गुल्मीमा जन्मिएकी सुमिना महिला सशक्तीकरण र विभेदको विरुद्ध दरिलो रूपमा कलम चलाउने श्रष्टा हुन् । उनका फुटकर कविता र समसामयिक विषयवस्तुमा केन्द्रित आलेख राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । यतिबेला उनी नेपाली साहित्यमा पहिलो कवितासङ्ग्रह `वागी स्त्रीको आत्मकथा´ लिएर उपस्थित भएकी छिन् । यसै सन्दर्भमा उनको पुस्तक र विविध विषयमा जनक कार्कीले गरेको कुराकानी प्रस्तुत छ ।

===

यहाँको नवीनतम कवितासङ्ग्रह `बागी स्त्रीको आत्मकथा’ यसै हप्ता लोकार्पण हुँदै छ । एउटा वागीको आत्मकथा भित्र के छ ?

– एउटा बागी आँखाले आजको समाजलाई कस्तो देख्छ सुन्दर या कुरूप ? ठिक्कको क्रम मिलेको या नमिलेको भताभुङ्ग भएर बिग्रेको या कस्तो ? ठ्याक्कै त्यसको चित्र र समग्रमा बागी यात्राका सकस कस्ता छन् तिनै सकस र जटिलतालाले थिचेर कहिले मरणासन्न हुँदै फेरि उठ्दै कहिले मुर्झाउँदै फेरि ब्युँतिदै गर्दा झन् झन् इस्पात बनेर उर्लिरहेको विद्रोही आवाज यस सङ्ग्रहभित्र भेटिन्छ !

सुमिना

सुमिना

नेपालको सन्दर्भमा एउटा वागी स्त्री निर्माण गर्न कस्तो खालको चेतना जागृत गरियो भने उसले आफ्नो स्वतन्त्रताको वकालत गर्न सक्छ ?

विद्रोहका विभिन्न आयामहरू हुन्छन् र तीनको महत्त्व परिवेश सापेक्षित हुन्छ ! एउटा परमपरागत घरका मर्यादाहरूले जेलिएको महिलाले त्यसमा जञ्जिर महसुस गरेर उम्कन गरेको प्रयत्न पनि एउटा बागी प्रयत्न नै हुन्छ । त्यसैगरी घर, समाज हुँदै सत्ता संरचनालाई प्रश्न गर्नु अर्को विद्रोह हो ! दासतालाई परम्परा जसरी लागू गरिएको समाजमा एकैपटक विद्रोही चेतना आउन असम्भव छ । त्यसको लागि जीवन जगत र समाजलाई नियाल्ने बुझ्ने बदल्ने फरक वैचारिकी र खास दर्शनको आवश्यकता हुन्छ ।

 

पितृसत्तात्मक समाजको उपजले महिला घरेलु र यौन हिंसाको अत्याधिक सिकार भएका छन् । यसको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने लाग्छ ?

– यौन हिंसा शारीरिक क्रियाभन्दा बढी मानसिक बिकारको उपच हो । कुनै पनि पुरुषले बलात्कार या यौन हिंसा गर्न पहिले ऊ मानसिक रूपमा हिंसाको निम्ति तयार भएको हुनुपर्छ । खासमा घरेलु हिंसा होस् या यौन हिंसा यो पितृसत्ताले मलजल गरेको पुरुषजन्य अहङ्कारको दुषित रिहर्सल नै हो । त्यसैले पितृसत्तात्मक मानसिकताबाट पुरुषहरू मुक्त भएको दिन यस्ता हिंसाका घटना पनि न्यून हुँदै जान्छन् । पितृसत्तामाथिको निरन्तर प्रतिरोधले नै यस्तो हिंसात्मक मानसिकताको अन्त्य हुनसक्छ !

तपाईं नास्तिकतामा विश्वास गर्नुहुन्छ । अधिकांशले धर्मलाई आफ्नो जीवन दर्शन मान्ने देशमा एउटा नास्तिक हुनुको चुनौती र गर्व कस्तो हुन्छ ?

– म नास्तिकतामा भन्दा पनि अझ बढी भौतिकवादमा विश्वास गर्छु । भूतप्रेत, बोक्सी, धामी–झाँक्री जस्ता सामाजिक अन्धविश्वास र ईश्वर जस्ता अदृश्य शक्तिमा विश्वास त मलाई म बुझ्ने हुँदादेखि नै भएको जस्तो लाग्दैन । कम्युनिस्ट पारिवारिक पृष्ठभूमिमा हुर्केको कारण पनि त्यसले त्यस्तो चेतना निर्माण गर्नमा सहयोग गरेको हुनुपर्छ । तर पछि बुझ्दै जाँदा विज्ञानमा आधारित द्वन्द्वात्मक भौतिकवादी दर्शनले मलाई ईश्वर, परमात्मा, देव, दानव जस्ता अलौकिक भाग्यवादी काल्पनिक अवधारणामाथि पूर्ण रूपमा अविश्वास गर्ने चेतना निर्माण गरेको हो । भाग्यवादमा अडिएको धार्मिक समाजमा धर्म र ईश्वरलाई अस्वीकार गर्नुको चुनौती त छँदैछ र अझ यसलाई जीवन व्यवहारमा लागू गर्नु हाम्रो समाजमा झनै कठिन छ । र पनि आफूले रोजेको बुझेको जीवन दर्शनमा दृढतापूर्वक हिँड्‌न चाहनु, सक्नु आनन्दित कुरा नै हो । आफू भ्रमहरूबाट मुक्त भएजस्तै म यसमा आनन्दित महसुस गर्छु ।

सत्तरीको दशकमा हेर्ने हो भने महिला हिंसा, विभेद, असमानता, विसङ्गति प्रशस्तै देखिए । केही विद्रोही स्वर पनि देख्न पाइयो । आफूलाई भएको हिंसाको बिरुद्धमा न्यायको लागि पहल गरेको पनि देखियो । नतिजामा भने त्यति सन्तुष्ट हुने ठाउँ भेटिएन । उल्टै महिला माथि प्रश्न उठे । जुन निरासाजनक पनि छ । हामीले जसलाई विद्वान भनेका छौ नि उनीहरूले पनि न्यायको पक्षमा भन्दा गुट, पद र शक्तिको पक्षमा उभिएको देखिएको छ । हाम्रो समाजमा के नैतिकता मरिसकेको हो ?

बागी स्त्रीको आत्मकथा

बागी स्त्रीको आत्मकथा

– यसको मुख्य जिम्मेवार हाम्रो सामाजिक संरचना नै हो जुन पितृसत्तात्मक छ । महिला उन्मुक्त हाँसे पनि वेश्या किटानी गर्ने समाज हो यो । पुरुष स्वभावैले हिंस्रक र हिंसा भोग्नु महिलाको नियति हो भनेर स्वीकारोक्ति गर्न लगाइने समाजमा महिलामाथि बलात्कार नै भए पनि सहनु उचित हुन्छ बोल्नुहुन्न है भनेर सिकाइन्छ । तर पछिल्लो समय यी सबैलाई तोड्दै महिलाहरूले प्रतिरोध गर्ने आफूमाथिका घटना बाहिर ल्याउने क्रम पनि बढ्दो छ । तर समाजको चेतना त आज पनि त्यही छ छोरीलाई थुनेर राख्ने समाजले छोरालाई मर्यादा सिकाउन उचित नै ठान्दैन । बलात्कार नै भए पनि महिलालाई नै दोषी देख्छ । विद्वान बौद्धिक जे जे भनेपनि ती यही समाजका उपज हुन् । गुट पद र शक्तिको प्रयोगमा न्यायको सिद्धान्तलाई बलि चढाउनु हाम्रो समाजको ठूलो विडम्बना नै भएको छ ।

नेपालमा शरीर राजनीतिको अवस्था कस्तो देख्नुहुन्छ ?

–  शरीरलाई केन्द्रमा राखेर गरिने चलखेल नै शरीर राजनीति हो । यो पहिले पनि थियो तर बढ्दो पुँजीवाद सँगै यसको राजनीति पनि झन् झन् फस्टाउँदै गएको छ ।

संस्कृतिले महिलामाथि गरेको शोषणलाई कसरी हेर्नुभएको छ ?

– आजका संस्कृति पूर्णतया धर्मको कब्जामा गएको कारण यी संस्कृतिहरू धार्मिक पितृसत्तात्मक संस्कृति बनेका छन् । त्यही धार्मिक पितृसत्ताले संस्कृतिलाई आफ्नो पकडमा लिएर महिला माथि सांस्कृतिक शोषणको घन नै बजारिरहेको छ । महिला माथि हिंसा गर्ने निकै नै प्रभावशाली हतियारको रूपमा संस्कृतिलाई प्रयोग गरिएको छ । जहाँ महिलाहरू हाँसीहाँसी दासत्व स्वीकार गर्न तयार छन् । उनीहरूलाई थाहै छैन कि जुन संस्कृतिसँग हामीले आफ्नै शरीरको अङ्ग जसरी सहवरण गरिरहेका छौँ वास्तवमा ती संस्कृति हाम्रो आफ्नै अस्तित्व र आत्मसम्मानको बिरुद्धमा उभिएका छन् ।

आजको प्राय महिलाहरू नयाँ नयाँ कपडा छान्ने, सेल्फी हान्ने, कस्मेटिक खरिद गर्ने जस्ता कुरामा रमाइरहेका छन् । उनीहरूलाई महिला चेतना र सशक्तीकरणको चिन्तन गराउन कहाँनेर चुकेको छ प्रणाली ?

– सामन्तवादले कुण्ठित गरेको वैयक्तिक छनौट र स्वतन्त्रता आजको पूँजीवादले केही खुकुलो बनाउँदा महिलाहरू त्यसमा रम्ने वातावरण बनेको छ । वैयक्तिक स्वतन्त्रताको निम्ति यो एक अर्थमा ठिकै जस्तो देखिए पनि समग्रमा यसले समग्र महिला मुक्तिको सवाललाई यस्तै यस्तै अनुपयुक्त मुद्दामा अल्झाउने निश्चित छ ! यो पितृसत्ताकै अर्को नयाँ संस्करणमा भित्रिएको शोषणको शैली हो । जसले महिलालाई बजारमा रमाउने बजारकै बस्तु बनाउनमा अभ्यास थालेको छ । र यो राज्य सत्ता र त्यसको चरित्र पनि पितृसत्तामा आधारित भएकै कारण यसबाट ठुलै महिला सशक्तिकरणको अपेक्षा राख्न सकिँदैन । त्यसको लागि छुट्टै वैचारिक सचेतना महिला जागरण र आन्दोलनको आवश्यक छ !

यस कवितासङ्ग्रहका कविताले महिलालाई के दिन्छ र पुरुषलाई के भन्छ ?

– यो सङ्ग्रह विशुद्ध महिलामाथि मात्रै आधारित सङ्ग्रह होइन ! केही प्रतिनिधि कविताहरूमा महिलाका सवालहरू जोडिएका छन् । र तिनले महिलालाई पुरातन मानसिकता, सत्ता संरचना, र आजको पुँजीवादी बजारसँग द्वन्द्व गर्दै सबै खाले उत्पिडनको चङ्गुलबाट बाहिर निस्कन नै आह्वान गरेका छन् । समग्रमा हजारौँ हजारौँ वर्षदेखिको दासता चुँडालेर विद्रोही बन्न नै प्रेरित गरेका छन् । फेरि लैङ्गिक सवाल महिलाको मात्रै सवाल नभएर महिला पुरुष दुवैको सवाल हो । पितृसत्तामा महिलाका फरक दुख छन्, पुरुषका फरक दुख छन् । यसको अन्त्य हुँदा महिलाले मात्रै न्याय पाउने होइन । पुरुष पनि सताब्दीऔँ पुरानो समाजले थोपरिदिएको र सकी नसकी बोक्नुपरेको उत्तरदायित्वको अभिभारा र पुरुषत्वको भारबाट मुक्त हुने अवसर पाउनेछन् यो कुनै एक लिङ्गको निम्ति नभएर समग्र मानव जातिको सुखको निम्ति अत्यन्तै आवश्यक कुरा हो ।

के पुरुष महिलावादीको दुश्मन हुन् ? सह-अस्तित्वलाई कसरी लिनुहुन्छ ?

– मेरो एउटा कविता छ समुन्नत यात्रा शीर्षकको

यो धर्ती
मैले आधा टेकेकी छु,
तिमीले आधा टेकेका छौ

यो आकाश
तिमीले आधा छोएका छौ,
मैले आधा छोएकी छु

यो सृष्टि
मैले आधा धानेकी छु,
तिमीले आधा धानेका छौ

तिमी आधा, म आधा
आधा–आधा मिलेर तिमी भएका छौ पूरा,
म भएकी छु पूरा

तिमी बिना म आधा अधुरो,
म बिना तिमी आधा अधुरो
ममा विद्रोह अनिवार्य थियो,
उत्पीडनको चौघेरा तोड्न
यद्यपि कदापि छैन प्रतिशोध

तिमीलाई निमिट्यान्न पारेर
खोज्नु छैन
मलाई कुनै अर्को अस्तित्व

बरु आऊ,
आधा–आधा बाँडेर हाम्रा कार्यभारहरु
तिम्रा केही सहुलियत र सुविधाहरु
मेरा केही कठिनाइ र जटिलताहरु
गरौँ एउटा
समानताको समुन्नत यात्रा ।

अब धेरै भन्नुपर्छ भन्ने लागेन । महिला र पुरुष एकार्काका दुस्मन होइनन्, परिपूरक हुन् । मित्र, साथी, प्रेमी, सहयात्री हो । यी बिचमा जति नै प्रेम, सम्मान र सद्‌भावपूर्ण सम्बन्ध हुन्छ यात्रा त्यति नै सहज हुन्छ । म त्यही समाज निर्माणको निम्ति प्रयत्नशील छु । र त्यस्तै समाजको परिकल्पना गर्छु । महिला पुरुषको आपसी सद्भावना समन्वय र समान हैसियत बिना सुन्दर र सुखी मानव र समृद्ध समाजको कल्पना नै सम्भव छैन ।

अन्तमा स्वतन्त्र भएर जे भन्न मन छ भन्नोस् ।

– म धेरै भन्ने पक्षमा छैन आफ्नै कृतिको चर्चा आफ्नै मुखबाट गर्नु अनुपयुक्त हुन्छ । र फेरि कविताले आफूलाई परिभाषित गर्न थप शब्दको व्याख्या माग्छन् भने ती असफल कविता हुन् । मेरा कविता सफल असफल के हुन् त्यसको परीक्षक निरीक्षक सबै पाठकहरू नै हुन् । नतिजा जस्तो आएपनि मेरो लागी त्यो स्वीकार्य हुनुपर्छ !

तपाईंलाई धेरै धन्यवाद !