“भौतिक फोहोर त सफा गरे दुई चार दिनमै सफा हुन सक्छ तर कहिल्यै नउक्किने गरी भित्री आत्मामै टाँसिएको विभेदकारी आत्मिक फोहोरको टाटो त्यति सजिलै सफा हुन सक्दैन ।” (पृष्ठ ११)

आख्यानकार दिलीप ढकालद्वारा लिखित ‘छलाङ’ उपन्यास समकालीन समाजको बिम्ब हो । यस उपन्यास शिखा बुक्सबाट प्रकाशनमा आएको उपन्यास हो । यस पुस्तकको सर्वाधिकार लेखकमा निहित छ । यस पुस्तकको आवरण सज्जा युवक श्रेष्ठद्वारा सिर्जना गरिएको हो भने लेआउट बाबु महर्जनद्वारा गरिएको हो । यस पुस्तकमा ज्ञानज्योति बुक्स पब्लिकेशन प्रा.लि. द्वारा वितरीत पुस्तक हो । यो उपन्यासमा देशले समता र समृद्धिको वास्तविक छलाङ मारोस् भन्ने लेखकको अभिव्यक्ति सहजै देख्न सकिन्छ । मानवता, चेतना, समता, समृद्धि अनि विकासको वास्तविक छलाङ मारेका दृश्यहरू यस उपन्यासमा भेटिन्छन् । समकालीन समाजको यथार्थ प्रस्तुत गर्ने यो उपन्यासमा जातीय विभेदको सङ्केत गरिएको छ । उपन्यासको विधा गैर-आख्यान भए तापनि प्रस्तुत कथावस्तु हालैको नेपाली समाजसँग धेरै मेल खान्छ ।

कथा मानवी र प्रभातको परिचयबाट सुरु हुन्छ । मानवी दलितकी छोरी थिइन् भने प्रभात बाहुनको छोरा थियो । सुरुमा उच्च जात मानिने र सानो जात मानिनेहरूलाई हेरिने विभेदकारी दृष्टिकोण प्रस्तुत हुन्छ । प्रभात उच्च जात मानिने समूहमा हुर्केर पनि समाजको जातीय विभेदकारी दृष्टिकोण उन्मूलन गर्ने महत्त्वाकाङ्क्षा उनमा बालापनदेखि नै थियो । त्यसका लागि उनले बालापनमा कठोर सङ्घर्ष गर्नुपरेको थियो । जातीय विभेदकारी दृष्टिकोणले हेरिने समाजमा बस्न नसकेर प्रभात घर छोड्ने विवशमा पुगेको थियो । क्रान्ति गर्ने सपना बोकी दुर्गन्धित क्रान्तिकारीको भेषमा ऊ पोखरा पुगेको थियो ।

अर्कोतिर उसकी बहिनी मानवी पनि पोेखरामा पढाइको सिलसिलामा पुगेकी थिइन् । उनीहरूको मुलाकातपछि प्रभातको दुर्गन्धित भेष, विक्षिप्त अनुहार र दुरावस्था देखेर मानवीले राजनीति र क्रान्तिका लागि मेरिमेट्न आवश्यक नभएकाे कुरा कैयाैँपटक अनुनय गर्थिन् तर मानवी असफल नै हुन्छिन् । प्रभातको अनुनयले मानवी पनि राजनीति र क्रान्तिमा सहभागी हुन्छिन् । दुर्गन्धित भई हिँडेको प्रभातलाई पनि मानवीले सुधार्छिन् । मानवी र प्रभात सहभागी भएको पार्टी “सार्थक युवा शक्ति” थियो । यस पार्टीले समाजमा घट्ने थुप्रै समस्याहरूलाई निर्मूल पार्ने उद्देश्य बोकेको छ । देशका अधिकांश युवायुवतीहरू यस पार्टीमा सामेल छन् । यस पार्टी पदलोलुप थिएन, उद्देश्य साकारको निम्ति तैनाथ पार्टी थियो ।

केही समयपछि मानवीको विवाहको कुरा चल्छ । विवाह मानवीको इच्छाविपरीत थियो तापनि मानवीले शिरोधार्य गर्छिन् । गम्भीरसँग विवाह भएपछि दुवैको जीवनमा दिनचर्यामा भिन्नता आउँछ । विवाहपश्चात् मानवीले अर्थोपार्जनमा जोड दिने कुरा र सन्तान प्राप्तिको दबाब मानवी र गम्भीर दुवैलाई आएको हुन्छ । अर्थोपार्जनका लागि मानवीलाई इजरायल पठाउने निर्णय गम्भीरले लिन्छ । इजरायलमा केयर गिभरको काम रहेको कुरा गम्भीरलाई अवगत भए पछि मानवीलाई उक्त काममा सक्रिय पार्नका लागि गम्भीरले मानवीलाई इजरायल पठाउने निर्णय लियो । राजनीतिक काममा कार्यरत् मानवीलाई इजरायल जाने चाहना नै थिएन । तर पनि गम्भीरको चाहना साकार पार्नका लागि आफ्नो चाहनाको उत्सर्ग गरी मानवी इजरायल जान्छिन् । वैदेशिक रोजगारका लागि धेरै नेपालीहरू इजरायल जाँदै थिए ।

इजरायलमा एउटा हजुरआमाको सेवा गर्ने जिम्मा मानवीको हुन्छ । कर्तव्यनिष्ठ भई मानवीले हजुरआमाको सेवा गर्छिन् । केही समयपछि त्यो हजुरआमाको नाति गोरे कथामा प्रवेश गर्छ । गोर र मानवीको घनिष्ठता पनि बढ्दै गएको हुन्छ । गोरे र मानवीको साथित्त्वमा आधारित सम्बन्ध शारीरिक सम्बन्धमा परिणत हुन्छ र गोरेकाे बच्चा मानवीको पेटमा हुन्छ । हजुरआमालाई यसबारे थाहा भएपछि मानवीलाई ५ हजार डलर दिन्छे र मानवीले नेपाल फर्किने निर्णय लिन्छे । सुरुमा मानवीले प्रभातलाई यसबारे भन्छ र प्रभातले यो कुरा गम्भीरलाई बताउँछ ।

मानवीलाई त्यो बच्चा पाल्ने चाहना र गम्भीरलाई अरूको पापको अभिभारा लिन मन नलाग्ने चाहना भएको कारण उनीहरूबिच चाहना विपरीत मन थियो । त्यही चाहना विपरीत मनको कारण उनीहरूको सम्बन्ध विच्छेद भयो । अर्कोतिर प्रभातले त्यो बच्चालाई स्वीकार्ने कुरा बतायो । मानवीले पनि प्रभातको कुरालाई स्वीकार्याे र उनीहरूको विवाह भयो ।

अन्त्यमा सार्थक शक्ति पार्टी, जनविकास पार्टी र राष्ट्रिय परिवर्तन दलहरूबिच समन्वयात्मक भावको स्थापना भयो । सार्थक शक्तिका अध्यक्ष प्रधानमन्त्री बने भने प्रभात पूर्वाधार विकास मन्त्री बने । अन्तिममा देशले छलाङ ‍मार्‍याे; मानवता, चेतना, समता, समृद्धि अनि विकासको वास्तविक छलाङ ।

उपन्यासका गहनाः

“जात त किन बदल्नुपर्यो र । जातीय विभेदको धमिलो संस्कार पो बदल्न जरुरी छ ।” (पृष्ठ १०)

“देशको विकास पनि यसरी नै जाँगरका साथ देशबासीले नै मिलेर गर्ने हो भने कसैसँग भिख माग्नु पर्दैन ।” (पृष्ठ ४३)

“गाउँबाट सहर आउँदा जगको माटो त फेरिन्छ नै तर भूगोल फेरिएर मात्र कहाँ अन्तरचेतना अनि विसङ्गत संस्कार फेरिन्छन् र ।” (पृष्ठ ४५)

“ठूलो जात र सानो जातको कुरा संस्कार संस्कृतिसँग जोडिएको हुँदैन, सामाजिक चेतनासँग जोडिएको हुन्छ ।” (पृष्ठ ८२)

“मान्छे बौद्ध हैन, बुद्ध बनेका थिए, कसैमा हिन्दु बन्ने अभिलाषा पलाउँदैनथ्यो, सबै राम बन्ने बाटोमा थिए । क्रिश्चियन अनि मुस्लिम बन्न कोही चाहँदैनथ्यो, सबै जिसस अनि मोहम्मद बन्न चाहन्थे। अर्थात् हिजोका मानव आज महामानव बन्ने यात्रामा थिए ।” (पृष्ठ २७५)

र अन्त्यमाः

उपन्यासमा यथार्थताको चित्रण गरी कल्पनाकतामार्फत राष्ट्रको प्रगति हुने अपेक्षा लेखकको लेखनशैलीबाट प्रतिबिम्बित हुन्छ । बगिरहेको कथालाई नसोचेको मोडमा लगेर अवतरित गर्नु लेखकको विशिष्ट गुण हो । कथाका पात्रहरूद्वारा विषयसुखबाट भागेर होइन, भोगर सामना गर्नुपर्छ भन्ने सन्देश अप्रत्यक्ष रूपमा पाउन सकिन्छ । जीवनका मनोकाङ्क्षा र याचनाको भोग गर्न नपाएका कुण्ठित र भोग गर्न पाएको सन्तोष जीवनलाई गहिरो रूपमा तुलना गरिएको यस उपन्यासमा असमानता, यौन र तल्लो जातिका सुस्केरालाई केलाइएको छ । आँसुले लेखिएझैँ लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, प्रस्तुत भाषाशैली र आख्यान शिल्पबाट पनि मन्त्रमुग्ध हुन्छन् ।

उपन्यासमा निहित कथाहरूको आलोचना गर्ने विषय पनि यहाँ भेटिन्छन् । इच्छा नभइकन विदेश गएकी मानवीले परिवारको निम्ति दिएको समर्पणको सन्दर्भमा स्त्रीत्त्वका कुरालाई केलाइएको थिएन । बढी स्थानमा पुरुषार्थका कुरालाई मात्र केलाइएको थियो । मानवी बच्चा बोकेर आउँदा गम्भीरले त्यो बच्चालाई स्वीकार्दैनथ्यो तर मानवी न्यायको निम्ति गम्भीरको घर पुगेको घटना पुस्तकमा प्रस्तुत हुँदैन । जातीय विभेदका दृष्टान्तहरू देशमा धेरै पाइन्थ्यो, जातीय विभेदको दृष्टान्तको सन्दर्भमा काल्पनिकतामा केन्द्रित हुनुभन्दा पनि वास्तविक विभेदकारी दृष्टिकोणमा केन्द्रित भई पुस्तक लेखिएको थियो भने पुस्तक रोचकताका साथै पाठकको ज्ञानकाे भण्डारमा पनि वृद्धि हृन्थ्यो । मूलतः, विकसित मानिएको यस समाजमा हालै पनि विभेदकारी दुष्टिकोण, चाहे त्यो जातमा होस् वा लैङ्गिकतामा, आस्थामा होस् या सम्प्रदायमा, त्यही विभेदरूपी दृष्टिकोण यहाँ आलोकित गरिएको छ ।

पुस्तक पढ्नु भनेको रुखमा फलेको अम्बा दृष्टि बन्द गरेर खानु जस्तै हो । परिणाम गुलियो पनि हुनसक्छ र टर्रो पनि । पुस्तक पढ्नु भनेको यथार्थताको झ्यालढोका थुनेर पर्दा सार्नु हो । परिणाम प्रत्यूष पनि हुन सक्छ, अन्धकार पनि । यो पुस्तक पढिरहँदा मलाई स्वादिष्टताको अनुभूति भयो, उज्यालोपनको महसुस भयो । देशले विकासको छलाङ पुस्तकमा मारिरहँदा वास्तविकतामा पनि देशले छलाङ मारेको अनुभूति हुन्छ । सरल भाषामा रचित यो पुस्तक सबै उमेर समुहका लागि उपयुक्त पुस्तक हो । मुख्यतः यो पुस्तक म आधुनिक युगका किशोरकिशोरीहरूलाई सिफारिस गर्न चाहन्छ ताकि राष्ट्र पूर्ण रूपमा विकसित नभएको सन्देश ती किशोरकिशोरीहरूमाझ पुगोस् र आधुनिक बनाउन प्रयत्न गर्नुपर्ने अन्तरचेतना पलाओस् ।

कक्षाः ९ ‘सैपाल’
डियरवाक सिफल स्कुल