सन्तानको रुचि उनीहरूको स्वभावसँग जोडिएको हुन्छ । स्वभाव पारिवारिक र सामाजिक वातावरणसँग जोडिएको हुन्छ भने चेतना उनीहरूको आर्जित ज्ञान र अनुभवसँग । बाल बालिकाको सिकाइ मनोविज्ञानलाई नबुझ्ने परिवार तथा शिक्षकहरूले आफ्ना विद्यार्थी वा छोराछोरीको आन्तरिक क्षमता, ऊर्जा र प्राकृतिक स्वभावलाई बुझ्ने कुरा असम्भव हुन्छ । त्यसैले आफ्ना सन्तानको लागि दिइने समयलाई फोकटमा दिएको सम्झने गल्ती कहिल्यै गर्नु हुन्न । उनीहरूको आन्तरिक प्रतिभा बुझ्दै तदनुरूप उनीहरूलाई भविष्यको तस्बिर देखाइदिन सक्ने आमा बुबा वा गुरुहरू वास्तवमा सम्मानित हुन् ।
बच्चा छँदै उल्टो र सुल्टो जुत्ता चिन्ने तरिकादेखि नै बालबालिकाको सिकाइले कारण जान्ने चरणमा प्रवेश गरिसकेको हुन्छ । ऊ जिज्ञासाको महासागरमा प्रवेश गरिरहेको हुनाले बालबालिकाको सिकाइलाई बाबुआमा वा शिक्षकले होसियारीपूर्वक नेतृत्व गर्नु पर्ने हुन्छ । यसै सन्दर्भमा बाल मनोवैज्ञानिक सिग्मण्ड फ्रायडकै परिवारमा घटेको एक घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक होला ।
एक समयमा मनोवैज्ञानिक सिग्मण्ड फ्रायड श्रीमती र बच्चाहरूका( Mathilde, Jean-Martin [Martin], Oliver, Ernst, Sophie, and Anna)साथ पार्कतिर घुम्न गएका थिए । साना बच्चा आफ्नै धुनमा हराए, सबै आफ्नो सुरले दिनभर उनीहरू पार्कमा घुमे, खेले र रमाइलो गरे । बेलुका उनीहरूले आफ्ना बच्चा खोजे तर, बाबुआमालाई आफ्नो साना बच्चा सोफी, आन्ना हराइसकेको त पत्तै भएनछ ।
बच्चा हराएपछि फ्रायडकी श्रीमती निकै डराइन् । बच्चा हराएको भन्दै रुन थालिन् । तर, फ्रायड भने ढुक्कसँग बसे । यसरी बच्चा हराउँदा पनि ढुक्कसँग बसेको देखेर श्रीमतीले रिसाउँदै सोधिन्, ‘बच्चाको माया लाग्दैन ? खोज्न नगएर किन ढुक्कसँग बसेको ?’
फ्रायडले नम्र स्वरमा श्रीमतीलाई सोधे, ‘तिमीले हाम्रो बच्चालाई कतै नजान भनेकी थियौ ?’
केही क्षण सम्झिएर उनले भनिन्, ‘अँ, पानी छेउछाउ नजाऊ भनेकी थिएँ ।’
फ्रायडले ढुक्कसँग भने, ‘त्यसो भए हाम्रो बच्चा त्यतै छ ।’
नभन्दै तलाउको अर्को किनारमा उनका भुराहरू खेल्दै गरेका भेटिए । तलाउको चिसो पानीले बच्चाहरू निथ्रुक्क थिए । तर नयाँ अनुभव र खोजीले उनीहरू प्रफुल्ल देखिन्थे । आमाले जगाइदिएको जिज्ञासा उनीहरूले मेटेर पानी वा तलाउबारे नयाँ खोज गरेका थिए ।
बच्चा जिज्ञासु र खोजमूलक हुन्छ भन्ने उदाहरण हो यो । त्यसैले बच्चाको मनोविज्ञानलाई पाकाको भावभङ्गीसँग तुलना गर्ने भुल कसैले गर्नु हुँदैन । आमाले बालबालिकाको स्वभावको स्तर नबुझ्दा कतिपय अवस्थामा आफ्ना सन्तानसँग अन्तर्विरोध देखिन सक्छ । बाबु वा शिक्षकसँगको सम्बन्धमा पनि यस्ता समस्याहरू आइरहेका हुन सक्छन् । त्यस्ता समस्याले अन्तर्विरोधको रूप लिए भने बालबालिकाको सिक्ने प्रक्रिया अवरुद्ध हुन्छ । त्यसले उनीहरूको भविष्यलाई नसुल्झिने मात्र हैन समस्यामा अलमल्याइदिन्छ । बालबालिका आमाबाबुसँग टाढिंदै जाने, साथीभाइ वा शिक्षकसँग डराउने, अग्रजहरूलाई घृणा गर्ने र घरबाट भागिरहने समस्याहरू वास्तवमा बालबालिकालाई नबुझ्दा आउने अन्तर्विरोधका परिणाम हुन् ।
उपरोक्त समस्याहरू आम रूपमा पारिवारिक अन्तर्विरोधको कारणले उत्पन्न भएको हो । सन्तानसँग केही न केही चित्त दुखाइ, पिर वा गुनासा प्रायः अभिभावकसँग हुन सक्छ । त्यो स्वाभाविक पनि हो, तर हामीले ती कारणहरूलाई प्राकृतिक विविधता तथा व्युत्पत्तिको कसीमा तौलेर बुझ्न सक्यौँ भने पारिवारिक अन्तरसम्बन्धमा खासै समस्या हुँदैन वा हुन पाउँदैन । समस्या खासमा अभिभावकहरूकै बुझाइमा रहेको छ । बालबालिकालाई तिमीले यो गर्नुहुँदैन भन्नुभन्दा पनि तिमीले यो गर्नु पर्छ है भनेर स्पष्ट रूपमा भन्नु एकदमै बढी प्रभावकारी हुन्छ ।
प्राध्यापक क्लभर भन्नुहुन्छ, “तपाईंले आफ्नो बालबालिकालाई सामानहरू यताउता छरपस्ट नपार, वा असल बन भन्नुभयो भने आफूले के गर्नुपर्ने हो भनि राम्ररी बुझ्न सक्दैनन् । सबै खेलौनाहरू उठाएर बक्समा राख । जस्ता वाक्य प्रयोग गर्ने हो भने तपाईंले के खोज्नुभएको हो भनी बुझ्ने सम्भावना बढी हुन्छ ।”
बालबालिकासँग एक्लै समय बिताउने खाले योजना बनाउने, सकारात्मक कुरालाई तारिफ गर्ने, अपेक्षाहरू स्पष्ट रूपमा तय गर्ने, रचनात्मक तरिकाले ध्यान मोडिदिने, शान्त परिणामको प्रयोग गर्ने, साना वा ठुला बालबालिकासँग समय बिताउने र सोधेका प्रश्नहरू बुझ्न प्रयास गर्ने र सकेसम्म उनीहरूको बुझाइअनुसार उत्तर दिने यस्ता कुराले बालबच्चा वा सन्तानहरूलाई आकर्षित गर्दछ । यसले अभिभावकसँग नजिक ल्याउँछ ।
यिनै प्रसङ्गमा पङ्क्तिकार स्वयम्को सन्तान तथा अभिभावक अन्तरसम्बन्धबारे केही खुलासा गरौँ । व्यस्तताको कारणले पनि हुन सक्छ, आफ्ना छोराछोरीहरूसँग धेरै ठट्यौलीमा रम्ने र अनावश्यक सोधपुछ गर्ने कहिल्यै गरिएन । यसले भिन्न पिँढीलाई बुझ्ने सवालमा अलिक भिन्न खालको दुरी बनाउँदो रहेछ । त्यो बेला बनेको दुरीले बाल मनोविज्ञानलाई दीर्घकालिक प्रभाव पार्दो रहेछ भनेर बुझ्न मसँग मेरै पर्याप्त अनुभव छ ।
बालबालिकालाई सिकाउनको निम्ति अनुकूल वातावरण निर्माण गर्नुपर्छ । आइपरेका समस्या समाधान गर्न छलफल, प्रश्नोत्तर विधि आदिको प्रयोग हुनुपर्छ । यस खाले अन्तरक्रियात्मक बुझ बुझाइमा सक्रिय भएकै कारण ठुली छोरी प्रतिमा, उनी सानैदेखि पढाइमा अब्बल हुँदै गइन् । एसएलसी उत्तीर्ण गरेपछि बेल्जियम आइन् र उसै गरी लगातार आफ्नो नर्सिङको पढाइ पूरा गरिन् । तर उनलाई मैले उनको विषयगत रुचिलाई जान्नुबाहेक कहिल्यै ‘यो पढ त्यो पढ’ भनेर दबाब दिइनँ ।
विद्यार्थीलाई कुनै पनि कुरा सिक्न दबाब दिनुहुन्न भन्ने कुरा सत्य हैन । तर बालबालिकाले आमाबाबु वा शिक्षकबाट प्राप्त सिकाइ वा ज्ञानलाई दबाबको रूपमा स्वीकार गर्ने वातावरणको अन्त्य हुनुपर्छ । बालबालिकाले सहजतापूर्वक सिकाइमा भाग लिने वातावरण निर्माण गरिदिने कार्य अग्रजहरूको हो । विद्यार्थीले सहजताका साथ सिकेको ज्ञानबाट उनीहरूको जीवन व्यवहारमा आएको परिवर्तन तथा समुदायमा परेको प्रभाव नै गुणस्तरीय शिक्षाको मापन हो ।
सिकाइमा वातावरणको साथै प्रेरणाको प्रभाव पनि रहन्छ । यस सम्बन्धमा मेरो पारिवारिक परिघटनाका उदाहरणहरू पनि चाख लाग्दा छन् । मेरो आमाले जहिले आफू दीर्घ रोगी भएको कारण डाक्टर वा नर्सको प्रशंसा गरिरहने । घरमा आमाका कुरा छोराछोरीले चाख मानेर सुन्ने नै भए । अरू दुई साना भएकोले सुने, बुझेनन् । नबुझे पछि प्रभावको कुरा पनि कमजोर हुने भै हाल्यो । ठुली छोरी बुझ्ने भै सकेकीले आमाको कुराले उनको चैतन्य वा भनौँ मनोविज्ञानमा प्रभावकारी स्थान बनायो । कारण त्यही होला, छोरीको विषयगत चाहनाबारे प्रश्न गर्दा उनले ‘योग्य नर्स बन्ने हो’ भन्थिन् । त्यसको पनि प्रमुख कारण भनौँ वा निर्णायक प्रेरणा, मेरी आमा हुनुहुन्थ्यो जस्तो लाग्छ ।
आमाकै प्रेरणाले भनौँ अहिले उनले आफ्नो पढाइ सकेर नर्सिङ जस्तो मानवीय सेवामा आफूलाई समर्पित गरिरहेकी छन् ।
मेरी आमा र सासुआमाले सानी छोरी पुजा घरकी लक्ष्मी जस्तै हुन् भन्नुहुन्थ्यो । उनी आज्ञाकारी र शान्त स्वभावकी भएर सबैकी प्रिय छन् । आज उनैले हाम्रो एक नाति, बुझ्ने शिक्षिका र आमा बनेर हुर्काउँदै छन् । युद्धमा समग्र धन जित्नु भन्दा बाल मनोदशालाई पूर्ण पोषण दिएर बालक हुर्काउनु महत्त्वपूर्ण कर्म हो ।
भनिन्छ, ‘आमा नोन्कवाफी नोसेकेनी र बाबु नोकोसी मन्डेलाका छोरा नेल्सन मण्डेला पारिवारिक वातावरणले ज्ञानी बने भने साम्राज्यवादी बेलायतको दासतामा आफ्नो जाति पिल्सिएको देखेर स्वतन्त्रताको सङ्कल्पले भरपुर विद्रोही बने ।’ त्यसैले मानिसमा कुनै बेला उसको अन्तर्निहित प्राकृतिक गुण निर्णायक हुन्छ भने कतिपय अवस्थामा पारिवारिक र सामाजिक परिस्थितिले सिर्जना गरेको गुण निर्णायक हुन्छ ।
आमाहरूले भनेझैँ कान्छीछोरी मिजासिलो र शान्त स्वभावकी छन् । अरूलाई असर गर्ने वाणी लुकाएर मात्र बताउँछिन् । उनी पारिवारिक संस्कार र सभ्यताको फिल्टर मेसिन जस्तै हुन् । दुःख लुकाएर सुकिला उज्याला मोतीहरू मात्र देखाउने ! भित्री ज्ञान र आक्रोशलाई दबाएर हाँस्ने, सधैँ चन्द्रमा जस्तै शान्त देखिने कोही छ भने हाम्रो घरमा सानी छोरी पुजा हुन् । अरू छोरा छोरीका पनि स्वभावहरू, आदत र रुझानहरू फरक फरक छन् । एउटै वातावरणमा हुर्केका सन्तानको पनि प्राकृतिक स्वभावको अन्तर बुझ्न हरेक बाबु आमा जस्तै म पनि असक्षम छु जस्तो लाग्छ । बालबालिकाहरूमा कहाँ, कति बेला, कुन कुराको प्रभाव पर्छ, अग्रजहरूलाई छुट्ट्याउन हम्मेहम्मे पर्ने !
भन्नै पर्छ छोरा प्रकाश, अन्तरमुखी स्वभावका छन् । उनले कहिल्यै पनि ‘मैले यो नै गर्छु’ भनेर मसँग निर्णय सुनाएको जानकारी या सम्झना छैन । उनका साथीसँग जस्तै मामाहरू शेखर दाजु, परमानन्द भाइ, श्याम सापकोटाजीसँग उनले खुलेर कुरा गर्छन् । आमासँग पनि अलिक बढी त मसँग धेरै नै कम ।
आमा-बाबु वा कसैसँग गुनासो गर्ने स्वभावको नभएर होला, उनको भावना बुझ्न अलिक कठिन हुन्छ । हाम्रो, छोराछोरीहरू अलिक आमाबाबुसँग घुलमिल होउन् र राम्रा-नराम्रा सबै अनुभव हामीलाई बताउन् भन्ने चाहना हुने नै भयो । तर कतिपय बच्चामा प्रतिक्रियात्मक बानीलाई विकास हुन हामीले दिएका हुँदैनौ वा प्राकृतिक रूपमै कमजोर हुँदो रहेछ, भन्न नसकिने । यी सबैको कारण उनीहरूको बालककालमा अभिभावकहरूको सम्बन्धसँग पनि जोडिएको हुन्छ भन्दछन् मनोविदहरू । ती यावत अवस्थामा आउने उतार चढावमा बहु-आयामिक सम्बन्धको महत्वलाई अचेल अलिक बुझिएन कि जस्तो लाग्दै छ ।
पछिल्लो कालमा बाबुले पढाइलाई सिपसँग जोडेर अगाडी बढायो । हामी बेलाबेलामा शिक्षकहरूसँगको परामर्शमा पनि भाग लिंदै गयौँ । आइटी, बिद्युत् र पानी शुद्धिकरणको तालमेलले उनमा सिप र ज्ञानको क्षेत्रमा विशिष्टता प्रदान गरेको छ । अहिले उसलाई पानीको विशिष्ट ज्ञानको लागि हामीले उसका शिक्षकले जस्तै पानी डाक्टरको उपनाम दिएका छौँ ।
उसको शिक्षकका अनुसार ‘पानी शुद्धिकरणको कर्म संसारकै भविष्यको अति आवश्यकीय ज्ञान र सिप हो । यो संसारकै दुर्लभ सिप हो र केटोले संसारको कुनै पनि कुनामा काम लाग्ने प्रविधि सिकेको छ । किनकि, अहिले संसारमा ९७ प्रतिशत पानी पिउन योग्य छैन, केवल ३ प्रतिशत मात्र पिउन योग्य छ । अब छोराले संसारको जुनसुकै कुनामा त्यो प्रदूषित पानीलाई प्राकृतिक, यान्त्रिक र आधुनिक विधिबाट जीवन बाँच्न र पिउन योग्य बनाउन सक्छ । पानीलाई अपरेसन गरेर त्यसबाट हानिकारक तत्त्व, फोहर र जीवाणु निकाल्न सक्ने योग्यता हासिल गरेको केटो आजदेखि पानीको डाक्टर हो ।’
नजिकै बसेकी छोराकी विज्ञान प्रोफेसर सोफियाले मार्ककै कुरालाई पुष्टि गर्दै भनेकी थिइन्, ‘तिम्रो नेपालमा त झन् पानी डाक्टर कम छन् होला । किनकि यो सिप अत्यधिक खर्चिलो भएकोले अल्पविकसित देशले पढाउनै सकेका छैनन् । यो विषय संसारकै दुर्लभ विषय भएकोले प्रकाश अबदेखि पानी सुद्ध गर्ने आधुनिक टेक्नोलोजीको दुर्लभ प्राविधिक भएका छन् । संसारका सीमित देशमा मात्र यो विषय पढाइ हुने भएकोले तिम्रो छोराप्रति तिमीले गर्व गर ।’
‘हैन, यो विषयमा नेपालमा जागिर पाइन्छ र ?’ भन्ने प्रश्नको जवाफमा प्रोफेसर सोफियाले हामीलाई लट्ठ पार्ने उत्तर दिंदै थपिन्, ‘तिम्रो छोरा संसारभरि जति डाक्टर र नर्स छन्, उनीहरूका पनि डाक्टर भए । यो प्रकृतिमा फैलिएको जलप्रदूषण पृथ्वीको रोग हो । जलप्रदूषणको कारणले जलचर, थलचर र उभयचर सबै जीवहरू मृत्युको संघारमा छन् । अब मानवको सोच हावा र जलको उपचारमा केन्द्रित हुनुपर्छ । हाम्रो सृष्टि बचाउन जल आवश्यक हुन्छ । जल नै विष भयो भने कुनै पनि डाक्टरले जीवलाई बचाउन सक्दैन । अबको पुस्ता सृष्टि बचाउने अपरेसनमा लाग्नुपर्छ । तिम्रो छोरा प्रकाश डाक्टरको पनि डाक्टर हो ! ऊ पानी डाक्टर हो, किनकि उसले अब पानीको पनि सबै प्रकारले अप्रेसन गर्न सक्छ ।’
संसारकै एक योग्य छोरा जन्माएकोमा हामी बुढाबुढी मख्ख पर्दै, गफिँदै घर फर्कियौँ । प्रकाश आफ्नो खुट्टामा आफै उभिन सफल मात्र भएको छैन, निर्णय र छनौट कलामा समेत ऊ पारङ्गत भैसकेको छ ।
अचेल मलाइ लाग्छ कोही पनि बालबालिका स्वभावतः खराब हुँदैनन्, सिक्ने सिकाइको प्रक्रियामा आएको त्रुटिले मात्रै मानिसलाई खराब निष्कर्षमा पुर्याउने गर्दछ । त्यसैलाई हामीले मानिस खराब भएको भनेर स्विकार्दछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।