हाइ ! हाइ !! अंग्रेजी

म जब आठ वर्षको उमेरको थिएँ, तब मेरा दाज्यैजी भर्खरजस्तो इन्ट्रान्स पास भएर त्यस जवानीको ट्युशनगिरीमा महीनाको तीन सयउपर कमाइरहनुभएको थियो । म उहाँलाई दुनियाँको आदर्शमा ठान्दथेँ । माताजी पनि बराबर ‘त्यसरी पढ्नु पर्छ बाबै ! दाज्यू जस्तै’ भनेर स्नेहको अङ्गुलीले उहाँलाई देखाउने गर्नुहुन्थ्यो । मलाई उहाँदेखिन् डर थियो, जस्तो आदर्शमा पुगेमा महात्माहरुदेखिन् ठिटाहरु प्राकृतिक तवरले डर मान्दछन् । उहाँको माष्टरमा हुनुपर्ने जस्तो धाक, रवाफ, दबावट र गाम्भीर्य देख्ता म त्यसै काबू रहन्थेँ र मेरो आत्मा समयको त्यो स्वर्णयुग पर्खिरहन्थ्यो– जसमा म पहिला पास गरेर बेतको छडी हातमा लिंदै लडकाहरुको अगाडि हप्कावट र दप्कावट गर्न समर्थ बनुँ ।

त्यस वेला पहिलो पास भनेको मानौं संसारको शिखरजस्तो लाग्दथ्यो । म विद्याको मोहनीलाई त्यहाँभन्दा माथि चढेको देख्न सक्तिनथेँ । अंग्रेजी भडभडाउन सक्नमा नै माहात्म्य हुँदो रहेछ भन्ने लाग्दथ्यो, र म ‘पैसा कमाउनुपर्छ, अंग्रेजी पढ्नुपर्छ’को धाईआमाका शिक्षाहरुलाई अक्षरशः अनुसरण गर्न चाहन्थें, तर मलाई याद दिएन, कति दुःख, चिच्याट, कति चिन्ताहरुको साथ त्यो माष्टर भन्ने व्यक्तिले जीवन निर्वाहको निर्मोहीमा आत्मालाई साधारणको धूलिधसरतामा राख्नुपर्दथ्यो र उच्च गगन देख्तादेख्तै भूइँमा बसेर झोक्रिनुपर्दथ्यो ।

म पढ्दै गएँ, बढ्दै गएँ, इन्ट्रान्सको मोहनीले गोसाईथानले पानी बोलाएझैं कठिन चढाएहरु उकाल्दै लग्यो– शायद म भन्न सक्छु बडा पालता चिसा हावामा र मकै सत्तुका खानामा । म खेल्न चाहँदैनथेँ । मलाई ‘पढ्नुपर्छ, पैसा कमाउनुपर्छ’को मोहनीले यताउति हेर्न नदिई लगिरहेकी थिई । घरका चिन्तित बाबुआमाका मुहारहरुबाट शिशुले सूचना सहजैसँग पाउँदछ र दरिद्रताको घरमा शिशुहृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन चाहन्थें, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूध–भातमा सबैलाई पुर्‍याउन । चाँडै पास गर्नाको धुनमा खेल्न छाडें । म भातमा स्वाद पाउँदैनथें । मेरो मगज हरहमेशा गाँजा खाएकै बाबुराम माष्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका पत्रहरुको सपना देख्दथें, किताबका तकियामा सुत्थें । खेलबहाडमा कहिले–कहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो ठोकेर कोठैमा बस्तथें र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थें, राती बाह्र बजेसम्म र बिहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही किसिमसँग मैले पाँच वर्ष पहिला पासका निमित्त बिताएँ ।

पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरें र यी पाँच वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरें हुँला, र पहिला पास नहुञ्जेल जुत्ता नलगाउने कबूल गर्ने स्पर्धाशील साथीसँग आफ्नो कुरामा सादृश्य राख्तथें । मैले दुनियाँसँग बोल्दैबोलिनँ भने पनि हुन्छ, न त उसको काममा अग्रसर कहिल्यै बनें । स्त्रीसमाजमा म ज्यादै अप्रिय थिएँ, किनकि म उनका किनमेल इत्यादिमा एक पाइला चल्दैनथें । पासको धुन सवार थियो । १९२६ ई. मा पहिला पास पटना विश्वविद्यालयबाट गरेपछि मेरो नाक अलि ठाडो भयो तर दिल बुझेन, म अझ पढ्न चाहन्थें र बी.ए.को मोहनीले मलाई बोलाउन लाग्यो ।

म जब त्रि–चन्द्र कलेज आइपुगें, रानीपोखरी पल्लापट्टिका मिजाजहरुद्वारा अलि संकोच फुक्तै गए, अलि बहस गर्न, बोल्न अघि सर्न सक्थें । तर मलाई त्यस वेलासम्म कम बोल्ने, कपटी, घमण्डीसिवाय कलेजका सहपाठीहरुले केही नाम दिएनन्, त्यस बेला वर्डस्वर्थका कविताले मलाई निकै प्रभावित गरे र म अलिअलि अंग्रेजीमा र नेपालीमा कविताहरु लेख्ने र अध्यापकहरुलाई पनि बराबर देखाउने गर्दथें । र माष्टर हुनमा मजा त्यसै वेलादेखि चाख्न पनि लागें । चार बजेदेखि छ बजेसम्म एक ठाउँमा र बिहान र बेलुका तीन घण्टा अर्को ठाउँमा ट्युशन पनि गर्नुपर्‍यो र साथसाथै विज्ञान पढ्नुपर्दथ्यो । मैले पढिनँ, क्लास काम लगाइदिन्थें र उठ्थें । हप्ताको कम से कम दुई दिन घरमा बसेर कविता लेख्थें ।

जब म बी.ए भएँ, तब दिनको तेह्र घण्टा जति ट्युशन गर्न लागें । ‘कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ’को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथें, नेपाली बोल्नेसँग बोल्दैनथेँ, तर अंग्रेजी बोल्ने बाटामा भेटे गडगडाहतसँग उद्गारित हुन्थें । मलाई यस्तो लाग्यो मानौं नेपालीमा लबजै छैनन्, भावै व्यक्त हुँदैन, मानौं नेपाली विद्वान्को भाषा नै होइन । नेपाली बोल्दा जिभ्रो लट्पटिन्थ्यो, जसलाई मैले तेह्र वर्षको तालीममा मालिश लगाइसकेको थिएँ । म अंग्रेजीमा विचार गर्दथें र म अंग्रेजीमै बोल्दथें । नेपाली बोल्दा लाटो–लाटो हुन्थें, अंग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले मुख ताक्थे । नेपाली बोले विद्यार्थीले मलाई हेप्तथे, अंग्रेजी भडभडाए तिनका घमण्डका नाक भूइँमा जोतिन्थे, मलाई नेपालीको उन्नति नभएको अंग्रेजी शिक्षाको विस्तार नपुगेर भन्ने लाग्दथ्यो । पण्डितहरु देख्ता ‘फसिल’ जस्तो लाग्दथ्यो; आधुनिकताको उज्यालो नपुगेको कट्टर विज्ञानशून्य साङ्ग्रा र सबै भारतीय मध्ययुगी सुषुप्तिलाई तिनका थाप्लामा हालेर मनमनै भन्दथें, ‘तिमीहरु कस्ता संकुचित !’ तर आफू पनि पण्डितकै छोरो भएको हुनाले मलाई अलि प्राचीन सभ्यता र संस्कृतिमा श्रद्धा थियो तैपनि ‘केही पुगेको छैन वा केही थप्नु, सुधार्नु, बढाउनुपर्छ’ भनेजस्तो लाग्थ्यो । म भन्थें ‘खै फुर्ती तिनीहरुमा ? काउसो जस्तो, टाँसिए टाँसिए ।’ अंग्रेजीमा म ती विचारहरुलाई व्याख्यान छाँट्न पाउँदैनथें, अफसोस !

म सुधार गर्न चाहन्थें, नवयुग ल्याउन चाहन्थें । कस्तो ? जहाँ सारा नेपालीहरु अंग्रेजी बोल्न सकून् । अंग्रेजीमा लेखहरु लेख्न सकून्, भौतिक र रसायनका किताबहरु पढेर नवीन आविष्कार गर्न सकून्; मार्शलका अर्थशास्त्रानुसार सामाजिक स्थिति मिलाउन सकून; जहाँ वैद्यहरु रसायनका फर्मुला जानून्, जहाँ मान्छेको सुखको जीवनको कक्षा बढोस्, जहाँ नेपालीहरु विज्ञापनका राता–राता भँगेराटाउके अक्षरले संसारअगाडि महत्त्वको ढोलक पिट्न सकून् । म के सुधार गर्न चाहन्थें भन्न सक्तिनँ ।

मैले लेख्ने बानी नगरेको भए म बिलकुल बेकम्मा गधा हुने थिएँ । कलमले मलाई विकास गरेर लग्यो, र अलिअलि देश, काल, परिस्थिति बुझ्दै–बुझ्दै आएँ, तर अंग्रेजी अझ मलाई अनुवाद र नक्कल बनाउन खोज्दछ, मलाई बराबर exploiter भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्थें, यद्यपि मैले सचेत अनुकरण हर हमेशा होशियारीसाथ हटाएको थिएँ । मलाई धेरै कुरा मेट्नु र हटाउनुपर्यो । अंग्रेजी आदतका विचार र विचारका आदतहरुसँग नै पहिलो लडाइँ थियो, अर्को अचेत प्रतिध्वनिहरुसँग सचेतको, जो कक्षामा घुस्न–घुस्न खोज्दथे ।

मैले त्यसै वेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हामे विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी मोलतोलबाट वञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दथ्यौं । हामी आर्यविचारका आदतहरुबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी आफ्नो भाषाको अवहेलना गर्दथ्यौं ।

मैले त्यस वेला साँच्चीकै शिक्षा सुरु गरें, जब मैले कलेज छाडेर जीवन देख्न लागें । तब मैले बुझें कि विश्वविद्यालयका खोस्टामा शिक्षा रहेनछ । पठित भनेका ती हुँदा रहेछन्, जो जीवनको जादूको सट्टा कितापको यान्त्रिकता साट्ता रहेछन्, जो स्वजातिलाई विदेशी ढङ्गमा हाल्न चाहँदा रहेछन्, र आँखा छोपेर सुधार चाहँदा रहेछन् । पढ्नुमा खालि विदेशी जाली बुन्नु रहेछ, खालि उल्थाउनु र उल्था हुनु ।

प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरु लागेर बिग्रिरहेका छौं । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वानजस्तो लाग्छ, अंग्रृेजी शब्दकोषका लामा लवजहरुको प्रियता हाम्रो जीवनमा घुस्तछ । हामी शब्दाडम्बर बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरुसँग बोक्रे कुराहरुमा घुस्तछन् । हामी सागरपारिका कुरामा बहस गर्दछौं र आफ्ना मार्मिक र समीपवर्ती विषयहरुमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी भाइहरुसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्रय्याजुएटका ठाडा शिर नून खाएको कुखुरोको सिउर जस्तै झुक्तछन् । अंग्रेजी बोल्नु र अंग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा सम्झिन्छ । हामी अंग्रेजी लेख लेख्न चाहन्छौं, जब हाम्रो साहित्यले गाइनेको खोक्रो तर टुटेको सारङ्गीजस्तो र्याँइँर्याँइँ गर्न सक्तैन ।

म अहिले विचार गर्छु, अंग्रेजी पढेर मैले के पाएँ ? हाम्रो साधारण जीवन–समय पच्चीस वर्ष पुगनपुग होला । पन्ध्र वर्षको पढाइले हामी बी.ए बन्छौं । दश वर्षको बाल्यावस्ता जोड्दा हामी त्यहीं टुङ्गिन्छौं । पढाइ यति यान्त्रिक, बोधो सुगा छ कि हाम्रो स्वदेशी मगजका गिर्खा खलबल्याउनु मात्र छ । हाम्रो ध्यय नून–रोटीसिवाय छैन । हामी पैसाका निमित्त बेचिन्छौं र दुनियाँका आत्मा बेचिरहेछौं । द्रव्य–धूर्त मिजाजले शिक्षकको शैसियतमा मेचमा डटिडटाउ बनेर दुनियाँका छोराछोरी भाँडिरहेछौं । हामी तिनका जिभ्राबाट सजिलाृेसँग बग्ने दुधालु भाषा खोसेर अटरपटरले विकृत बनाइरहेछौं, हामी अंग्रेजी चश्मा लगाइदिन्छौं र तिनको सहजविकासी स्वदेशी बुद्धिउपर पाश्चात्य रायका अत्याचार लादिरहेछौं । म त पढिदिने लडकाको आपेक्षिक प्रशंसा गर्दछु । अंग्रेजी पढ्न कानमा डोरी लगाएको बयल जस्तो भएर मान्ने लडका जरुर अस्वस्थ हुनुपर्छ । हामी प्राकृतिक बलवा चाहन्छौं त्यहाँ, जहाँ मानव–स्वभावउपर विदेशी जञ्जीर लगाइन्छ र त्यत्तिका दिनसम्म बयल जोतिएपछि के पायो बिचराले ? सुक्खा घाँस ! अरु लेखिएको थिएन ! न यो पहाडको नीलो मसी, न यो वनका हरिया पानी !

बस ! ग्राजुएट हुनु यत्तिकै छ । खोस्टो कागजको भरमा दुनियाँमा योग्यता देखाउनु ! सत्तरी रुपियाँका निमित्त हाड घोट्नु ! बाँसको कलम उठाउन नजान्नु ! अंग्रेजीको उल्था हुनु, विचारको आदत विगार्नु, रोटीमा नौनी लगाउनुको प्यासमा गधा झैं गधाहरु बनाउन बिहानदेखि तोपसम्म पढाउनु, झूटा घमण्डहरुमा ठाँट पार्नु, दुनियाँ ठग्नु र अरु के के, म भन्न सक्तिनँ !

ग्राजुएटका निमित्त कृष्णजी पुराना कथाका राजा हुन्छन् । भागवतमा सच्चाइ हुँदैन, व्यास ठग बन्दछन्, पशुपतिनाथ ढुदछन्, पशुपतिनाथ ढुङ्गा हुन्छन्, हेज्लिन चन्दन बन्दछ, गोलभेंडा पथ्य बन्दछ, मनुष्य अत्याचारी हुन्छन्, पुराणहरु चलाकी तर्सावट बन्दछन्, स्वर्ग शून्य हुन्छ, यमराज गफ बन्दछन् र वेदको सत्यता हराउँछ र पुरुखाहरु मूर्ख बन्दछन् ।

हामीहरु ग्राजुएट भएर पनि कति जान्दछौं ? नदीबाट पानी उभाउन गएको ठिटो आफ्नै भाँडामा डुबेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र–प्रवृत्तिले घोकेका कुरा दोहोर्याउन लगाउँछिन् । हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र नवीन प्राप्ति र नवीन अन्वेषणको ऐंडी खतम हुन्छ । हामी मरीच झैं चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहट र धूर्तता बन्न जान्छ ।

तर यही अंग्रेजीमा नूज छ, यही केटाकेटीको मुखलाई पापाचिची छ । यहीँ भारतको बीसौं शताब्दी छ, यहीं भारतीय अदालत छन् । यहीं सूर्य अस्ताउँदैनन्, यहीं रवाफ र आड छ ।   यहीं हाम्रो दैनिक जीवन छ । यो अंग्रेजीमा के छैन ?

अंग्रेजी पढ्नेलाई कुलीनका छारी छन्, बाबूसाहेबहरुका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरुमा नाक, घण्ठामा पचास र संसारमा सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछन् दर बसालेको, तैँ भाइसरायसँग हात मिलाउँछन्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान–पण्डितजीहरू चाउरिएर बस्तछन् ।