यात्राको चौथो दिन बिहान उज्यालो हुन लाग्दा केही ससाना जहाजहरू र धेरै पर बत्ती बलेको देखियो । अब बस्तीहरू नजिक छन् भन्ने स्वाभाविक अनुमान हुने नै भयो । प्रिन्सेसले फियोल्र्याण्ड राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गराउन त्यतातिरबाट यात्रा तय गरेको रहेछ । चार दिनपछि पहाड, जङ्गल र झरनाहरू जस्ता भूमि देख्न पाइएकोमा सन डेक, स्पोर्ट डेक र बाल्कोनीहरूमा क्यामेरा लिएर मनमोहक दृश्य कैद गर्न सबै जुरमुराएका छन्, के के न देख्यौं, अरु के के न देख्छौं भन्ने छ । समुद्रमा रहँदा पहाड र रुखहरू मानिस निरासिँदो रहेछ, हामीजस्ता पहाडे चाहिँ समुद्रमा झ्याम्मिँदा रहेछौँ । नभएको चिज सबैलाई प्यारो ।

फियोर्डल्याण्ड निकुञ्ज विश्वकै ठूलो निकुञ्जमा पर्दो रहेछ । दक्षिणपश्चिम न्यूजिल्याण्डमा मेरिटान र वेइवेइ खाडीको बीचमा पर्ने यो निकुञ्ज विश्व सम्पदा सूचीमा समावेश भएको क्षेत्र हो । यसलाई स्थानीय भाषामा ‘टे रुवा टे माको’ (छाया क्षेत्र) भनिँदो रहेछ ।

फियोर्डल्याण्ड राष्ट्रिय निकुञ्जको विशिष्ट विशेषताका लागि प्रख्यात छ । पहिलो त यसको भूधरातल नै अनौठो छ । एकदमै ठाडो र कडा चट्टान भएका पहाडहरू छन्, जसबाट झरनाहरू समुद्रमा सरर्र झरेका दृश्य निकै लोभलाग्दा छन् । बीस लाख वर्षअघि यहाँ ठूला ठूला हिम पहिरो भएका कारण ‘यू’ आकारका उपत्यका र खोचहरू ठाउँठाउँमा बनाएको देखिन्छ । चट्टानहरू भित्र गहिरा गुफाहरू देखिन्छन् । जाने लोभ लागे पनि हामीहरू प्रिन्सेसमा रहेकाले त्यहाँ जाने सम्भावना कहाँ थियो र ? टे आनाउ ओ गुफा निकै अद्भुत छ रे । पार्कमा समावेश ससाना टापुहरू प्रत्येक अद्भुत र छुट्टै आकृतिमा छन् । रुखहरू छन् तर पातलो र ससाना । चट्टानी पहाड भएकाले पनि होला त्यति अग्ला पहाडहरूमा पनि पहिरो गएको देखिँदैन । एक लाख वर्ष अघिका ज्वालामुखी विस्फोटको अवशेषहरू पनि देखिन्छन् ।

फियोर्डल्याण्डको अर्को विशेषता यहाँको जलवायु हो । निरन्तर रूपमा चल्ने पश्चिमी वायुले नाटकीय रूपमा मौसम परिवर्तन भैरहँदो रहेछ । एक छिनमा पानी, एकै छिनमा घाम र एकै क्षणमा बतास चल्दो रहेछ । वर्षको २०० दिन जति ठूलो वर्षा भै वार्षिक १२०० मिमि देखि ८००० मिमि पानी पर्दो रहेछ । कतिपय दिनमा हुने हिमपातले पनि तापक्रम चिसो बनाउँछ रे ।

विशिष्ट भूधरातल र जलवायुको प्रभाव प्राणी तथा वनस्पतिमा पर्ने नै भयो । कडा चट्टान र चिसो तापक्रमका कारण तिखा पात भएका सुरिला बोटबिरुवाहरू सदाबहार हरिया देखिएका छन् । १०० मिटरभन्दा माथिका भूभागमा अल्पाइन जडीबुटीका बुट्यानहरू पनि छन् ।

फियोर्डल्याण्ड अनेकन् दुर्लभ प्राणीको वासस्थान पनि हो । विश्वकै दुर्लभ मानिएको टाकाहे जातको सुगाहरू यहाँ आफ्नो अस्तित्व देखाइरहेका छन् । विश्वको ठूलो काकापो सुगा, पहेलो सिउर (कल्की) भएको पाराकिट, रविन र काका प्रजातिका रङ्गिन चराहरू, लामो तथा छोटो पुच्छर भएका चमेरोहरूले निकुञ्जलाई आफ्नो साम्राज्य बनाइरहेका छन् । मानिसहरूको अतिक्रमण प्राय सम्भव नहुने भएकोले यी दुर्लभ चराहरू आफ्नो पहिचान कायम गरिरहेका छन् । फियोर्डल्याण्डका ताल तलैयामा निलो हाँसहरू देखिन्छन् । जङ्गलमा विशेष प्रकारका मुसा, हरिण, मृगहरू र नामै नजानेका दुर्लभ जनावरहरू देखिन्छन् । युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको फियोर्डल्याण्ड आदिवासी माउरीहरूको भूभागका रूपमा पनि चिनिन्छ । तर अहिले जनआवादी देखिँदैन । क्याप्टेन कुक र उनको समूह यो भूभागमा पहिलो पटक पाइला राख्ने युरोपीयन थिए । उनीहरूले सन् १७७३ मा पिकरगिल हार्ववरमा पाँच हप्ता बिताएका रहेछन् ।

फियोर्डल्याण्डका ससाना टापु, झरना, प्राणी वनस्पतिको मनमोहक दृश्यहरूको अवलोकन गर्दागर्दै धेरैले बिहानको खाजा पनि भुलेका छन् । मलाई भने यहाँका कतिपय झरना र अजङ्गका पहाडले शेफोक्सोण्डो तालको अनुभूति दिलाइरहेका छ । प्रिन्सेसले अलि पर पुगेर फर्किंदाको दृश्य भने तिब्बतको नाम त्छो तालको झझल्को दिलायो ।

केही अबेर बिहानीको खाजा लिई जुम्बा नाचको दृश्यावलोकन पछि ‘ताइ ची’मा सहभागी हुने मन लाग्यो । समानान्तर रूपमा ताइ ची, एरोविक्स, जुम्बा र योगका अभ्यासहरू भैरहेका छन्, तर यी प्रतिस्पर्धामा नभै चाखमा आधारित छन् । ताइ ची चिनिया शैलीको योग अभ्यास हो । हामीले सिक्दै, अपनाउँदै आएको योगभन्दा ताइ ची सजिलो छ । हामीले पनि यसका चारवटा अभ्यास गर्यौं। सबैजसो योगको विशेषता शरीर र मनलाई एकाग्र बनाउने हो भन्ने बुझ्न गाह्रो भएन । स्वस्थ शरीर र स्वच्छ मन सबै योगको आशय हो, ताइ ची यसमा अपवाद थिएन । हात, खुट्टा, शरीर र श्वासको सन्तुलित अभ्यासबाट ताइ ची गरिँदो रहेछ ।

दिवा खानापछि जाज सङ्गीत, सोलो गितारको अवलोकन पछि मोडर्न फेमिली र एलोन होम चलचित्रबाट आनन्द लियौं । धेरै कार्यक्रम हेर्ने इच्छा समय मिलाउन नसक्दा सहभागी हुन भ्याइने सम्भावना थिएन । प्राय नहेरिएका र विशेष कार्यक्रमको अनुभव लिने चाहना अनुरूप म र कमला सहभागी भयौं । सुव्रत र दिक्षा भने उनीहरूको उमेर र पुस्ता अनुरूपको कार्यक्रममा रमाउँदै होलान् ।

बेलुका ‘वन नाइट विथ यु’मा चेवर्टनसाथ सङ्गीत प्रदर्शनमा हामी चारै जना सहभागी छौं । सङ्गीतका जीवन्त कार्यक्रमहरु खुबै रमाइला छन् । हामी दर्शकले मन पराए नपराएको आधारमा गायक आफूलाई सुधार्न सक्छ, यो नै जीवन्त कार्यक्रमको विशेषता हो । डेक सातको प्रिन्सेस थिएटर सभाकक्षमा आयोजित यस कार्यक्रममा थिएटरका सबै सिटहरू खचाखच भरिएका छन् । विश्वभरि नै सङ्गीत साह्रै प्रिय र जीवन्त कला मानिन्छ । अन्य कलाभन्दा प्रभावोत्पादक पनि छ सङ्गीत । प्रिन्सेस यात्राले पनि यसको पुष्टि गर्यो । थिएटरका दर्शकहरू जुरमुराएर बसेका छन् ।

लाग्थ्यो ‘वन नाइट विथ यु’ का सङ्गीत शरीरबाट पसेर मनसम्म पुगिरहेका छन् । सङ्गीतको परम्परागत मान्यता सिधै मनमा पसेर हृदय विरेचन गर्ने हो । तर विकास क्रमले सुन्नेभन्दा हेर्ने सङ्गीतलाई उजागर गरेको छ, जुन पहिला आँखा र शरीर हुँदै मनसम्म पुग्ने गर्छ । सङ्गीत बहुआयामिक भएको भनौं कि बटारिएको भनौं ? अब त कथा पनि हेर्न कथा भैसक्यो । चित्रकलामा धुन खोज्ने, कथामा दृश्य खोज्ने, नृत्यमा कथा गाँस्ने र गीतमा दृश्य खोज्ने क्रम बसेको छ । प्रविधिले पनि यसलाई सघाएको छ । आखिर अहिलेको पुस्ता भाग्यमानी हो । नजाने कति नयाँ कुरा र शैलीविधान मिलेनिएल र जुमर पुस्ताले देख्छ, भोग्छ होला ?

पाँचौँ दिन उज्यालो हुँदा प्रिन्सेस न्यूजिल्याण्डको सुन्दर पहाडी शहर डुनेडिनको चाल्मर्स बन्दरगाह पुगिसकेको थियो । यो न्यूजिल्याण्डको व्यापारिक बन्दरगाह हो । बन्दरगाहका ठूलो भाग काठका गोलियाहरूको थुप्रै व्यवस्थित खलियाहरू छन् । काठहरू ओसार्ने काममा रेल र कन्टेनरहरू स्वचालित छन् । काठहरू मिलाउने, कन्टेनरमा राख्ने र जहाजमा लोड गर्ने काम यान्त्रीकृत रूपमा भैरहेको छ । यहाँका काठहरू अधिकांश चीनका शहरहरूमा पुग्दा रहेछन् ।

चीनका फर्निचर उद्योगका कच्चा पदार्थ न्यूजिल्याण्डका पहाडी बनले उपलब्ध गराउँदो रहेछ । पहाडी धरातलमा नेपालको हिमाली सल्ला जस्ता ठूलाठूला रुखहरूको खेती गरिँदो रहेछ । मलेसियाको रावाङ, पेनाङ इलाकाका जस्तै यहाँको प्रमुख खेती व्यवसाय नै बन पैदावार उत्पादन गर्नु रहेको छ । फरक कति भने मलेशियामा गर्मी छ, डुनेडिनमा जाडो । दुवै स्थानको समान विशेषता चाहिँ बलौटै माटो र दम्स्याइला पहाड र समस्थली हुन् । रुखको मुख्य भाग टिम्बर अनि हाँगाहाँगी र बोक्राहरूबाट कागज लगायत अन्य उपयोगी बस्तु निर्माण हो । साथै वनभित्रका जनावर तथा पशुपन्छीलाई खानाका परिकार बनाउन डुनेडिनका जङ्गलले सघाएको छ ।

बिहानको खाजापछि चाल्मर्स बन्दरगाहबाट डुनेडिन शहरका लागि सिटी बस छुट्यो । सुन्दर पहाडी शहरको निर्माण युरोपीय शैलीमा भएको देखिन्छ भने सिङ्गापुरको शैलीमा सडक वरपर बगैँचा जस्तै रुख बिरुवाहरू रहेका छन् । आवास घरहरू ससाना र हलुका फेव्रिकेटेड संरचनामा छन् । ठूला आवासीय घरमा लगानी गरेर अर्थतन्त्र गुलजार हुँदैन भन्ने न्यूजिल्याण्ड निवासीले राम्ररी बुझेका छन् । युरोपीयहरूले न्यूजिल्याण्ड अतिक्रमणपछि निर्मित डुनेडिन शहर मलेसियाको जर्ज टाउनको झल्को दिन्छ । शहरको मध्य भागतिर न्यूजिल्याण्डको विख्यात ओगाटो विश्वविद्यालय छ ।

पुरानो शैलीको रेल स्टेसन र आर्ट ग्यालरी पनि विश्वविद्यालय नजिकै छ । केही पर गएपछि १८६३ मा बनेको निकै सुन्दर बोटानिकल गार्डेनले डुनेडिनको शोभा बढाइरहेको छ । पर्यटक तथा विद्यार्थीहरूको यहाँ भिड छ । डुनेडिन नगरपालिकाबाट व्यवस्थित यस बोटानिकल गार्डेन अवलोकन गर्न कुनै शुल्क लाग्दैन । बगैँचामा विभिन्न प्रजातिका चराचुरुङ्गी र पुतलीहरू छन्, विश्वका विभिन्न मुलुकमा पाइने फूलहरू निकै आकर्षक रूपमा फुलाइएको छ । मलाई भने त्यहाँको सेतो गुराँसले तान्यो । नेपालको तेह्रथुमको स्मरण गरायो । सेतो गुराँस र राता गुलाफसँग रहेर अघाउञ्जेल तस्बिर नखिची आउन मन मानेन । हल्का बताससाथ पानी परिरहेकोले धेरै समय रहन भने प्रकृतिले दिएन । मौसमको जानकारी नभएकाले हामीहरू काठमाडौँबाट छाता, बर्सादी नलिईकनै गएका थियौं । प्रिन्सेस ड्युटी फ्रि पसलबाट सुव्रत र दिक्षाले प्रिन्सेस छाता नल्याएको भए हामीहरू घुम्न सक्दैनथ्यौं ।

डुनेडिनको ओगाटो शहरले नयाँ शैलीमा पुरानो संस्कृति बचाइराखेको छ । रेल्वे स्टेसन, आर्ट ग्यालरी, सरकारी भवन र विश्वविद्यालयले त्यही बताइरहेको छ । ‘ऐतिहासिक घर’ को नाममा एउटा घरलाई नै सङ्ग्रहालयको रूप दिइएको छ जहाँ माउरीहरूको भूमिमा युरोपीयहरूले धावा बालेदेखि आजसम्मका जीवनशैली, शासकको रहनसहन, यसको क्रमिक परिवर्तनलाई सिलसिलाबद्ध  राखिएको छ । आदिवासी माउरीहरूको संस्कृति र रानी भिक्टोरियाको संस्मरण झल्काउने कलाकृति, मूर्ति र स्मारकहरू यत्रतत्र देखिन्छन् । इतिहास बचाइ राख्दा यसले मानिसलाई शक्ति र पहिचान साथै दिन्छ भन्ने डुनेडिनले देखाएको छ ।

तर न्यूजिल्याण्डको क्वारेनटाइन कानुन र शहरी अनुशासन पद्धति निकै कठोर छ । प्रत्येक बन्दरगाहमा झर्नुअघि प्राणी तथा वनस्पति र यसका उत्पादनहरू ल्याउन प्रतिबन्ध भएका सूचनाहरू पढ्न र सुन्न पाइन्छ । बन्द पानी, औषधि र्याप्ड काडवोरी चकलेटबाहेक अन्य खाद्य बस्तुहरू न्यूजिल्याण्डभित्र कसैले लगेमा ४०० डलर दण्ड सहितको सजाय दिइँदो रहेछ ।
डुनेडिनको विकासमा स्थानीय सरकारको ठूलो भूमिका छ । पार्क, आवास संरचना, बगैँचा, आपूर्ति प्रणालीको डिजाइन स्थानीय सरकारले स्वीकृत र नियमन गर्दछ । नागरिक तहमा अनुशासन अवलम्बन जीवनशैली बनेको छ । स्थानीय सरकार जनभावना अनुरूप छ, जनता स्थानीय सरकार अनुरूप छन् । प्रणाली बनाउन गाह्रो छ तर एक पटक प्रणाली बनिसकेपछि तोडिंदैन भन्ने उदाहरण डुनेडिनले दिएको छ । सडक अतिक्रमण, ठूला आकारका घर निर्माण र खुला क्षेत्र अतिक्रमण कसले गर्छ र ? प्रकृति पनि रमाएको, जनता पनि खुसी र सरकारले शहर बस्तीको मापदण्ड निर्धारण र नियमन गरेको देखिदा शहर साँच्चै सुविधा र सौन्दर्यको स्थल हो भन्ने अनुभूति हुन्छ ।

छैठौं दिन (नोभेम्बर २४) उज्यालो हुँदा प्रिन्सेस क्राइष्टचर्चको लाइटेलटन शहर बन्दरगाह पुगिसकेकी छ । वरिपरि ससाना बस्ती र बस्तीमाथि बगैंचे बनपोथ्राले हामीलाई फेरि बेस्सरी लोभ्यायो । भूधरातल सामान्य ढल्काइ (जेन्टल स्लोप) मा छन् । झलक्क आँखा पर्दा लाइटेलटन शहरको पहिलो झल्का फेवा लेकसाइडको ठूलो रूप हो ।

हामी शहरमा घुमघामको कार्यक्रम छाडेर गाउँ छानेका छौं । शहर त वेलिङ्टन, ओकल्याण्ड हेर्नु नै छ, हिजो डुनेडिनको शहरी सौन्दर्य अवलोकन गरिइहालियो । न्यूजिल्याण्डको पहाडी बस्ती र गाउँ हेर्ने रहर पनि पूरा गर्नु पर्यो । नेपालको कृषि विकास रणनीति तर्जुमाका प्रमुख सल्लाहकार न्यूजिल्याण्डका पूर्व प्रधान मन्त्री थिए भन्ने सुनेको थिएँ, यो विषय नेपालमा निकै आलोचित भए पनि न्यूजिल्याण्डको कृषि व्यवसाय पक्कै राम्रो हुनुपर्छ भन्ने मलाई त्यति बेला लागेको थियो । सहकारी खेतीको नमूना इजरायल हेर्ने रहर कृषि सचिव भएको समयमा मन्त्रालयको कामले सम्भव भएन । मन्त्रालयको काम छाडेर सचिव र मन्त्री एकै चोटि बाहिर जानु हुँदैन भन्ने मेरो मान्यताका कारण मन्त्रीज्यूले मात्र अवलोकन भ्रमण गर्नुभयो । अर्को अवसर आउनु अघि मलाई त्यहाबाट सरुवा गरियो । सेवा निवृत्त भएको दुई वर्षपछि आफ्नै लागतमा यहाँ आउने चाहना पूरा भयो ।

न्यूजिल्याण्डको कृषि प्रणाली हेर्ने रहरका पछि दुई कारण थिए, पहिलो कृषि विकास रणनीति तर्जुमाको नेतृत्व गर्ने व्यक्तिको मुलुकमा कस्तो कृषि प्रणाली रहेछ, दोस्रो नेपालजस्तै हावापानीको विविधता भएको मुलुकमा उच्च धरातलमा कस्तो खेती (हाइल्याण्ड फार्मिङ) कस्तो हुँदो रहेछ ? मेरो मनको कुरा बुझेर नै सुव्रतले लाइटेलटनको पहाडी गाउँको अवलोकन गर्ने रोजेको होला ।

बिहानै बन्दरगाहबाट बाहिरिएर ह्यासल फ्री बस लियौं । प्रिन्सेसबाट बससम्म जाँदा दर्के पानी पर्यो । चिसो हावासाथ आएको पानी ज्याकेटभित्र सम्म पुग्यो । कमला र मैले प्रिन्सेस छाता ओढेका थियौं । सुव्रत र दिक्षाले पनि एकै छाता ओढेका छन् तर उनीहरूको ज्याकेट वाटरप्रुफ छ । डुनेडिनमा जानुअघि बाबुले छाता नकिनिदिएको भए हाम्रो हालत मुसो रुझेझैँ हुने थियो । न्यूजिल्याण्डको पानीमा छाताले सामान्य ओत मात्र दिँदो रहेछ । बर्सादी किन्नुपर्ने रहेछ भन्ने लाग्यो । तर यति लामो समुद्री यात्रा गरिन्छ जस्तो पनि लागेको थिएन, यस्तो ठाउँको मौसमी गतिविधिबारे पनि हामी जानकार थिएनौं ।

ह्यासल फ्रि टुर्सको आरामदायी बस चढेपछि चालीकाले हिटर चलाइदिइन् । क्राइष्टचर्च बन्दरगाहबाट लाइटेलटन शहरका गाउँतर्फ लाग्ने बित्तिकै लामो सरुङबाट बस सानो गाउँमा निस्कियो । डुनेडिन शहर भए पनि भिरालो बस्तीमा शहर थियो, लाइटेलटन चाहिँ गाउँ भए पनि समथर तराई रहेछ । लाइटेलनटका बर्घिङ्टन, आर्थमन्टन, बर्निघम लगायतका बस्तीहरू सबै सम्म छन् । पहाडी इलाका पनि अग्लो पहाड नभै दम्स्याइलो र बलौटे माटोको छ ।

बस्तीहरू ससाना समुदायमा गुजुमुजु छन् । खेतीका लागि गाह्रो होइन, ठूला ठूला फाँट छन् । नेपालमा ससाना गह्रा मात्र देख्न पाइन्छ तर यहाँ बस्ती चाहिँ सानो गह्राहरू आँखाले भ्याउने नभ्याउने गरी फैलिएका छन् । सबै फाँटहरूका समान विशेषता छन् । फाँटहरू धुपीसल्लाका रुखहरूबाट बारिएको छ । अग्ला धुपीसल्लाका कारण फाँटभित्र केको खेती गरिएको छ भन्ने बाटोबाट सहजै देखिँदैन । फाँटभित्र पस्ने ढोको पनि हरिया धुपीसल्ला कलात्मक रूपमा मिलाएर बनाइएका छन् । सबै फाँटमा हरियो जै घाँस लहलह छ । यहाँ अन्न बाली नभएर घोडा, गाई र भेडा खेती गरिएको छ । कताकती तरकारी खेती र हरिण पालनका फाँट पनि छन् । बथानका बथान पशुहरू फाँटभरि ओकारेर आराम गरिरहेका छन् । जै घाँसमा पटाउनका लागि पाइपबाट प्राकृतिक वर्षा झैँ पानी पार्ने थोपा सिंचाइ प्रणाली स्थापित छ ।

माथिल्ला भूभागमा कि भेडा पालन छ वा धुपीसल्लाका ठूला ठूला रुखहरू भएको बन । फाँटहरूको थाप्लोमा फार्म हाउस (गोठ) हरू छन् । सामान्यतः गोठालाहरू देखिँदैनन्, धुपीका उच्च बोटहरूले नै बार र गोठालोको काम गरेको देखिन्छ । यहाँको कृषि व्यवसाय भनेको प्रमुखतः वन र पशुपालन  हो । नेपालमा भने खेती भन्ने बित्तिकै धान, मकै जस्ता अन्न खेतीलाई सम्झिइन्छ । यहाँको प्रमुख उत्पादन पनि काठ, दुग्ध पदार्थ, मासु र उल हो ।

यी दृश्यहरू देखेपछि कृषि विकास रणनीति मस्यौदाको नेतृत्व न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्रीले गर्नु ठिकै रहेछ भन्ने लाग्यो । ठूला फाँट वा चक्लाबन्दीको अवधारणा अवलम्बन गर्दा उत्पादन लागत घट्ने र उब्जाउ बढ्ने हुन्छ । कृषि साधन प्रयोगमा पनि सहजता ल्याउँछ । कृषि विकास रणनीतिले पकेट, ब्लक, जोन र सुपरजोनको अवधारणामा कृषि प्रवर्द्धन गर्ने कार्यक्रम त राखेको छ तर राजनीतिक प्रियताले यसलाई यति सहज बनाइएको छ कि एक टुक्रा जग्गा एक वडामा र अर्को टुक्रा जग्गा अर्को वडामा भए पनि जोडेको देखाएर ब्लक, पकेट, जोन निर्माण गरिन्छ । यो उत्पादनभन्दा पनि अनुदानमुखी भै मुख्य विषयबाट किनारा लागेको छ । कृषि भूमि उत्पादनभन्दा स्वामित्व र वितरणको राजनीतिमा छ । अहिले त संविधानले नै यसलाई आत्मसात् गरेको छ ।

क्राइष्टचर्चको शहरको माथिल्लो भाग माउन्ट शमर, तल्लो भाग माइफिल्ड र माइथ हेभेनसम्म जाने क्रममा क्षण क्षणमा आएको पानी र बतासका कारण राम्ररी दृश्यावलोकन गर्न सकिएको छैन । पहाडको माथिल्लो भागमा पुगेपछि भने वर्षाले विश्राम लिएकाले मनग्गे दृश्यावलोकन गर्न सम्भव भयो । ठूला अजङका पहाड पहाडमा ससाना पोथ्रे तर बाक्लो झाडी र तल रोशीखोला जस्तै कञ्चन नदी र सबैजसो भूभाग जनआवादीका हिसाबले निर्जन देखिन्छ । यहाँको प्रकृति मानव पदचापबाट पूरै पवित्र छ । अङ्ग्रेजी चलचित्रमा देखिने डरलाग्दा दृश्य र नेसनल जिओग्राफीमा देखिने साहसिक डकुमेन्ट्रीका दृश्य छायाङ्कन गर्ने गज्जबको स्थान रहेछ माउन्ट शमर । एक टोली भाला, तरबार र लामालामा काउबाइ बख्खुहरूमा चलचित्र छायाङ्कन गर्दै रहेछ । उनीहरूको लामो सम्राटी तरबार उचालेर हामीले पनि तस्बिर खिच्यौं । निकै गहुँगो पो हुँदो रहेछ ।

जति हेरे पनि मन नअघाउन पहाडी दृश्य हाम्रै डोल्पा, हुम्ला र मनाङ–मुस्ताङको वातावरणसँग सदृश्यता गाँस्न मन लाग्यो । नेपालका उच्च पहाडी भाग सुख्खा छन् र ढाल उच्च छ तर यहाँ हरियाली र दम्स्याइलोपनले पहाडी धरातल मनमोहक र सलल्ल छ । नेपालमा चरण क्षेत्रहरू हरिया छैनन्, यहाँ पूरै हरियो छ । नेपालमा ससानो बस्ती छ तर यहाँ सुन्दर रूपमा सजाइएको बगैँचा जस्तो बनको बोलबोला छ, मानव बस्ती छैन भने पनि हुन्छ । हुम्ला, डोल्पा, मनाङ मुस्ताङका बाटाहरू धुलाम्मे छन्, हावासाथ धुलो पनि आउँछ, माउन्ट शमरमा भने चिसो सिरेटोले मुटु कमाएको छ । कुनै भिरालो भाग पनि नाङ्गो छैन ।

पहाडका टुप्पातिर धुपी सल्ला र काँडे पोथ्राहरू छन्, सेतो बाबियोका लहलह झुप्पाहरू र थरीथरिका मसिनो घाँसहरू हावाको झोक्कासाथ बयेली खेलिरहेका छन् । ती बयेलीले पनि समुद्री छालसँग मितेरी लगाएको भान पारिरहेका छन् । बाटोको दायाँबायाँ जतासुकै मिलाइएका हरियाली रुखले पूरै बाटोलाई बगैँचा बनाएको छ । हरियो घाँस, झाडी र धुपी सल्ला सौन्दर्य, संरक्षण र आय आर्जनको तेहोरो भूमिकामा छन् । मानव पदचापबाट चोखो रहेकाले जैविक विविधता बाँचेको छ । सङ्कटापन्न दुर्लभ प्राणीहरू फाट्टफुट्ट देखिन्छन् । संरक्षण र सौन्दर्यीकरणमा धेरै सावधानी अपनाइएको छ । यसले प्रकृति संरक्षण र मानव सभ्यता सँगसँगै जानुपर्छ भन्ने सन्देश बाँकी विश्वलाई दिइरहेको छ ।

लाइटेल्टन शहरले प्रकृति उही हो, यसलाई उपयोग गर्ने तरिका फरक छ, प्रकृतिलाई मानिसले माया गरे प्रकृतिले मानिसलाई संरक्षण गर्छ भन्ने उदाहरण देखाएको छ । ठीक यसै बेला संयुक्त अरव इमिरेट्स्को दुवाइमा कोप–२८ जलवायु सम्मेलन सुरु भएको छ । साझा भविष्यको खोजीका लागि त्यहाँ न्यूजिल्याण्डको अभ्यासलाई विनिमय गरे पनि हुने । त्यसो भए संरक्षण, सौन्दर्य र उपयोगको अनुपम अभ्यासबाट अल्पविकसित मुलुक उत्साहित हुन र विकसित मुलुकहरू अल्पविकसित मुलुकका लागि पुँजी एवम् प्रविधि सहयोग गर्न नैतिक दबाब यसले दिन सक्छ ।

साँझ हामी साउथ प्यासिफिक सागरमा बिताउन प्रिन्सेस क्रुजको मरिना डेकको एम ६१५ नम्बरको कोठामा आयौं । आज थाकिसकेकाले रात्रि भोजनपछि खासै कार्यक्रममा सहभागी नभई उन्नाइसौं तलाको सन डेकमा पश्चिमतर्फ हेर्दै सूर्यास्त र सागरको लुकामारी नियाल्यौं । सूर्य ललिमायुक्त मधुरो हुँदै थियो, खेलाउँदै खेलाउँदै सागरको घुम्टोले लुकाइ दियो । समुद्ररुपी आवासमा झ्याप्प बत्ती गएजस्तो अँध्यारो भयो । क्रुजभित्र त झलमल्ल, रङ्गीचङ्गी बत्ती छँदैछन्, प्रकृति र प्रकृति नियमाली रहेको मनभित्र भने बत्ती गयो । साथीहरू पिएजा, क्यासिनो, थिएटरका दर्जनौ कार्यक्रममा सहभागी छन्, प्रिन्सेस भने वेलिङ्टनको यात्रामा अगि बढी । भोलि उज्यालो हुँदा ऊ वेलिङ्टन पुग्नु छ ।

सातौँ दिन उज्यालो हुनुअघि नै प्रिन्सेस शिवपुरी डाँडा जस्तै सुन्दर पहाडमुनि पुगी विश्रामको तयारी गर्दै छ । न्यूजिल्याण्डको दोस्रो ठूलो शहर वेलिङटनमा प्रवेश गर्न लागेकोमा हामी कौतूहलमा छौं । बिहान हतार हतार गर्दै बन्दरगाहबाट शटल बस समात्यौं । ओटे क्वेबाट ल्याम्वटन क्वेसम्मका लागि सटल बसहरू सञ्चालनमा छन् । यस शहरमा घुम्नका लागि केही सजिलो यस अर्थमा छ कि रौनक र कविता यही काम गर्दै पढ्दै पनि छन् । उनीहरू आठ बजेदेखि नै हामीलाई स्वागत गर्न बस बिसौनीमा कुरेर बसेका रहेछन् । उनीहरूकै अगुवाइमा नै हामीले वेलिङ्टन शहर घुम्ने र जानकारी लिने काम गर्यौं ।

युरोपीय शैलीमा बनेको वेलिङ्टन खासै ठूलो छैन । शहरमा सोह्र लाख जति जनसङ्ख्या बसोबास गर्दा रहेछन् । कूल साढे ५२ लाख जति जनसङ्ख्या भएको मुलुकमा एकै शहरमा १६ लाख जनसङ्ख्या हुनु ठूलो हो । हामी सर्वप्रथम संसद् भवनतिर लाग्यौं । यहाँको संसद् भवन अमेरिकाको क्यापिटोल भवन मिल्दोजुल्दो शैलीमा पुरानो ढाँचामा बनाइएको छ । अगिल्लो आकृति गोलाकार छ । प्रिन्सेसका यात्रुहरू शहरमा पैदल यात्रा गरिरहेको, भोजनालय र मलहरू चहारिरहेको देख्न सकिन्छ । केबलकारबाट शहरको अवलोकन गर्ने भीड छ, त्यही भीडमा हामी छ जना पनि समावेश भयौं । केबलकार पछि सिधै पार्कतिर झर्नेको सङ्ख्या भने त्यति धेरै छैन । पार्कमा सेतो गुराँस र विभिन्न जातका फूल, चराचुरुङ्गीहरूको अवलोकन गर्न सकिन्छ । नेपालको त्रिभुवन स्मारक पार्कको झल्का दिने यो पार्क डुनेडिनको भन्दा सानो छ, फूल र पोखरीहरू पनि कम छन् । अवलोकनकर्ता पनि त्यति धेरै छैनन्, केही बच्चाहरू डक पण्डमा झुम्मिएका छन् । केही युवा युवतीहरू क्यामेरा तेर्स्याएर तस्बिर खिच्नमा तल्लीन छन् ।

छोटो समयमा न्यूजिल्याण्डको जानकारी लिने सबैभन्दा सजिलो माध्यम सङ्ग्रहालय हो । हामी पनि पापा म्युजियम पस्यौं । सङ्ग्रहालयमा न्यूजिल्याण्डको चरणबद्ध इतिहास प्रदर्शन छ । सर्वप्रथम अन्यत्रबाट आएका चराहरूले यहाँका चरालाई विस्थापित गरेछन् । त्यसपछि तेह्रौं शताब्दीतिर एकै रुखको २० मिटर लामो डुङ्गाबाट फिँजी–इण्डोनेशियातिरबाट आएका माउरी जातिका पुर्खाले आबादी सुरु गरेछन् । माउरी जातिको आहारको स्रोत चरा र माछा रहेछ । यस अर्थमा उनीहरूले चरा र ठूला ठूला जनावर विस्थापित गरेछन् ।

सोह्रौं शताब्दीमा युरोपीयहरू आएपछि माउरी पनि मूलधारबाट विस्थापित भएछन् । शासन सत्तामा बेलायतीहरूको आधिपत्य कायम भएछ । यस अर्थमा इतिहास भनेको प्रतिस्पर्धा र विस्थापनको खेलजस्तै देखिन्छ । उन्नाइसौं शताब्दीमा ठूला सङ्घर्षपछि सन्धि गरेर न्यूजिल्याण्डबासीले अधिकार त लिएछन् तर त्यति बेलासम्म युरोपीयहरूको बोलबाला भै सकेको थियो भने आदिवासी माउरीहरू कुना कन्दरामा पुगेका थिए । यद्यपि न्यूजिल्याण्डको राष्ट्रप्रमुख बेलायतको राजा हुने चलन छ भने माउरीलाई अधिकार त दिइएको छ तर युरोपीयहरूको सामु हरेक क्षेत्रमा उनीहरू पछि छन् । साँच्चै भन्ने हो भने किनारामा छन् । समावेशिताका लागि निश्चित स्थानमा आरक्षणको व्यवस्था छ । सङ्ग्रहालयको अवलोकनपछि के लाग्यो भने मानिस हुन् कि अन्य प्राणी बसाइँ सरेर अन्यत्र गएकाहरूसँग सङ्घर्ष र प्रतिस्पर्धाको शक्ति बढिहुँदो रहेछ र रैथानेहरूलाई तिनीहरूले विस्थापन गर्दा रहेछन् ।

युरोपीयसँग न्यूजिल्याण्डवासीले गरेको युद्धका रोचक सिलसिलालाई सङ्ग्रहालयमा सजीव ढङ्गमा राखिएको छ । साथै कला, संस्कृति, जीवनशैलीको पनि यो जीवन्त इतिहास बनेको छ ।

कुनै जमाना थियो न्यूजिल्याण्डडमा आउने नेपालीको नाम सामान्य ज्ञानमा लेखिन्थ्यो । उति बेला सत्यमोहन जोशी सरकारी कामको सिलसिलामा यहाँ आउने पहिलो नेपाली थिए । अहिले यति नै नेपाली यहाँ छन् भन्न नसकिएता पनि करिब २०–२२ हजार नेपाली यहाँ रहेको अनौपचारिक जानकारी नेपाली न्यूजिल्यण्डबासीबाट पाइयो । उनीहरूमध्ये धेरैजसो नेपाली डायस्पोरामा संलग्न रहेछन् । कतिपय नेपाली कर्मचारीहरू नेपालको जागिर छाडेर यहीको सरकारी सेवामा पनि प्रवेश गरेका छन्, केही नेपाल सरकारको जागिरमा रहेकै बखत कुनै कामको सिलसिलामा यहाँ आएर स्थायी आवासीय बनेका छन् ।

राष्ट्रिय गर्व कायम गर्न सरकार र नागरिक दुवै सक्रिय नभए कुनै मुलुकले तयार गरेका राम्रा जनशक्ति अर्को देशमा अवसरको बनिबनाउ पौलमा जाने क्रम बढिनै रहने छ र यसले राष्ट्रिय संस्कृतिलाई प्रभाव पार्दछ । यस विषयमा हामीले खोइ सोचेको ? न्यूजिल्याण्डको अध्यागमन कानुन पनि सक्षम व्यक्तिहरू तान्ने खालको छ । कुनै पनि मुलुक सक्षम र बनिबनाउन जनशक्ति छाडेर आफ्नो विकास कसरी गर्न सक्छ ?

यस क्षेत्रको आर्थिक व्यवसायको मुख्य आधार खेती हो । पशुजन्य उत्पादन खास गरी दुग्ध र मासु व्यवसायले कृषिको पहिलो स्थान लिइरहेको छ । धनी व्यक्तिहरू कि कृषक छन् कि त निर्माण व्यवसायी । घर जग्गा कारोबार गर्ने व्यक्तिहरू पनि धनी छन् । नेपाल, अमेरिका, चीन, भारतको जस्तो आर्थिक असमानता नभए पनि सामाजिक असमानता भने देखिन्छ । विकसित मुलुक भए पनि घरायसी हिंसा पनि भित्रभित्रै छिपेको रहेछ ।

बजार घुम्ने क्रममा काठमाडौँ आउटलेट नामका साइन बार्डमा आँखा पर्यो । काठमाडौँ घुमेका कुनै व्यवसायीले के कारणले काठमाडौँबाट   प्रभावित भएर हो कुन्नि काठमाडौँ ब्राण्ड नै स्थापित गरेका रहेछन् । ज्याकेट, स्वेटर, सर्ट, पाइन्ट लगायतका पोशाकहरू काठमाडौँ ब्राण्डका विशेषता हुन् । काठमाडौँ स्टोरको आउटलेटमा मानिसको निकै भीड छ । मलाई पनि त्यहाँको ज्याकेट खुवै मन पर्यो । रौनक र कविताले पनि काठमाडौँ ब्राण्डकै वाटरप्रुफ ज्याकेट लगाएका रहेछन् । दश मिनेट जति पर पुगेपछि ठूलो भवनमा काठमाडौँ मल नै रहेछ । सगरमाथा र कञ्चनजङ्घा जस्ता पहाडको खप्टिएको त्रिकोणात्मक लोगो भएको काठमाडौँ ब्राण्डका प्रयोगकर्ता यत्रतत्र देखिन्छन् । यति मात्र होइन, सिड्नी लगायत अस्ट्रेलियाका प्रमुख शहरहरूमा पनि काठमाडौँ ब्राण्डले राम्रै नाम कमाएको छ रे ।

वेलिङ्टन युरोपीय शैलीको राम्रो शहर हो । राजधानी भएकाले सरकारी प्रशासनिक कार्यालयहरू यही हुने नै भए । राजधानीमा भन्दा अन्यत्र बस्ने युरोपीय संस्कृति यहाँ पनि विकास भएको रहेछ । यहाँ स्थानीय पूर्वाधार र शहरी सौन्दर्यको जिम्मेवारी स्थानीय सरकारको नै रहेछ । तर अधिकारका लागि स्थानीय तह र न्यूजील्याण्ड सरकारबीच भने सौहार्द्रता रहेन छ । विकास र समृद्धि प्राप्त गरेका मुलुकमा पनि सरकारका तहहरूबिच अधिकारका लागि प्रतिस्पर्धा हुन्छ भने नेपाल जस्तो कलिलो लोकतन्त्र भएको र राजनैतिक संस्कृति बसी नसकेको समाजमा तहगत सरकारबीच मनमुटाब हुनु स्वाभाविक लाग्यो ।

आज मौसमले पटक्कै साथ दिएको छैन । हावाका साथ आएको पानीले हाम्रो यात्रालाई निकै असजिलो बनाएको छ । कति पटक त मेरो प्रिन्सेस छाता नै फर्काइदियो । पहिला खाना खाऊ, त्यति बेला सम्म कसो पानी नरहला भन्ने विचारले हामी छ जना मिस्टर गो भोजनालय पस्यौं र सबैले आआफ्ना रुचिका खाना लियौं । बेलुका हामी वेलिङ्टन बन्दरगाहमा आएर औपचारिकता सकेको केही पछि प्रिन्सेसले ओक ल्याण्डतर्फको यात्रा सुरु गरी । हामी भने चलचित्र, सोलो, भ्वाइलिन, व्याले लगायतका कार्यक्रममा समावेश भयौं ।

आठौँ दिन वेलिङ्टनबाट टोउराङ्गा जाने क्रममा लगातार २४ घण्टाको यात्रा पूरा गर्नुपर्ने भएकाले हामी समुद्रमा रहनुको विकल्प थिएन । प्रिन्सेस लगातार अगि बढिरहँदा उसभित्रका विभिन्न कार्यक्रम भने चालू छन् । बिहानीको सुरुवात सन डेकमा उक्लेर सूर्योदयसँग समुद्रका छालहरूको लुकामारीबाट आनन्द लियौं । नीलो कञ्चन समुद्रका  छालमा सूर्यका कलिला किरणले स्पर्श गर्दा अद्भुत प्राकृतिक सौन्दर्य मडारिएको छ । समुद्रका छालहरू मान्द्रो बेरेझैँ मडारिने, अर्कोले त्यसलाई पछ्याउने र त्यसमाथि घामका किरणहरू पोखिदा कुनै काल्पनिक स्वप्न विम्बको अनुभूति हुन्छ । छालहरू पातलिँदै पर गएर हराउँथे । फेरि छालहरूको हुल र लगातारको पछ्याइले एक प्रकृतिका अवयव पनि एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । मानौँ प्रकृतिका चरहरू लुकामारीको बालखेल खेलिरहेका छन् ।

त्यसपछिको पालो आर्ट ग्यालरीको । धित मर्ने गरी आर्ट ग्यालरीको अवलोकन गर्न समय पाएको थिइनँ । सातौँ तलाको प्रिन्सेस थिएटर नजिकै रहेको आर्ट ग्यालरीमा विश्वका उत्कृष्ट कलाचित्रहरू प्रदर्शित छन् । कलामा विशेषतः समुद्र, प्रेम र बाल्यावस्थालाई भावमय प्रस्तुति गरिएको छ । दिउसो आर्ट अक्सन पनि हुँदैछ । तर हामीले कलाचित्रहरू किन्ने सामर्थ्यभन्दा माथि थिए । ग्यालरीमा गएर कलाको भाव स्पर्श गरेर नै चित्त बुझाउनु पर्ने स्थिति ।

पिएजामा सधैँजसो आयोजना हुने जुम्बा अवलकोन नगरीकन मनै अडिँदैन । प्रिन्सेसको यात्राभरि जुम्बा सबैभन्दा मन पराइएको कार्यक्रम हो । नृत्य भनेपछि तरुण तन्नेरीको कार्यक्रम हो, जुम्बा त झनै उनीहरू मात्र रोमाञ्चित हुने प्रस्तुति हो जस्तो लागेको थियो । तर यहाँ सबै उमेर समूहका दम्पती मन खोलेर रमाएका छन् । केही नब्बे काटेका दम्पती युवालाई उछिनेर नाचिरहेका छन् । एकजना वृद्ध व्यक्ति त लौरो टेकेरै नाचमा मच्चिए । ती लड्ने हुन् कि भन्ने लागेर मेरो हेराइ भने उनमा नै केन्द्रित रह्यो । तर उनी पसिना आइन्जेल नाचिरहे । केही कुप्रिएका जोडी पनि मच्चिएका छन् । सशक्त र अशक्त भन्ने पहचिान बेगर, उमेर र अवस्थाको विभेद वेगर जुम्वा प्रिन्सेसको समावेशी रोमाञ्च मञ्चन हो । यो जीवन्त प्रस्तुतिमा सबै कलाकार हुन्, सबै सहभागीहरू जीवनलाई भुलेर रमाइरहेका छन् । मानौं उनीहरूले आफूलाई भुल्ने एउटा मञ्च पाएका छन् । आफूलाई भुलेर नै जीवनको स्वाद लिन सकिन्छ, सबैभन्दा अचानक रूपमा उपस्थित हुने मृत्युलाई उ नआइन्जेल भुल्न सकिन्छ भनेर नै शायद सबै आफूलाई भुलिरहेका छन् ।

अरु साथीहरू बिङ्गो खेलिरहेका छन्, चलचित्र हेरिरहेका छन्, लोटस स्पामा तरुणा तन्नेरीहरूको भीड छ । सानो सभागृहमा दम्पती हाजिरी जवाफ प्रतियोगिता भैरहेको छ । लबीको दोहोरो लङमा किताबसँग हराएर विश्व घुमिरहेका वीस तीसजना भावुक दार्शनिक व्यक्तिहरू किताबमा मग्न छन् । किताब साथ रम पनि पिइरहेका छन् । किन्डलले हार्डकपि किताबलाई अझै विस्थापित गरिसकेको रहेनछ । म मात्र हार्डकपिलाई प्राथमिकता दिनेमा पर्छु कि भन्ने लागेकोमा पश्चिमी विश्वका पाठकहरू अझै भौतिक किताबमा नै रमाएको देख्दा मनमनै आफू पुस्तान्तरमा किनारा लागे कि भन्ने अनुमान सही रहेन छ भन्ने लाग्यो ।

अर्को कराबाट पनि मनमनै आश्चर्यमा परेँ । यो चार हजारको भीडमा एक्लै मनोलाप गर्ने मानिस देखेर अचम्म नमाने के हुने ? क्रुज यात्रामा सबैजसो जोडी छन्, जसको जोडी छैन ती पनि साथीसँग छन् । तर एक दम्पती एक्जीकुटीभ लबीका आरामदायी सोफामा किताबमा घोप्टिएर आआफ्नै धुनमा निमग्न छन् । एकले अर्कालाई वास्ता गरेको पनि देखिँदैन । अक्षरसँग खेलेका छन्, अक्षर नै उनीहरूको साथी बनेको छ । अक्षरसँग मात्र खेल्ने भए किन क्रुज यात्राको भिडभाडमा पैसा खर्चेर आएका होलान् ? किताबमा घोप्टिएर बस्ने हो भने किन दम्पती आएका होलान् ? अरू पढ्नेहरू त यति विघ्न लीन छैनन् । अक्षर हेर्ने क्रममा उनीहरूको चेहरा हाँस्छ, कहिले गम्भीर हुन्छन् । शायद आफूभित्रको मनोलापमा छन्, कथा र दृश्यले उनीहरूको जीवन सापेक्ष अनुभूति दिएको होला र न त ती त्यसरी अक्षरमा लीन भएर हराएका । हाम्रा हिमालका फेदीमा आएर साइडर र हिमाली चियाको चुस्कीमा किताबमा हराएको भए झन् कति रमाउँथे होलान् ? साथी, सङ्गाती र अरू कोही नहुँदा मानिस स्वलाप, मनोलाप गर्छन्, लेख्छन्, पढ्छन् र हराउँछन् ।

बन्दी गृहमा नेल्सन मण्डेलाले कन्भर्सेसन विथ माइसेल्फ लेखे, त्यो आफैसँगको कुराकानी थियो, वीपी कोइरालाले आफ्नो कथा लेखे, बट्र्रेण्ड रस्सेलले प्रिजन अफ पेसन लेखे, माकियावेलीले द प्रिन्स लेखे, जोहन व्यूनान, जेन जेनेटहरुले पनि लेखे । मानिसहरू जेल, एकान्त, पीडा परिवेशमा कोही साथ नहुँदा किताबसँग खेल्छन्, मनोलाप स्वलाप गर्छन् भन्ने मेरो बुझाई पनि क्रुजका वृद्ध दम्पतीले होइन साबित गरिदिए । भिडमा पनि मानिस एक्लो रुचाउँदो रहेछ, एक्लो रुचाउन भिड रोज्दो रहेछ । विरोधाभास भनौँ कि के ? मानवीय स्वभावले कति कुरा, स्थापित मान्यतालाई होइन साबित गरिदिँदो रहेछ ।