कतिपय लेखक, साहित्यकारहरू काम वा अध्ययनको सिलसिलामा विदेशी भूमिमा पुगेका छन् । विदेशी भूमिमा आफ्नो काम वा अध्ययनमा नै अधिकांश समय खर्चनु पर्ने हुन्छ । तर मनमा लेखकीय स्वभाव भएपछि काम वा अध्ययनबाट बचेको केही समयलाई उनीहरूले साहित्य लेखमा खर्च गरिरहेका हुन्छन् । पछिल्लो समय विदेशी भूमिमा रहेर नेपाली साहित्यमा क्रियाशील स्रष्टाहरूको कारणले गर्दा पनि हाम्रो साहित्यको एउटा ठुलै हिस्सा चलायमान छ । यसै सिलसिलाका एक व्यक्ति हुन् म्यामराज राई ।

हाम्रो बाटो

हाम्रो बाटो

म्यामराज राई लामो समयदेखि जापानमा बसेर नेपाली लघुकथाको क्षेत्रमा कलम चलाइरहने स्रष्टा हुन् । साठीको दशकदेखि साहित्यमा सक्रिय राईले आफ्नो जापान यात्राअघिदेखि सक्रिय थिए । एक समय नेपाली साहित्यिक पत्रकारितामा हवाईपत्रको व्यापक मोह थियो । यही मोहमा रमाएर म्यामराज राईले “खिन्दुङ कोसेली” हवाईपत्र द्वैमासिक पत्रिका लगभग पाँच वर्षसम्म प्रकाशनमा ल्याए । यसबाट उनीमा साहित्यप्रतिको सक्रियता, मोह र सम्पर्क ह्वात्तै बढेको थियो । तर पापी पेटको सवालले गर्दा उनी १० वर्षदेखि निरन्तर जापानी भूमिमा रहेर  आफ्नो श्रम र पसिना बगाइरहेका छन् । श्रमको बजारबाट बचेको वा रेको समयमा उनी साहित्यमा केन्द्रित रहेर समाजको बिसङ्गतिहरूलाई उतार्ने काम गरिरहेका छन् । पछिल्लो समय लघुकथामा समर्पित म्यामराज राईले आफ्नो विदेश बसाईबाट “हाम्रो बाटो” नामक एक लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । उनको यही सङ्ग्रह “हाम्रो बाटो” माथि आजको दीपक दृष्टि राख्ने अनुमति चाहन्छु ।

राईको “हाम्रो बाटो” लघुकथा सङ्ग्रहलाई अक्षरघाम प्रकाशनले वि.सं. २०७९ सालमा बजारमा ल्याएको हो । जम्मा ६१ वटा लघुकथा प्रकाशित यस सङ्ग्रहको आवरण मुकुन्द प्रयासले सुन्दर बनाएका छन् । प्रत्येक कथाको सुरुवातमा पाठकहरूलाई सोही कथाको आशय झल्काउने अभिप्रायले कलाकार टंक आले मगरको चित्रहरूलाई सजाइएको छ । कथाकार म्यामराज राईको प्रारम्भिक लघुकथा “आशीर्वाद” समेत समेटिएको यस सङ्ग्रह ११८ पृष्ठहरूमा फैलिएको छ ।

म्यामराज राई सिक्दै लेख्ने र लेख्दै सिक्ने स्वभावको लघुकथाकार हुन् । सत्तरीको दशकको सुरुवाती समयदेखि नै छोटो सिर्जनामा रुचि जगाएका राईले लघुकथाको स्वाद पनि त्यस समयमा नै चाखेका हुन् । सामाजिक सञ्जालभित्र लघुकथाको विभिन्न पेजहरूको अवलोकन गरी लघुकथामा आफ्नो धारणा बनाएका म्यामराज राई निरन्तर लघुकथा लेखनमा क्रियाशील छन् । उनले साहित्यपोस्टले आयोजना गरेको साप्ताहिक खुल्ला लघुकथा प्रतियोगिताको २५ औँ हप्ताको विजयी बन्ने सौभाग्य पनि पाएका छन् भने उनले लघुकथा समाज कोशी प्रदेशले आयोजना गरेको लघुकथा प्रतियोगितामा पुरस्कृत पनि भएका छन् । यस दृष्टिकोणबाट हेर्ने हो भने पनि लेखक राई समकालीन लघुकथाकारहरूको लहरमा अग्रपङ्क्तिमा देखिने लघुकथाकार हुन् भन्ने सहज अनुमान लगाउन सकिन्छ ।

“हाम्रो बाटो”भित्र लघुकथाकार म्यामराज राईले हाम्रो समाज र हाम्रो माटोका कथा र व्यथाहरू नै लेखेका छन् । अनुभूतिमा पोख्त म्यामराज जापानको व्यस्त समाज र समयमा बाँचे पनि उनको अनुभूतिहरू नेपाल र नेपाली माटोप्रति पोखिएको छ । यसै क्रममा केही भावनाहरू जापानी माटोप्रति पोखिएको पनि देखिन्छ । यस अर्थमा उनी डायस्पोरा कथाकारको रूपमा पनि परिचित छन् ।

म्यामराज राईको कलम राजनीतिक विषयहरूमा विशेष तिखारिएको छ । राजनीतिले पारेको प्रभाव र असरको बारेमा उनी लघुकथाको माध्यमबाट व्यक्त भएका छन् । राजनीतिभित्रका विसङ्गतिहरूलाई उठान गरी त्यही विषयमा चोटिलो व्यङ्ग प्रहार गरेका छन् । यसरी पाठकहरूलाई सन्तुष्टि दिने काममा म्यामराज राई अग्रसर छन् ।

यही लघुकथाहरूबाटै म्यामराजले १० वर्षे जनयुद्धलाई स्मरण गरेका छन् । उक्त जनयुद्धले नेताहरूलाई स्थापित गरे पनि जनताको आशा र विश्वासलाई नराम्रोसँग धोका दिएको तीतो सत्य पनि ओकलेका छन् । हामी नेपाली नागरिकहरू अधिकांश बेरोजगार छौं र यही बेरोजगार जनताहरू नै नेताहरूको पछि लागि आन्दोलनमा सरिक भइरहेको यथार्थ पोखेका छन् ।

भन्न सकिन्छ म्यामराज राई राजनीतिमा भुक्तभोगी छन् । राजनीति र नेपाली जनताको नाडी छामेका उनका राजनीतिक लघुकथाहरू सबल छन् । धोका, जीविकोपार्जन, विश्वासघात, रेकर्ड, नुनको सोझो आदि लघुकथाहरू लेखी म्यामराजले आफूलाई राजनीतिक कथाकारमा ढालेका छन् ।

नेपाली लघुकथा नेपाली समाज, परिवेश र परिवारबाट बाहिरिन सक्दैन । यसै सिलसिलामा कथाकार म्यामराज राईका लघुकथाहरू पनि अछुतो छैनन् । नेपाली समाज नेपाली लघुकथामा उठाउनु नै कथाकारहरूको सुन्दर पक्ष र क्षमता हो । राईले “हाम्रो बाटो” लघुकथा सङ्ग्रहमा यो क्षमता राम्रोसँग देखाएका छन् । समाजभित्रका पात्रहरूलाई टपटप टिपेर कथानक बान्कीमा ढालेर द्रष्टा म्यामराजले लघुकथामा स्रष्टाको भूमिका निर्वाह गरेका छन् । कतै यथार्थ र कतै आदर्शको वकालत गरेका राईले केही प्रगतिशील कथा पनि रचेका छन् । एक कथामा सन्तानबाट आमाको बिहे गरिदिने नवआधुनिक समाजको चित्रण गर्दै राईले  प्रगति र परिवर्तनको पक्षमा आफूलाई उभ्याएका छन् । ‘इच्छा’ लघुकथा यही प्रगति र परिवर्तनको एक बेजोड लघुकथा हो ।

राईको साहित्यमा डायस्पोरा आउनु स्वाभाविक छ । प्राय लेखकहरूले आफ्ना  सृजनामा जापानको पीडा, अनुभूति र त्यस ठाउँको प्रगतिलाई हृदयबाट नै पोख्ने गरेका हुन्छन् । राईले पनि आफ्ना कतिपय लघुकथामा जापानका अनुभूतिहरू कतै जानेर र बुझेर खनाएका छन् भने कतै बाछिटाको रूपमा पोखिएका छन् । उदाहरणको रूपमा शीर्ष लघुकथा “हाम्रो बाट” ।

त्यसो त ‘बिर्खे’ र ‘जिम्मेवारी’ कथाहरू पनि विदेशी भूमिको अनुभूतिबाट लेखिएका कथाहरू हुन् । कतिपय कथाहरू जापानी भूमिबाट बाहिरिएका पनि छन् तर जुन भूभागको कल्पना गरेर लेखे पनि कथाकार राईले डायस्पोराको अनुभूति र नेपाली माटो र बाटो सम्झिएर नै लेखेका छन् ।

राईले आफ्ना कथाहरूबाट कतै नेपाली संस्कृति र संस्कार जोगाउने प्रयास गरेका छन् भने केही लघुकथाहरूबाट  मनोविज्ञान भित्राउने प्रयास पनि गरेका छन् । ‘पन्चै बाजा’ सांस्कृतिक लघुकथा हो भने ‘संयोग’ बालमनोवैज्ञानिक कथा हो , यस्ता लघुकथाहरू “हाम्रो बाटो” लघुकथा सङ्ग्रहभित्र बग्रेल्ती भेटिन्छन् ।

लघुकथाको मुख्य ध्येय भनेको कम शब्दको प्रयोग गरी कथानकको सहयोगबाट समाजको विकृति र विसङ्गतिहरूको अस्वाभाविक उजागर गरिदिनु हो । समाजबाट अलग्गिएर कुनै पनि स्रष्टाले आफ्नो दृष्टि राख्न सक्दैन । यस मानेमा लघुकथाकार म्यामराज राई अत्यन्तै सफल लघुकथाकार हुन् । उनका हरेक लघुकथाहरूमा  विकृति र विसङ्गतिहरूको चर्चा र समाज सुधारको आधार प्रस्टसँग देखिएको छ ।

लघुकथाहरू अकस्मात् उठान हुन्छन् । यो लघुकथा लेखनमा देखिएको उनीको सफल पक्ष हो । छोटो वाक्य र सरल अनि सहज भाषा शैली लघुकथामा म्यामराजको सम्पत्ति बनेको छ । कल्पनाशीलता राईको अब्बल छ । हरेक घटना र परिवेशलाई तुरुन्तै कथानक बनाउने र सबल पात्रहरूको चयन गर्ने क्षमता लघुकथाकारको स्तर हो । तर यति हुँदाहुँदै पनि कतिपय लघुकथाहरूमा म्यामराज राई हतारिएका छन् । शायद पाठकलाई जस्तो कथा पस्किए पनि रुचाइहाल्छन् भन्ने भाव  वा आफ्नो लघुकथा लेखनकालको सिकारु कथाहरू पनि समेट्ने मोहले गर्दा यस सङ्ग्रहभित्रका थोरै लघुकथामा कथाकार म्यामराज राई नराम्रोसँग चुकेका पनि छन् ।

लघुकथा भनेको कथानक र शब्दको सर्वोकृष्ट तालमेल हो । सही तालमेल मिलाएपछि मात्र उत्कृष्ट र दमदार लघुकथाको सृजना हुने गर्छ । म्यामराज राईसँग अनेक कथाहरू छन् र शब्दको यथेष्ट भकारी पनि रहेको छ । अब लघुकथाकार म्यामराजले कुनै हतार नगरी आफूभित्र पलाएको कथाहरूलाई पगाली र सही शब्दहरूको संयोजन गरी लेख्ने हो भने म्यामराज राई अबको नेपाली लघुकथाले बिर्सनै नहुने र नसक्ने नाम बन्नेछन् । लघुकथाको क्षेत्रमा म्यामराज राईको ठूलो सम्भावना छ । म उनको त्यो सम्भावना पर्खिबसेको छु ।