सम्बन्धमा भएपछि कहिलेकाहीँ आस हुन्छ, उसले मलाई बुझिदियोस् । कमसेकम मलाई गलत नसोचोस्, साथ दियोस् । त्यही आस पूरा नहुँदो हो त मान्छेलाई दुख्ने गर्छ; सायद मैले पनि तिम्रा कुनै अनपेक्षित अपेक्षाहरू पूरा गरेको छैन । र त तिमी बारम्बार मसँग चिच्याउने गर्छौ, कराउने गर्छौ !
हुन त आफ्नै मान्छेसँग हो पीडा पोख्ने । बोल्दै नबोल्नेहरूलाई मलाई यो कुराले पिडा भै’रहेको छ भनेर कहाँ भन्न सकिन्छ र ? हालखबर मात्रै सोध्न पनि हजारौँ पटक मनमा प्रश्नहरूले बुर्कुसी मार्छन् ।
मान्छेहरूले के, कसरी, कुन तरिकाले सोच्छन् भनेर म कहिले पनि सोच्दिनँ । यो सोच्नु पर्ने विषय हो जस्तो लाग्दैन मलाई । मलाई फरक पार्ने मेरो मान्छेले मलाई कसरी लिन्छ अनि कसरी सोच्छ भन्ने विषय मात्रै हो । मेरो परिवारले मलाई के सोच्छ भन्ने कुराचाहिँ म सोचिरहेकी हुन्छु । बाँकी दुनियाँले के सोच्छ र कसरी सोच्छ भनेर सोचियो भने सायद हामी बाँच्न बिर्सन्छम् । मलाई त बाँच्नु छ, फगत सासमात्रै फेर्नु छैन ।
निस्फिक्री ……
मान्छे हुन्छन् नै चञ्चल, स्वभावैले । त्यो चञ्चलता हर कोहीसँग व्यक्त गर्न सकिँदैन । त्यो पल कोही खास व्यक्तिसँग हुँदा मात्रै व्यतीत गर्न सकिन्छ । हर कोहीसँग त्यो चञ्चलता देखिन्थ्यो त त्यो कसरी खास हुन्थ्यो होला र ? खास हुन साँच्चै खास नै हुनपर्छ ।
जान अन्जानमा कुनै पलहरू निकै खास बन्छन् । स्पेसल भन्छन् नि, त्यही क्या ! जहाँ बारम्बार अल्झनुमा पनि मजा हुने गर्छ । कुनै कुनै कल्पनाहरू यस्ता बनिदिन्छन्, जहाँ डुबिरहन मन लाग्ने गर्छ । अल्झिएर हराउँदैमा हराउन नजानेका चिज कति नै पो होलान् र ? हराओस् अनि नआओस् भने नि केही चिज आउँछन्, नबिर्सी आउँछन् । हरेक साल, हरेक वर्ष । कसैले बोलाउन नि पर्दैन । ती आउँछन् नै । ती न कसैले रोकेर रोकिन्छन् न आउन बिर्सन्छन् ।
के कुरा होला ? भनेर सोच्दै हौला तिमी । पत्तो नहोला तिमीलाई । मै भनिदिन्छु नि, हुन्न ?
याद अनि जन्मदिन ।
याद थियो त तिमीलाई तिम्रो जन्मदिन नजिकिएको ?
जन्मदिन नजिकिँदै गर्दा तिम्रो याद होस् या यादमा तिम्रो जन्मदिन होस्, दुवै विशेष नै हुन्छन्/ छन्, मेरा लागि तिमी जत्तिकै । कुरा होस् या नहोस्, विशेष कुरा सदैव विशेष नै हुन्छन् । हैन र ?
कुनै कुनै दिनहरू याद गरिराखेर विशेष महसुस बनाउनै पर्दैन नि ! ती विशेष हुन्छन् त्यस कारण यादमा रहन्छन् । बुझ्यौ ?
तिमी आफैँ विशेष छौ । अब तिमी जन्मेको दिन झन् कति विशेष होला ? तिम्रो कल्पनाको त्यो परिधिभित्र नपर्लान् ती सब ।
विशेष दिनलाई विशेष जसरी नमनाउने तिमी मान्छे सादा अनि सिम्पल । यो जमानामा म सिम्पिलिसिटीबाट प्रभावित छु भने त्यो तिमीबाट छु । हुन त तिमी सानै कुरामा रम्ने अनि खुसी हुने मान्छे, तिमीलाई ठुला ठुला उपहार अनि ठुला ठुला भौतिक वस्तु मन पर्दैन । तिम्रो यही बानी मलाई मन पर्ने सबै बानीमध्येको एक हो । मलाई मन परेको अनि मेरो मनले अँगालेको तिमीलाई जन्मदिनको शुभकामना दिन यो सब कोर्दै छु । कता, के, कसरी, कुन रूपमा सुरु भयो अनि कसरी अन्त्य हुन्छ ? म आफैँ बेखबर छु । बस् यत्ति थाहा छ, तिमीलाई कोर्नु छ । तिम्रो लागि कोर्नु छ । तिमीलाई तिम्रो दिनको एक अँगालो शुभकामना ।
आज तिम्रो दिन, तिमी जन्मेको दिन । हुन त धर्तीमा जन्मेको दिन नै हाम्रो भेट भएको हैन । र पनि तिम्रो जन्मदिनमा मलाई आफ्नै कोही जन्मेको जस्तो लाग्न थालेको २ वर्ष मात्रै भयो । त्योभन्दा अगाडि एकअर्काको अस्तित्व छ भनेर हामी दुवै अन्जान थियौँ । अन्जान व्यक्ति जब आफ्नो बन्ने बाटो तय गरिरहेको हुन्छ तब तब छुट्टै आभास महसुस हुन्छ । मलाई भएको छ के तिमी पनि त्यही महसुस गर्छौ ? अन्जानबाट आफ्नो बनेपछि जुन आत्मीयता हामीले भेट्छौँ, तब एकअर्काको अस्तित्व नै जोडिएको जस्तो लाग्ने गर्दछ ।
जिन्दगीमा अचानक भएका कुराहरू एकदम मिठा हुन्छन् – अचानक भएका भेट, अचानक जोडिएका सम्बन्ध, अन्जानमा गरेका प्रेम अनि अचानक आइपरेका उतारचढाव । आफैँलाई सिनेमा जस्तै लाग्छन् । तिमी पनि जिन्दगीमा अचानक भेटिएको उपहार । मलाई तिम्रो याद मात्रै पनि प्रिय लाग्छ, तिम्रो त के कुरा गर्नु र खै ?
आफैँ बुझ न ल ?
“कता कुन सोचाइमा कता हराउँदै छौँ आजकल तिमी ?”, हिजो तिम्रा प्रश्नहरू यस्तै थिए ।
तिम्रो जन्मदिन नजिकिँदै गर्दा तिम्रा लागी के उपहार दिने भन्ने कुरा म सोच्दिनँ भनेर पनि सोचिरहेकी हुन्थेँ ।
‘भन त तिमीलाई के चाहिन्छ ?’, मैले मौनता तोड्दै सोधेँ । तिम्रो नजिकिँदै गरेको जन्मदिनका लागि मैले उपहार सोच्न नसकेपछि तिमीलाई नै सोध्न करै लाग्यो ।
तिमीले पनि नजाने जत्तिकै गरी सोध्यौ, “किन ?”
“भन न प्लिज ?”, अड्डी कसिरहेँ….
तिमीले एक सेकेन्ड नि ढिला नगरी, सोच्दै नसोची भनिदियौ, “तिमी ।”
म अचम्ममा परेँ । भनिदिएँ, “जिस्किन छोड अनि भन, तिम्रो जन्मदिनमा म तिमीलाई के दिन सक्छु ? तिमीलाई के चिज चाहिरहेको छ ? भन म त्यही दिन्छु ।”
“मलाई तिमीबाहेक केही चाहिन्न । उपहारले उपहार दिन्छन् र ?”
मैले जिन्दगीमा पाएको अनमोल उपहार तिमी हौँ भनेको कुरा तिमीले मलाई व्याख्या गर्दै सुनाउँदै थियौ । म चुपचाप तिमीलाई सुन्दै थिएँ । मानौँ, मसँग प्रतिउत्तर थिएन । र पनि मैले भनिदिएँ, “मलाई तिमीलाई केही दिन मन छ । भन न …….?”
तिमीले मेरो कुरा सक्न नपाउँदै भन्यो, ‘साथ देऊ न ल ?’
“त्यो त जिन्दगीभर दिन्छु नि । तर याद गर्नका लागी सम्झनास्वरूप केही उपहार पो भन्न खोजेकी त !”
“तिम्रो सम्झना आइरहन्छ; सम्झनाका लागि केही दिनु पर्ने जरुरत छैन । मनमा बसेको तस्बिर नै उपहार हुन मेरा लागि । तिम्रो साथ अनि तिम्रो माया कुनै उपहारभन्दा कम छ र ? मलाई तिमी भए अरू उपहार चाहिन्नँ ।”
दुई दिनअगाडिको संवाद मानसपटलमा घुम्दै थियो ।
उपहार अनि म ? माया अनि म ?
तिमी जहिले पनि सुनाइरहन्थ्यौ, “तिमी, माया अनि उपहार मेरा लागि सबै शब्दको अर्थ एकै हो । उपहार मन नपर्ने कोही नभए झैँ तिमीलाई मन नपराउने पनि कोही नहोलान् । तिमी मेरा लागि उपहार जत्तिकै छौँ । उपहार जतन गरिन्छ अनि आफ्नो उपहार आफ्नो मात्रै हुन्छ तिमी पनि मेरा लागि त्यही उपहार हौ ।”
जवाफ जहिले फर्काउने बानी, त्यतिबेला नि म चुप किन हुन्थेँ ?
“तिमी कथा लेख न, हुन्न ? एउटा कुरा, तिमीले १०/१५ मिनेटसम्म भनिरहन सक्छौ । त्यो पनि अनेकौँ तरिकाबाट । हुन त तिमीसँग समय नै कहाँ हुन्छ र ? तिमीलाई म उपहार भए जत्तिकै तिम्रो समय पनि मेरो लागि उपहार झैँ लाग्छ ।”
भेट्नु, गफ गर्नु अनि बल्ल नजिक भइन्छ सोच्नु मिथ्या हो । आत्मीयता त आभास हुने कुरा रै’छ, जुन हरपल मैले पाइरहेको हुन्छु ऊबाट । एक थान स्वरहरू सधैँ उत्सुक नै देख्छु मेरा लागि, भनिरहेका हुन्छन् – ‘यो उमेरमा यति गर्न सक्नेसँग कति क्षमता होलान्, म त्यसमा केही गर्न सक्छु भने सधैँ साथमा छु, नभुल !’
टुटेका मेरा हौसलालाई नि बटुलेर एउटा सुन्दर स्वरूप दिने प्रयास यति छोटो समयमा उसले किन गर्यौ ? थाहा छैन । म एक अन्जान व्यक्तिलाई पलभरमै विश्वास गर्ने साहस कहाँबाट बटुल्यौ ? त्यो सम्झँदा नि चकित पर्छु म । तर आफ्ना नजिककालाई नदुखाउने नि प्रयास हरपल गर्नेछु । तिमी अघि बढ्नु, त्यसैमा मेरो खुसी लुकेको छ । माया आफ्नो अस्तित्व आफैँले बनाउनु, जोगाउनु अनि त्यसैमा रमाउनु । जन्मदिनमा तिम्रा लागि शब्दका शुभेच्छाबाहेक ठुलो केही देखिनँ मैले ।
कुनै कुनै सम्बन्ध त्यसै त्यसै आत्मीय बनिदिन्छन्, झन् त्यसमाथि शब्द र साहित्य, विषय अनि आफ्नै इच्छाले जोडिएका, आफैँ बनेका सम्बन्ध अझ विशेष हुन्छन् । वास्तवमा दुरी हुनु, नजिक हुनु, प्रत्यक्ष भेट्नु, नभेट्नुले फरक पार्दो रहेनछ सम्बन्धको यात्रालाई । यो चेत मैले तिमीलाई भेटेपछि पत्तो पाए, यो मनोरम यात्रा कहिल्यै नटुङ्गियोस् ।
कसरी, कहाँ, कैले, किन यति प्यारो र आत्मीय सम्बन्धको सुरु भयो त्यो मलाई थाहा छैन । तर जसरी भए पनि यो सम्बन्ध सुवासिलो छ, र यस्तै रहिरहोस् । लेख्न त धेरै लेख्न मन छ, के कुरा पहिला लेखम् भनेर सोच्दा सोच्दा केही लेख्नै आएन । हुन त शब्दको पहाडले मात्र पनि सम्बन्धको गहिराइ नाप्दैन । यत्ति भनेँ, मेरो बाटिएको कपालजस्तो तिम्रो जीवन घुमाउरो नहोस्, बाटोमा कुनै मोड-घुम्ती आई नपरोस् । शुभकामना ।
थपिनु भनेको बटुलिनु हो । हजुर एक वर्ष थपिनु भयो । थपिनु भनेको केही कुरा गुम्दा पनि रहेको कुरामा खुसी भइरहनु हो । थपिनु भनेको थपिएको कुरा थाहा पाउनु हो ।
२ वर्ष भनेको लामो समय रहेछ । २ वर्षमा कोही २० वर्षदेखिको सम्बन्धजस्तै घनिष्ठ हुन सक्छ । २ वर्षमा भावनात्मक सम्बन्धहरू रगतको जत्तिकै गाढा हुन सक्छन् । २ वर्ष भनेको लामो समय रहेछ । २ वर्षमा धेरैथोक छुट्दो रहेछ । धेरैथोक फेरि उस्तै नहुने गरी बद्लिँदो पनि रहेछ ।
यो वर्ष र आउँदो २० औँ वर्षसम्म पनि म तिमीलाई उस्तै साथ दिन सकूँ । सम्बन्धमा अब केही नछुटोस् । सम्बन्धमा अब केही नबद्लोस् । बद्लिनु नै छ भने छुटेका कुराहरू फेरि उस्तै हुन् ।
तिमीलाई सधैँ उस्तै कहिल्यै नबद्लिने माया । उत्सव बनोस्, उल्लास छाओस् । जन्मदिन साँच्चै विशेष हुन्छ । तिमी विशेष मान्छे झन् विशेष बनाउनु ।
सम्बन्धमा शब्दको मिठास बेग्लै हुन्छ । अझ विशेष मान्छेको विशेष पलमा बोलेका हरेक शब्दमा शुभेच्छा भेटिन्छ । तिमीलाई आज विशेष दिनमा शब्दमा शुभेच्छाहरू पस्किन चाहन्छु । कसैलाई महसुस गर्न अनि कसैलाई महसुस गराउन दुवै अप्ठ्यारो अनि निक्कै कठिन कुरा हो । मैले तिमीलाई महसुस गराउन कोसिस गरेकी छु, तिमीले आभास गर्छौ गर्दैनौ मलाई तर म प्रयास गरिरहने छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।