिवर्तन गर्न न त सम्झाउँदा मानेकी थिइन् न त थर्काउँदा नै । यतिबेला रमाकान्तले निर्णय लाद्न सक्थे । सतीलाई क्रिश्चियन बनाएर विजय भएको अनुभव गर्न सक्थे । तर यसो गर्न सकेनन् ।

शरीरबाट खलखली पसिना छुटे । रक्तचाप हृवात्तै बढे जस्तो भयो । छट्पटी र उकुसमुकुसका संकेतहरू आँगनभरि छिरालिए । गाउँलेहरू निर्णय कुरेर बसेका थिए । निर्णय सुनाउन रमाकान्तलाई निकै सकस भयो । धेरै सोचे । सतीदेबीलाई श्रीमती बनाएर भित्राउँदादेखिका कुराहरू एकपछि अर्को गर्दै आँखा वरिपरि दौडिन थाले । उनी जुरुक्क उठे र निर्णय सुनाए । हिन्दु परम्परा अनुसार सतीको दाहसंस्कार हुने भयो । । जुन मरेपनि सतीदेवीको हकको कुरा थियो ।

 

विदुर जलिरहेको चिता नजिकै थिए । राजिव केही टाढा थिए केही समूहसँगै । रमाकान्तलाई जेठासँगै फर्कन पनि गाह्रो भयो । कान्छासँगै बस्न पनि सकस भयो ।

कान्छा छोरा विदुर खुसी हुँदै सतीदेवीको पार्थिव शरीर नजिकै गए । तुलसाको मोठ नजिकै गोबरले लिपिएको ठाउँमा सतीदेवीलाई राखियो । केही गाउँलेहरू अन्तिम संस्कारका लागि तयारी गर्न थाले भने केही निन्याउरो अनुहार लगाएर आँगनको दक्षिणपट्टि राखिएका सामानहरू पन्छाउनपट्टि लागे ।

सतीदेवीको मृत शरीर बबई नदीको तटमा चितामाथि लतमन्न थियो । सतीदेवी जस्ता सतीका भक्तहरू धेरै जलिसकेका थिए यो तटमा । सायद जल्नकै लागि सतीदेवीलाई जस्तो तपस्या अरुलाई कहिल्यै गर्नु परेन । छोराहरू विभाजित थिए । जेठाको नजर पानीमा थियो कान्छाको नजर आगोमा । विभाजित छोरा र गाउँलेहरुले मृत शरीरमाथि पानी छर्के । नमस्कार गरे । कान्छा छोरा विदुरले चिता जलाउन दागबत्ती समाते । तर जेठा छोरा राजिव पछि हटे ।

चिता जल्न सुरु भयो । विदुर जलिरहेको चिता नजिकै थिए । राजिव केही टाढा थिए केही समूहसँगै । रमाकान्तलाई जेठासँगै फर्कन पनि गाह्रो भयो । कान्छासँगै बस्न पनि सकस भयो ।

यतिबेला रमाकान्तसँग न त जेठा थिए न त कान्छा छोरा नै । सँगै मर्ने कसम खाएकी सतीदेवी पनि धुँवा बनेर आकाशमा उडिरहेकी थिइन् । गाउँलेहरूको सान्त्वना पनि पाइरहेका थिएनन् रमाकान्तले । सबैलाई धर्मको नशाले लठ्ठाए जस्तो लाग्यो उनलाई । सबै अफिम खाए जस्ता सबै निकोटिन लिए जस्ता । डेढ वर्षदेखि बस्दै आएको जेठा छोराको घरको ढोका कतै बन्द हुने पो हो कि भन्ने चिन्ता बढिरहेको थियो उनलाई ।

मलामीहरू दाहसंस्कार सकेर सरासर घर फर्कदै थिए । रमाकान्तलाई घरतिर फर्कन पनि सकस हुँदै थियो ।