राष्ट्र आफैँ चलाउँछौँ

गिरिराज शर्मा

छन्द:अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

हिमाल उच्चता दिन्छ वीरतावाद चिन्हमा
झरना शीतका विन्दु शान्तिका अभिषेकमा ।

पखेरी भरीमा फुल्छन् गुराँस लाली माथमा
शान्तिकै वासना मिल्छन् फूलका पत्र-पत्रमा ।

नदीका उर्लदा छाल वीरतामा रमाउँछन्
यिनै प्रकृतिले हाम्रा चाल-ढाल जनाउँछन् ।

उता तराईका फाँट भाइचारा सजाउँछन्
पहाड मदिशेभित्र प्रेमभाव जगाउँछन् ।

कठै ! यहाँ कुनै भेदभाव छैन समानता
नेपाल घर हो हामी नै छौं हाम्रो महानता ।

यिनै आदर्शहमा बाँचे वीर पुर्खाहरू सब
यिनै संस्कृतिका नाचे प्रीतका गीत गौरव।

न्यानो वसन्तमा वृक्ष बगैंचा भरि सुन्दर
पल्लबी मञ्जरीभित्र वासना छ मनोहर ।

कविता सविताजस्तैँ बहन्छ भाव सागर
बास नेपाल नै राम्रो चाहन्नौं स्वर्ग सुन्दर ।

कतै यहाँ चुके मात्र हामी नै सल् -बलाउछौं
नताकून् अरुले आँखा राष्ट्र आफैँ चलाउँछौं ।

(८३ वर्षीय वरिष्ठ साहित्यकार गिरिराज शर्मा अहिले वीर अस्पतालको सघन उपचार कक्षमा उपचारत हुनुहुन्छ । साहित्यपोस्ट परिवार उहाँको स्वास्थ्यलाभको कामना गर्दछ।)

 

प्यारी सुरभि

हरिप्रसाद पौडेल “स्वर्णशिखा”

छन्द:शिखरिणी
गण:य म न स भ लघु गुरु
विश्राम : छ र बार्‍ह अक्षरमा

बिछट्टै देखिन्छ्यौ गदगद तिमी सुन्दर धरा
नियाल्दा मेरो भो मन जुन थियो बन्जर हरा
निखारेको जस्तो सुललितकलाले तन छ त्यो
अनायासै देख्दा चपल अति मेरो मन भयो ।

धरेकी छ्यौ घुम्टो अतुल शिरमा नीर नभको
छ छातीमा चोली वनकुसुमको लाल रङको
खिलेका छन् सेता सरस हिमका दन्त लहरी
असाध्यै लट्ठ्यायौ नयन सुरसी मादक तरी ।

निकाल्दै छौ भाका मधुर स्वरमा गायन गरी
बराल्दै छ्यौ ताजा छङछङ बगी बैँस गठरी
फलेका छन् टन्नै फल वदनमा यौवन बनी
बगेका छन् मीठा वयस नदरूपी मद बनी ।

छ खोल्सा थुम्काको अनुपम छटा मोहक निकै
छ पाखो बारीको अतुलित छटा स्वर्गजतिकै
छ झल्को मेट्ने त्यो तन, महकिलो देह रतिको
कहाँ होला खिल्दै कमल पनि त्यो रूपसरिको ।

स्वयम् झुल्की तिम्रो रवि पनि सदा बन्छ पहरी
गरी तिम्रो व्याख्या कवि पनि खुसी छन् मनभरी
नियाल्दै मस्केका पवनसित ती केश लतिका
स्वयम् पर्ने गर्छन् चकित धरणीकै रचयिता ।

खेत सिँच्नु बाँझो

चन्द्रमणि अधिकारी

छन्द: स्रग्धरा
गण:म र भ न य य य
विश्राम :सात र चौध अक्षरमा

इच्छा जाग्यो भनेमा अवसर सजिलाे मिल्छ पक्कै छु ठान्दै
तान्ने पक्कै छ आफैं कि त हरफ स्वयम् पाठ याे गर्छु मान्दै
काे पो पुग्ला र चढ्ला गिरिशिखर पुगी पाइला नै नचाली
बल्ला बत्ती कहाँ पो अलमल छ भने सोच्छु साँच्चै नबाली ।

इच्छा राख्दै छ श्रष्टा अवसर सुकिलो विश्वमा कीर्तिमानी
बन्ने उद्देश्य चोखो मतलब बलियो हुन्छ नेपाल नामी
दिन्छिन् दीक्षा शुभेच्छा गजब सरस्वती विश्व विख्यात बन्न
हुन्थ्यो वा हुन्नथ्यो यो कवि अचम हुने काव्य श्रष्टा नमन्य ।

काे होलान् वाचनाले कवि मन दरिलो पार्न खोज्ने दयामा
इच्छामा हौसला होस् अलिकति थपिने चाखका श्रृङ्खलामा
माग्ने आशा गरेको अलिकति कविले साथ सद्भाव चोखो
भिन्नै उत्साह राखी मन र मगजमा भाग्यको खेल भोको ।

जे आयो लेख्न थाल्ने अगणित मनमा भावनाका तरेली
दिन्छन् उत्साह पक्कै असल नियतले झिम्किएका परेली
माग्दामा राज्य मिल्ने सदर बदरको भावना नित्य पाली
आएको हो उज्यालो किरणमय सफा खोज्न नौलो प्रणाली ।

लेख्दा गाह्रो परेमा विनयसित खुला माफ माग्दैछु ऐले
दाना दाना बटोली सुगम सरल होस् अर्थ जम्मा सबैले
हाेला के गर्न राम्रो सकुशल क्षमता भर्न उल्लास चाँजो
खोजेको आज हो याे सरल सहजमा खेत याे सिँच्नु बाँझो ।