बिहान मिर्मिरेमा डाँडामाथि नपुग्दैको घाम समात्ने बाल्यकालको इच्छा जस्तै अभिलाषा सँगाल्दै निकै उल्लासित मन र हलुका पाइला लिएर सराङकोटतिर उकालिएको थिएँ म । पसिना, थकाइ र स्फूर्तिका साथ उकालिँदा लागेथ्यो, जीवनको आनन्द यसमै छ । एउटा भरोसाले सङ्लो जरुवा झैँ रसाएथ्यो भित्री आँत । एउटा विश्वासले आफ्नै सामु फैलिएथ्यो उमङ्गको विशाल फाँट ।

२०७० साल तिरको कुरो थियो यो ।

चारखुट्टे फेदीमै छोडेर आफ्नै खुट्टाका भरमा उचालिँदा अन्नपूर्णा, धवलागिरी, नीलगिरी र माछापुच्छ्रेसँग दाँजियो मन । संसारका अग्ला हिमशिखरसँग दाँजिन पाउँदा मेरो मनमा पनि चुलिएथ्यो स्वाभिमानको अर्को चुली । हिमाली उचाइमा छरिएको रक्तिम आभाको उज्यालो फैलिएथ्यो मनमा । मन उज्यालिँदा संसार उज्यालो देखिँदो रहेछ । उसमाथि पोखरा त मेरो प्यारो आँगन नै हो । मेरो विद्यार्थीकालको खेल मैदान हो । क्यामेरामा साँच्न खोजेथेँ त्यो सुन्दरता र स्वच्छता । अनि फेवाको मोहक स्पर्शले रोमाञ्चित भएथेँ म ।

हिमालबाट निस्केको रक्तिम सूर्य नियाल्दै थिए केही विदेशी पर्यटकहरू । मेरो मनमा पनि टल्कँदै थियो फेवातालमा परेको माछापुच्छ्रेको छाया– माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ, पोखरा त साँच्चिकै पो पोखरा नै रै’छ !

सराङकोटबाट मज्जाले हेरिएथ्यो पोखरेली सेरोफेरो र हिमाली सौन्दर्य । नजिकै देखिएथ्यो फेवाताल । आकाशको विशालता आफ्नो छातीमा अटाउन सक्ने फेवाको सङ्लो पानीमा डुबुल्की मारेथेँ मैले । अनि देखेको थिएँ – फेवाको सिरान हर्पनखोला, हर्पनखोलाको उद्गम भदौरे, महेन्द्र गुफा, विन्दवासिनी मन्दिर, बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल र सुन्दर र विशाल पोखरेली आँगन ।

हिमाली टाकुराबाट उदाउँदै गरेको सूर्य हेर्न पर्खिबसेका जापानी युवतीहरू भेटिएथे । फोटो खिचिदिने अनुरोधलाई स्विकारेथे मुस्कान सहित । सुन्दर फोटो खिचिदिएको बदलामा ‘आरिगातो गोजाइमस्ता’ अर्थात् जापानी भाषामा धन्यवाद भन्दा तिनीहरू होलीको रङले नुहाए झैँ भएथे । फोटो खिचिदिने केटीको उज्यालो अनुहार टल्किएथ्यो मेरो आँखामा पनि निकै बेर । मैले निष्कर्ष निकालेथेँ– निकै राम्री रहिछ फोटो खिचिदिने केटी ।

ऊ कस्ती थिई त ! हिमालको दर्पणमा धेरैबेरसम्म देखिएथ्यो एउटा टलक । चञ्चल मनमा धेरैबेरसम्म बेगिएथ्यो एउटा हलचल ।

ऊ घामको रक्तिम झुल्कोले नुहाएकी हिमचुली जस्ती थिई । ऊ नीलसागरमा भेटिएकी मोती जस्ती थिई । ऊ पूर्णिमाको मधुर प्रकाशमा झलमलाएको जूनको ज्योति जस्ती थिई । ऊ हुरीले निभाउन नसकेको दियोको बत्ती जस्ती थिई ।

हिमाल जस्तै उचालिएका उसका अङ्गप्रत्यङ्ग हेरेर लोभिँदै मैले उसलाई क्यामरामा आफ्नो बनाउन खोजेथेँ । बैँसालु परदेशी केटीसँग उभिँदै शिखर झैँ अग्लो भएर ऊसँग खिचिन चाहेथेँ । ऊसँग उभिँदा म पनि कम्ती देखिइनँ । मेरा प्रेम कथाले उसलाई निथ्रुक्क पार्न चाहन्थेँ म । उसले मेरो माया र मुस्कानको मृदु भाषा मात्र बुझे पुग्थ्यो जिन्दगीभर । म मनमनै कल्पँदै थिएँ, तर परिस्थितिले पर्खाल ठड्यायो । समयले लखेट्यो । अनि उर्लँदो बर्खे भेलको बहावले बगाए झैँ हुर्रिएथेँ म त्यहाँबाट । हामी बेनीसम्म पुग्ने ताकमा थियौँ । मैले नचाहेरै हात हल्लाएथेँ त्यो उचाइलाई, अनि त्यो जुनेली पूर्णिमालाई ।

सिमपानी छोडियो । बिकम पढ्दाताका डेरा बसेको घर कुन थियो, हेर्दाहेर्दै अगाडि हुर्रियो गाडी । त्यो घरकी एक्ली छोरी अब त अर्कैसँग अनुबन्ध भइसकी होलिन् । तिनले दिएको मृदु मुस्कानको झझल्को मात्र छ मसँग । सम्झनाका बयलीसँग जिस्किँदै विगतसँग एकैछिन संवाद गर्न मन थियो । उनको तेजस्वी मुहारको धारिलो सम्झनामा टोलाउन मन थियो । शून्यताले रन्थनिएका अङ्गप्रत्यङ्गमा एकछिन भए पनि एउटा रोमाञ्चक अनुभूति सलबलायो । सामान्य चिनजान भएका हामी छुट्टिनु स्वाभाविकै थियो । त्यो स्वाभाविकताले यतिका वर्षपछि नपच्छ्याउनुपर्ने हो मलाई । बितिगएको विगत हाम्रो गाडीको गतिलाई पनि उछिनेर मेरो छेउमा आइपुग्छ टुप्लुक्क । सोचेथेँ, समयले आफ्नो प्रवाहको किनारमा छोडी गएछ मलाई । मूलधारबाट छुटेछु म । किनारमा लडेको बूढो कुइमुढ रुखको अधकल्चो जरामा अल्झेछु म ।

हेम्जाको फाँट सकिएर धम्पुस जाने बाटो बिछोडिएथ्यो । नौडाँडा काटेर लुम्ले पुगिएथ्यो । सुन्दर बस्ती, वन र रसिला डाँडा थुम्काहरू आइरहेथे, गइरहथे । तिनीहरूको हातेमालो देखेर मनमा फैलिरहेथ्यो औधी खुसी । मूलधारसँग बिछोडिए पनि भँगालो भेट्टाएर बग्न पाएकोमा संसारको सुखी प्राणीमा गन्न थालेथेँ आफैलाई मैले ।

विगत सम्झँदै टोलाएको रहेछु, सुवाशचन्द्र राईको आवाज सुनिएथ्यो– “पैसा र बैँस हुने मान्छे बस्ने ठाउँ रहेछ यो ।” पोखरेली हावापानीले सन्तृप्त घनश्याम भण्डारी गमक्क मस्किनु भएथ्यो त्यो सुनेर । म झन् पहिल्यै ठहरै भएको थिएँ घत लागेर ।

डिमुवा पार हुँदा देउपुर जाने बाटो सोधेथेँ मैले । परेली गर्न छिमेकीको गोरु किन्न जाँदा त्यही गोरुको सिँगौरी चोटले बित्नुभएको थियो रे मेरा हजुरबा देउपुरमा । अल्पकालमा बितेका आफ्ना बुवाको शोक र सम्झनाका अनेक कुरा धेरै पटक सुनाउनुभएको थियो मेरा बुवाले । बाबु बितेपछि दाजुहरू परदेसिनु र दिदीको बिहे हुनाले घर व्यवहार चलाउने जिम्मा मेरा बुवाको काँधमा आइपुग्यो रे । अनि चौध वर्षको केटौले अवस्थामा घर व्यवहार धानेर परिवारलाई निर्वाहको साँघुबाट पार लगाउन ठूलै परिश्रम गर्नुपरेको थियो रे मेरा बुवाले । पछि दाजुभाइ कुल कुटुम्ब सहित हजुरबा बित्नुभएको ठाउँमा पुगेर श्राद्ध लगायतका कर्मकाण्ड पनि गर्नुभएको थियो बुबाले । जीवनको उत्तरार्धतिर मेरा बुवाले सुनाएका अनेक कथा, व्यथा र अर्ति उपदेश सम्झेर भक्कानिन्छु म । कहिल्यै नसकिने उपदेश मिश्रित बुवाका अमृत वाणी सुनेर बस्न पाएको भए त्यो समयमा । बितिसकेका बुवाको सम्झनाले बेस्सरी झकझकाउँछ । बुबाले यस्तै प्रसङ्गमा सुनाएको त्यति बेलाको गीत सम्झेर खपी नसक्नु हुन्छ मलाई– दाइ लाहुर, ठूल्दिदी घर, भाइ सानो, आमाको विलाप, … !

नयाँपुल पार भएर कुश्मा, बागलुङ हुँदै पुगिएथ्यो बेनी । आफूले देखेका वनपाखा, चिनेका मान्छेहरू र तिनको सम्झना ओहोरदोहोर गरेथे विगतदेखि वर्तमानसम्म । तिनीहरूसँगको मौन संवाद पुनरावृत्ति भएथ्यो । मलाई थाहा थियो, ती सिधै नबोले पनि तिनका मनमा उर्लिरहेछ वेदनाको, पीरको, चोटको खोलो लिएर बगेको कालीगङ्गा । तिनको परेली–धाराको हल्काले धेरैचोटी भिजेको छु म लुछुप्प । दाजुभाइ बिदेसिएर विरक्त छ तिनको कथा । स्वदेशी माया बोकेर परदेसिन कति कठिन हुन्छ होला ! मेरो मनमा ठडिइरहने यही प्रश्नले बारम्बार मर्माहत भएको छु म ।

जीवनमा पहिलो पटक बेनीमा युद्ध देखेको थिएँ मैले । भयानक थियो त्यो युद्ध । मार्ने र मर्नेहरूको आलो रगतले पोतिएको मातृभूमिको विदीर्ण अनुहार हेर्नु भन्दा कठिन दृश्य अरू के होला यो दुनियाँमा ?  विगत सम्झँदै वर्तमानका एकाध अनुहार नियालेथेँ मैले । मेरो हृदयमा बिझेको त्रासद युद्ध मान्छेका अनुहारको ऐनामा पनि देखिन्थ्यो दुरुस्तै । मैले भोगेको उही बेनी खोज्दै हिँडेछु । न भेट्टाएँ नयाँ रूपमा, न देखियो पुरानै स्वरूपमा ।  अकमक्क परेथेँ । गरिब जनताका दिन फेर्नेछौँ भन्दै हिँड्नेहरू कता हराए होलान् अचेल । गरिब जनताका आशा भरोसा र तिनका दिन फेर्ने सपना देख्नेहरू कहाँ पुगे होलान् अचेल ? ती सुन्दर सपनाहरू सबैका सामुन्नेबाट दिउँसै चोरेर कसले लग्यो होला ? र ती सपना बेपत्ता पारेर कानमा तेल हालेर आनन्दले कहाँ सुतिरहेको छ होला ऊ ?

वर्तमानदेखि फालहाल्दै विगतसम्म पुगेर जोडिइरहे यात्राका हरेक दृश्य । मोदी, काली र म्याग्दी भएर सुसाइरहे वेदना । गरिबी, अशिक्षा, भोग र रोग पिएर रुझेको बिरालो झैँ चुपचाप गुडुल्किरहे बस्तीहरू । कहिले कसले ब्युँझाएर उठाउला यी बस्तीहरूलाई ? आफैभित्रको अनेक क्रन्दन सुनेर छटपटिन्छु म । हरेक पहराहरूमा ठोक्किएथे कालीका यस्तै सुसेलीहरू र परावर्तन भइरहथे मन मथिङ्गल हल्लिने गरी ।

विगत खोतलेर वर्तमानका थुप्राबाट

एउटा चित्र उधिनिरहँदा

आँखा चिम्लेर आफ्नै मुटु

टुक्रा टुक्रा रेटिरहँदा

तिमीलाई भेटेर म खुसीले उफ्रिएँ

तिमी मभित्रको आभास मात्र होइन

अटल विश्वास रहेछौ !

कर्णाली जस्तो दुर्गम बाँचिरहेको पर्वतको बनबढेमा औषधोपचार नपाई मृत्युको मुखमा पुगेर फर्केको आफ्नै विगत सम्झेथेँ मैले । गाउँलेहरूले मृत्युको मुखबाट खोसेर बचाएथे मलाई । त्यस क्षेत्रका मानिसको चालचलन, रहनसहन, मेलापर्व र तिनले लगाएका अनेक गुन सम्झेर टोलाइरहेथेँ म धेरैबेर । म्याग्दीखोला र कालीगण्डकीको किनारमा उर्ली बगेको त्यस जमानाको धमिलो बर्खे भेल सम्झेथेँ मैले । पत्थरिला पहाडमा कुद्दा रक्ताम्मे भएका पयर झैँ भोगिएका समस्या र ती समस्यासँग जेलिएर बाँचेको विगततिर फर्केथेँ म । साँच्चै, दूर क्षितिजको बिसौनीको भरोसामा उक्लिरहेको थिएँ विगतका ती कठिन उकालाहरू ।

“बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाली रुमाल …” एउटा मधुर स्वर लहरीले पछ्याएझैँ लागेथ्यो मलाई ।

बैँसालु वयमा परेलीले हान्ने र मुस्कानले ब्युँझाउने गाउँले तरुनी मेरै छेउमा उभिएझैँ लागेथ्यो । अधीरतापूर्वक हेर्न खोजेथेँ, सुन्न खोजेथेँ तिनीहरूलाई । सराङकोटमा भेटिएकी जापानी ठिटीभन्दा कता हो कता सुन्दर थिए ती नवयौवनाहरू । झरनाको छाँगाले गुनगुनाएको गीतजस्तो थियो तिनको सुसेली । सोह्र सिँगारभन्दा झन् सुन्दर लाजले लत्रेका थिए तिनका परेली । प्रेम र समर्पणमा जीवन दिने चखेवीको जस्तो थियो तिनको चालढाल । जूनको ज्योति र दियोको बत्ती भन्दा चहकिलो थियो तिनको मुहार । तब, आकाशको जून र धर्तीको सुनभन्दा मायालु राग अलाप्ने चखेवा चखेवी सुन्दर लागेथे मलाई ।

चखेवी माया लाएर, माया गाएर साथ दिन्छे जीवनभर, साथ छुटे बाँकी जिन्दगी झोक्राएर बस्छे मायाको सम्मानमा । चखेवा चखेवीको माया कल्पँदा शीतल भयो मन, रम्य गीतका लय माधुर्यले झैँ गुञ्जियो दिलको एकलास ।

पुगिएथ्यो गलेश्वरस्थित रघुगङ्गा र कालीगण्डकीको दोभानको ठूलो शिलामाथिको महादेवको मन्दिरमा । वारपार गरिएथ्यो मोदीखोला माथिको विश्वको अग्लो झोलुङ्गे पुल । हेरिएथ्यो कुश्मा र बलेवा जोड्ने कालीमाथिको केबुलकार । डहरे देउरालीलाई टाढैबाट नमन गरेथेँ मैले । मनका तस्बिरहरूसँग दाँज्दै काली किनारको सहश्रधारा पनि नियालेथेँ मैले । नयाँपुल तरेर बागलुङ कालीकाको मन्दिरतिर उक्लिन थाल्दा पहिलो पटक देखिएको कालीगण्डकीको पवित्र प्रवाह खोज्न बाल्यकालसम्म पुग्न चाहन्थेँ म । ती दृश्यहरू जोडेर सग्लो बाल्यकाल बनाउन चाहन्थेँ म । साँच्चै त्यो बाल्यकाल फेरि मिल्ने भए म कति खुसी हुन्थेँ हुँला ।

समयको हुङ्कारले झन् प्रबल भएका मेरा पाइलाका डामहरू पक्कै छन् यी पाखापखेरामा । तिनलाई आकार दिँदै शरीरमा शक्ति सञ्चार हुँदासम्म गरिरहन चाहन्छु उकालो ओरालो । मनमा एउटा दृढ प्रतिज्ञा भने उर्लिरहेथ्यो ज्वारभाटा जसरी । अँध्यारोबाट उज्यालोतिर निस्कन प्रयासरत छन् मनका यस्तै तानाबानाहरू ।

पोखराबाट सराङकोट उक्लँदै लुम्ले, कुश्मा, बेनी र गलेश्वरसम्म नियालेर फर्कँदा एउटा साहस र सन्तोषले आह्लादित भएको थियो मन । वर्तमानका थुप्राबाट विगत खोतलेर जीवनको मार्गदर्शन चाहेको हुँ मैले । मनको उज्यालो पच्छ्याउँदै पोखरेली आँगनमा फर्की आएथेँ बल्लतल्ल । फेवा किनारमा साथीसँग पिउँदै रौसिइरहेका विद्यार्थीहरूका चालचलन देखेर भने आफ्नै सन्तानको चिन्ताले सताएथ्यो नराम्ररी ।

विगत र वर्तमानलाई भोलीको बलिवेदीमा चढाएर निश्चिन्त रमाउन त कहाँ सकिन्छ र ? पोखरादेखि बेनीसम्मका एकाध दृश्य मात्र नियालेको थिएँ मैले ! धर्की-धर्की रोइरहने मन र फर्की-फर्की आइरहने सम्झनालाई बिर्सने तागत आफैसँग पनि कहाँ छ र मेरो ! र त, स्मृतिका धारिला बहावसँग बेगिएर छुट्न थालेका जिन्दगीका यस्तै गन्तव्यहरू भेट्न चाहन्छु म बारम्बार !