अगाडिपछाडि हल्लिँदै गुडिरहेको बसले मेरो उही थाकेको टाउकोलाई झनै दुखाइरहेको थियो ।
वास्तवमै मलाई रुन मन लागिरहेको थियो तर बसमा पनि कोही रुन्छन् त ? मेरो काखैमा भएको बिस्कुट राख्ने पुरानो टिनको बट्टालाई उदास भएर हेरेँ मैले । ‘स्कच सर्टब्रेड्स’- उनलाई मन पर्ने बिस्कुट थिएनन् ती । तर त्यो बट्टाको रङ उनलाई मन पर्ने भएकोले मैले दिएको थिए ।
एउटा निश्वास छोड्दै गालासम्मै चुहिन थालिसकेका आँसु पुछेँ । उनी गइसकेकी थिइन्, अनि म आफैँले पनि आफू बूढी, एक्ली र असाध्यै निरास भएजस्तो अनुभव गरिरहेकी थिए ।
मेरा औँलाहरूले बट्टाको बिर्को पहिल्याए र छेउको घेराबाट बिस्तारै बिर्को खोले ।
उनले छोडेर गएका सबै सामान थिए त्यसमा । चाँदीले रङ्ग्याइएको एउटा पातलो कण्ठहार, सानो बच्चाका केही तस्बिरहरू, उनको नागरिकताको प्रमाणपत्र, अनि त्यो चिठी । त्यो चिठी लेख्न उनले कति लामो समय लगाएकी थिइन् भन्ने भम्झेर म मुसुक्क हाँसे । शब्दशब्द केलाएर लेखेकी थिइन् उनले । त्यति महत्वपूर्ण थियो त्यो उनका लागि । त्यो चिठी इलेनलाई दिन भनेर मैले लगिदिने दिनका बारेमा हामीले ठट्यौलीसमेत गरेका थियौँ । तर हामी सोचेभन्दा धेरै त्यो दिन आएका थियौँ ।
“म असफल भएको छु ।” बट्टाबाट हार निकाल्दै मैले आफैसित भनेँ । त्यो इलनको दसौँ जन्मदिनका लागि किनिएको हार थियो, तर त्यो कहाँ पठाउँने भन्ने हामीलाई थाहा थिएन । अहिले भने हामीलाई इलेन कहाँ बस्छिन् भन्ने थाहा थियो तर उनलाई नै त्यो टिनको बट्टा वा त्यसभित्रका कुनै पनि चीज चाहिएको थिएन ।
त्यो हारलाई मैले बट्टाभित्रै तस्बिरहरूमाथि थपक्क राखिदिएँ । तस्बिरको बच्चा आफू हुँदै होइन भनेकी थिइन् इलेनले । उनले मबाट एउटा मूर्खतापूर्ण गल्ती भइरहेको भनेकी थिइन् । अनि अबदेखि यसरी उनलाई नसताए हुन्थ्यो भनेर समेत मसित भनेकी थिइन् ।
उनलाई मैले भेट्न गएको यो तेस्रो पटक भएको थियो । अब भने यो नै अन्तिम भेट हुने छाँटकाँट देखिन्थ्यो । मैले चिठी निकालेँ । त्यो थोत्रो र खुइलिएको थियो । मैले सावधानीपूर्वक त्यसलाई खोलेर फेरि एक पटक पढेँ ।
मेरी छोरी इलेन, एक दिन तिमीले यो चिठी पढ्नेछ्यौ र बुझ्नेछ्यौ भन्ने आसमा तिमीलाई लेख्तै छु । मलाई चिन्ने र बुझ्ने तिम्रो चाहना छैन जस्तो लाग्छ, किनभने मैले तिम्रो परित्याग गरें भन्ने तिमीलाई लागेको छ । तर कुरा त्यस्तो केही पनि होइन। के भएको थियो भन्ने म तिमीलाई बताउन चाहन्छु ।
बस्तीमा तिम्रो जन्म हुँदा म जम्मा सत्र वर्षकी थिए। सबै जना तिम्रा बाबु को हुन् भन्ने थाहा पाउन चाहन्थे तर मैले कसैलाई पनि भनिन । यो कुरा पक्का थियो कि ऊ एउटा गोरो छाला भएको मानिस थियो किनभने तिमी त्यति गोरी थियौ। तर उसको हृदयमा तिमी वा मप्रति कुनै प्रेम थिएन । तिम्रो जसरी पनि सुरक्षा गर्नेछु भनेर मैले आफैंसित बाचा गरेकी थिएँ। मेरो जीवनभन्दा गतिलो जीवन तिमीले जिउनुपर्छ भन्ने मेरो चाहना थियो ।
म बीस वर्षकी हुँदा उनीहरूले तिमीलाई लिएर गए । यसो गर्नु नै उत्तम रहेको कुरा ‘आदिवासी सुरक्षा सचिवालय’ का नेभिलज्यूले भनेका थिए । काला आमाहरूले तिमी जस्ती गोरी छोरी आफ्नो साथमा राख्न पाउदैनन् भनेका थिए उनले। तिमी पनि हाम्रै मान्छेसरह हुर्किनु हुन्न भन्ने उनको चाहना थियो । तिमीलाई दिएर पठाउन मलाई मन थिएन तर मसँग अन्य उपाय पनि त थिएन । कानुन नै त्यस्तै थियो ।
म तीस वर्ष पुगेपछि तिम्रो खोजखबर गर्न थालें । तिमी कहाँ गएकी थियौ भनेर मलाई कसैले भन्दैनथे । त्यो कुरा निकै गोप्य राखिएको थियो। तिम्रो थर नै तिनीहरूले फेरेर अर्कै राखिदिएका छन् भन्ने मैले सुनेको थिएँ। तर तिम्रो नयाँ नाम के हो भन्नेचाहिँ मलाई थाहा थिएन । मैले नेभिलज्यूलाई गएर भेटें र तिमीसित भेट्न चाहेको कुरा उहाँलाई भनें । त्यति बेलै हो, तिमीलाई एउटा गोरा परिवारले पालेको छ भनेर मैले थाहा पाएको । तिमीलाई त आफू गोरी नै हो जस्तो लाग्थ्यो । तिमीलाई भेट्टाउन र तिमीसँग भेट्न खाज्यो भने तिमीलाई नै पीडा हुन्छ भनेर नेभिलज्यूले भन्नुभयो त्यति वेला ।
धेरै समयसम्म मैले तिमीलाई विर्सिने कोसिस गरें, तर आफ्नै छोरीलाई म कसरी बिर्सिन सक्थें र ? कहिलेकाहीं म तिमी सानी हुँदाको तस्विर निकालेर हेर्ने गर्थे र तिम्रो सानो अनुहारमा म्वाई खान्थे । तिम्री आमा छिन् जसले तिमीलाई माया गर्छिन् भन्ने कसै गरी तिमीले थाहा पाए हुन्थ्यो भनी म प्रार्थना गर्थे ।
मैले तिम्रो बारेमा पत्ता लगाउन्जेल तिमी आफ्नो अर्कै परिवार माझ हुर्किसकेकी थियौ । तिमीसम्म पुग्नका लागि मैले तिमीलाई चिठीहरू पठाउन थालें । मलाई तिमी र मेरा नातिनातिनीसँग भेट्ने इच्छा थियो तर तिमीलाई सब थाहै छ नि । मैले लेखेका ती सबै चिठीहरू तिमीले फिर्ता पठाइदिएकी छ्यौ । म बुझ्छु । म तिमीलाई दोष दिन्न अनि मलाई तिमीसित केही गुनासो पनि छैन । तिमीले यो चिठी पाउँदाखेरि म धेरै टाढा गइसकेकी हुनेछु तर मेरो टिनको बट्टाभित्रका विशेष चीजहरू तिमीसित हुनेछन् । एक दिन तिमीले आफैसित ‘म को हुँ’ भनी गम्नेछ्यौ भन्ने मलाई आशा छ । आखिरमा तिमी हाम्रै मानिस हौ र तिम्रो स्थान यहीं हो। मेरो टिनको बट्टा ल्याइदिने महिलासित राम्रो व्यवहार गर्नु, उनी तिम्री आफ्नै सानीमा हुन् । उही तिम्री माया गर्ने आमा ।
चिठी पट्याएर बट्टाभित्र राख्ता मेरा हात कामिरहेका थिए। मैले कोसिस गरेको थिएं तर केही काम लागेन, पटक्कै लागेन । हाम्रो परिवारमै सवैभन्दा सशक्त थिइन् नेली, उनी केहीसँग पनि हार मान्दिनथिन् । इलेन एक दिन अवश्य घर आउनेछिन् भन्ने उनलाई सधै विश्वास थियो ।
मैले बट्टाको बिर्को टम्म पारेर लगाइदिएँ र झ्यालबाहिर पछिल्तिर छुट्दै गएको सडक हेर्न थालें । नेली अहिले यहाँ थिइनन् तर त्या पनि राम्रै भएको थियो । घटनाहरू कुन मोडमा पुगेका थिए भन्ने उनले थाहा नपाएकैमा मलाई खुसी लागेको थियो । अकस्मात् उनको आवाजले रूखो स्वरमा मसँग कानेखुसी गर्यो, ‘तिमी सधैं सजिलै हार मान्छ्यौ ।’
‘होइन, म मान्दिनं ।’ मैले सुस्तरी भनें । अव त्यसपछि के गर्ने भनेर मैले थाहा पाउन सकिरहेको थिइनँ । नेलीले ठीकै भनेकी थिइन् । उनी हाम्रो आफ्नै रगत हुन्, म त्यति सहजै उनलाई छोडिदिन सक्तिनथे । मैले फेरि त्यो टिनको बट्टातिर हेरें । अनि मैले अचम्मैसित पहिलेभन्दा हलुका अनुभव गरें, लगभग खुसी नै भएँ। म अब एउटा अन्तिम प्रयास गर्नेछु मैले सोचें। म एउटा नयाँ खाम किन्छु र हुलाकबाट उनलाई पठाइदिन्छु । उनले चिठी पढ्छिन् कि त !
फोन बजिरहेको सुन्दा म आँगनमा थिएँ। मलाई पक्का थाहा थियो, मभित्र पुगुन्जेल त्यो बज्न बन्द भइसक्छ । अचेल पछाडिको भार्याङ उक्लन मलाई धेरै समय लाग्छ । फोन उठाउँदा म स्वाँस्वाँ गर्दै थिएं, ‘हेलो !’
‘बेस्सी सानीमा हो ?’
‘को बोल्नुभएको होला ?” छक्क पर्दै मैले सोधे ।
‘म इलेन ।’
इलेन । मैले विश्वास गर्न सकिनँ । मैले चिठी खसालेको दुई महिना भइसकेको थियो ।
‘के साँच्चै तिमी इलेन हो ?” मैले सोधें ।
‘हो मै हो । म तपाईसँग कुरा गर्न चाहन्छु । के म त्यहाँ आएर तपाईलाई भेट्न सक्छु ?’
‘ओहो । भैहाल्छ नि !’
‘अनि सानीमा ! आफ्नो हेरविचार गर्नुहोला ।’
फोनलाई कीलामा राख्ता मेरा हात कामे । के मैले ठीकै सुनेकी थिएँ ? साँच्चै उनले हेरविचार गर्न भनेकी थिइन् ? म नजिकैको कुर्सीमा बसें र आफ्नो आँसु पुछें ।
रित्तो कोठामा बसेर मैले ठूलो स्वरमा भनें, ‘म किन रुनु हुँदैन ? म अहिले बसमा त छैन नि ‘ नेली मेरो धेरै नजिच भएझै लाग्यो मलाई त्यस बेला ।
‘ओहो ! दिदी !’ मैले सुस्केरा हालें, ‘तिमीले सबै सुन्यौं ? इलेन भोलि यहाँ आउनेछिन् । दिदी, तिमीले सुन्यौ ? इलेन भोलि घर आउँदै छिन् ।’
स्याली मर्यान
जन्मः सन् १९५१ पर्थ, अस्ट्रेलियामा ।
सन् १९७८ मा पहिलो कृति माइ प्लेस प्रकाशित ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।