नगेन्द्र न्यौपाने

सन् २०१९ अक्टोबर १६ बाट नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बर्माको भ्रमण गर्नुभएको थियो । बर्माका राष्ट्रपति वाइन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा भएको यो भ्रमण पाँच दिन चलेको थियो । बर्माको भ्रमण सकिनासाथ त्यतैबाट नेपालका राष्ट्रपतिले जापानको भ्रमण गर्नुभयो । जापानबाट पुनः नेपाल ।

संयोग त्यस्तै पर्न गएछ । नेपालका राष्ट्रपति पनि बर्मामा पुग्नु, म पनि त्यो बेला बर्मामा नै हुनु । फरक यत्ति थियो, उहाँको भ्रमण राजकीय थियो, कूटनीतिलाई मजबुत बनाउनु थियो तर मेरो भने घरायसी । म अलिअलि पर्यटकजस्तो अलिअलि भेटघाटजस्तो । त्योभन्दा अर्को फरक थियो– उहाँ दुई देशको बीचको मित्रतालाई जीवन्त राख्न जानुभएको थियो । म भने दुई देशबीच बोलिने नेपाली भाषाको भिन्नता बुझ्न गएको थिएँ । आत्मीयता कस्न गएको थिएँ ।

नेपालका राष्ट्रपतिको भ्रमणको खबर पाउनेबित्तिकै बर्मा रहेका गोरखाली समुदायबीच निकै हल्ला–खल्ला शुरु भइसकेको छ । उनीहरू निकै रौसिएका छन् । खुशी भएका छन् । हरेक गोरखालीको घरको रौनक नै अर्को छ । त्यसैमा म पनि मिसिएको छु । म पनि रमाएको छु । नेपालमा भेट गर्न नसके पनि बर्मामा भेट गर्ने रहर छ ।

तर बर्मेली जनता भने बेखबर छन् । उनीहरूलाई वास्तै छैन । बर्मेली सरकार पनि गुपचुपजस्तै छ । जसरी नेपालमा कुनै देशको राष्ट्रपति आउँदा बजार सिँगारिन्छ, सडकमा रङ्गरोगन लाग्छ, घरहरूमा ध्वाजापताका बेरिन्छन् तर रंगुन शहर चकमन्न छ, कुनै परिवर्तन नै छैन । मानौँ नेपालका राष्ट्रपतिको भ्रमणबारे बर्मेली सरकारलाई पनि थाहै छैन ।

तर म त्यही देशमा हुनु साथै आफ्नो देशको राष्ट्रपति पनि त्यही पुग्नु, म यो शुभसाइतलाई चुक्न दिन्नँ । म हरेक क्षणलाई नयाँ अनुभवैले लिइरहेको हुन्छु । हुन त केही दिन अगाडि फाट्टफुट्ट नेपालको नक्सा र नेपालको बारेमा कहाँ बर्मेली टेलिभिजनले नदेखाएको हो र ? सानोतिनो डकुमेन्ट्रीमा नेपालको गरिबी र अभाव प्रशारण नगरेको हो र ! तर मलाई चित्त बुझ्दैन । भाषाको तगारोबाट पनि बाहिरिन बाध्य हुन्छु । अब मेरो ध्यान नेपालबाट प्रशारण हुने कान्तिपुर र नेपाल टेलिभिजनतिर जान्छ । म मात्र होइन, त्यतिबेला हरेक गोरखाली परिवार कान्तिपुर टेलिभिजन अगाडि बसेका छन् । विडम्बना ! म कान्तिपुर, नेपाल टेलिभिजनबाट मात्र केन्द्रित हुने औचित्य ठान्दिनँ । मलाई त्यसले मात्र चित्त बुझ्दैन । आफ्नो सक्कली अनुहार हेर्न अर्काको घरमा जानुपर्छ किनकि आफ्नो सक्कली स्वरूप पत्ता लगाउने क्षमता अर्कोसँग मात्र हुन्छ । त्यही दिनदेखि म आफ्नो दिशा परिवर्तन गर्छु र अंग्रेजी दैनिक पत्रिका म्यानमा टाइम्स दैनिकको ग्राहक बन्छु । बर्मेलीको अंग्रेजी कमजोर भएर होला– म्यानमा टाइम्स पत्रिका पनि कहाँ बजारमा सर्वसुलभ छ र ? कहाँ भन्नेबित्तिकै हात पार्न सकिन्छ र ?

एक दिन त्यही पत्रिकाको खोजी गर्दै आफू बसेको घरबाट निस्किन्छु । गाडी चढ्ने मेसो नपाउनेले हिँडेर नै सोध्दै–खोज्दै शहरको निकै टाढा पुग्छु । बल्ल एउटा पत्रिका पसल भेटिन्छ । पत्रिका पसल मध्यमखालको छ । देशी–विदेशी पत्र–पत्रिका, किताब–कापी प्रशस्त छन् । सामान्य परिचयमा नै मलाई ज्ञान हुन्छ– बिक्रेताको टुटेफुटेको अंग्रेजी मेरो लागि पर्याप्त हुन्छ । उनीसँग गफ गर्दा भाषाले मलाई समस्या पार्दैन ।

पुरानै भए पनि एउटा म्यान्मा टाइम्स हातमा लिन्छु र सरसर्ती शुरुदेखि अन्त्यसम्म पल्टाउँछु । नेपालको राष्ट्रपतिको भ्रमणलाई संकेत गरेर नेपालको बारेमा सानो समाचार छापिएको छ । मेरो मन प्रफुल्लित हुन्छ । यति टाढा आएर पनि नेपालको समाचार पढ्न पाउँदा आफूलाई गौरवान्वित लाग्छ । मलाई त्यो गौरव कसलाई सुनाउँ–सुनाउँजस्तो लाग्छ र नजिकै उभिएका बिक्रेतातिर हेर्दै बोल्छु–

“तपाईंलाई थाहा छ ! नेपालका राष्ट्रपति रंगुन आउँदै हुनुहुन्छ नि !”

उनले मेरो भनाइमा अनौठो पाराले हेर्छन् अनि उल्टै मलाई प्रश्न गर्छन्–

“नेपालमा पनि राष्ट्रपति छन् हगि !”

म मनमनै सोच्छु– नेपालमा राजा हटेको धेरै वर्ष भएको छैन । राष्ट्रपति तथा गणतन्त्रजस्ता शब्दहरू नेपालीका लागि नयाँ हुन् भने बाहिरी संसारलाई पनि नयाँ नै हुनसक्छ । सायद यिनलाई थाहा भएन होला– नेपाल गणतन्त्र पद्धतिमा गइसक्यो । तर उनलाई मैले अन्योलमा राख्न चाहिन र उनलाई बताउँछु–

“नेपालमा राष्ट्रपति प्रथा लागू भएको धेरै नभएर हुनसक्छ तपाईंलाई थाहा नभएको– नेपालमा आजकल राष्ट्रपतिबाट चल्छ ।”

“नेपालका राष्ट्रपति र भारतका राष्ट्रपति छुट्टाछुट्टै हुन् ?”

अहो ! कस्तो तीतो उसको जिज्ञासा ! मेरो मुटु चस्स घोच्छ । मेरा आँखा तिरमिर गर्छन् । रात हो कि दिन हो छुट्टयाउन सक्दिनँ तर म उनीसँग रिसाइनँ । बरु भित्रभित्र आफैँलाई धिक्कार गरेँ । किनकि जो व्यक्तिसँग जति ज्ञान छ त्यति नै बाहिर निकाल्ने हो । कमजोर व्यक्तिसँग धेरै ठूला आशा राख्नु नै गल्ती हो । बिक्रेताको दिमागमा जति छ, उसले त्यति नै दिन सक्यो । म ऊसँग भित्रभित्र रिसाए पनि वास्तवमा उनी नेपालप्रति अनभिज्ञ रहेछन्, नेपालबारे उसको गहिरो अध्ययन रहेनछ । तर पनि नेपाल बारे भने उसलाई खूब चासो रहेछ । उनले मप्रति हेर्दै अर्को प्रश्न गर्छन–

“अँ ! साँच्ची, गोरखाली सैनिकहरु नेपाली हुन् कि भारतीय ?”

उसको प्रश्न रिस उठ्दो भए पनि म उत्तर दिइहाल्छु ।

“नेपाली हुन् नि ! के को भारतीय हुनु !”

“त्यसो भए उनीहरू किन भारतीय पक्षमा लडेका त ! भारत हुँदै बर्मा आएका रहेछन् । नेपाली भएर भारतको सैनिकमा भर्ना हुन मिल्छ ?”

खै ! कुन राणा प्रधानमन्त्रीले कुन स्वार्थमा त्यस्तो नैतिकहीन सन्धि गरे । नेपालीहरु भारतमा किन बेचिन बाध्य भए तर आज मैले ती बर्मेली मित्रलाई उत्तर दिन सकिनँ । मेरो मुख बन्द भयो ।

तर पनि ५०० च्याट (बर्मेली मुद्रा) तिरेर म्यान्मा टाइम्स किन्छु । अनि त्यो दिनदेखि दैनिक ग्राहक बनेको छु, दैनिक अध्ययन गर्छु । त्यो पत्रिकाबाट पनि कहाँ चित्तबुझ्दो जानकारी पाउन सकेको छु र ! कहाँ त्यो पनि राम्रोसँग खुल्न सकेको छ र ! तर पनि उसले आफूले सकुन्जेल नेपालका राष्ट्रपति र नेपालको बारेमा सानोतिनो सूचना दिइरहेको छ । नेपालको राष्ट्रपतिसहितको ठूलो दलबल एयरपोर्टमा उत्रेको फोटो प्रकाशित गरिरहेको छ । चित्तबुझ्न नसक्ने कुरोचाहिँ नेपालको राष्ट्रपतिको समचारचाहिँ स–साना कोलममा देखिएका हुन्छन् भने कम्बोडिया, भियातनाम, थाइल्याण्ड, जापानजस्ता छिमेकी देशका स–साना समाचारले भने हेडलाइन पाइरहेका छन् । तर पनि मैले रंगुन बसुन्जेल यो पत्रिका पढ्न छुटाइनँ ।

राष्ट्रपतिको राजकीय भ्रमण र सामान्य व्यक्तिको भ्रमण फरक हुनु स्वाभाविकै हो । उहाँहरूको भ्रमण तालिका पहिल्यै निर्धारण गरिएको हुन्छ । उहाँहरूले जथाभावी घुम्न र हिँड्डुल गर्न पाउनुहुन्न । तर सामान्य व्यक्ति समय अनुकूल परिवर्तन हुन्छ । म पनि परिवर्तनशील छु, मेरो भ्रमण पनि फेरबदल भइरहन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी रंगुनमा बर्माका राष्ट्रपति वाइन मिन्ट र आङ साङ सुचीसँग व्यस्त भइरहेको बेला म बर्माको अर्को शहर नाउछो पुग्छु । नाउछोमा केही दिन बसेपछि माण्डले आइपुग्छु । म पनि माण्डले आइपुग्नु त्यहीबेला राष्ट्रपति भण्डारीको सवारी पनि माण्डले नजिकैको अर्को शहर पिउल्वीन आइपुग्नु एकैचोटि हुनजान्छ । माण्डले र पिउल्वीन एक घण्टा दूरीका शहरहरू हुन् ।

हुन त आफ्नै देशका राष्ट्रपति, त्यसमा पनि टि.भी. र समाचारमा उहाँको भाषण सुनेकै हो । पछि नेपालमा नै कतै भेट्ने अवसर मिल्थ्यो होला तर आफ्नो देशको राष्ट्रपतिलाई आफ्नो देशमा भेट गर्नु र अर्काको देशमा भेट गर्नुमा फरक पर्न सक्छ । त्यसैले मैले त्यो अवसर गुमाउन चाहिनँ । अझ जुन घरमा म अतिथि भएर बसेको छु उहाँका उत्सुकता देखेर पनि म शान्त हुन सकिनँ । उहाँले आफ्नो गाडी केही दिनदेखि नै तयारी अवस्था राखिसक्नुभएको छ ।

विशाल माण्डले शहर, शहरको बीच भागमा उहाँको घर । हाम्रो गाडी केहीबेर माण्डले शहरमा गुडेपछि उत्तरतिर लाग्छ । उकालो–उकालो सडक, सडकको दायाँबायाँ बाक्लो जंगल, अनि गाडीभित्र हामीहरू चारजना यात्री । हुन त हाम्रो सामान्य परिचय पहिल्यै कहाँ नभएको हो र ! हामीहरू एक–आपसमा गफ नगरेका हौ र ! तर गाडीभित्र पसेपछि झन् नजिक हुन पुग्यौँ । राकेश नेपाल– जो त्यतिबेला गाडीको ड्राइभर हुनुहुन्छ, उहाँ पथ्थर (रुवि)को व्यापारी । उहाँको व्यापार चीन, थाइल्याण्ड र नेपालसम्म छ । अर्का यात्री चुडामणि भट्टराई– जो व्यावसायिक कृषक । उहाँको वृहत रूपमा तरकारीको फाँट छ । तर उहाँ जतिको नेपालको चासो राख्ने अझ कमै होलान् । अर्का यात्री हुनुहुन्छ– अर्जुन भट्टराई । उहाँ मोगेक निवास तर माण्डलेमा पथ्थर र घर–जग्गाको व्यापार गर्नुहुन्छ । तेस्रो हुनुहुन्छ डिलाराम अधिकारी । उहाँ एक साहित्यकार साथै उहाँको टाउजीमा तेल र हार्डवेयरको कारोबार छ । उहाँका छोराहरूले व्यापारमा उन्नति गरेका छन् ।

बिहानको १० बजे माण्डलेबाट गुडेको हाम्रो गाडी करिब ११ बजे पिउल्वीन पुग्छ । नेपालीको बाक्लो वस्ती भएको शहर मध्येको पिउल्वीन शहर, जहाँ नेपालीको स्वामित्व भएका स–साना दोकानदेखि ठूला–ठूलो होटेलसमेत छन् । तर लाग्छ, आज पूरै पिउल्वीन शहर नेपालीकै हो । सबै नेपाली नै हुन् । जता हेर्यो साडी लगाएका महिलाहरूको ताँती छ, त्यस्तै टाउकोमा टोपी लगाएका युवा तथा वयस्कहरू हुलका हुल हिँडिरहेका छन् ।

सभागृह वरिपरिको घुइँचो शुरु भइसकेको छ । महिला र पुरुष सरिवरी पृथक–पृथक झुण्डमा झुम्मिएका छन् । महिलाको रातो साडी, ब्लाउज, हातमा चुरा, पोते, त्यस्तै पुरुषको दौरा, सुरुवाल, टोपी अनि त्यहाँ सुनिने नेपाली गफ– लाग्छ म नेपालमा नै छु, त्यो घुइँचो नेपालीकै हो । त्यति मात्र कहाँ हो र ! त्यो नौलो शहर, नौलो चहल–पहल तर मेरो मानसिकताले नौलो मान्न सकेन । अझ हरेक व्यक्तिले आफ्नो हातमा नेपालीको झण्डा समातेपछि म गौरवले प्रफुल्ल हुन्छु ।

बेला–बेलामा सूचना आइरहेको पाउँछु, “ल ! राष्ट्रपतिको हेलिकप्टर नेपियट (रंगुन) बाट उडिसक्यो ! पिउल्वीनमा अवतरण गर्दैछ । अब केहीबेरमा राष्ट्रपति सभागृहमा आइपुग्नुहुन्छ ।”

हामीहरू सबै सभा हल वरिपरि नै उत्सुकसाथ ओहोर दोहोर गरिरहेका छौँ । म नेपाली भएर पनि बर्मेलीको हुलमा छु, त्यही हुलमा मिसिएर सभागृहभित्र पस्न पालो पर्खदैछु । मलाई गौरव पनि छ कि आफ्नो राष्ट्रपतिको भाषण सुन्न विरानो मुलुकको ढोकामा बसेको छु ।

तर मेरो गौरव केहीबेरमा नै चकनाचुर भएर फुट्छ । म भताभुङ्ग हुन्छु । मलाई भित्र जान दिइएन । उस्तै अनुहार, उस्तै पोशाक, उस्तै बोली, उस्तै नाम उस्तै व्यक्तित्व अनि उस्तै पृष्ठभूमि तर मैले कागजी प्रमाण देखाउन सकिनँ । गेटमा उभिएकी महिला प्रहरीले मलाई भित्र पस्न दिइनन् । उनले मेरा अनुहार हेरिन्, बर्मेली भाषामा केही शब्दहरू उच्चारण गरिन्, मैले जवाफ फर्काउन नसकेको कारण उनले मलाई लाइनबाट पृथक पारिन् । तर म विभेदमा अनुभव गर्छु । जबसम्म कुनै व्यक्ति आफू विभेदमा परेको महसुस गर्दैन तबसम्म उसलाई विभेदको तीतो अनुभव हुँदैन ।

हुन त नेपाली स्वयंसेवकमार्फत् नै भित्र पस्न सकिन्थ्यो होला । भनसुन चल्थ्यो होला तर म डराउँछु । एक त बर्मेलीको हुलमा मिसिएर नक्कली बर्मेली बनेको छु । त्यसमा सक्कली बल प्रयोग गर्न उपयुक्त भएन । म बाहिरिन्छु र सडक छेउको पर्खालमा झोक्रिएर बस्न बाध्य हुन्छु । मनमनै सोच्छु– एउटै बोली, भेष तथा अनुहार मिले पनि राष्ट्रियता एउटै हुन सक्दो रहेनछ, एउटै पृष्ठभूमि भएर पनि कागजी प्रमाण देखाउन नसकेपछि विभेदको महसुस हुँदोरहेछ । म बर्मामा गएर बर्मेलीको हुलमा मिसिए पनि बर्मेली बन्न सकिनँ । मैले मेरो परिचय फेर्न सकिनँ ।

सायद मेरो समस्याको पूर्व अनुमान भएर नै होला, डिलाराम अधिकारीज्यूले मेरो लागि एउटा पासको व्यवस्था गरिसक्नुभएको रहेछ । उहाँ हस्याङ्ग–फस्याङ्ग गर्दै मेरो नजिकै आउनुहुन्छ र पाखुरा समात्दै बोल्नुहुन्छ–

“भित्र जाऔँ ! राष्ट्रपति आउने बेला भयो ! मैले पास ल्याएको छु ।”

हामीहरू हतार–हतार गर्दै सभागृह भित्र पस्छौँ । नभन्दै त्यतिबेला अर्को सूचना आइहाल्छ– “सबैजना भित्र पस्नु होला, राष्ट्रपतिको आगमन भइसकेको छ । अब केहीबेरमा गेट बन्द हुन्छ ।”