आलय उपन्यास नेपाली आख्यानको अग्र्यानिक कृति हो । नेपाली समाजको ग्रामीण परिवेशका महिलाहरुले बाँचिरहेको जीवन भोगाइ र सङ्घर्षलाई जीवन्तरुपमा प्रस्तुत गरिएको यस उपन्यास अमला अधिकारीको पहिलो औपन्यासिक कृति हो । गजलकारका रुपमा नेपाली साहित्यमा पहिचान बनाइसकेकी अमला अधिकारीले आफ्ना भोगाइ, अनुभूति र सङ्घर्षलाई नै विषय बनाएर प्रस्तुत कृति लेखेकी छिन् । विशेषगरी दस वर्षे सशस्त्र युद्धकाल र त्यसपछिका समयमा युद्धले कहिल्यै निको नहुने छाडिराखेका घाउका डोबहरुलाई यस उपन्यासले मिहीनरुपमा देखाएको छ । नेपाली ग्रामीण जनजीवन र अझ खास गरी युद्धपीडित नारीको जीवनभोगाइमा केन्द्रित यो उपन्यास नेपाली समाजको एउटा कालखण्डको दस्तावेज पनि हो ।

कुनै पनि कृति किन लेख्ने ? र त्यसलाई पाठकले किन पढ्ने ? भन्ने प्रश्नहरु सामान्यजस्ता लागे पनि यी प्रश्नहरु साहित्यका गम्भीर विषय हुन् । कृति लेख्नु र पढ्नुको पछाडि खास उद्देश्य रहेका हुन्छन् । उद्देश्य स्पष्ट नभई लेखिएको लेखन तथा पठनको कुनै अर्थ र औचित्य हुँदैन । प्रस्तुत कृति लेखिनुको उद्देश्य त उपन्यासकारले आफ्नो लेखकीयमा नै उल्लेख गरेकी छन् तर किन पढ्ने भन्ने कुरा महत्वपूर्ण छ । यो उपन्यास ग्रामीण समाज र संस्कृतिमा भिजेकी, सशस्त्र द्वन्द्वको अभिघातलाई भोगेकी र स्वअस्तित्व चेतनाले ब्युँझिएकी एउटी नारीको अनुभूति, चेतना र युद्धप्रतिको उसको दृष्टिकोणलाई समेटिएर लेखिएको सङ्घर्षको कथा हो । कृतिमा प्रस्तुत भएको दृष्टिकोण आजका आम नेपाली ग्रामीण महिलाको विश्वदृष्टि पनि हो । उपन्यासमा प्रयुक्त काव्यात्मक भाषा, रोचक प्रस्तुति र विषयवस्तुको गम्भीरताले पाठकलाई सम्मोहित र संवेदित बनाउन सफल भएको छ ।

ज्ञानु अधिकारी

नेपालीमा युद्धसाहित्य नलेखिएका होइनन् प्रशस्त लेखिएका छन् । अन्य विधाका तुलनामा आख्यानमा युद्धका विषयसन्दर्भहरु बढी आएका छन् । तर ती युद्धसाहित्यमा नअटाएको अर्थात् राम्ररी नसमेटिएको पक्षलाई यस उपन्यासमा यथार्थपरक रुपमा प्रस्तुत गरिएको छ । उपन्यासमा मुख्यरुपमा द्वन्द्वपीडित एकल महिलाको जीवनसङ्घर्ष, द्वन्द्वकालीन परिवेशको चित्रण, ग्रामीण जीवनशैलीको जीवन्त प्रस्तुति गरी तीन पक्ष सशक्त रुपमा आएका छन् । नारीलाई नै प्रमुख पात्र बनाइएको यस उपन्यासमा तत्कालीन दस वर्षे सशस्त्र युद्धलाई एउटी सामान्य ग्रामीण नारीकै नजरबाट व्यक्त गरिएको छ । माला र उसकी छोरी बुलबुललाई समाख्याता बनाई उनीहरुले भोगेको समय, समस्या, सङ्घर्ष र जीवनको कथालाई विषय बनाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

द्वन्द्वपीडित एकल महिलाको जीवनसङ्घर्ष
यस कृतिमा महिलाले भोगिआएको नेपाली समाजको गम्भीर विषयलाई प्रस्तुत गरिएको छ । नेपालको सन्दर्भमा पुरुषहरु घर छाडेर कमाउनका लागि लाहुर जाने परम्परा धेरै पहिलेदेखिकै हो । राजनीतिको सन्दर्भमा र जागिरको सन्दर्भमा मात्र नभई अन्य सन्दर्भमा पनि सिङ्गो परिवारलाई छाडेर पुरुषहरु मुग्लान भासिने परम्परा अहिले पनि कायम नै छ । यसरी घरबाहिर निस्कने पुरुषहरुमध्ये कोही उतै मारिने, कोही बेपत्ता हुने, कति रोगी र अपाङ्ग भएर फर्किएको स्थितिमा श्रीमान्का घर, परिवार, आफन्तलाई सम्हाल्ने, व्यवहार धान्ने, घरलाई व्यवस्थित बनाउने, ससाना लालाबाला छोराछोरीहरुलाई हुर्काउने, बढाउने, राम्रो संस्कार सिकाउने काम महिलाहरुले नै गरे । सामाजिक र सांस्कृतिक परम्पराहरुलाई जोगाउने, पारिवारिक सद्भाव कायम राख्नेजस्ता महत्वपूर्ण कामको जिम्मेवारी महिलाले नै उठाए । यसरी आफूलाई, आफ्ना वैयक्तिक रहर र चाहानालाई सम्पूर्ण रुपमा बिर्सिएर सिङ्गो जिन्दगी नै विसर्जन गर्नु सानो त्याग र बलिदान होइन । नेपाली महिलाले परिवारप्रति गरेका यस्ता समर्पण, त्याग र इमान्दारीपूर्वक पूरा गरेका जिम्मेवारीहरु कुनै क्रान्तिभन्दा कम छैनन् भन्ने विषयलाई यस उपन्यासमा सशक्त रुपमा देखाइएको छ ।

अन्तर्जातीय विवाह गरेर पण्डितको घरमा आएकी माला यस उपन्यासको प्रमुख पात्र हो । ऊ बिहे गरेको केही समयपछि नै माओवादी युद्धको चपेटामा परेर श्रीमान् वेपत्ता भएपछि बाँकी जीवन वेपत्ताकी श्रीमतीका पहिचानमा बाँच्न बाध्य हुन्छे । युद्धकै सन्त्रासमा छोरी जन्मनु, घरबाट विस्थापित हुनु, बूढा ससुरा र रोगी सासुको स्याहारसुसार गर्नु, गृहस्थीको अभिभारा उठाउनुजस्ता यावत् सङ्घर्षको कथा उपन्यासमा जसरी राखिएको छ, यो तत्समयको द्वन्द्वपीडित नेपाली महिलाको साझा कथा हो । उपन्यासमा आफ्नै हलीकी छोरीलाई छोराले भगाएर ल्याएपछि बुहारी मान्न बाध्य भएका पण्डितले छोराको अभाव समेत नहुने गरी बुहारीले गरेको त्याग र समर्पणबाट प्रभावित भएर भनेको यो प्रसङ्ले पनि नेपाली महिलाको नलेखिएको एउटा गौरवपूर्ण यथार्थलाई उजागर गरेको छ – हामीले गरेको क्रान्ति सुन्छौ तिमेरु ? बिहे गरेको वर्षदिन हुन नपाउँदै हराएको लोग्नेको हठिलो शरीर र बलियो पाखुराको सम्झना मनमा राखेर आफ्ना छिनिसकेका पाखुराले बारी जोतेकी छे यसले, बूढो ससुरो रोगी सासूको मुखमा माड लाउन । ऊ यो घरको च्यातिएको धुरी टाल्न बाँदर चढेझैँ बाँसको भ¥याङ चढेर छानुमा पुगेकी छे । दिनमा हजारचोटी बाउ खोज्ने छोरीलाई ढाँटीढाँटीकन फुल्याएर राखेकी छे, बाउ भोलिपर्सि आउँछन् भनी–भनीकन । लाऊँलाऊँ र खाऊँखाऊँ उमेरकी यो तरुनीले वर्षको एउटा फरिया फेर्न सकेकी छैन । आफ्नो मन परेको मान्छेसँग बिहे गर्न घरबाट भागेर पहिल्यै युद्ध गरेकी हो यसले । लोग्ने हराएपछि यो मूर्दाजस्तो घर रुँगेर जिम्मेवारीको काँध थापेर अर्को युद्ध गरिरहेकी छे । तिमेरको क्रान्तिको तुलोमा यसको बलिदानलाई जोख्न सक्छौ ?

प्रस्तुत उद्धरणको अभिव्यक्ति नै यस उपन्यासले प्रस्तुत गरेको विश्वदृष्टि हो । नेपाली समाजले अहिले परिवर्तनको जुन सँघारमा टेकेको छ त्यहाँ आइपुग्न हजारौँ, लाखौँ महिलाको त्याग र समर्पणको कथा लुकेको छ । तर ती कथाहरु पुरुषको अहम्को छायामा परेर छोपिएका छन् र छोपिएका यस्तै यथार्थहरुलाई केही मात्रामा प्रकाशमा ल्याउने काम यस उपन्यासले गरेको छ । गृहयुद्धले चिथोरेर गएको नेपाली समाज र संस्कृतिका मूल खम्बा बनेर अडिएका नेपाली नारीहरुको सङ्घर्ष, साहस, धैर्य र आत्मस्वाभिमानलाई गहिराइमा नै पुगेर बुझ्न चाहनेहरुका लागि यो कृति पठनीय देखिन्छ । आफू नागरिक भएको राज्य, समाज र यसले बनाएको विधिविधानप्रति आम नेपाली नारीहरुको धारणा कस्तो छ त ? भन्ने प्रश्नको उत्तर पानि यस कृतिबाट पाइन्छ ।

द्वन्द्वकालीन परिवेशको चित्रण

प्रस्तुत उपन्यास द्वन्द्वकालीन परिवेश र त्यसपछिको समयलाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो । तत्कालीन नेपाली समाजमा माओवादी द्वन्द्वले पारेका सकारात्मक तथा नकारात्मक दुवै किसिमका प्रभाव र परिवर्तनलाई देखाइएको छ । विशेषगरी द्वन्द्वको चपेटामा परेका सर्वसाधारण र उनीहरुले खप्नुपरेका प्रताडनालाई मात्र होइन उनीहरुलाई देखाइएका मीठा सपनालाई पनि उपन्यासमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
द्वन्द्वकालीन परिवेशको चित्रण गरिएका सन्दर्भहरु उपन्यासमा धेरै ठाउँमा मार्मिक रुपमा वर्णन गरिएका छन् । मालाको पति बेपत्ता भएपछि काखकी छोरी, सासुससुरा र घरगृहस्थीलाई एक्लै काँधमा बोकेर सङ्घर्ष गरिरहेकी मालाले द्वन्द्वकालीन परिवेशको चित्रण यसरी गरेकी छिन्ः गाउँका बचत संस्था र बैँकहरु पनि लुटिए । क्लबहरु निष्क्रिय भए । गाउँका सामान्य झैझगडा मिलाउन लालसेना तैनाथ गरेर जनसरकार प्रमुखहरु बस्थे । मुखियाको मुख बन्द भएको थियो । महिलाहरु निकै बाठा हुन थालेका थिए । पानी भर्ने, चुलोचौको गर्ने, गोठालो, भकारो गर्नेहरुको सङ्ख्या ह्वात्तै घटेको थियो । ‘बुर्जुवा शिक्षा नपढ्ने भन्दै धेरैले पढाइ छाडेका थिए । चौतारा पाटीपौवाहरु भत्काइएका थिए । प्रतिबन्ध लगाइएको थियो पञ्चेबाजामा । बिहे, व्रतबन्धजस्ता संस्कारहरु खल्ला भएका थिए । एकतमासको र रुखो भएको थियो गाउँको तस्बिर । युवाहरु कोही रहरले र कोही करले बन्दुक बोकेर हिँडेका थिए । कोही गाउँ छाडेर मुग्लान पसेका थिए । घरमा वृद्ध, अपाङ्ग र केटाकेटी मात्र हुन्थे । बाउआमा कौसीमा बसेर आँगनमा जुधेका आफ्नै छोराछोरीका रमिते भइरहेका थिए । पृ.१७१

गाउँकी एउटी सामान्य महिलाले आफ्नै आँखाले देखेको युद्धको बयान हो यो । जिन्दगीको सबैभन्दा स्वर्णिम पलहरुमा अर्थात् सप्तरङ्गी सपना देख्ने उमेरमा युद्धको विभत्स दृश्य र भत्भती पोल्ने अनुभूतिलाई मनभरि साँचेर जीवन बाँच्नुका नाममा पीडा पिइरहेका युवायुवतीको कथा बोकेको प्रस्तुत उपन्यास नेपालको एउटा कालखण्डको दस्तावेज पनि हो ।

ग्रामीण जीवनशैलीको जीवन्त प्रस्तुति

युद्धमा प्रत्यक्षरुपमा संलग्न नभएका साधरण आम नेपालीले भोग्नुपरेको समस्या, सास्ती र मानसिक तनावलाई यस उपन्यासले जीवन्तरुपमा प्रस्तुत गरेको छ । यसरी प्रस्तुत गर्ने क्रममा ग्रामीण जीवनशैलीको चित्र उतारिएको छ । गाउँघरमा प्रयोग गरिने स्थानीय भाषा, रीतिरिवाज, चालचलन, सामाजिकता, किसानका सङ्घर्ष आदिको रोचक प्रस्तुति पाइन्छ भने भाषिकाको प्रयोग र ग्रामीण बिम्बको प्रयोगले उपन्यासलाई जीवन्त बनाएको छ । ग्रामीण जीवनशैलीलाई प्रस्तुत गरिएको उपन्यासको एउटा सानो सन्दर्भलाई उदारहणका रुपमा यहाँ देखाइन्छः ‘दैनिन्दिनीमा अलिकति परिवर्तन भयो । उठेर आगो जो¥यो । खोले बसालेर घर कस्यार ग¥यो । दैल्यानु पोत्यो । आँगन बडा¥यो । बाख्रोपाठो सा¥यो । त्यसपछि गोठ गयो । भैँसी पगा¥यो, दूध दुह्यो, गोबर सोहो¥यो, घास–खोले दियो । निम्ठोमाथि छ सात मुठा घाँस करेली लाएर ल्याएपछि दिनभरिलाई हाल्न पुग्छ ।’
त्यस्तै परम्परागत नेपाली समाजमा घरगृहस्थीलाई व्यवस्थित रुपमा चलाउनका लागि कति कुराको चाजोपाँजो मिलाउनुपर्छ र कति धेरै समस्याहरुसँग जुध्नुपर्छ भन्ने सन्दर्भलाई उपन्यासमा निकै प्रभावी रुपमा अभिव्यक्त गरिएको छ । यसको उदाहरणका रुपमा एउटा भैँसी किन्ने प्रसङ्गसँगै आएको ससुरा र बुहारीको संवादमा ससुराले भनेका यो सन्दर्भलाई लिन सकिन्छः ‘एकछिन घोरिएर बाले फेरि भन्नुभयो, ‘भुइँसी त ल्याउँला तर अरु सामान कसरी जोरजाम गर्नु ? सानो आँटले त पालिँदैन क्यार ! पैली गोठ टालटुल गर्नुप¥यो । किला, दाम्ला, कन्ठी, नाकेडोरी, मोहोरी, टाट्नु, तगारो पनि जोड्नुप¥यो । पैलीका ठेकी, ढुङ्ग्रा सबै चिरैचिरा भैहालेछन् । फेरि नयाँ जोड्नुप¥यो । ठेकी, ढुङ्ग्रा, मदानी, नेती, घुर्रा, सिगौँरो चाहियो । कुँडे, जरु, थुर्मी, पनि जोड्नैप¥यो । खड्कुलो, दाबिलो, ढुटो, पीठो, घाँस, पराल सबथोक पो चाहियो त । हँसिया, कचिया, नाम्लो, बरियो, डोको… सक्छेस् त जोहो गर्न ?’ यसले हाम्रा परम्परागत किसान परिवारमा चलनचल्तीमा ल्याइने सामानहरुको जानकारी त दिएको छ नै अझ यसभन्दा बढी भैँसी पाल्न रहर गर्ने विपन्न वर्गका किसान परिवारको अवस्था र भैँसी पाल्नुसँग जोडिएर आउने समस्यापूर्ण परिस्थितिलाई पनि शब्दचित्रमा उतारिएको छ । ग्रामीण परिवेशका मौलिकता झल्काउने यस्ता सन्दर्भहरुको सुन्दर प्रस्तुति उपन्यासमा पाइन्छ ।

अन्त्यमा,

आलय उपन्यास विषयवस्तु र प्रस्तुतिका दृष्टिले आख्यान भए पनि भाषाका दृष्टिले भने यो काव्य हो । नारी सङ्घर्ष, युद्धको अभिघात र ग्रामीण परिवेशको सुन्दर दृश्यलाई जीवन्त बनाउने काम भाषाले गरेको छ । विविध मौलिक बिम्ब र प्रतीकहरुको माध्यमबाट मानवीय संवेदना र अव्यक्त पीडाहरुलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । उपन्यासमा परोक्ष रुपमा युद्धको औचित्यमाथि प्रश्न गरिएको छ भने इतिहासका पानामा नारीका सङ्घर्ष र योगदानका बारेमा कतै नलेखिने परम्पराप्रति असन्तुष्टि समेत व्यक्त गरिएको छ । २०५० यताको लगभग पच्चीस वर्ष अवधिको नेपाली समाज र यहाँ भएका सकारात्मक तथा नकारात्मक परिवर्तन, भुइँमान्छेका जीवनसङ्घर्ष, आत्मिक प्रेमको उदाहरण, युद्धपीडितका समस्या र मनोदशा, गाउँका संस्कृति र संस्कृतिमाथि भएका अन्तर्घात आदि विविध सन्दर्भहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको यस उपन्यास नेपाली आख्यान विधाको महत्वपूर्ण कृति हो । अनुभूति, विचार र कलाको समुचित संयोजनले सुन्दर बनेको यो उपन्यास नेपाली साहित्यको प्राप्ति पनि हो ।
उपन्यासमा प्रयुक्त विषय, शिल्प र प्रस्तुति यी तीनोटै पक्षको सुन्दर संयोजनले कृति प्रभावकारी बन्न पुगेको छ ।