१९ औँ शताब्दीमा मनोरञ्जनका त्यति धेरै सामग्री थिएनन् । त्यो बेलाको युरोप र खासगरी फ्रान्स प्रयोगशील समाज थियो । उसले त्यो बेला गरेका अनेकन् प्रयोगमध्ये यो एउटा थियो‑ लाशको रमिता ।
त्यो बेला क्याफे शुरू भइसकेको थियो, विभिन्न कला प्रदर्शनी, म्युजियम थिए । फुर्सदिलाहरू यस्ता ठाउँमा सपरिवार जान्थे । खर्च गर्ने सामर्थ्यअनुसार उनीहरूको रमाइलो थपिन्थ्यो । तर धेरैले म्युजियम तथा प्रदर्शनीलाई दिमाग खराब गर्ने ठाउँ भनेर हेयका साथ हेर्थे । बरू उनीहरूका लागि अचम्मैसँग रमाइलो लाग्थ्यो, लाशको रमिता ।
यो लाशको रमितामा कहिलेकाहीँ कसैलाई झुण्ड्याएर मारिन्थ्यो, रक्ताम्य हुने गरी लडाईंभिडाई हुन्थ्यो । यस्ता ठाउँमा प्रायः सपरिवार गएर हेर्ने चलन थियो ।
पेरिसको पुरानो दरबार भएको ठाउँलाई ग्रान्ड क्याटलेट भनिन्छ । त्यहाँ जेल लगायतका प्रशासनिक भवन थिए । त्यहाँ एउटा अस्पताल पनि थियो । १८०४ ताका एउटा बेग्लै भवनमा लाशहरू राख्न थालियो । यो भवन अलि बढी उज्यालो आउने र सफा बनाइयो । अस्पताल प्रशासनको आशा थियो, हिंसा बढी नै मन पराउने पेरिसबासीलाई लाशको प्रदर्शनी रूच्नेछ, भिड लाग्नेछ । तर सोचेजस्तो भएन । फेरि लाश‑भवन अहिलेको नोत्रेड्यामको पछाडिको भागमा सारियो । यो एउटा गज्जबको भवन थियो ।
यो भवनले लाश‑प्रदर्शनीको भाग्य चम्कायो । यसपछि शहरका मानिसहरू नोत्रेड्याम हेर्न वा घुम्न आउँदा लाश‑भवनको एक चक्कर लगाउँथे ।
पहिला मरेका मान्छेको लाश हेर्न अलि गाह्रै थियो, अब भने सजाइएका, सुताइएका लाशहरू अलि बढी नजिकबाट नियाल्न पाइन्थ्यो । यस्ता लाशहरू प्रायः सडकमा मृत फेला परेकाहरू हुन्थे । कोही पेरिसको सेइन नदीमा आत्महत्या गरेकाहरू पनि हुन्थे ।
आफ्ना परिवारका सदस्यहरू केही दिनदेखि बेपत्ता भए, खबर नपाइए, घर नफर्के एक पटक लाश‑घर घुम्ने चलन पनि भयो । केही चाहिँ विज्ञानका खातिर, शरीर विज्ञानका बारेमा बुझ्न लाश हेर्न आउँथे ।
यसरी एउटा मुर्दाघरलाई पनि त्यहाँका व्यवस्थापकले एउटा राम्रो र आकर्षक प्रदर्शनीस्थलमा परिणत गरे ।
एक बिहान एउटा परिवारले सेइन नदीमा एउटा लाश फेला परेको खबर पढेपछि एक सज्जनले आफ्नी पत्नी र सन्तानहरूलाई लाशघर जान तयार हुन आदेश दियो । त्यो परिवारले सिसाभित्र सुरक्षित राखिएको तर प्रस्ट देखिने लाश नियाल्यो । त्यो मृत व्यक्तिले लगाएका लुगा एउटा कुनामा सबैले देख्ने गरी राखिएको थियो । नग्न व्यक्तिको गोप्याङ्गहरू मात्र छोपिएको थियो । त्यो हेर्नु रोचक त थियो तर तनावपूर्ण पनि हुन्थ्यो । त्यसले अनेक प्रश्न उठाउँथ्यो ।
जब लेखक मार्क ट्वेन पेरिसको भ्रमणमा थिए, त्यो बेलाको चल्ती लाशघर नजाने भन्ने सवाल नै थिएन । सन् १८६९ मा उनले आफ्नो डायरीमा लेखेका थिए । ‘हामी लाशघरको द्वारभित्र छिर्यौं । एकातिर लाश निर्जीव लडिरहेको थियो, अर्कोतिर त्यो लाशसँगै फेला परेका लुगाहरू यसरी टाँगिएका थिए कि आउने मान्छेहरूले लाश चिन्न सकेनन् भने लुगा चिन्न सकून् । त्यहाँ मैले मोटी स्त्रीको चोलो देखेँ, शिष्ट स्त्री र बालबालिकाका पहिरनहरू देखेँ । काटिएका र ठाउँठाउँमा च्यात्तिएका महँगा सुटमा लागेका राता दागयुक्त पहिरन पनि देखेँ । रक्ताम्य र कच्याककुचुक भएका ह्याट पनि देखेँ ।’
‘एउटा ताजा लाश एउटा भिरालोजस्तो ढुंगामा राखिएको थियो । यो नग्न थियो । सुन्निएको र बैजनी रङमा परिणत भएको थियो । उसले बाँच्नका लागि अन्तिम प्रयास गरेका कयौं चिह्न परैबाट देखिरहेको थिएँ ।’
‘यस्ता लाश हेर्नु बालबालिका र महिलाका लागि खासै महत्त्वको नहुँदो हो । त्यसैले पुरूषहरू लाश हेर्नुको मजा लिएर समय लम्बेतान बनाइरहेका बेला महिला तथा बालबालिकाहरू भने बाहिरको ठूलो आँगनमा यताउता डुलिरहेका हुन्थे ।’
प्रायः लाशघरमा राम्रै भिडभाड भइरहन्थ्यो तर शहरमा कुनै उच्च ओहदाका मानिस, कलाकार वा बढी चर्चित व्यक्तिको हत्या भएको, आत्महत्या गरेको अवस्थामा भने यहाँ भिड थामिनसक्नु हुन्थ्यो ।
उदाहरणका लागि सन् १८७६ मा एक प्रेमीले एक स्त्रीको हत्यापछि सेइन नदीमा फ्याँकिएको खबर आगो सल्किएझैँ फैलिएपछि ती स्त्रीको लाश हेर्न चार लाख भन्दा बढी मानिसहरू आएका थिए ।
एक दिन चार वर्षीया मृत बालिकालाई टेबुलमा सुताउनुको साटो पूरै कुर्सीमा बसाइदिएपछि निकै आतङ्क मच्चिएको थियो । बेलाबेलामा लाशघरमा कुटपिट, मारामारको अवस्था हुन थालेपछि र अनुशासनहीनता बढ्न थालेको भन्दै १९०७ ताकादेखि सार्वजनिक प्रदर्शनी बन्द गरियो ।
यसपछि पेरिसले मनोरञ्जनको नयाँ ढोका खोल्यो, त्यो थियो‑ सिनेमाको आविष्कार । सिनेमाको आविष्कारपछि सिनेमा हल खुल्न थालेपछि मानिसहरूलाई ज्यूँदै लाश हेर्ने मनोरञ्जनबाट टाढिन थाले । तर मान्छेको लाशले सर्वसाधारणलाई यति उत्तेजित बनाउँथ्यो कि उनीहरूले सन् १९३९ सम्म सार्वजनिक रूपमा सजाय दिइने गुलोटिनको प्रदर्शन पनि तँछाडमछाड गर्दै हेर्थे ।
- हेर्नुहाेस्, त्याे बेलाकाे लाशमाथि हुने मनाेरञ्नकाे तमासा...
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।